केरुङमा पहिरोपछि बढ्यो ब्यारियर लेकको त्रास, जोखिम हटाउन चीनलाई सकस
काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई शुक्रबारदेखि थप तिब्र पारिएको छ । समयसँग प्रतिष्पर्धा गर्दै उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन् । चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनकाअनुसार शुक्रबार बिहान १० बजेसम्म कुल ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र ११३ वटा सवारी साधन विकट हिमाली क्षेत्रमा पुगेका छन् । यसका साथै ६ हजार ६१२ थान उद्धार उपकरण र आवश्यक बन्दोबस्तीका सामग्री जिरोङ गाउँतर्फ पठाइएको छ । नेपालतर्फबाट शुरु भएको पहिरो बुधवार बिहान जिरोङ काउन्टीको केरुङ नाकामा खसेको थियो । बिहीवार बिहान ८ बजेसम्मको प्राप्त विवरण अनुसार यस प्राकृतिक विपत्तिमा परी ३ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । दुईजना स्थानीय बासिन्दालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ । उद्धार कार्यका लागि बिहीबार बिहान १४१ जना उद्धारकर्मीको पहिलो टोली र उच्च उचाईमा उडान भर्न सक्ने हेलिकप्टर घटनास्थलमा पुगेका थिए । सोही दिन अपराह्न चीनको विशेष खोज तथा उद्धार टोलीका थप १११ जना सदस्यहरू जिरोङ आइपुगेका छन् । उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनवटा विशेष टोली परिचालन गरिएको छ । यी टोलीहरूले रबरको डुङ्गामार्फत जलमार्ग, पैदल मार्गबाट जटिल हिमाली भू–भाग र ड्रोनको माध्यमबाट हवाई निरीक्षणका साथै राहत सामग्री ढुवानी गरिरहेका छन् , एक अग्रिम टोलीले मुख्य विपद् क्षेत्रको म्यापिङ, निगरानी र पहिरोले थुनिएको नदी (ब्यारियर लेक) को अवस्थाबारे अध्ययन गरिरहेको छ । उद्धार प्रयासलाई प्राविधिक सहयोग पु¥याउन आपतकालीन व्यवस्थापन मन्त्रालय अन्तर्गतको साङ्घाई फायर रिसर्च इन्स्टिच्युटका १३ जना विज्ञहरू पनि घटनास्थल पुगेका छन् । यसैबीच, चीनको सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार निकाय ‘चीन आनेन’ ले १५ सदस्यीय विशेषज्ञ टोली परिचालन गरेको छ । उक्त टोलीले ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेशन र मोबाइल सर्भिलेन्स क्यामरामार्फत अवरुद्ध सडक र ब्यारियर लेकको अवस्थाको सूक्ष्म अध्ययन गरिरहेको छ । उद्धारकर्मीहरूका अनुसार नाकाभन्दा करिव ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको लेदो र गेग्रान हटाउनुअघि ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्नु चुनौतीपूर्ण देखिएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालले दियो १५ करोड रुपैयाँ
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो । यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी एवं महाप्रबन्धक प्रेम अर्यालले उक्त रकमको चेक हस्तान्तरण गरे ।
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप अफवाहमात्र होः रेग्मी
काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. धनञ्जय रेग्मीले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीको सन्दर्भमा चीनले नेपाली पक्षलाई समयमै पूर्वसूचना नदिएको आरोप ‘मिथ्या’ र ‘अफवाह’ भएको बताएका छन् । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले चीन र नेपालबीचको सुमधुर सम्बन्ध नै बिग्रने गरी ‘र्‍युमर’ फैलाइएको बताए । सांसद रेग्मीले प्राकृतिक रूपमा हिमालय क्षेत्रमा हुने हिमपहिरो, चट्टान खस्ने तथा हिमताल फुट्ने घटनाको ठ्याक्कै समय र स्थानबारे पूर्वसूचना दिन सम्भव हुने बताए । उनले निरन्तर निगरानी हुने सगरमाथा हिमालमा समेत पर्यटक र पथप्रदर्शकलाई जोगाउन नसकिएको उल्लेख गर्दै निगरानी नै नभएको हिमालयमा कुन ठाउँमा के घटना हुन्छ ? भन्ने सूचना प्रदान गर्न नसकिने बताए। रेग्मीले बाढीका सम्बन्धमा चीनसँग पूर्वसूचना भएपनि नेपाललाई नदिएको भन्ने आरोप लगाएर दुई देशबीचको सुमधुर सम्बन्ध बिगार्न नहुने कुरामा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उनले सामाजिक सञ्जालमार्फत अपुष्ट सूचना र अफवाह फैलाउने कार्य भइरहेको भन्दै जिम्मेवार बन्न समेत आग्रह गरे । उनले विगतमा नेपालमै भएका कयौं प्राकृतिक विपद्का घटनाको उदाहरण दिँदै यस्ता घटनामा पूर्वसूचना प्रदान गर्न सम्भव नहुने बताए । उनले हिमनदी, हिमताल र प्राकृतिक विपद्सम्बन्धी विषयमा जथाभावी टिप्पणी नगरी ग्ल्यासियोलोजी तथा सम्बन्धित विषयका विज्ञसँग मात्र धारणा लिनसमेत सञ्चारमाध्यमहरुलाई आग्रह गरे ।
बाढीपीडितका लागि हिमालयन बुलियन कम्पनीको १ करोड १ लाख सहयोग
काठमाडौं । हिमालयन बुलियन कम्पनी लिमिटेडले रसुवा, नुवाकोट, धादिङलगायत भोटेकोशी तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार भदौ ११ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरिएको थियो । त्यसमा थप ८० लाख रुपैयाँ सहयोग गर्ने निर्णयसँगै कुल सहयोग रकम १ करोड १ लाख रुपैयाँ पुगेको हो । कम्पनीका प्रतिनिधि राकेश कुमार अडुकिया, रोहन अडुकिया, भीष्म प्रसाद गौतम, जीवन घिमिरे र राजेन्द्र न्यौपानेले भदौ १२ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । हिमालयन बुलियन कम्पनीले भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको कम्पनीले जनाएको छ । साथै, बाढीमा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारको दुःखमा आफूहरू साथमा रहेको कम्पनीले उल्लेख गरेको छ । कम्पनीले प्राकृतिक विपद्को यस कठिन घडीमा खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनु आफ्नो सामाजिक र मानवीय दायित्व भएको जनाएको छ ।
