नेपालमा आउने भयो ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर
काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने उद्देश्यसहित भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यो कार्यक्रम ‘टीभीएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप’का रूपमा प्रस्तुत हुनेछ। कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। अन्तर्राष्ट्रियस्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचानलाई प्राथमिकता दिइनेछ। कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र सांगीतिक प्रस्तुतिलाई मुख्य आकर्षणका रूपमा समावेश गरिनेछ। स्थापित र्‍यापरदेखि नयाँ पुस्ताका प्रतिभासम्मलाई राष्ट्रियस्तरमा आफ्नो कला, क्षमता र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गरिने आयोजकको भनाइ छ। नेपाली युवापुस्तामाझ लोकप्रिय बन्दै गएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यले टीभीएस एनटर्कले टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो। युवापुस्ताको ऊर्जा, सिर्जनशीलता र आत्मविश्वाससँग जोडिएको यो सहकार्यले नेपाली हिप–हप क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। ‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने कार्यक्रमले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै नेपाली संगीतका नयाँ सम्भावना उजागर गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ। कार्यक्रमको प्रसारण मिति र अन्य विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने जनाइएको छ।
मुस्ताङको यात्रामा निस्किए ४० महिला राइडर, रोयल इन्फिल्डको राइड सम्पन्न
काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ । कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए । पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो । चारदिने यात्राका क्रममा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए । महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, आत्मविश्वास बढाउने र राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमले महिला राइडरहरूबीच आपसी सम्बन्ध विस्तार गर्नुका साथै अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत बलियो बनाएको कम्पनीको भनाइ छ । रोयल इन्फिल्डले आफ्नो ‘प्योर मोटरसाइक्लिङ’ अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण र साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ । कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई एकजुट गर्दै आएको छ । अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित तथा जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने र रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
नामी भिगोः दुई महिनामै सर्वाधिक बिक्री हुने कारको सूचीमा
काठमाडौं । सार्वजनिक भएको छोटो अवधिमै नामी भिगो ई-२ प्रति ग्राहकको आकर्षक देखिएको छ । नेपालका लागि डोङफेङ गाडीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शोलाई लक्षित गर्दै गत भदौ ३ गते नेपाली बजारमा सार्वजनिक गरेको यो गाडीमा ग्राहकको आकर्षण देखिएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै ८२९ युनिट नामी भिगो ई २ नेपाल आयात भएको छ । कात्तिक १५ गतेसम्म थप ५५० युनिट आयात भएका छन् । सार्वजनिक भएयता १ हजार ८ सयभन्दा बढी गाडी नेपाली सडकमा गुडिरहेको कम्पनीको दाबी छ । नामी भिगोले मूल्य, आकार, रेन्ज र आधुनिक फिचरलाई आफ्नो मुख्य प्रतिस्पर्धी आधार बनाएको छ । ४० लाख रुपैयाँभन्दा कम मूल्यमा ठूलो आकारको एसयूभी उपलब्ध गराउन सक्नु यसको बलियो पक्ष भएको कम्पनीको भनाइ छ । एमएडब्लू वृद्धि