गुडिरहेको विद्युतीय बसमा आगलागी

काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका–७ रम्मापुरस्थित महेन्द्र राजमार्गमा गुडिरहेको विद्युतीय (ईभी) मिनि बसमा आइतबार बिहान आगलागी भएको छ । बर्दिया जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बसमा आगलागी भएको जानकारी दिए ।

घटनामा चालक र सहचालक सकुशल रहेका छन् भने गाडीमा रहेको नगद र कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान करिब ६:५० बजे कोहलपुरबाट कैलालीतर्फ जाँदै गरेको सु.प.प्र ०१–००२ ज ४३३ नम्बर को भाडाको ईभी गुडिरहेको अवस्थामा एक्कासि आगलागी भएको थियो ।

गाडी चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ निवासी ३८ वर्षीय नरेन्द्र नेगी रहेको प्रहरीले जनाएको छ । आगलागी हुँदा गाडीमा चालक र सहचालक मात्रै सवार भएकाले कुनै मानवीय क्षति भएको छैन ।

आगलागीबाट गाडीमा रहेका आवश्यक कागजात तथा ४२ हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ ।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो । ठाकुरबाबा नगरपालिकाको दमकलको सहयोगमा आगो निभाउने काम गरिएको र बिहान ८ बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनाका कारण महेन्द्र राजमार्गमा यातायात सञ्चालन भने अवरुद्ध भएको छैन ।

Share News