विकासन्युज

सय किलोको दुई वटा ड्रोनबाट सुरुङमार्गमा फसेका कामदारलाई हेर्दैछौः अध्यक्ष तामाङ

काठमाडौं । रसुवाको हाइड्रोपावर भित्रको सुरुङमा फसेका कामदारलाई निकाल्न दुई वटा ड्रोन प्रयोग गरिने भएको छ । सय किलोको ड्रोन प्रयोग सुरुङमार्गको कामदारलाई उद्धार गर्न लागिएको हो । गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले सुरुङमार्गमा फसेका कामदारलाई उद्धार गर्न ड्रोन प्रयोग गर्न लागिएको जानकारी दिए । सुरुङबाट निकालेर हेलिकोप्टरबाट उद्धार गर्न लागिएको उनले बताए । सुरुङ भित्र फसेका कामदारको उद्धार कार्यमा पनि तीव्र रुपमा भइरहेको तामाङले बताए । हाइड्रोपावरको सुरुङमा फसेका कामदारलाई उद्धार गर्नुपर्ने मुख्य काम रहेको उनको भनाइ छ । ‘रसुवागढी हाइड्रोपावरमा फसेका कामदारलाई निकाल्न २ वटा ड्रोन प्रयोग गरिएको छ  । सय किलोको ड्रोन प्रयोग गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ दुई वटा हाइड्रोपावरमा मानिस फसेका छन् । चाइनिज हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कामदार फसेका छन् ।‘ त्यसैगरी, रसुवागढीमा ११ बजेर ५२ सेकेण्डमा पुगेर आएको बाढी सानो रहेको उनको दाबी छ । 'सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्छ,’ उनले विकासन्युजसँग टेलिफोन संवादमा भने,’ अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन ।'  

ग्लेसियर फुटेर लेदोसहितको पानी ओभरफ्लो, तत्काल छैन ठूलो जोखिम

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमछेउमा बनेको ठूलो तालबाट ग्लेसियर फुटेको जानकारी प्राप्त भएको सरकारले जनाएको छ । यद्यपि, त्यसबाट तत्काल ठूलो जोखिम नरहेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन् । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले चीन सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत निरन्तर संवाद भइरहेको र चिनियाँ पक्षबाट पनि तत्काल ठूलो जोखिम नरहेको जानकारी प्राप्त भइरहेको बताए । ‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ । त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ । सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु,’ पोखरेलले भने ।  उनका अनुसार ड्याम फुटेको नभई ग्लेसियर फुटेका कारण विभिन्न स्थानमा लेदोसहितको पानी ओभरफ्लो भएको हो । ‘कतै ड्याम फुटेको भन्ने छैन । सामान्य ग्लेसियरहरू फुटेको हुनाले धेरै ठाउँमा पानी लेदोसहितको ओभरफ्लो भएको छ,’ उनले भने, ‘त्यस्तो ठूलो जोखिम तत्कालै देखिएको छैन, तर सतर्क हुनका लागि भने आवश्यक छ ।’

अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् व्यवस्थापन नहुन्जेलसम्म अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन कर्मचारीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय तथा मन्त्रालय मातहतका विभाग, अस्पताल, प्रतिष्ठानलगायतका निकायमा कार्यरत कर्मचारीलाई यस्तो निर्देशन दिएको हो । सार्वजनिक बिदा दिनसमेत कार्यालयमा उपस्थिति हुन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले ‘खोज, उद्धार तथा उपचारको सम्बन्धमा तोकिएका’ सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन र जिम्मेवार पदाधिकारीलाई बिदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ । त्यस्तै अन्य कर्मचारीलाई पनि आवश्यक सेवा प्रवाहका लागि तयारी अवस्थामा रहन भनेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सार्वजनिक बिदाको दिनमा समेत बाढीपहिरो प्रभावित घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्देशन दिएको  । 

