बीमकहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिइन्स्योरेन्स कम्पनी (नेपाल रि)बाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । संशोधित निर्देशिकामा भनिएको छ, ‘नेपालमा कार्यरत बीमकले जारी गर्ने बीमांकको कम्तीमा २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीबाट पुनर्बीमा गराउनुपर्नेछ ।’ प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा पाँचौँ संशोधन गर्दै उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो । यसअघि गत जेठ १५ गते ल्याइएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा नेपालका बीमा कम्पनीहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल रिबाट गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसअघि निर्देशिकामा बीमकले स्वदेशी पुनर्बीमकलाई ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा प्रत्यक्ष हिस्सा बाँडफाँटसम्बन्धी दर निर्धारण गरिएको थियो । प्रत्यक्ष हिस्सा बाँडफाँट आर्थिक वर्ष २०८३/८४ सम्म बाँडफाँट गर्नुपर्ने व्यवस्था थियो ।
नारायणी अस्पताल वीरगञ्जमा क्याथ ल्याब सेवा सुरु, पहिलो दिन दुई बिरामीको उपचार
काठमाडौं । नारायणी अस्पताल वीरगञ्जमा क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ । अस्पतालको नवनिर्मित सुपर स्पेसियालिटी भवनमा जडान गरिएको क्याथ ल्याबबाट बुधबारदेखि सेवा सुरु गरिएको हो । अस्पतालका अनुसार सेवा सुरु भएको पहिलो दिन दुई जना बिरामीलाई क्याथ ल्याबमार्फत विभिन्न सेवा प्रदान गरिएको छ । वीरगञ्ज–१६, नगवा निवासी ४० वर्षीया मञ्जु देवीको कोरोनरी एन्जियोग्राफी गरिएको छ । त्यस्तै, वीरगञ्ज, पर्साका ४० वर्षीय जगदिश महतोलाई सिनेफल्लोरोस्कोपी सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, वीरगञ्जबाट निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको सुपर स्पेसियालिटी भवनमा क्याथ ल्याबका आवश्यक उपकरण खरिद गरी जडान गरिएको हो । अस्पतालले नयाँ सेवा सञ्चालनमा आएसँगै मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारमा थप सुविधा पुग्ने जनाएको छ ।
३९३ शवको पहिचान खुलेन, कहाँ- कहाँ छन् ?
काठमाडौं । भोटेकोशीको बाढीले बगाएको ३ सय ९३ शव पहिचान खुलेको छैन । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३ सय ९३ शवको पहिचान खुल्न नसकेको जनाएको छ । बाढीले बगाएर ल्याएको शव सम्बन्धित ठाउँमा पुर्याउने काम भइरहेको प्राधीकरणले उल्लेख गरेको छ । रसुवा, धादिङ, नुवाकोट,पोखरा, काठमाडौं, चितवन, तनहुँ, गोरखा, नवलपरासी र पश्चिम नवलपरासीमा शव राखिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोर्खामा क्षति गरेको छ । नेपाल प्रहरीका अनुसार ४ सय ८९ जनाको शव फेला परेको छ । रसुवा १३, धादिङ ४०, गोरखा ४४, पुर्वी नवलपरासी ११२, नुवाकोट २७, चितवन १८६, तनहुँ २९ र पश्चिम नवलपरासीबाट २८ जनाको शव फेला परेको छ ।
बाढीमा फसेका ११७ पर्यटकको उद्धार
काठमाडौं । बाढीका कारण विभिन्न स्थानमा फसेका ११७ जना पर्यटकको उद्धार गरिएको छ । बुधबार भोटेकोसी नदीमा आएको भीषण बाढीले अलपत्र परेका पर्यटकलाई सम्बन्धित सुरक्षा निकाय तथा स्थानीयको समन्वयमा उद्धार गरिएको हो । नेपाल पर्यटन बाेर्डका अनुसार उद्धार गरिएका पर्यटकहरूमा ८५ जना भारतीय नागरिक, ९ जना दक्षिण कोरियाका, १६ जना चीनका र २ जना इटलीका र ३ जना अन्य विदेशी नागरिक रहेका छन् । बाढीका कारण पर्यटकको आवागमन प्रभावित भएपछि सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यकताअनुसार उद्धारका लागि सम्पर्क गर्न आग्रह गरेको छ । पछिल्लो अपडेटअनुसार बाढीका कारण ६ सय भन्दा बढी पर्यटक सम्पर्कविहीन छन् ।
रसुवागढी जलविद्युत केन्द्रमा फसेका ४ कर्मचारीको सकुशल उद्धार
काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ । प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेको हो । उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् । यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि आवश्यक तयारी अघि बढाइएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जनाइएको छ । यता, बाढीबाट प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ । टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ पठाइएको छ । माथिल्लो त्रिशुलि ३ ए (६० मेगावाट), जलविद्युत केन्द्रको मर्मतको क्रममा फसेका कर्मचारीहरूको पनि उद्धार सुरु भएको छ । उक्त अण्डरग्राउण्ड पावर हाउस भित्र जाने केबल टनेलको पुरिएको मुख खोल्न नेपाली सेना र दक्ष जनशक्ति सहित उत्खनन कार्यमा आवश्यक उपकरणहरू प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ। प्रतिकूल मौसमका कारण उद्धारमा केही ढिलाइ भए पनि जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्रभावित जलविद्युत् आयोजनामा आवश्यक जनशक्ति, उपकरण तथा उद्धार सामग्री परिचालन गरी उद्धार अभियानलाई निरन्तरता दिइएको ऊर्जा मन्त्रालयले जनाएकाे छ ।
नुवाकोटमा ९० प्रतिशत विद्युत् पुनःस्थापना, रसुवामा शनिबारसम्म बिजुली बाल्ने तयारी
काठमाडौं । भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेका रसुवा र नुवाकोट क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तीव्र गतिमा विद्युत् पुनःस्थापनाको काम अघि बढाएको छ । बाढीले विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुर्याउँदा ४३० मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले देशैभरको लोड व्यवस्थापन गर्न सफल भएको जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमध्ये नुवाकोटमा वैकल्पिक व्यवस्था मिलाएर बिहीबार दिउँसोसम्ममै करिब ९० प्रतिशत विद्युत् प्रवाह पुनःसञ्चालन भइसकेको छ । त्रिशूली पारिको क्षेत्रमा बाटो र पुल बगेर सञ्चार तथा पहुँच विच्छेद भए पनि धादिङको सल्यानटारबाट फिड गराएर बिजुली पुर्याइसकिएको प्राधिकरणले जनाएको छ । यसैबीच, पूर्ण रूपमा विद्युत्विहीन बनेको रसुवाको धुन्चे र आसपासका क्षेत्रमा भने शनिबारसम्म बिजुली बाल्ने लक्ष्यका साथ प्राधिकरणले प्राविधिक टोली खटाएर अनेक विकल्पमा अध्ययन थालेको बताएको छ । प्राधिकरणका अनुसार बेत्रावती क्षेत्र वरपर ५ देखि ७ वटा टावरहरू बगेकाले सडकमार्ग खुल्नेबित्तिकै ६६ केभीए लाइनमार्फत चिलिमे-त्रिशूली संरचना प्रयोग गर्ने पहिलो विकल्प राखिएको छ । यस्तै, साञ्जेन पावर हाउसलाई आइसोलेटेड मोडमा चलाएर हाकु क्षेत्रमा एयरलिफ्ट गरी १० वटा पोल जोड्ने वा नुवाकोटबाटै खोलाको किनारैकिनार एउटा फिडर रसुवातर्फ लैजाने अन्य विकल्पहरूमा पनि काम भइरहेको प्राधिकरणको भनाइ छ । शुक्रबार बिहानैदेखि प्राविधिक टोली गम्भीर अध्ययन र मर्मतमा खटिएकाले शनिबारसम्ममा रसुवामा पनि बिजुली पुनःस्थापना हुनेमा प्राधिकरण आशावादी छ ।
चीनको सिजाङमा पहिरो : उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो
काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र सिजाङ (तिब्बत) को केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि शुक्रबार उद्धार टोली अति प्रभावित क्षेत्रमा पुगेको छ । गत बुधवार गएको भीषण पहिरोका कारण सो क्षेत्रको भौगोलिक अवस्था नराम्ररी क्षतिग्रस्त भएको छ । उद्धारका क्रममा अग्नि नियन्त्रकहरूले डोरी, डुङ्गा र ड्रोनको प्रयोग गरी कठिन मार्गहरू पार गर्दै प्रभावित स्थलसम्म पहुँच पुर्याएका छन् । जटिल भूबनोट र ठूलो क्षतिका बाबजुद उद्धारकर्मीहरूले खोज तथा राहत कार्यलाई तीब्रता दिएका छन् ।
भोटेकोशी बाढीपीडितलाई नेपाल एसबीआई बैंकको राहत सहयोग
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री वितरण गरिएको बैंकले जनाएको छ । विपद्को कठिन घडीमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको हो । बैंकले यस पहलमार्फत सामाजिक उत्तरदायित्व र मानवीय कल्याणप्रतिको आफ्नो प्रतिबद्धता थप सशक्त बनाएको जनाएको छ । मानवीय सेवा, सहानुभूति तथा ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै प्राकृतिक विपद्बाट प्रभावित समुदायको पुनःस्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा योगदान पुर्याउने बैंकले जनाएको छ । संकटको समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग निरन्तर उपलब्ध गराउन बैंक प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ इकाइ, ७ प्रादेशिक कार्यालय, १२७ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।