विकासन्युज

सञ्चालनमा आयो पृथ्वी राजमार्ग

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा थुप्रिएको लेदो हटाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो । राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ । ‍लेदो पन्छाउने र सडक खुलाउने कार्यलाई तीव्रता दिएसँगै पृथ्वी राजमार्गमा आवागमन पुनः सुरु भएको हो । मन्त्रालयले सडकखण्डमा थप सहज रूपमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाएको छ । राजमार्गका विभिन्न खण्डमा लेदाे पन्छाउन निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा यान्त्रिक उपकरण परिचालन गरिएको थियो । बाढीले राजमार्गको करिब १५ किलोमिटर सडक खण्डमा क्षति पु‍र्याएको छ ।  सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्टलगायत उपकरणसमेत बाढीले बगाएको छ ।

बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड ८ लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्राइम कमर्सियल बैंकले ३ करोड ८ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ नगद र ७ लाख रुपैयाँ बराबरका खाद्यान्न सामग्री सहयोग गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ । बैंकले यसअघि पनि विभिन्न विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

बाढीपीडितको साथमा विकास बैंकर्स एसोसिएसन, उद्धारदेखि पुनःस्थापनासम्म सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोलगायत प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले गहिरो दुःख व्यक्त गरेको छ । एसोसिएसनले बुधबार भोटेकोशी खोलामा आएको भीषण बाढीलगायतका प्राकृतिक विपद्का कारण मुलुक गम्भीर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै विपदमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।  साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेको छ । एसोसिएसनले विपद्का बीच उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका स्थानीय समुदाय, नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति कृतज्ञता व्यक्त गरेको छ ।  उद्धारमा संलग्न सबैको सुरक्षा र स्वास्थ्यप्रति समेत विशेष ध्यान दिन आग्रहसमेत गरेको छ । विपद्का कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन तथा बेपत्ता रहेको भन्दै एसोसिएसनले उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ । बाढीका कारण सदस्य विकास बैंकका केही शाखा पनि प्रभावित भएको एसोसिएसनले जनाएको छ ।  विद्युत् आपूर्ति, नेटवर्क तथा सञ्चार सेवामा आएको अवरोधका कारण बैंकिङ सेवा प्रभावित भए पनि सम्भव भएसम्म सेवा निरन्तरता कायम गर्न प्रयास भइरहेको जनाएको छ । असामान्य परिस्थितिमा आफ्ना सदस्य विकास बैंकमार्फत राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न एसोसिएसन प्रतिबद्ध रहेको बताएको छ ।

कैलाश यात्राबाट फर्किने विदेशीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह

काठमाडौं । अध्यागमन विभागले कैलाश मानसरोवरबाट फर्कने विदेशीलाई हुम्लाको हिल्सा नाका हुँदै फर्कन  आग्रह गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीन प्रवेश गर्ने सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्न अध्यागमन विभागले सहजीकरण गरेको हो । बाढीका कारण रसुवागढी नाका हुँदै नेपाल फर्किने अवस्था नरहेकाले नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाकालाई वैकल्पिक रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको हो । अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ अनुसार हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्ने तथा तोकिए बमोजिमको पदयात्रा दस्तुर तिर्नुपर्ने व्यवस्था छ। तर, विषम परिस्थितिलाई मध्यनजर गर्दै मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखी कैलाश मानसरोवर तीर्थयात्रीको सहज आवतजावत सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ। भदौ ११ गतेदेखि लागू हुने गरी एक हप्ताका लागि, रसुवास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर कैलाश मानसरोवर तीर्थयात्रामा गएका र फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको छ। त्यस्तै, उक्त अवधिमा सो क्षेत्रमा पदयात्रा अनुमति लिनका लागि विदेशी नागरिक तथा ट्रेकिङ गाइडको बीमा र ट्रेकिङ गाइडसम्बन्धी व्यवस्थालाई समेत अनिवार्य नगरिएको सूचनामा उल्लेख छ। बाढीबाट प्रभावित रसुवा नाका बन्दजस्तै भएपछि अलपत्र पर्न सक्ने तीर्थयात्रीको सुरक्षित र नेपाल फिर्तीका लागि यो सहज व्यवस्था गरिएको बताइएको छ ।

८७ वर्षीया राजी राणाले प्रधानमन्त्री राहत कोषमा गरिन् १ करोड ९ लाख सहयोग

काठमाडौं । ८७ वर्षीया राजी राणाले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ सहयोग गरेकी छन् । उक्त रकम व्यक्तिगततर्फबाट कोषमा प्राप्त हुने ठूलो सहयोगमध्ये एक हो । उक्त रकमको चेक राणाका सहयोगी कृष्ण बस्नेतले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई मन्त्रालयमा हस्तान्तरण गरे । राणाको सहयोगप्रति अर्थमन्त्री वाग्लेले धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नो तर्फबाट ८० हजार रुपैयाँ सहयोग गरेका छन् ।  यसैगरी, राणाले २५ लाख रुपैयाँ बराबरको जिन्सी तथा खाद्यान्न सामग्री समेत सहयोग गर्ने तयारी गरेकी छन् ।  आवश्यकताका आधारमा अर्थ तथा गृह मन्त्रालयसँग समन्वय गरी विपद् प्रभावित क्षेत्रमा उक्त सहयोग उपलब्ध गराइने बस्नेतले जानकारी दिए ।

