काठमाडौं । नारायणी अस्पताल वीरगञ्जमा क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ । अस्पतालको नवनिर्मित सुपर स्पेसियालिटी भवनमा जडान गरिएको क्याथ ल्याबबाट बुधबारदेखि सेवा सुरु गरिएको हो ।
अस्पतालका अनुसार सेवा सुरु भएको पहिलो दिन दुई जना बिरामीलाई क्याथ ल्याबमार्फत विभिन्न सेवा प्रदान गरिएको छ । वीरगञ्ज–१६, नगवा निवासी ४० वर्षीया मञ्जु देवीको कोरोनरी एन्जियोग्राफी गरिएको छ ।
त्यस्तै, वीरगञ्ज, पर्साका ४० वर्षीय जगदिश महतोलाई सिनेफल्लोरोस्कोपी सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना, वीरगञ्जबाट निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको सुपर स्पेसियालिटी भवनमा क्याथ ल्याबका आवश्यक उपकरण खरिद गरी जडान गरिएको हो । अस्पतालले नयाँ सेवा सञ्चालनमा आएसँगै मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारमा थप सुविधा पुग्ने जनाएको छ ।