कांग्रेसको पालिका अधिवेशन सुरू
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ । वडा अधिवेशन सम्पन्न गरेपछि कांग्रेसले स्थानीय तहमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाएको हो । आज हुने अधिवेशनबाट प्रत्येक पालिकामा नयाँ कार्यसमिति चयन हुनेछ । कांग्रेसको नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका कार्यसमितिमा सभापति, दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् । दुई उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । कोषाध्यक्ष भने निर्वाचनबाट चयन हुने छैनन् । निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था विधानमा छ । पालिका तहको नेतृत्व चयनसँगै कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्लो तहदेखि संगठन निर्माण र प्रतिनिधि छनोटको प्रक्रिया थप अघि बढ्नेछ । पार्टीले महाधिवेशनअन्तर्गत यसअघि वडा तहको अधिवेशन अघि बढाइसकेको छ । यसैबीच, बाढीपहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको रसुवामा भने आज पालिका अधिवेशन नहुने भएको छ । विपद्का कारण जिल्लाको अवस्था सामान्य नरहेकाले त्यहाँको अधिवेशन केही दिनपछि गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार विपद्को विशेष परिस्थितिलाई ध्यानमा राखेर रसुवाको अधिवेशनको मिति केही दिनपछि सार्ने तयारी गरिएको हो । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको अधिवेशनपछि क्रमशः माथिल्ला तहका सांगठनिक संरचना निर्माणको प्रक्रिया अघि बढ्नेछ ।
दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केअनहीको कैद सजाय ५ वर्षमा झर्यो
काठमाडौं । दक्षिण कोरियाको एक पुनरावेदन अदालतले पूर्व राष्ट्रपति युन सुक–योलकी पत्नी किम केअन–हीलाई दिइएको सात वर्षको जेल सजाय घटाएर पाँच वर्ष कायम गरेको छ । मंगलबार सिओल उच्च अदालतले गरेको फैसलामा केही अभियोगमा उनलाई सफाइ दिँदै सजायमा दुई वर्ष कटौती गरिएको हो । सिओल उच्च अदालतले सरकारी पद बिक्री र भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै पूर्व प्रथम महिला किम केअन–हीविरुद्धको सजाय घटाएको हो । अदालतले उनलाई केही साना अभियोगबाट सफाइ दिए पनि मुख्य भ्रष्टाचारका मुद्दामा दोषी ठहर गरेको छ । फैसलासँगै अदालतले उनले उपहारस्वरूप लिएका सामग्री जफत गर्ने आदेश दिएको छ भने २४.४ मिलियन वन (करिब १८ हजार अमेरिकी डलर) जरिवाना तोकेको छ । अनुसन्धानको नेतृत्व गरेका विशेष काउन्सिल मिन जोङ–कीको टोलीले पदको दुरुपयोग गरी बहुमूल्य गहना र विलासी वस्तुहरू लिएको भन्दै सात वर्षको सजाय माग गरेको थियो । यद्यपि, अदालतले सन् २०२२ मा एक रोबोट डग व्यवसायीबाट लिएको विलासी घडी र केही तस्बिरसम्बन्धी अभियोगमा पर्याप्त प्रमाण नभएको भन्दै उनलाई ती आरोपबाट सफाइ दिएको छ । अदालतले अन्य गम्भीर भ्रष्टाचारका अभियोग भने कायमै राखेको छ । किमले सन् २०२२ को मार्चदेखि मे महिनाको अवधिमा एक व्यवसायीबाट बहुमूल्य गहना (हार, ब्रोच र झुम्का) लिएर उनका ज्वाइँलाई सरकारी नियुक्ति दिलाएको पुष्टि भएको छ । त्यस्तै, एक पादरीबाट विलासी झोला र अन्य सामग्री तथा पूर्व शिक्षा आयोग प्रमुखबाट सुनको कछुवा लिई नियुक्तिमा अनुचित प्रभाव पारेको अभियोगमा उनी दोषी ठहरिएकी छिन् । साथै, सन् २०२३ मा राजनीतिक मनोनयनका लागि पूर्व सरकारी वकिलबाट पेन्टिङ उपहार लिएको मुद्दा पनि अदालतले सदर गरेको छ । अगस्ट २०२५ मा पक्राउ परेपछि हिरासतबाटै मुद्दा खेपिरहेकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा रही सुनुवाइ हुने पहिलो पूर्व राष्ट्रपति पत्नी हुन् ।
७१ अर्बका २ आयोजनाको प्रगति २ प्रतिशत, २०३० मा बिजुली उत्पादनको लक्ष्य
