विकासन्युज

सुर्खेतमा श्रीमतीको हत्या र दुई छोरी घाइते घटनाप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । सुर्खेतको चौकुने गाउँपालिका–६ मा मदिराको झोकमा श्रीमतीको हत्या भएको घटनालाई लिएर प्रतिनिधि सभामा चासो व्यक्त गरिएको छ । बुधबारको बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती विकले श्रीमानद्वारा श्रीमतीको हत्या र दुई छोरी गम्भीर घाइते भएको घटनाले आफूलाई मर्माहत बनाएको बताउँदै पीडित परिवारको न्याय र घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद विकले संसद्मा जानकारी गराएअनुसार सुर्खेतका गोपीराम जैसीले मदिरा सेवनका लागि पैसा नपाएको निहुँमा आफ्नी श्रीमती चन्द्रकला देवकोटा जैसीको फरुवा प्रहार गरी हत्या गरेका हुन् । उक्त आक्रमणमा परी दम्पतीका दुई छोरीहरू गम्भीर घाइते भएका छन् भने एक छोरा भने ज्यान जोगाउन सफल भएका छन् । स्थानीय प्रहरीले समयमै उद्धार गरेका कारण बालिकाको ज्यान जोगिए पनि उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सांसद विकले महिलामाथि भइरहेको हिंसा र असुरक्षाका शृङ्खलाप्रति आक्रोश पोखिन् । उनले भनिन्, ‘कहिले अस्पतालमा पैसा तिर्न नसकेर सडकमा बच्चा जन्माउनुपर्ने त कहिले श्रीमान्को इच्छा पूरा गर्न नसक्दा जिउँदै जल्नुपर्ने अवस्था कहिलेसम्म ? महिलाहरूले यस्तो यातना भोग्नु परेको कहिलेसम्म हो ? बाटोमा लर्बरिएर हिँड्ने मातेका मानिसलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिनुपर्छ, समाजलाई असुरक्षित बनाउने यस्ता प्रवृत्ति रोक्न सरकारले सक्रियता देखाउनुपर्छ ।’ उनले गाउँघरमा सहजै उपलब्ध हुने घरेलु मदिरा र लागुऔषधको नियन्त्रणका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिइन् । केवल ठूला ब्रान्डका मदिरामा मात्र केन्द्रित नभई गाउँबस्तीमा पाइने घरेलु जाँडरक्सीको निर्वाध बिक्री र सेवन नै अपराधको मुख्य कारण बनेको उनको तर्क छ । उनले घाइते दुई बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यको तर्फबाट उनीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् । घटनाले सिङ्गो परिवार क्षतविक्षत भएको भन्दै दोषीलाई हदैसम्मको कारबाही र पीडितलाई उचित न्याय दिलाउन सरकारलाई आग्रह गरिन् ।

शीघ्र सुधारात्मक कारबाहीमा ४ लघुवित्त, २ संस्थालाई नगद जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै ती संस्थामाथि शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरेको हो । राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तलाई वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिम कारबाही गरिएको हो । त्यस्तै, धौलागिरी लघुवित्तलाई वैशाख १० गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो । मातृभूमि लघुवित्तलाई वैशाख २९ गते कारबाही गरिएको छ । संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको पाइएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, एनआईसी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको पाइएपछि असार १२ गते शीघ्र सुधारात्मक कारबाहीमा परेको छ । राष्ट्र बैंकले वीन नेपाल लघुवित्तलाई पनि कारबाही गरेको छ । संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि २०८३ असार २३ गते प्रथम पटकका लागि ५८.३८ रुपैयाँ नगद जरिवाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । सञ्जीवनी लघुवित्तमाथि भने अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पटकपटक जरिवाना गरिएको छ । संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि क्रमशः ७१३ रुपैयाँ, १ हजार ६७ रुपैयाँ, १ हजार ४१२ रुपैयाँ र १ हजार ४१० रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेप्सेमा लक्ष्मी सनराइज बैंकको ३० लाख कित्ता डिबेन्चर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी सनराइज बैंक लिमिटेडको ‘७% लक्ष्मी सनराइज डिबेन्चर २०९२’ सूचीकृत भएको छ । नेप्सेले लक्ष्मी सनराइज बैंकसँग १० वर्ष अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको उक्त डिबेन्चर सूचीकरण सम्झौता सम्पन्न गरेको जनाएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चर सर्वसाधारणका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडमार्फत बिक्री खुला गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार असोज १ गतेको निर्णय बमोजिम उक्त ऋणपत्र नेप्सेमा सूचीकृत गरिएको हो । नेप्सेका अनुसार ‘LSD92’ संकेतमा सूचीकृत यो डिबेन्चरको दोस्रो बजारमा कारोबार असोज ८ गतेदेखि सुरु हुनेछ । बैंकको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ । सूचीकरणपछि आवश्यक रजिस्ट्रार तथा ट्रान्सफर सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वरबाट उपलब्ध गराइने नेप्सेले जनाएको छ ।

