विकासन्युज

सुरक्षाकर्मीका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्को समयमा अहोरात्र खटिने सुरक्षाकर्मीहरूका लागि आईपीओमा २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले योगदानको उच्च कदर गर्दै जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा उनीहरूका लागि २ प्रतिशत हिस्सा सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढेको जानकारी दिए । मन्त्री श्रेष्ठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूले खेलेको भूमिकाको प्रशंसा गरे । सुरक्षाकर्मीको समर्पण र राष्ट्रप्रतिको उच्च दायित्वबोधलाई सम्मान गर्दै उनीहरूलाई जलविद्युत् आयोजनाको स्वामित्वमा सहभागी गराउने नीतिगत निर्णय लिइएको उनले स्पष्ट पारे । मन्त्री श्रेष्ठले भोटेकोशी विपत्तिमा मन्त्रालयअन्तर्गतका निकायहरू, विद्युत् प्राधिकरण, सिँचाइ विभाग र जल तथा मौसम विज्ञान विभागका कर्मचारीहरूले गरेको समन्वयकारी भूमिकाको समेत प्रशंसा गरे । विपद्ले दिएको क्षतिले भविष्यका लागि गम्भीर पाठ सिकाएको बताउँदै उनले भने, ‘हामीले क्षतिको लेखाजोखा गर्नुका साथै भविष्यमा यस्ता जोखिम न्यूनीकरण गर्न सक्ने प्रविधि र संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ ।’ मन्त्री श्रेष्ठले भविष्यमा निर्माण हुने जलविद्युत् आयोजनाहरूलाई विपद् प्रतिरोधी बनाउन सुरक्षा मापदण्डलाई उच्च प्राथमिकतामा राखेर योजना तर्जुमा गर्न मातहतका निकायलाई कडा निर्देशन दिइएको जानकारी दिए । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा पुनः भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै मन्त्री श्रेष्ठले सचेत रहन आग्रह गरे । उनले विशेष गरी मध्य र पश्चिम नेपालका साथै हालै बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन र मौसमी सूचनालाई नियमित अनुगमन गर्न मातहतका निकायहरूलाई निर्देशन दिइसकेको बताए ।

नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष श्रेष्ठलाई विज्ञापन बोर्डको नेतृत्व

काठमाडौं । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ ।  मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो । नवनियुक्त अध्यक्ष श्रेष्ठले बुधबार(आज) सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिए । शपथपछि सूचना तथा सञ्चारमन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए । उनले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन बोर्डले आफ्नो अधिकार र जिम्मेवारीअनुसार प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । सञ्चारमन्त्री तिमिल्सिनाले बोर्डको आवश्यकता, औचित्य र स्वीकार्यता थप स्थापित गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले विज्ञापन बोर्डको वर्तमान अवस्था, समस्या, अवसर र सम्भावनाको गम्भीर समीक्षा गरी सुधारका स्पष्ट योजनासहित काम गर्नुपर्ने बताए । विद्यमान कानुन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले बोर्डले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने बताए । लोककल्याणकारी विज्ञापन वितरणलाई समेत वैज्ञानिक, वस्तुनिष्ठ, पारदर्शी र विधिसम्मत बनाउन आवश्यक रहेको उनले बताए ।  नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापनसँग सम्बन्धित नीति, ऐन तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।  उनले सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई केन्द्रमा राख्दै विज्ञापन क्षेत्र सुधारका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्ने बताए । नवनियुक्त अध्यक्ष श्रेष्ठले विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन र सञ्चालनलाई प्रभावकारी बनाउन सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल विज्ञापन संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठसँग विज्ञापन तथा सञ्चार क्षेत्रमा लामो अनुभव छ ।  उनले काठमाडौंस्थित किङ्ग्‌स कलेज र डन बोस्को कलेजलगायत शैक्षिक संस्थामा प्राध्यापनसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार कार्यक्रममा आयोगले आर्थिक वर्ष २०८२/८३ मा महिला अधिकार, संरक्षण तथा सशक्तीकरणका क्षेत्रमा गरेका गतिविधि र प्रगतिको विवरण समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको हो ।

आफैलाई आगो लगाउने चालकको नागरिकता थिएन, अरूकै लाइसेन्स लिएर बस चलाउँथे

काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आफैलाई आगो लगाएका चालक अर्जुन दोङको नागरिकता नभएको खुलेको छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलिप घिमिरेले आत्मदाह गरेर मृत्यु भएका चालकको नागरिकता नभएको जानकारी दिए । ‘अहिलेसम्म उनको आफ्नो नागरिकता छैन । अरूको नागरिकता, अरूको डकुमेन्टहरू प्रयोग गरेर हिँडिरहेका थिए । कहिले कसको लाइसेन्स वा परिचयमा, कहिले सुनिल तामाङको परिचयमा हिँडिरहेका थिए,’ उनले भने ।  घिमिरेले चालक दोङले फरक–फरक व्यक्तिको लाइसेन्स बोकेर हिँड्ने गरेको बताए ।  उनका अनुसार दोङले अन्य व्यक्तिको नामबाट बैंक खाताहरूसमेत खोलेका छन् । ‘चालक दोङले फरक–फरक ठाउँमा आफ्नो फरक पहिचानसहित काम गरिरहेको पाइयो । उनको दुइटा श्रीमती रहेछन् । अनि गर्लफ्रेन्डहरू पनि रहेछन् । यो सबै कुराहरूबाट थाहा हुन्छ उनी कस्तो खालको ब्याकग्राउन्डका चालक हुन् भन्ने,’ एसएसपी प्रमुख घिमिरेले विकासन्युजसँग भने । लाइसेन्सबाहकले लाइसेन्स दिएको हो भने उनलाई कारबाही हुने घिमिरेले जानकारी दिए । ‘हराएर फेला पारेर चलाएको हो भने त्यसमा प्रहरीले सोच्न सक्छ,’ उनले भने । सोमबार त्रिपुरेश्वरको बस स्टपमा ऋद्धिसिद्ध बसमा आगजनी भएको थियो ।  मंगलबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा चालक दोङको  उपचारकै क्रममा मृत्यु भएको थियो ।