मोटर्सका मार्केटिङ हेड विराज श्रेष्ठका अनुसार भिगोको मूल्य र यसले उपलब्ध गराउने सुविधाकै कारण यसमा ग्राहकको आकर्षण बढेको हो । उनका अनुसार यो मूल्य समूहमा भिगोले दिने आकार, सुविधा र फिचर अन्य प्रतिस्पर्धी गाडीको तुलनामा आकर्षक छन् । ‘यो प्राइस सेग्मेन्टमा भिगो आइसकेपछि यससँग बराबरी गर्ने गाडी छैन । ग्राहकले ४० लाख रुपैयाँभन्दा कम मूल्यमा फुल साइज एसयूभी पाइरहेका छन् । त्यसैले यो भ्यालु फर मनी कार बनेको छ,’ श्रेष्ठले विकासन्युजसँगको कुराकानीमा भने । उनका अनुसार नामी भिगो नेपाली बजारका लागि बिल्कुलै नयाँ अवधारणाको गाडी भने होइन । यसअघि पनि नेपाली बजारमा आइसकेको र ग्राहकबाट रुचाइएको मोडल भएकाले यसको बजार विस्तारमा सहजता भएको हो । नेपाली ईभी बजारमा मूल्य र सुविधाबीच सन्तुलन खोज्ने ग्राहकको संख्या बढ्दै गएको छ । सीमित बजेटमा आकर्षक डिजाइन, ठूलो क्याबिन, पर्याप्त रेन्ज र आधुनिक प्रविधि खोज्ने ग्राहकलाई लक्षित गरेर नामी भिगो बजारमा आएको कम्पनीको भनाइ छ । यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाडा अटो शोको सुरुवाती अफरअन्तर्गत ३५ लाख ९९ हजार रुपैयाँमै बुकिङ खुला गरिएको थियो । मूल्यका हिसाबले भिगोले नेपाली बजारमा बीवाईडी एटो २ लगायतका ईभीसँग प्रतिस्पर्धा गरिरहेको कम्पनीको दाबी छ । श्रेष्ठका अनुसार भिगोको लोकप्रियतामा मूल्य मात्रै कारण होइन । गाडीको पर्फर्मेन्स, ब्याट्री क्षमता, रेन्ज र नयाँ प्रविधिका सुविधाले पनि ग्राहकको रोजाइमा पर्न सहयोग गरेका छन् । एकपटक चार्ज गर्दा ४३० किलोमिटरसम्म रेन्ज नामी भिगोको प्रमुख आकर्षणमध्ये यसको ब्याट्री क्षमता र रेन्ज पनि हो । यसमा ५१.८७ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले ४३० किलोमिटरसम्म रेन्ज दिन्छ । यद्यपि वास्तविक रेन्ज सडकको अवस्था, मौसम, ड्राइभिङ शैली र एयर कन्डिसनलगायतका सुविधाको प्रयोगअनुसार फरक पर्न सक्छ । गाडीमा ९९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । यसले १६० न्युटन मिटर टर्क उत्पादन गर्छ । यसले सहरी आवागमनसँगै लामो दूरीको यात्राका लागि पनि पर्याप्त शक्ति उपलब्ध गराउने कम्पनीको दाबी छ । यसमा थ्रीसी फास्ट चार्जिङ प्रविधि उपलब्ध छ । १६७ किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न १८ मिनेट मात्रै लाग्ने कम्पनीको दाबी छ । फास्ट चार्जिङ सुविधाले लामो यात्रामा चार्जिङका लागि लाग्ने समय घटाउन सहयोग गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । १९० एमएम ग्राउण्ड क्लियरेन्स नामी भिगोको अर्को विशेषता यसको बाहिरी बनावट र आकार हो । कम्पनीका अनुसार यसको लम्बाइ ४ हजार ३०६ एमएम, चौडाइ १ हजार ८६८ एमएम र उचाइ १ हजार ६५४ एमएम छ । यसमा २ हजार ७१५ एमएम लामो ह्वीलबेस उपलब्ध छ । ठूलो ह्वीलबेसले गाडीको भित्री भागलाई फराकिलो बनाउन सहयोग गरेको छ । यसले यात्रुका लागि पर्याप्त स्पेस उपलब्ध गराउने कम्पनीको भनाइ छ । यसको ग्राउण्ड क्लियरेन्स १९० एमएम छ । नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दा यो विशेषता पनि उपयोगी हुन सक्छ । विशेषगरी सामान्य कच्ची सडक, उबडखाबड बाटो तथा अग्ला स्पिड ब्रेकरमा गाडी चलाउँदा पर्याप्त ग्राउण्ड क्लियरेन्सले सहजता प्रदान गर्न सक्छ । नामी भिगोले बाहिरी आकार र रेन्जसँगै इन्टेरियर तथा प्रविधिमा पनि ध्यान दिएको छ । यसको क्याबिनमा १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले उपलब्ध छ । त्यस्तै, चालकलाई गाडी वरिपरिको अवस्था बुझ्न सहज बनाउने ३६० डिग्री क्यामेरा पनि यसमा छ । भ्वाइस कन्ट्रोलमार्फत गाडीका विभिन्न फङ्सन र मोबाइललाई कमाण्ड दिन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसमा ५० वाटको वायरलेस चार्जर, वाइफाइ कनेक्टिभिटी