फ्रान्सका राष्ट्रपतिले संयुक्त राष्ट्र महासभामा भने, ‘हामी सबै लज्जित हुनुपर्छ’

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले गाजापट्टीमा शान्ति कायम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीमाथि प्रश्न उठाएका छन् । संयुक्त राष्ट्रसंघको महासभाको वार्षिक सत्रलाई सम्बोधन गर्दै म्याक्रोंले शान्तिको घोषणा गरिए पनि गाजामा अहिलेसम्म कुनै मानवीय करिडोर पुनः नखोलिएको बताएका छन् । म्याक्रोंले गाजाको अवस्थाप्रति अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘विश्वसामु यस्तो दृश्य छ, जसमा हामी सबै लज्जित हुनुपर्छ ।’ म्याक्रोंले ट्रम्पको गाजा शान्ति योजनालाई कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिएकोप्रति पनि आलोचना गरे । म्याक्रोंले भने, ‘यदि हामी गाजाको विषयमा लगातार सन्तुष्ट भएर बसिरह्यौं भने हाम्रो विश्वसनीयता के रहन्छ ? केही मानिस कथित शान्तिको प्रशंसा गरिरहेका छन् । तर यो शान्तिले मानवीय उद्देश्यका लागि एक सेकेन्डका लागि पनि पहुँच सुनिश्चित गरेको छैन । के हामी चुपचाप उभिएर यस्तो दृश्य हेरिरहने हो, जसमा हामी सबै लज्जित हुनुपर्छ ?’ यसैबीच, म्याक्रोंले रुस र युक्रेनबीच जतिसक्दो चाँडो सार्थक वार्ता सुरु गराउन फ्रान्सले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि प्राधिकरणले सुरु गर्‍यो तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ । हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मंगलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्णय गरेको हो । रसुवा जिल्लास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण त्यस क्षेत्रमा सञ्चालित जलविद्युत् केन्द्रहरूमा क्षति पुगी विद्युत् उत्पादन बन्द भएपछि आगामी हिउँदमा विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी थालिएको हो ।   प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा आयोजना व्यवस्थापन निर्देशनालय तथा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक, विभिन्न विभागका प्रमुख तथा आयोजना प्रमुखहरूको सहभागिता थियो ।  बैठकले हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक अध्ययन तथा कार्य अघि बढाउन बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई दैनिक कार्यप्रगति विवरण कार्यकारी निर्देशकसमक्ष पेस गर्न तथा कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ ।   बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रहरूबाट उत्पादन बन्द हुँदा विद्युत् माग र आपूर्ति व्यवस्थापनमा केही चाप परे पनि आगामी हिउँदमा लोडसेडिङ नहुने र गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे । उनले विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अहिलेबाटै अघि बढाइएको बताए । बैठकले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण तथा वितरणतर्फका आयोजनाहरूको काम सम्पन्न गर्ने समयसीमा समेत तोकेको छ ।  त्यसैगरी, बाढीबाट प्रभावित नुवाकोट र रसुवाको विद्युत् आपूर्तिलाई भरपर्दो बनाउन विभिन्न विकल्पबारे छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोलीसमेत परिचालन गरिएको छ ।   

ऋण असुलीबाट बचत फिर्ता तिव्र, ४ सहकारीका १०५  जनाले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  ४ समस्याग्रस्त सहकारीको १०५ जनाको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखरका ३५,ओरिन्टलको अपरेटिभका २, तुलसीको १३ र कान्तिपुर सहकारीका ५५  साना बचतकर्ताको रकम फिर्ता गरिएको हो  । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।  समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरुलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा संचालन भइरहेको छ ।

