काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ ।
प्रतिकूल मौसमका बीच उद्धार टोलीले केन्द्रभित्र फसेका कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालेको हो ।
उद्धार गरिएका कर्मचारीमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन् ।
यसैबीच, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि आवश्यक तयारी अघि बढाइएको छ ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको जनाइएको छ ।
यता, बाढीबाट प्रभावित अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको उद्धारका लागि ‘डेडिकेटेड हेलिकप्टर’ परिचालन गरिएको छ ।
टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली आयोजनातर्फ पठाइएको छ ।
माथिल्लो त्रिशुलि ३ ए (६० मेगावाट), जलविद्युत केन्द्रको मर्मतको क्रममा फसेका कर्मचारीहरूको पनि उद्धार सुरु भएको छ ।
उक्त अण्डरग्राउण्ड पावर हाउस भित्र जाने केबल टनेलको पुरिएको मुख खोल्न नेपाली सेना र दक्ष जनशक्ति सहित उत्खनन कार्यमा आवश्यक उपकरणहरू प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ।
प्रतिकूल मौसमका कारण उद्धारमा केही ढिलाइ भए पनि जोखिममा रहेका व्यक्तिको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। प्रभावित जलविद्युत् आयोजनामा आवश्यक जनशक्ति, उपकरण तथा उद्धार सामग्री परिचालन गरी उद्धार अभियानलाई निरन्तरता दिइएको ऊर्जा मन्त्रालयले जनाएकाे छ ।