जीडब्ल्यूएमका ओरा ५ र ट्यांक ३०० लाई अन्तर्राष्ट्रिय अटोमोटिभ अवार्ड

काठमाडौं । डिजाइन, नवप्रवर्तन र अटोमोटिभ इन्जिनियरिङमा पहिचान बनाउँदै आएको जीडब्ल्यूएमका दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवाड्र्स (टीएडीए) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । टीएडीए २०२६ अन्तर्गत ओरा ५ ले पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ अर्थात् उत्कृष्ट आन्तरिक डिजाइन अवार्ड प्राप्त गरेको छ ।  यस्तै, ट्यांक ३०० ले प्रिमियम कार विधामा ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ अर्थात् उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड जितेको छ । यी दुई सम्मानले जीडब्ल्यूएमका फरक–फरक मोडलमा रहेको डिजाइन र प्रविधिगत क्षमतालाई उजागर गरेको कम्पनीले जनाएको छ ।  ओरा ५ ले आधुनिक र परिष्कृत विद्युतीय सवारीको डिजाइन प्रस्तुत गर्छ भने ट्यांक ३०० ले उन्नत प्रविधि, कठिन भूभागमा चल्न सक्ने क्षमता र बलियो इन्जिनियरिङको संयोजनलाई प्रतिनिधित्व गर्छ । पारिवारिक कार विधामा उत्कृष्ट आन्तरिक डिजाइन अवार्ड प्राप्त गरेको ओरा ५ को भित्री भाग आराम, प्रविधि र दैनिक प्रयोगलाई केन्द्रमा राखेर डिजाइन गरिएको छ । आधुनिक डिजाइनसँग प्रविधिमैत्री ककपिट, सहज कनेक्टिभिटी र यात्राको आरामलाई प्राथमिकता दिइएको यसको केबिनले नयाँ पुस्ताका विद्युतीय सवारीका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ । अन्तर्राष्ट्रिय सम्मानले ओरा ५ को डिजाइन अवधारणालाई थप स्थापित गरेको कम्पनीको भनाइ छ ।  यसमा आकर्षक स्वरूपसँगै व्यवहारिकता र प्रविधिलाई पनि समान महत्व दिइएको छ । प्रिमियम कार विधामा उत्कृष्ट प्राविधिक नवप्रवर्तन अवार्ड प्राप्त गरेको ट्यांक ३०० ले जीडब्ल्यूएमको प्रिमियम एसयूभी तथा कठिन भूभागमा चल्ने सवारीका लागि विकास गरिएको प्रविधिगत क्षमतालाई प्रस्तुत गर्छ । जीडब्ल्यूएमको ट्यांक ब्रान्डअन्तर्गत विकसित ट्यांक ३०० मा प्रिमियम एसयूभीका विशेषता, उन्नत अफ–रोड प्रविधि र बलियो इन्जिनियरिङलाई एकसाथ समेटिएको छ ।  टीएडीए २०२६ को सम्मानले यसको प्रविधिगत नवप्रवर्तन र इन्जिनियरिङ क्षमतालाई थप अन्तर्राष्ट्रिय पहिचान दिएको कम्पनीले जनाएको छ । ओरा ५ र ट्यांक ३०० ले प्राप्त गरेका यी दुई फरक सम्मानले जीडब्ल्यूएमको विश्वव्यापी उत्पादन विविधतालाई समेत देखाउँछन् ।  एकातर्फ ओरा ५ ले आधुनिक विद्युतीय सवारीको डिजाइन र स्मार्ट मोबिलिटीलाई प्रतिनिधित्व गर्छ भने अर्कोतर्फ ट्यांक ३०० ले प्रिमियम एसयूभीको प्रविधि र कठिन भूभागमा चल्ने क्षमतालाई प्रस्तुत गर्छ । नेपालमा समेत जीडब्ल्यूएमको उत्पादन विस्तार भइरहेको अवस्थामा यी अन्तर्राष्ट्रिय सम्मानले ब्रान्डको विश्वव्यापी डिजाइन र प्रविधिगत क्षमताबारे नेपाली बजारमा थप परिचय गराउने अपेक्षा गरिएको छ । नेपाली बजारमा विद्युतीय तथा प्रिमियम एसयूभी खण्डमा नयाँ मोडल विस्तार गर्दै आएको जीडब्ल्यूएमले विश्वस्तरीय अटोमोटिभ प्रविधि र डिजाइन नेपाली ग्राहकसम्म पुर्याउने दिशामा आफ्नो उपस्थिति बढाउँदै गएको जनाएको छ । नेपालमा जीडब्ल्यूएमको आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्स प्रालिले नेपाली ग्राहकका बदलिँदा आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै विभिन्न खण्डमा जीडब्ल्यूएमका मोडल विस्तार गरिरहेको छ । सहरी यात्राका लागि विद्युतीय सवारीदेखि कठिन भूभागका लागि सक्षम एसयूभीसम्म जीडब्ल्यूएमले डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवका विभिन्न पक्षलाई समेट्दै आफ्नो विश्वव्यापी अटोमोटिभ उत्पादन दायरा विस्तार गरिरहेको छ ।

