बाढीपीडितका लागि उबरको ५० लाख सहयोग, ‘राइड फर नेपाल’ अभियान सुरु
काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ । सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले आफ्नो यात्रासेवालाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोडेको हो । अभियानमा यात्रु र चालक दुवैलाई सहभागी हुन आह्वान गरिएको छ । अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका काममा प्रयोग गरिने जनाइएको छ । त्यस्तै, अभियान अवधिभर उबरको प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक उबर बाइक यात्राबापत १० रुपैयाँ र हरेक उबर कार यात्राबापत २० रुपैयाँ उबरले आफ्नै तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ । यसरी अभियान अवधिमा जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि उबरको तर्फबाट हुने सहयोग पनि त्यति नै बढ्दै जानेछ । अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा र चालकले प्राप्त गर्ने आम्दानीमा भने कुनै परिवर्तन नहुने उबरले जनाएको छ । यात्रुले साविककै भाडा तिर्ने र चालकले पनि नियमित रूपमा प्राप्त गर्ने रकम नै पाउनेछन् । प्रत्येक योग्य सम्पन्न यात्राबापतको रकम उबरले अतिरिक्त रूपमा राहत कोषमा उपलब्ध गराउनेछ । नेपालका लागि उबरका रणनीतिक साझेदारका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्का बेला यात्रु र चालकको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताए । उनले ‘राइड फर नेपाल’ अभियान विपद्का बेला सबैलाई एकजुट भएर सहयोग गर्ने अवसर भएको बताउँदै हरेक यात्रालाई बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणसँग जोड्ने उद्देश्य रहेको उल्लेख गरे। उबरकी नेपाल तथा दक्षिण एसियासम्बन्धी एक वरिष्ठ अधिकारीले पनि नेपालको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन् । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आफ्नो प्लेटफर्म र स्रोतमार्फत बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्य रहेको उनको भनाइ छ । उबरले सबै यात्रु तथा चालकलाई अभियानमा सहभागी भएर बाढी प्रभावित समुदायको राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।
बाढीपीडित अटो व्यवसायीलाई राहत दिन नाडाको सरकारसँग माग
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवामा आएको भीषण बाढीका कारण अटोमोबाइल क्षेत्रमा परेको क्षति, राहत तथा भन्सार सहजीकरणका विषयमा भन्सार विभागसँग छलफल गरेको छ । असोज ७ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीपछिको अवस्थाबारे विस्तृत छलफल गरेको हो । भेटका क्रममा अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको बाढीका कारण चीनबाट आयात गरिएका सयौं सवारीसाधनमध्ये ठूलो संख्यामा सवारी रसुवा नाकाबाट बगाएको जानकारी गराउँदै प्रभावित आयातकर्ताले पाउनुपर्ने राहत र सहुलियतको व्यवस्था छिटो कार्यान्वयन गर्न आग्रह गरे । छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार सञ्चालनमा नआउँदा ५०० भन्दा बढी सवारीसाधन सीमा क्षेत्रमा रोकिएको बताए । उनले ती सवारी नेपाल भित्र्याउने प्रक्रिया सहज बनाउन विभागसँग अनुरोध गरेका छन् । उनले ११ सिटे विद्युतीय माइक्रोबसको भन्सार छुटाउने प्रक्रिया पनि अझै टुंगिन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पहल गरिदिन आग्रह गरे । जवाफमा महानिर्देशक भुसालले रसुवा बाढीबाट प्रभावित अटो व्यवसायीलाई सरकारले दिने राहत र सहुलियतको मोडालिटी तयार गर्ने विषयमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिएका छन् । भेटघाटमा नाडाका उपाध्यक्ष अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेललगायतको पनि उपस्थिति रहेको थियो ।
हिमालय अर्गनाइजेसनका कमर्सियल र ईभी किन्दा ८० प्रतिशतसम्म फाइनान्स सुविधा
काठमाडौं । हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच कमर्सियल तथा विद्युतीय सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन अन्तर्गतका आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रालि तथा सम्बद्ध कम्पनीहरू र गोर्खाज फाइनान्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब देशभरका ग्राहकले हिमालय अर्गनाइजेसनबाट बिक्री–वितरण हुने सबै कमर्सियल तथा विद्युतीय सवारी साधन खरिद गर्दा ८० प्रतिशतसम्म सहज फाइनान्सिङ सुविधा लिन सक्नेछन् । सम्झौताअनुसार ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्षसम्मको लचिलो भुक्तानी अवधि सहित सवारी कर्जा प्राप्त गर्नेछन् । आवश्यक सबै कागजात बुझाएपछि ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत गर्ने व्यवस्था गरिएको दुवै संस्थाले जनाएका छन् । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका शाखा सञ्जालमार्फत तत्काल लागू हुने जनाइएको छ । संस्थाका अनुसार यस सहकार्यले व्यवसायिक तथा विद्युतीय सवारी खरिद प्रक्रिया अझ सहज बनाउनुका साथै दिगो यातायातको विस्तारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।