काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पक्राउ गर्न सम्भव नरहेको बताएका छन् । थापा पक्राउ पर्न सक्ने चर्चा भइरहेका बेला प्रचण्डले उनलाई कसैले पक्राउ गर्न नसक्ने टिप्पणी गरेका हुन् ।
पत्रकारहरूसँग आज कुरा गर्दै प्रचण्डले सरकार संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मान्यताबाट विचलित हुन खोजेको आरोप लगाए । यस्तो प्रवृत्ति देश र जनताका लागि चिन्ताजनक रहेको उनको भनाइ थियो ।
पत्रकारहरूले गगन थापा पक्राउ पर्ने चर्चाबारे जिज्ञासा राखेपछि प्रचण्डले भने, ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजी पक्रन कसैले सक्दैन ।’
यसैबीच, प्रहरी महानिरीक्षक पदबाट दानबहादुर कार्कीलाई हटाइएको विषयमा भने प्रचण्डले टिप्पणी गर्न अस्वीकार गरे ।
उक्त निर्णयविरुद्ध अदालतमा रिट परेको उल्लेख गर्दै उनले न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको विषयमा अहिले बोल्न उपयुक्त नहुने बताए ।