रसुवा जोड्ने प्रमुख सडकखण्ड सञ्चालनमा
काठमाडौं । बाढीपहिरोका कारण अवरुद्ध भएको रसुवा जोड्ने प्रमुख सडकखण्ड सञ्चालनमा आएको छ । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु गरिएको हो । सडकखण्ड सुचारु भएसँगै लामो समयदेखि सडक सञ्जालबाट अलग भएको रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । सडक सञ्चालनमा आएपछि रसुवा आवतजावत गर्ने यात्रु तथा स्थानीयवासीलाई सहज हुने भएको छ । साथै प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्याउन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतिकूल मौसम र बाढीपहिरोका कारण सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको थियो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड सहयोग
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा भएको हो । बुधबार बिहान नेपाल–चीन सीमा हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । त्यससँगै बाढीपीडितको उद्धार तथा राहतका लागि व्यक्ति तथा विभिन्न संघसंस्थाले कोषमा सहयोग रकम जम्मा गर्न थालेका हुन् । सरकारले कोषमा रकम संकलन तथा त्यसको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ । संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वयंमार्फत स्वीकार गरिरहेको मन्त्रालयले जनाएको छ । व्यक्तिगततर्फको नगद सहयोग भने दाताले अर्थ मन्त्रालयमै पुगेर प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ । नयाँ सहयोगसँगै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रहेको बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत थियो । यसैबीच, बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । मन्त्रालयका अनुसार कोषमा संकलित उक्त सहयोगमा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग रकम भने समावेश गरिएको छैन ।
बाढी प्रभावित १२० साइटमध्ये ८० मा टेलिकम सेवा पुनः सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा दूरसञ्चार सेवा पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ । हालसम्म बाढी प्रभावित १२० साइटमध्ये ८० साइटमा सेवा पुनः सञ्चालन भइसकेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमका अनुसार भदौ ११ गते हेलिकप्टरमार्फत प्राविधिक टोली परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका–६ स्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको हो । भदौ १२ गते बिहानैदेखि टेलिकमका प्राविधिक टोली रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्न बाँकी रहेका स्थानमा खटिएका छन् । सञ्चालनमा आइसकेका टावरलाई थप भरपर्दो बनाउने कामसमेत भइरहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित गोल्जुङ (बाहुनडाँडा) मोबाइल टावर पुनः सञ्चालनमा आएपछि स्याफ्रुबेशी, पार्वतीकुण्ड गाउँपालिका–४ र ५, गोसाईंकुण्ड गाउँपालिका–३ र ५ तथा स्याफ्रुबेशी–टिमुरे सडकखण्डका केही भागमा मोबाइल सेवा सुचारु भएको छ । यस्तै, नुवाकोटको सूर्यगढी गाउँपालिका–३ स्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आएपछि विदुर नगरपालिका–१० र ११ तथा सूर्यगढी गाउँपालिका–४ का केही क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालन भएको छ । नेपाल टेलिकमले विदुर नगरपालिका–८ स्थित तुप्चे टावर र गोसाईंकुण्ड गाउँपालिका–२ अन्तर्गत टिमुरेमाथिको टेलिकम टावरमा हेलिकप्टरमार्फत जेनेरेटर, इन्धन र प्राविधिक टोली पुर्याएर सेवा सञ्चालनको काम जारी रहेको जनाएको छ । बाढी आएको दिनदेखि नै टेलिकमका प्राविधिक कर्मचारी न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा निरन्तर खटिएर सेवा सञ्चालन तथा पुनःस्थापनाको काममा जुटिरहेको कम्पनीले जनाएको छ । विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।
५३८ को शव फेला, ९७७ सम्पर्कविहिन
काठमाडौं । रसुवाको बाढीमा परेर हालसम्म ५ सय ३८ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशीको बाढीमा परेर ५ सय ३८ जनाले ज्यान गुमाएका हुन् । प्राधिकरणका अनुसार ९७७ जना सम्पर्कविहिन भएका छन् । ५ सय १७ जना विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । १२७ नेपाली नागरिक बेपत्ता भएका छन् । ७३ जना घाइते भएका छन जसमध्ये रसुवामा ४३, धादिङ ३ र नुवाकोटमा २७ जना उपचाररत छन् । १४ हजार ८२९ जना सुरक्षाकर्मी परिचालन रहेको प्राधिकरणले जनाएको छ । नेपाल प्रहरी ४ हजार ४७३, नेपाली सेना ६ हजार ६९८ र सशस्त्र प्रहरी बल नेपाल ३ हजार ६५८ जना परिचालन रहेका छन् । ३ हजार ७४२ जनालाई उद्धार गरिएको छ । बुधबार बिहान आएको बाढीले रसुवा, नुवाकोट र धादिङ तथा गोर्खामा क्षति पुर्याएको छ ।