मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश पारित

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश (करसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

शुक्रबार सम्पन्न सभाले कम्पनीको प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गरेको छ । 

जसअनुसार ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत लाभांश दर कायम भएको अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरिनेछ ।

यस्तो सेयरमा कम्पनीले मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण गर्नेछ । उक्त सेयर नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित नियामक निकायको स्वीकृति प्राप्त भएपछि जारी गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८३/८४ का लागि एनकेटी एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभामा शेयरधनीहरूले कम्पनीको व्यावसायिक प्रगति, संस्थागत सुशासन, वित्तीय अवस्था र आगामी योजनाबारे चासो राखेका थिए । कम्पनीले घोषणा गरेको २० प्रतिशत लाभांशप्रति सेयरधनीहरूले सन्तुष्टि व्यक्त गरेका थिए ।

Share News