भर्खरै तिब्बतबाट आएको बाढी सानो छः अध्यक्ष तामाङ

काठमाडौं । शुक्रबार तिब्बतबाट आएको बाढी ठूलो नभएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताएका छन् ।  'रसुवागढीमा ११ बजेर ५२ सेकेण्डमा पुगेर आएको बाढी सानो छ , उनले विकासन्युजसँग टेलिफोन संवादमा भने,’ ठूलो बाढी नभएकाले अहिले आत्तिनुपर्ने अवस्था आइसकेको छैन । तर सचेत भएर सुरक्षित स्थानमा बस्नुपर्छ ।' उद्धार कार्यमा पनि तीव्र रुपमा भइरहेको उनले तामाङले बताए । हाइड्रोपावरको सुरुङमा फसेका कामदारलाई उद्धार गर्नुपर्ने मुख्य काम रहेको उनको भनाइ छ । 'रसुवागढी हाइड्रोपावरमा फसेका कामदारलाई निकाल्न २ वटा ड्रोन प्रयोग गरिएको छ  । सय किलोको ड्रोन प्रयोग गरिएको छ,’ अध्यक्ष तामाङले भने,’ दुई वटा हाइड्रोपावरमा मानिस फसेका छन् । चाइनिज हाइड्रोपावर र रसुवागढी हाइड्रोपावरमा कामदार फसेका छन् ।' बुधबार रसुवामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । नुवाकोट र धादिङ लगायतका जिल्लामा समेत मानवीय र भौतिक क्षति गरेको छ ।  

शव राख्ने ठाउँ नभएपछि कन्टेनर खोज्दै गृह मन्त्रालय

काठमाडौं । बाढीका कारण हालसम्म ३८९ जनाको शव फेला परिसकेको छ भने शव भेटिने क्रम अझै जारी छ । गृह मन्त्रालय स्रोतका अनुसार टाढासम्म शवहरू बगेर पुगेकाले खोजी कार्य जटिल बनिरहेका बेला चिस्यान गृह (कोल्ड स्टोरेज) को चरम अभावले शव व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ ।  मृतकहरूको पहिचानका लागि विस्तृत विवरण, तस्वीर तथा अन्य कानुनी प्रमाणहरू सुरक्षित गरेर मात्रै शव व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेकाले तत्काल शव राख्ने ठाउँको समस्या जटिल बनेको हो  ।  यस विषम परिस्थितिलाई सम्बोधन गर्न गृह मन्त्रालयले भन्सार विभाग र व्यवसायीहरुसँग रहेका कन्टेनरहरू शव राख्नका लागि (पछि फिर्ता गर्ने गरी) प्रयोग गर्ने विषयमा आवश्यक छलफल र तयारी अगाडि बढाएको स्रोतले जानकारी दिएको छ । 

४८९ जनाको शब फेला

काठमाडौं । रसुवा बाढी तथा पहिरोमा परी ८ जिल्लामा ४८९ जनाको शव फेला परेको छ । शुक्रबार १२ बजेसम्म नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी ४८९ जनाको शव फेला परेको हो ।  प्रहरीका अनुसार रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।  बाढी तथा पहिरोमा परी हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्क विहीन रहेको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको जनाएको छ । प्रहरीका अनुसार बाढी तथा पहिरोमा परी १ हजार ४७३ जना घाइते भएका छन् । घाइतेमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन् ।  यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८७ रहेको प्रहरीले जनाएको छ। ।

बाढीपीडितको राहतका लागि मुक्तिनाथ विकास बैंकले दियो ५० लाख

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको जनाएको हो । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत ठूलो असर पारेको बैंकले जनाएको छ । बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति बैंक परिवारले दुःख व्यक्त गरेको छ । बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ । देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति भएको कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धारमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बैंकले गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