काठमाडौं । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक प्राइभेट लिमिटेडले गोरखामा कुल ३२९.४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ । कम्पनीले बूढीगण्डकी नदीको बहावमा क्रमिक रूपमा १०३.४ मेगावाटको बूढीगण्डकी ‘क’ र २२६ मेगावाटको बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको हो । दुवै आयोजना निर्माण तथा सञ्चालनका लागि निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण अर्थात् बुट प्रणाली अपनाइनेछ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौताअनुसार बूढीगण्डकी ‘क’ आयोजनाबाट सन् २०३० मार्च र बूढीगण्डकी ‘ख’ आयोजनाबाट सन् २०३० मेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । दुवै आयोजना निर्माणका लागि कुल ७० अर्ब ९८ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको वित्तीय व्यवस्थापन ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीबाट गर्ने योजना छ । यसअनुसार करिब ५० अर्ब रुपैयाँ ऋण र २० अर्ब ९८ करोड ७० लाख रुपैयाँ स्वपुँजीबाट जुटाउने प्रस्ताव गरिएको छ । ऋणतर्फको वित्तीय व्यवस्थापन भने अझै प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २०८३ भदौसम्म प्रवर्द्धकहरूले १५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी र ९३ करोड ८० लाख रुपैयाँ अग्रिम सेयर पुँजीबापतको रकम लगानी गरिसकेका छन् । आयोजनाको निर्माण भने प्रारम्भिक चरणमै रहेको छ । २०८३ भदौ ९ गतेसम्म आयोजनाको वित्तीय प्रगति करिब २ प्रतिशत रहेको छ । १०३.४ मेगावाटको बूढीगण्डकी ‘क’ आयोजनाबाट वार्षिक ५४१.३७ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसको अनुमानित लागत २३ अर्ब २० करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, २२६ मेगावाटको बूढीगण्डकी ‘ख’ आयोजनाबाट वार्षिक १ हजार २१४.०२ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसको अनुमानित लागत ४७ अर्ब ७७ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीले दुवै आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्रीका लागि २०८१ वैशाखमा नेपाल विद्युत् प्राधिकरणसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता गरेको छ । सम्झौताअनुसार बूढीगण्डकी ‘क’ बाट वार्षिक ५४१.३७ गिगावाट घण्टा र बूढीगण्डकी ‘ख’ बाट १ हजार २१४.०३ गिगावाट घण्टा विद्युत् बिक्री गरिनेछ । विद्युत् खरिद सम्झौता ‘लिऊ वा भुक्तानी गर’ अर्थात् टेक अर पे प्रणालीमा आधारित छ । वर्षायाममा सम्झौता गरिएको कुल विद्युत्मध्ये १० प्रतिशत हिस्सा आरक्षित सीमाअन्तर्गत राखिएको छ । सम्झौता व्यावसायिक विद्युत् उत्पादन सुरु भएको मितिदेखि ३० वर्ष वा विद्युत् उत्पादन अनुमतिपत्रको वैधता अवधिमध्ये जुन पहिले समाप्त हुन्छ, त्यतिसम्म कायम रहनेछ । कम्पनीले २०८० माघमा ३२९.६० मेगावाट क्षमताका लागि ३५ वर्ष अवधिको विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको हो । सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा, सुख्खायामको उच्च मागको समयमा प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र अन्य समयमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा विद्युत् दर तोकिएको छ । आधारभूत विद्युत् दरमा व्यावसायिक उत्पादन मितिबाट १२ महिना पूरा भएपछि प्रत्येक वर्ष ३ प्रतिशतका दरले आठ पटकसम्म मूल्य वृद्धि हुने व्यवस्था छ । कम्पनीको अध्यक्षमा एभरेस्ट हाइड्रो होल्डिङ्स कम्पनी लिमिटेडका तर्फबाट प्रतिनिधित्व गर्ने चेन लिक्सिङ रहेका छन् । उक्त कम्पनीले नौलो नेपाल हाइड्रोमा करिब ९५ प्रतिशत स्वामित्व राखेको छ । कम्पनीका अनुसार सञ्चालक चेन झेनवेनसँग विभिन्न लगानी तथा परियोजना व्यवस्थापनमा एक दशकभन्दा बढीको अनुभव छ भने अर्का सञ्चालक गोरख थापासँग विभिन्न व्यवसाय सञ्चालनको अनुभव रहेको छ । तोकिएको व्यावसायिक उत्पादन मितिभित्र आयोजना सम्पन्न हुन नसके ढिलाइबापत जरिवाना तिर्नुपर्ने व्यवस्था विद्युत् खरिद सम्झौतामा रहेको छ । व्यावसायिक उत्पादन मिति ६ महिनाभन्दा बढी ढिलो भए विद्युत् महसुल दरमा हुने वृद्धिसम्बन्धी व्यवस्थामा समेत प्रतिबन्ध लाग्ने प्रावधान छ । हाल आयोजनाको वित्तीय प्रगति न्यून रहेकाले तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्नु कम्पनीका लागि महत्वपूर्ण देखिएको छ ।
