काठमाडौं । ग्रेट वाल मोटर (जीडब्ल्यूएम) नेपालको आधिकारिक डिलर रेज मोटर्स प्रालिले पोखराको उत्तमचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुम उद्घाटनसँगै कम्पनीले ओरा ५ र हाभल जोलियन म्याक्स ईभी पनि पोखरा बजारमा सार्वजनिक गरेको छ ।
नयाँ शोरुम उद्घाटन कार्यक्रममा कम्पनीका अधिकारी, स्थानीय प्रतिनिधि, अटोमोबाइल व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
कम्पनीका अनुसार ओरा ५ मा ५८.३ किलोवाट-घण्टाको ब्याट्री रहेको छ । यसले डब्लूएलटीपी मापदण्डअनुसार एक पटकको चार्जमा ४३५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ । गाडीमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित विभिन्न सुरक्षा र स्मार्ट प्रविधिका सुविधा पनि उपलब्ध छन् ।
त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट-घण्टाको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एक पटकको चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, एडीएएस र भीटूएल सुविधा पनि छन् ।
उत्तमचोकस्थित नयाँ शोरुमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ‘थ्री–एस’ सेवा एकै स्थानबाट पाउने कम्पनीले जनाएको छ । शोरुममा जीडब्ल्यूएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शनमा राखिने र ईभीका लागि आवश्यक प्राविधिक सेवासमेत उपलब्ध गराइनेछ ।
रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जीडब्ल्यूएम ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै बिक्रीसँगै गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने बताए ।
भीजी इम्पेक्सका महाप्रबन्धक (बिक्री तथा सञ्चालन) अधिरकुमार श्रेष्ठले पोखरालाई जीडब्ल्यूएमको विस्तारका लागि महत्वपूर्ण बजारका रूपमा लिइएको बताए । उनका अनुसार नयाँ शोरुममार्फत पोखरा र आसपासका जिल्लाका ग्राहकले जीडब्ल्यूएमका गाडी र सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले नयाँ शोरुम सञ्चालनसँगै ओरा ५ र हाभल जोलियन म्याक्स ईभीको बुकिङ र टेस्ट ड्राइभ पनि खुला गरेको जनाएको छ ।