देशभर ६ सय शव राख्ने क्षमता, विपदमा चिस्यान केन्द्र नै अपुग

काठमाडौं । बाढी, पहिरो, भूकम्प वा अन्य ठूला विपदमा एकैपटक ठूलो संख्यामा मानवीय क्षति भए शव व्यवस्थापनका लागि देशभर रहेका चिस्यान केन्द्रको क्षमता पर्याप्त नहुने देखिएको छ ।  अस्पतालका शवगृहले धान्न नसक्ने अवस्था आएपछि सरकारले मालवाहक कन्टेनरलाई वैकल्पिक शव भण्डारणस्थलका रूपमा प्रयोग गर्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका अस्पतालमा करिब ६ सय शव राख्न सकिने चिस्यान केन्द्र छन् ।  तर, उक्त क्षमता कागजमा देखिएजस्तो विपद्का बेला पूर्णरूपमा उपलब्ध हुँदैन । कतिपय शवगृहमा नियमित रूपमा शव रहने तथा कतिपय अस्पतालमा सीमित क्षमता मात्र भएकाले ठूलो विपदमा तत्काल प्रयोग गर्न सकिने बफर क्षमता निकै कम हुने डा. अधिकारीको भनाइ छ । ‘देशभर करिब ६ सय शव राख्न सकिने क्षमता छ । तर, ती सबै क्षमता एकैपटक उपलब्ध हुँदैनन्’, प्रवक्ता अधिकारीले भने । उनका अनुसार काठमाडौं उपत्यकाका अस्पतालमा मात्रै करिब ३०० शव राख्न सकिने क्षमता छ । तर ती क्षमता विभिन्न अस्पतालमा छरिएर रहेका छन् ।  त्यसमाथि अस्पतालका शवगृहमा नियमित रूपमा शव रहने भएकाले विपद्को समयमा नयाँ शव राख्न सक्ने वास्तविक क्षमता थप घट्न सक्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा करिब १५० शव राख्न सकिने क्षमता रहेको मन्त्रालयको विवरण छ । त्यस्तै, पाटन अस्पतालमा २४ शव राख्न सकिन्छ । ‘ठूलो विपद्का बेला केही घण्टामै दर्जनौं वा सयौं शव थपिन सक्ने अवस्थामा भने यस्ता संरचनाले धान्न नसक्ने जोखिम देखिएकोले अहिले विकल्पमा छलफल भइरहेको छ,’ डा. अधिकारीले भने । शवगृह भरिएपछि कन्टेनर विकल्प अस्पतालका शवगृहले नधान्ने अवस्था आए वैकल्पिक व्यवस्थाका रूपमा मालवाहक कन्टेनर प्रयोग गर्नेबारे छलफल भइरहेको छ । ‘अहिले शव व्यवस्थापनकै विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘शव राख्न कन्टेनरहरू सबैभन्दा भरपर्दो साधन हुन सक्ने भएकाले अहिले कन्टेनर एक्सप्लोर गर्ने काम भइरहेको छ ।’ तर, सामान्य मालवाहक कन्टेनरलाई शवगृहका रूपमा प्रयोग गर्न भने पर्याप्त नहुने विज्ञहरूको बुझाइ छ । शव सुरक्षित राख्न आवश्यक तापक्रम कायम गर्न सक्ने रेफ्रिजेरेटेड कन्टेनर, निरन्तर विद्युत आपूर्ति वा वैकल्पिक ऊर्जा, सुरक्षा व्यवस्था, शवको पहिचान तथा अभिलेख प्रणाली र आफन्तलाई हस्तान्तरण गर्ने स्पष्ट कार्यविधि आवश्यक हुने भएकोले छलफल चलिरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । त्यसैले सरकारले कन्टेनर प्रयोग गर्दा त्यसलाई सामान्य भण्डारणस्थलका रूपमा नभई आवश्यक पूर्वाधारसहितको अस्थायी वा मोबाइल शवगृह प्रणालीका रूपमा विकास गर्नेवारेमा छलफल भइरहेको ती अधिकारीले बताए । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत ठूलो संख्यामा मृत्यु हुँदा शव व्यवस्थापन चुनौती बनेकोले व्यवस्थापनका विविध विषयमा छलफल भइरहेको बताउँछिन् ।  पछिल्ला विपद्का घटनामा पनि स्वास्थ्य संस्थाको क्षमताभन्दा बढी शव आएपछि व्यवस्थापनमा कठिनाइ देखिएको उनको भनाइ छ । चितवनमा हालै शवको संख्या बढेपछि त्यहाँका स्वास्थ्य संस्थाले प्रहरीलाई आफूहरूसँग अधिकतम ५० शवसम्म राख्न सक्ने क्षमता रहेको जानकारी दिएका थिए ।  यसले विपद्का बेला स्थानीय तहमा उपलब्ध शवगृहको वास्तविक क्षमता कति सीमित छ भन्ने देखाएकोले विकल्पमा छलफल आवस्यक भएको उनले बताइन् । सरकारले अघि सारेको कन्टेनर प्रयोगको योजना तत्कालका लागि व्यावहारिक विकल्प हुन सक्छ । तर यसलाई अस्पतालका स्थायी शवगृहको विकल्पका रूपमा नभई ठूला विपद्का लागि पूर्वतयारी अवस्थामा राखिने आपत्कालीन बफर प्रणालीका रूपमा विकास गर्नुपर्ने देखिन्छ । विपद् व्यवस्थापनको तयारी घाइतेको उपचार र जीवितको उद्धारमा मात्र सीमित नराखी मृतकको सम्मानजनक, सुरक्षित र व्यवस्थित व्यवस्थापनसम्म विस्तार गर्नुपर्ने आवश्यकता पछिल््ला घटनाले देखाएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।  आपत विपतको अवस्थामा अल्पकालकालागी सरकारले कनटेनर माग्दा व्यवसायीले सहयोग गर्ने सिटौलाको भनाइ छ ।