शीतल निवासमा राष्ट्रपति पौडेल र स्वर्णिम वाग्लेबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले भेटवार्ता गरेका छन् । बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राष्ट्रिय विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा मुलुकको समसामयिक अवस्था लगायत विभिन्न विषयमा कुराकानी भएको थियो । सचिवालयले भेटलाई नियमित शिष्टाचार तथा समसामयिक विषयमा केन्द्रित भेटवार्ताका रूपमा उल्लेख गरेको छ ।

सुर्खेतमा श्रीमतीको हत्या र दुई छोरी घाइते घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–६ मा मदिराको झोकमा श्रीमतीको हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभामा चासो व्यक्त गरिएको छ । बुधबारको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले श्रीमानद्वारा श्रीमतीको हत्या र दुई छोरी गम्भीर घाइते भएको घटनाले आफूलाई मर्माहत बनाएको बताउँदै पीडित परिवारको न्याय र घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद विकले संसद्मा जानकारी गराएअनुसार सुर्खेतका गोपीराम जैसीले मदिरा सेवनका लागि पैसा नपाएको निहुँमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको फरुवा प्रहार गरी हत्या गरेका हुन् । उक्त आक्रमणमा परी दम्पतीका दुई छोरीहरू गम्भीर घाइते भएका छन् भने एक छोरा भने ज्यान जोगाउन सफल भएका छन् । स्थानीय प्रहरीले समयमै उद्धार गरेका कारण बालिकाको ज्यान जोगिए पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सांसद विकले महिलामाथि भइरहेको हिंसा र असुरक्षाका शृङ्खलाप्रति आक्रोश पोखिन् । उनले भनिन्, ‘कहिले अस्पतालमा पैसा तिर्न नसकेर सडकमा बच्चा जन्माउनुपर्ने त कहिले श्रीमान्को इच्छा पूरा गर्न नसक्दा जिउँदै जल्नुपर्ने अवस्था कहिलेसम्म ? महिलाहरूले यस्तो यातना भोग्नु परेको कहिलेसम्म हो ? बाटोमा लर्बरिएर हिँड्ने मातेका मानिसलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिनुपर्छ, समाजलाई असुरक्षित बनाउने यस्ता प्रवृत्ति रोक्न सरकारले सक्रियता देखाउनुपर्छ ।’ उनले गाउँघरमा सहजै उपलब्ध हुने घरेलु मदिरा र लागुऔषधको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् । केवल ठूला ब्रान्डका मदिरामा मात्र केन्द्रित नभई गाउँबस्तीमा पाइने घरेलु जाँडरक्सीको निर्वाध बिक्री र सेवन नै अपराधको मुख्य कारण बनेको उनको तर्क छ । उनले घाइते दुई बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको तर्फबाट उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् । घटनाले सिङ्गो परिवार क्षतविक्षत भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र पीडितलाई उचित न्याय दिलाउन सरकारलाई आग्रह गरिन् ।

शीघ्र सुधारात्मक कारबाहीमा ४ लघुवित्त, २ संस्थालाई नगद जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै ती संस्थामाथि शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरेको हो । राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तलाई वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिम कारबाही गरिएको हो । त्यस्तै, धौलागिरी लघुवित्तलाई वैशाख १० गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो । मातृभूमि लघुवित्तलाई वैशाख २९ गते कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको पाइएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, एनआईसी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको पाइएपछि असार १२ गते शीघ्र सुधारात्मक कारबाहीमा परेको छ । राष्ट्र बैंकले वीन नेपाल लघुवित्तलाई पनि कारबाही गरेको छ । संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि २०८३ असार २३ गते प्रथम पटकका लागि ५८.३८ रुपैयाँ नगद जरिवाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । सञ्जीवनी लघुवित्तमाथि भने अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पटकपटक जरिवाना गरिएको छ । संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि क्रमशः ७१३ रुपैयाँ, १ हजार ६७ रुपैयाँ, १ हजार ४१२ रुपैयाँ र १ हजार ४१० रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ३० लाख कित्ता डिबेन्चर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ । नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको जनाएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत बिक्री खुला गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार असोज १ गतेको निर्णय बमोजिम उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो । नेप्सेका अनुसार ‘LSD92’ संकेतमा सूचीकृत यो डिबेन्चरको दोस्रो बजारमा कारोबार असोज ८ गतेदेखि सुरु हुनेछ । बैंकको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ । सूचीकरणपछि आवश्यक रजिस्ट्रार तथा ट्रान्सफर सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वरबाट उपलब्ध गराइने नेप्सेले जनाएको छ ।