भारी वर्षाको सम्भावना, पदयात्रा र आरोहणमा सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा भारीदेखि अति भारी वर्षाको चेतावनी दिएपछि नेपाल पर्यटन बोर्डले पदयात्रा, हिमाल आरोहण तथा अन्य पर्यटकीय गतिविधिमा संलग्न सबैलाई उच्च सतर्कता र सावधानी अपनाउन अपिल गरेको छ । बोर्डले विशेषगरी यही असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना रहेकाले आवश्यक परे गतिविधि स्थगित गर्नसमेत आग्रह गरेको हो । नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माले हाल पर्यटकीय मौसम भएकाले धेरै क्षेत्रमा भ्रमण तथा आरोहणका कार्यक्रमहरू भइरहेको उल्लेख गर्दै सावधानी अपनाउन जोड दिए । ‘अहिले विभिन्न क्षेत्रमा हिमाल आरोहण, पदयात्रा, मेला तथा महोत्सवहरू भइरहेका छन्,’ प्रवक्ता शर्माले भने, ‘भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै यस्ता कार्यक्रम गर्दा उच्च सतर्कता र आवश्यक सावधानी अपनाउन हामी विशेष अपिल गर्दछौँ ।’ जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबारदेखि नै कोशी, वागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ । असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, कोशी, मधेस, वागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । खराब मौसमका कारण बाढी, पहिरो तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने भएकाले बोर्डले पर्यटक तथा पर्यटन व्यवसायीलाई आधिकारिक सूचनाहरू निरन्तर पछ्याउन आग्रह गरेको छ । प्रवक्ता शर्माले भने, ‘मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि पर्यटन बोर्ड र मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्नुहुन अनुरोध गर्दछौँ । जोखिमयुक्त मौसममा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छ ।’ पर्यटन बोर्डले कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित पर्यटन व्यवसायीसँग समन्वय गरी यात्राको तालिका तय गर्न पदयात्री तथा पर्वतारोहीहरूलाई आग्रह गरेको छ । 

दुबईमा पहिलो पटक आईक्यानको सीए सदस्यता परीक्षा सञ्चालन, विदेशमै परीक्षा केन्द्र स्थापना

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले पहिलो पटक नेपालबाहिर सीए सदस्यता परीक्षा सञ्चालन गरेको छ । आईक्यानले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा असोज २ र ४ गते (सेप्टेम्बर १८ र २०, २०२६) सीए सदस्यता परीक्षा सफलतापूर्वक सञ्चालन गरेको हो । आईक्यानले पहिलो पटक विदेशमा परीक्षा केन्द्र स्थापना गर्दै दुबईमा सदस्यता परीक्षा सञ्चालन गरेको जनाएको छ । परीक्षा नेपाल र दुबईमा एउटै मिति र एउटै समयमा सञ्चालन गरिएको थियो । यसबाट परीक्षा सञ्चालनको एकरूपता कायम गर्नुका साथै सदस्यता परीक्षाको गोपनीयता, निष्पक्षता र गुणस्तर सुनिश्चित गरिएको संस्थाले जनाएको छ । विदेशमा बसोबास तथा रोजगारी गरिरहेका नेपाली लेखा व्यवसायीलाई सदस्यतासम्बन्धी प्रक्रिया सहज बनाउन दुबईमा परीक्षा केन्द्र स्थापना गरिएको आईक्यानले जनाएको छ । विश्वका विभिन्न देशमा कार्यरत नेपाली चार्टर्ड एकाउन्टेन्ट तथा लेखा व्यवसायीको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै यो पहल गरिएको संस्थाको भनाइ छ । आईक्यानका अनुसार दुबईमा सदस्यता परीक्षा सञ्चालन हुनु संस्थाको आधुनिकीकरण, अन्तर्राष्ट्रिय पहुँच विस्तार र सेवाको पहुँच बढाउने दिशामा महत्वपूर्ण उपलब्धि हो । यसले नेपालबाहिर रहेका नेपाली लेखा व्यवसायीलाई पनि आईक्यानका परीक्षा तथा सदस्यतासम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने संस्थाको प्रतिबद्धता झल्काएको छ । परीक्षा सफलतापूर्वक सञ्चालन गर्न परीक्षा स्थल र आवश्यक पूर्वाधार उपलब्ध गराएकोमा आईक्यानले दुबईस्थित इन्डियन हाई स्कूल प्रति आभार व्यक्त गरेको छ । साथै, परीक्षा योजना, समन्वय र सञ्चालनमा सहयोग पुर्‍याएको दुबई आईक्यान च्याप्टर, सम्बन्धित अधिकारी, कर्मचारी तथा अन्य सरोकारवालालाई पनि संस्थाले धन्यवाद दिएको छ । आईक्यानले दुबई परीक्षा केन्द्रको सफल स्थापना र सञ्चालनले विदेशमा रहेका नेपाली लेखा व्यवसायीका लागि सदस्यता परीक्षा र अन्य व्यावसायिक सेवाको पहुँच थप विस्तार हुने विश्वास व्यक्त गरेको छ ।