२० प्रतिशत लाभांश वितरण गर्ने आरविवि मर्चेन्ट बैंकिङको घोषणा
काठमाडौं । आरविवि मर्चेन्ट बैकिङ्गले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २० करोड रुपैयाँको करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २९ गते अपरान्ह ४ बजे काठमाडौंको सिंहदरबार प्लाजास्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा ११औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, सभाले कम्पनीका सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत पारित गर्नेछ । आरविवि मर्चेन्ट बैंकिङ : १० वर्षमा ५४ करोडको सम्पत्ति, ७३ प्रतिशत लाभांश
नेशनल क्यापिटलले ७.३६ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । नेशनल क्यापिटल लिमिटेडले सेयरधनीलाई ७.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २८ गते बिहान साढे १० बजे काठमाडौं महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशतका दरले ७ लाख ३६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । सभाले सञ्चालकहरूको बैठक भत्ता अनुमोदन गर्ने, सञ्चालक समितिको संरचना संशोधन गर्न नियमावली संशोधन तथा नियामकबाट प्राप्त निर्देशन बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गर्नेछ ।
कुमारी बैंकले असोज २८ गते डाक्यो २६औं सभा, लाभांश पारित गर्ने
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक ब्याङ्क्वेटमा २६औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटीजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ म्युचुअल फण्ड–२ मा आवेदन दिने समय थपियो
काठमाडौं । मुक्तिनाथ क्यापिटलले निष्कासन गरेको मुक्तिनाथ म्युचुअल फण्ड-२ मा आवेदन दिने समय थपिएको छ । असोज १ गतेदेखि बिक्री खुला गरिएको उक्त योजनामा लगानीकर्ताले असोज १५ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । यद्यपि, मागभन्दा बढी आवेदन परेमा तोकिएको अवधिभन्दा अगावै निष्कासन तथा बिक्री बन्द गरिने क्यापिटलले जनाएको छ । मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई बिक्री खुला गरेको हो । क्यापिटलले कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गरेको छ । कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंकका लागि र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको क्यापिटलले जनाएको छ । उक्त योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।
एनआईसी एशियाको इक्विटी अपोर्चुनिटी फण्ड बिक्री खुला, कति आवेदन दिने ?
काठमाडौं । एनआईसी एशिया क्यापिटलले आज असोज ७ गतेदेखि ‘एनआईसी एशिया इक्विटी अपोर्चुनिटी फण्ड’को इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । एनआईसी एशिया बैंक कोष प्रवद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गरेको हो । कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएके कम्पनीले जनाएको छ । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले असोज १३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि असोज २१ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । इकाई खरिदका लागि धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । यस योजनाको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।