काठमाडौं । भारतको झारखण्डमा भीषण सडक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन जना बालबालिका पनि छन् । प्रहरीले शुक्रबार घटनाबारे जानकारी दिएको हो ।
यसअघि भएको एउटा दुर्घटनालाई लिएर सडकमा मानिसहरूको भीड जम्मा भएका बेला तीव्र गतिमा आएको १८ चक्के ट्रकले उनीहरूलाई किचेको थियो ।
झारखण्डको खून्टी जिल्लामा बिहीबार राति उक्त दुर्घटना भएको हो ।
घटनाप्रति झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार खून्टीका प्रहरी उपरीक्षक ऋषभ गर्गले बिहीबार राति कर्रा–तोरपा मुख्य सडकमा खाल्डोमा खसेको स्कुटर चालकलाई उद्धार गर्न केही मानिसहरू पुगेको बताएका छन् ।
उक्त घटनास्थलमा केही महिला र बालबालिकासहित अन्य मानिसहरू पनि जम्मा भएका थिए । उनीहरू दुर्घटनाबारे बुझ्न र उद्धारमा सहयोग गर्न त्यहाँ पुगेका थिए ।
त्यही क्रममा तोरपातर्फबाट आइरहेको १८ चक्के ट्रकले तीव्र गतिमा मोड काट्ने क्रममा सडकमा जम्मा भएका मानिसहरूलाई किचेको प्रहरी अधिकारीले बताए ।
उनका अनुसार अँध्यारो भएका कारण ट्रक चालकले सडकमा मानिसहरूको भीड जम्मा भएको नदेखेको हुन सक्ने अनुमान गरिएको छ ।