तथा म्युजिकसँग कनेक्ट हुने एम्बियन्ट लाइटिङ सिस्टम पनि छ । चालकको सिटमा हिटेड र भेन्टिलेटेड सुविधा उपलब्ध छ । वेलकम तथा मेमोरी सिट, वान टच रियर सिट फोल्डिङजस्ता सुविधाले यसको क्याबिनलाई थप सुविधासम्पन्न बनाएका छन् । यसको विशेष फिचरमध्ये हेभन एन्ड अर्थ टेलगेट र एक्सटेरियर स्पिकर पनि पर्छन् । यी सुविधाले सामान्य गाडीभन्दा फरक अनुभव दिने कम्पनीको दाबी छ । विशेषगरी हेभन एन्ड अर्थ टेलगेटलाई कम्पनीले भिगोको आकर्षक र फरक पहिचानका रूपमा प्रस्तुत गरेको छ । यस्ता फिचरले गाडीलाई केवल यात्राका लागि प्रयोग हुने साधनभन्दा पनि सुविधासम्पन्न जीवनशैलीसँग जोड्ने कम्पनीको अपेक्षा छ । ईभी खरिद गर्दा ग्राहकले ब्याट्री र रेन्जसँगै सुरक्षालाई पनि प्राथमिकता दिन थालेका छन् । यही पक्षलाई ध्यानमा राखेर नामी भिगोमा विभिन्न सुरक्षा प्रणाली उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यसमा ६ वटा एयरब्याग, एबीएस, ईबीडी, अटोहोल्ड, हिल होल्ड, डिसेन्ट कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोलजस्ता सुविधा छन् । त्यस्तै, एडास (उन्नत चालक सहायता प्रणाली) प्रविधिसमेत उपलब्ध रहेको कम्पनीको भनाइ छ । ३६० डिग्री क्यामेराले पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउन सहज बनाउने अपेक्षा गरिएको छ । हिल होल्ड र डिसेन्ट कन्ट्रोलले उकालो तथा ओरालो बाटोमा गाडी नियन्त्रण गर्न सहयोग गर्छन् । यी सुविधाले भिगोलाई मूल्यअनुसार सुविधासम्पन्न ईभीका रूपमा स्थापित गर्न सहयोग पुग्ने कम्पनीको दाबी छ । नामी भिगो उत्पादन गर्ने डोङफेङ मोटर कर्पोरेसन लिमिटेड चीनको स्थापित अटोमोबाइल उत्पादक कम्पनी हो । सन् १९६९ मा स्थापना भएको यो कम्पनीले पाँच दशकभन्दा लामो समयदेखि अटोमोबाइल उद्योगमा काम गर्दै आएको छ । कम्पनीको मुख्य उत्पादन केन्द्र चीनको हुबेई प्रान्तस्थित वुहानमा रहेको छ । डोङफेङले यात्रुवाहक सवारीसाधन, व्यावसायिक सवारीसाधन, नयाँ ऊर्जाबाट चल्ने सवारीसाधन, सवारीका पार्टपुर्जा तथा विभिन्न अटोमोबाइलसम्बन्धी उपकरण उत्पादन गर्दै आएको छ । कम्पनीको कुल सम्पत्ति ४९९.३ अर्ब युआन पुगेको र करिब १ लाख २७ हजार कर्मचारी कार्यरत रहेको उपलब्ध विवरणमा उल्लेख छ । विश्वका शीर्ष ५०० कम्पनीको सूचीमा १८८औं स्थानमा रहेको डोङफेङले अनुसन्धान तथा विकास, उत्पादन र बजारीकरणमा लगानी गर्दै आएको छ । कम्पनीका सवारीसाधन विश्वका १०० भन्दा बढी देशमा उपलब्ध छन् । अन्तर्राष्ट्रिय बजारमा यसको विस्तारले पनि नामी भिगोजस्ता नयाँ मोडललाई विश्व बजारमा प्रतिस्पर्धा गर्न आधार प्रदान गरेको छ । नेपालमा ईभीको बजार विस्तारसँगै ग्राहकको रोजाइ पनि बदलिँदै गएको छ । सुरुमा साना तथा सहरी प्रयोगका लागि उपयुक्त गाडीप्रति आकर्षण देखिए पनि पछिल्लो समय ठूलो आकार, लामो रेन्ज, आधुनिक प्रविधि र सुरक्षा सुविधा भएका एसयूभीतर्फ ग्राहकको रुचि बढिरहेको छ । यही बदलिँदो बजारलाई लक्षित गर्दै नामी भिगोले ४० लाख रुपैयाँभन्दा कम मूल्यमा ठूलो आकारको एसयूभी उपलब्ध गराउने रणनीति लिएको देखिन्छ । असोज र कात्तिकमा भएको आयात तथा सार्वजनिक भएको छोटो समयमै १ हजार ८ सयभन्दा बढी गाडी सडकमा पुग्नुले यसको प्रारम्भिक बजार उपस्थिति बलियो देखिएको छ । यद्यपि दीर्घकालीन सफलता भने वास्तविक रेन्ज, ब्याट्रीको टिकाउपन, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सन्तुष्टिमा निर्भर हुनेछ । मूल्य, आकार र फिचरलाई मुख्य प्रतिस्पर्धी आधार बनाएको नामी भिगोले नेपाली ईभी बजारमा कस्तो स्थान बनाउँछ भन्ने आगामी दिनमा स्पष्ट हुँदै जानेछ । तर, सुरुवाती बजार प्रतिक्रियाले भने ४० लाख रुपैयाँभन्दा कम मूल्यको एसयूभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थपिएको संकेत गरेको छ ।