नेता-कार्यकर्तालाई रास्वपाको सात निर्देशन

सूचना चुहाउनेको सदस्यता खारेज, आर्थिक पहुँचका आधारमा उम्मेदवार बन्न नपाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र हुने निर्वाचन, अधिवेशन र उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब र व्यक्तिगत पहुँच प्रयोग नगर्न निर्देशन दिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले अपिल तथा निर्देशन जारी गर्दै विधि र निर्धारित प्रक्रियाविपरीत गतिविधि गर्नेहरूलाई उम्मेदवारी खारेजदेखि पार्टी सदस्यता समाप्तिसम्मको कारबाही गर्ने चेतावनी दिएको हो ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले कात्तिक २० गते जारी गरेको निर्देशनमा पार्टीका सबै तहका निर्वाचन तथा नेतृत्व चयनका गतिविधि विधान र स्वीकृत कार्यविधिअनुसार मात्रै सञ्चालन गर्न भनिएको छ । 

अनधिकृत रूपमा समानान्तर प्रक्रिया अघि बढाउने, व्यक्तिगत प्रभाव प्रयोग गर्ने, आर्थिक चलखेल गर्ने र धम्की दिएर प्रतिस्पर्धीलाई प्रभावित पार्ने गतिविधि निषेध गरिएको छ ।

रास्वपाले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पनि व्यवस्थित गर्न खोजेको छ । निर्वाचनमा आवेदन दिएको वा क्लबमा आबद्ध भएको आधारमा मात्रै उम्मेदवारी सुनिश्चित नहुने आयोगले स्पष्ट पारेको छ । 

नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन र प्राथमिक निर्वाचनलगायत निर्धारित प्रक्रिया पूरा गरेपछि मात्रै पार्टीले उम्मेदवारको अन्तिम निर्णय गर्ने निर्देशनमा उल्लेख छ ।

त्यस्तै, वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनको तयारी गर्दा सम्बन्धित संरचनाले माथिल्लो तहको नेतृत्व तथा विभागसँग परामर्श गर्नुपर्नेछ । पार्टीबाट आधिकारिक मिति घोषणा नभएसम्म उम्मेदवारी घोषणा गर्ने वा प्रचारप्रसारमा लाग्ने गतिविधि गर्न पनि रोक लगाइएको छ ।

निर्वाचन तथा अधिवेशनलाई स्वच्छ बनाउन आयोगले आर्थिक लेनदेन, भोजभतेर, भ्रामक प्रचार, प्रतिस्पर्धीको चरित्रहत्या र पदको दुरुपयोगलाई निषेध गरेको छ । 

व्यक्तिगत पहुँच र गुटगत प्रभावका आधारमा नेतृत्व चयन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै सबै प्रतिस्पर्धीलाई समान अवसर उपलब्ध गराउनुपर्ने निर्देशनमा जोड दिइएको छ ।

आयोगले पार्टीका आन्तरिक दस्तावेज, निर्णय, छलफल, पत्राचार तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न पनि निर्देशन दिएको छ । आधिकारिक स्वीकृतिबिना आन्तरिक सूचना सार्वजनिक गर्ने वा त्यसको दुरुपयोग गर्ने गतिविधि गर्न नपाइने उल्लेख छ ।

निर्देशन उल्लङ्घन गर्ने व्यक्तिमाथि उम्मेदवारी खारेज, निर्वाचन प्रक्रियाबाट निष्कासन, निलम्बन तथा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुन सक्ने आयोगले चेतावनी दिएको छ ।

रास्वपाले पार्टीभित्रको निर्वाचन र नेतृत्व चयनलाई विधिसम्मत, निष्पक्ष तथा प्रतिस्पर्धात्मक बनाउन भन्दै यस्तो निर्देशन जारी गरेको हो ।

यस्ता छन् सात निर्देशन :

१. विधिको पालनाः निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोटसम्बन्धी सबै गतिविधि पार्टी विधान, स्वीकृत कार्यविधि र आधिकारिक निर्देशनअनुसार मात्र सञ्चालन गर्नुपर्नेछ, अनधिकृत वा समानान्तर प्रक्रिया गर्न पाइने छैन ।

२. निष्पक्ष प्रतिस्पर्धाः व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्कीजस्ता अनुचित प्रभाव प्रयोग गर्न निषेध गरिएको छ र सबैलाई समान अवसर सुनिश्चित गर्नुपर्छ ।

३. स्थानीय निर्वाचन उम्मेदवार छनोटः स्थानीय निर्वाचनमा आवेदन दिएको वा क्लबमा आबद्ध भएको भरमा मात्र उम्मेदवारी अन्तिम हुँदैन । तोकिएका प्रक्रिया (नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन, प्राथमिक निर्वाचन आदि) पूरा भएपछि मात्र पार्टीले अन्तिम निर्णय गर्नेछ ।

४. अधिवेशन तथा नेतृत्व चयन : वडा, पालिका, जिल्ला तथा प्रदेश तहका संरचनाले अधिवेशनको तयारी गर्दा माथिल्लो तहको नेतृत्व र विभागसँग परामर्श गर्नुपर्नेछ। आधिकारिक मिति घोषणा नभई उम्मेदवारी घोषणा वा प्रचार गर्न पाइने छैन ।

५. आचारसंहिता र सार्वजनिक अभिव्यक्तिः आर्थिक लेनदेन, भोजभतेर, भ्रामक प्रचार, चरित्रहत्या वा पदको दुरुपयोग निषेध गरिएको छ ।

६. उल्लङ्घनमा कारबाही : निर्देशन वा आचारसंहिता उल्लङ्घन गर्नेलाई उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, निलम्बन वा पार्टी सदस्यता समाप्तसम्मको कारबाही हुन सक्नेछ ।

७. गोपनीयता तथा आन्तरिक सूचनाको संरक्षण : आन्तरिक दस्तावेज, निर्णय, छलफल, पत्राचार तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नुपर्नेछ । आधिकारिक स्वीकृतिबिना यस्ता सूचना सार्वजनिक वा दुरुपयोग गर्न निषेध गरिएको छ ।

Share News