३ ब्रोकर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । तीनवटा ब्रोकर कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सनी सेक्युरिटिज, केबीएल सेक्युरिटिज र ग्लोबल आइएमई सेक्युरिटिज रहेका छन् । सनी सेक्युरिटिजले २५ प्रतिशत, केबीएल सेक्युरिटिजले ७.५ प्रतिशत र ग्लोबल आइएमई सेक्युरिटिजले ३.८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  लाभांश प्रस्ताव पारित गर्न तीनै कम्पनीले वार्षिक साधारण सभा बोलाएका छन् । सनी सेक्युरिटिजले असोज १ गते, केबीएल सेक्युरिटिजले असोज २ गते र ग्लोबल आइएमई सेक्युरिटिजले असोज ४ गते साधारण सभा गर्ने भएका छन् । तीनै कम्पनीको साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सनी सेक्युरिटिज र केबीएल सेक्युरिटिजको साधारण सभाले सञ्चालक नियुक्ति गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।

‘रोड टु यूएफसी’को फाइनलमा रविन्द्र ढाँट

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा पुगेका छन् ।  चीनको सांघाईमा भएको प्रतिस्पर्धामा न्युजिल्यान्डका कासिब मर्डोकलाई पराजित गर्दै उनी फाइनल प्रवेश गरेका हुन् । तीन राउण्डको खेलमा स्प्लिट डिसिजनको आधारमा ढाँट विजयी भएका हुन् । उनले अब फाइनलमा र्यो ताजिमासँग खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै ढाँटसँगकाे भेट पक्का गरेका हुन् ।  फाइनल जितेमा ढाँट युएफसीका लागि छनोट हुनेछन् । ढाँटले मकाउमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै टीकेओ (टेक्निकल नकआउट) मार्फत पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

इन्दु घिमिरे सचिवमा बढुवा, पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा सिफारिस समितिको पहिलो नम्बरमा रहेकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार घिमिरेले सचिवमा बढुवा भएलगत्तै संघीय सरकारको महत्वपूर्ण मन्त्रालयमध्ये एक रक्षा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्ने भएकी छन् । उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन् । सरकारले रक्षा मन्त्रालयका वर्तमान सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णयसमेत गरेको छ । शर्माको सरुवापछि रक्षा मन्त्रालयमा रिक्त हुने सचिव पदमा नवनियुक्त सचिव घिमिरेलाई जिम्मेवारी दिइएको हो । गृह मन्त्रालयमा भने अनिवार्य अवकाशको समय नजिकिएका राजकुमार श्रेष्ठको स्थानमा शर्मालाई ल्याइएको हो । श्रेष्ठको अवकाश हुन केही दिन मात्रै बाँकी रहेकाले सरकारले गृह प्रशासनको नेतृत्वमा नयाँ सचिव पठाउने निर्णय गरेको हो । घिमिरेको पहिलो पदस्थापन नै संघीय सरकारको केन्द्रीय मन्त्रालयमा भएको छ । प्रशासनिक वृत्तमा सचिवमा बढुवा भएका अधिकारीलाई प्रारम्भिक चरणमा प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिने र प्रदेशमा निश्चित अवधि काम गरेपछि संघीय मन्त्रालयमा ल्याउने अभ्यास रहँदै आएको थियो । तर पछिल्ला वर्षहरूमा सचिव व्यवस्थापनमा उक्त परम्परागत अभ्यास कमजोर हुँदै गएको देखिन्छ । सचिव बढुवासँगै संघीय मन्त्रालयमै पदस्थापन गर्ने तथा अनुभवी सचिवहरूलाई प्रदेशमा पठाउने क्रमसमेत देखिएको छ । यसअघि पनि सचिव व्यवस्थापनका क्रममा वरिष्ठ सचिवहरूलाई प्रदेशका प्रमुख सचिवको जिम्मेवारी दिँदै दुर्गम प्रदेशसम्म पठाइएका उदाहरण छन् । पछिल्लो निर्णयले भने सचिव बढुवा र पदस्थापनमा सरकारले अपनाउँदै आएको नयाँ अभ्यासलाई थप स्पष्ट पारेको छ । घिमिरेलाई रक्षा मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसँगै मन्त्रालयको प्रशासनिक नेतृत्वमा परिवर्तन आएको छ भने शर्मा गृह मन्त्रालयको नेतृत्वमा जाने भएका छन् । दुवै सचिवको सरुवा तथा पदस्थापनलाई प्रशासनिक नेतृत्व व्यवस्थापनअन्तर्गतको नियमित निर्णयका रूपमा हेरिएको छ ।