चांगान निभो क्यू०५ लगातार पाँचौँ महिना चीनमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी

काठमाडौं । चांगान निभो क्यू०५ ले चीनमा आफ्नो बलियो बजार प्रदर्शनलाई निरन्तरता दिँदै सन् २०२६ को अगस्टमा पनि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मोडलको स्थान कायम गरेको छ । योसँगै निभो क्यू०५ लगातार पाँच महिनादेखि आफ्नो सेग्मेन्टको शीर्ष स्थानमा रहन सफल भएको छ । केही साताअघि मात्रै नेपालमा सार्वजनिक गरिएको निभो क्यू०५ ले नाडा अटो शोमा ठूलो संख्यामा बुकिङ पाएको थियो । नेपाली ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएसँगै यसको डेलिभरी पनि केही दिनभित्रै सुरु हुने कम्पनीले जनाएको छ । चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार अगस्टमा निभो क्यू०५ का १७ हजार ३४९ युनिट बिक्री भएका छन् । अप्रिलदेखि अगस्ट २०२६ सम्म लगातार कम्प्याक्ट एसयूभी सेग्मेन्टको शीर्ष स्थानमा रहँदै आएको क्यू०५ को पाँच महिनाको कुल बिक्री ८६ हजार ८९६ युनिट पुगेको छ । क्यू०५ ले अप्रिलमा १५ हजार ८१४ युनिट बिक्री गर्दै पहिलोपटक सेग्मेन्टको शीर्ष स्थान हासिल गरेको थियो । मेमा १५ हजार ९५४, जुनमा १८ हजार ९०८ र जुलाईमा १८ हजार ८७१ युनिट बिक्री गरेको थियो । अगस्टमा बिक्री केही घटेर १७ हजार ३४९ युनिट पुगे पनि क्यू०५ ले आफ्नो अग्रता कायम राखेको छ । अगस्टको बिक्रीमा टोयोटा कोरोला क्रस १४ हजार ६७५ युनिटसहित दोस्रो स्थानमा रह्यो । जिली बोयुए एलले १४ हजार ३०२, टोयोटा आरएभी४ ले १४ हजार ६२, बीवाईडी सङ प्रो न्यू इनर्जीले १३ हजार ९५४ र जिली सिङयुए एलले १३ हजार २८७ युनिट बिक्री गरेका छन् । यसअनुसार अगस्टमा क्यू०५ ले दोस्रो स्थानमा रहेको टोयोटा कोरोला क्रसलाई २ हजार ६७४ युनिटले पछि पारेको छ । क्यू०५ को निरन्तर बिक्रीको मुख्य आधारमा यसको स्पेस, आराम, प्रविधि र मूल्यको संयोजनलाई लिइएको छ । २ हजार ७३५ मिलिमिटर ह्विलबेस रहेको यसमा फराकिलो क्याबिन, ढल्काउन मिल्ने पछाडिका सिट, व्यावहारिक लगेज क्षमता तथा विभिन्न भण्डारण सुविधा उपलब्ध छन् । त्यस्तै, सीएटीएल ब्याट्री सेल र ३सी फास्ट चार्जिङ प्रविधिले उपयुक्त अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सक्ने जनाइएको छ । आधुनिक डिजाइन, स्मार्ट सुविधा र प्रिमियम इन्टेरियरका कारण निभो क्यू०५ युवा तथा प्रविधिप्रेमी ग्राहकका लागि लक्षित मोडलका रूपमा प्रस्तुत गरिएको छ । चीनमा लगातार पाँच महिनासम्म कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शीर्ष स्थानमा रहनुले यसको बजार प्रदर्शनलाई थप बलियो बनाएको कम्पनीको दाबी छ ।

दशैं-तिहारमा हुन्डाईको ‘फेस्टिभ ड्राइभ’, ५ लाखसम्म नगद छुट जित्ने अवसर

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष योजना ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ घोषणा गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत हुन्डाई गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, स्क्र्याच कार्डमार्फत ५ लाख रुपैयाँसम्मको थप नगद छुट जित्ने अवसरसमेत कम्पनीले ग्राहकलाई दिएको छ । योजनामा गाडी खरिद गर्ने ग्राहकका लागि एक वर्षको निःशुल्क अटो प्लस बीमा र एक वर्षको निःशुल्क सडक करको सुविधा पनि समावेश गरिएको कम्पनीले जनाएको छ । हुन्डाईका गाडीमा तीन वर्षको वारेन्टी तथा छ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ‘हुन्डाई फेस्टिभ ड्राइभ २०८३’ भदौ २३ गतेदेखि लागू भएको हो ।  कम्पनीले दशैं, तिहार तथा छठको अवसरमा ह्युन्डाई गाडी खरिद गर्न चाहने ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर योजनामा सहभागी हुन आग्रहसमेत गरेको छ ।