बाढीपीडितका लागि नाडाले दियो राहत सामग्री

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।

गत भदौ १० गते नुवाकोट, टिमुरे र रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि नाडाले विभिन्न प्रकारका राहत सामग्री उपलब्ध गराएको हो ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले शुक्रबार जिल्ला प्रशासन कार्यालय नुवाकोटको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

नाडाका अनुसार बाढीपीडितका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको छ ।

यसअघि नाडाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ नगद सहयोगसमेत गरेको थियो । भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकम हस्तान्तरण गरेको हो ।

नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला आर्थिक तथा भौतिक सहयोग गर्दै आएको जनाएको छ ।

बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने नाडाले जनाएको छ ।

Share News