६ हजार नेपाली विदेश जान नपाउने, ४ हजार विदेशीको पासपोर्ट रोक्का
काठमाडौं । अध्यागमन विभागले १० हजार जनाको पासपोर्टलाई कालोसूचीमा राखेको छ । विभागका प्रवक्ता टीकाराम ढकालले नेपाली र विदेशी नागरिकको पासपोर्ट रोक्का गरिएको जानकारी दिए । ६ हजार नेपाली र ४ हजार विदेशी पासपोर्ट रोक्का गरिएको हो । नेपाल प्रहरी, कारागार व्यवस्थापन विभाग, अदालत, सम्पत्ति शुद्धीकरण विभाग, सहकारी विभाग र अख्तियार दुरुपयोग जस्ता सरकारी निकायका पत्राचारको आधारमा १० हजार जनाको पासपोर्ट रोक्का गरिएको हो । प्रवक्ता ढकालका अनुसार विभिन्न सरकारी निकायबाट आएको पत्रले नागरिकताको आधारमा राहदानी रोक्का गरिएको हो । नयाँ प्रणालीमा आएपछि ४ हजार विदेशी र ६ हजार नेपालीको राहदानी रोक्का गरिएको हो । कालोसूचीमा परेकाको इम्मी पोर्टमा राखिएका थियो । सन् २०१८ देखि नयाँ नेपाली पोर्टमा स्थानान्तरण गरिएको छ । कालोसूचीमा परेका पुरानाहरूकोसमेत विवरणहरू नयाँमा ल्याइएको ढकालको भनाइ छ । क–कसको राहदानी रोक्का गरिएको भनेर खुलाउन नमिल्ने उनले जानकारी दिए । 'विदेशीहरूको हकमा भने नेपालमा विभिन्न कसुरमा अपराध गरेकाहरूको पासपोर्ट रोक्का गरिएको हो,’ उनले भने, ‘नेपालबाट निष्काशन गरिएका विदेशीको राहदानी रोक्का गरिएको हुन्छ । उनीहरूका लागि निश्चित समयका लागि राहदानी रोक्का गरिएको छ ।'
घण्टा-घण्टामा पूर्वसूचना दिइने : नदीको अवस्था र जोखिम निरन्तर निगरानी
काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिन सक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ । आगामी शुक्रबारदेखि आइतबार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीस्वरूप पूर्वसूचना प्रणालीलाई चुस्त बनाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ । सम्भावित बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले जानकारी दिए । कार्यकारी प्रमुख उप्रेतीले भने, ‘पूर्वसूचना प्रणालीलाई हामी घण्टा–घण्टामा अपडेट गर्ने र अवस्था निगरानी गर्ने काम गर्छौँ । कुनै ठाउँमा बाढी खतराको तहमा कहिले पुग्छ र त्यसले के प्रभाव पार्छ भनेर बाढी पूर्वानुमान महाशाखासँग समन्वय भइरहेको छ । पानी कति परिरहेको छ भन्ने विवरण हामी रियल टाइममा हेर्छौँ । नागरिकको मोबाइलमा एसएमएस अलर्ट आउने भएकाले त्यसलाई गम्भीरतापूर्वक हेरिदिनुहुन अनुरोध गर्दछु ।’ ‘साइक्लोन’ को प्रत्यक्ष निगरानी, उच्च हिमाली क्षेत्रमा ‘रेड अलर्ट’ समुद्रमा बन्ने ठूलो आँधी (साइक्लोन) प्रणाली र त्यसको दिशा परिवर्तनको सम्भावनालाई प्राधिकरणले प्रत्यक्ष निगरानी गरिरहेको छ । मौसम प्रणाली तीव्र गतिमा फेरिन सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई मध्यनजर गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ । मध्यपहाडी र तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ । यसैलाई ध्यानमा राखी जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित स्थानमा ओर्लिन आग्रह गरिएको छ भने ट्राभल एजेन्सीहरूलाई समेत नयाँ बुकिङ नगर्न र हेलिकप्टर उडानको पूर्वतयारीमा सतर्क रहन एडभाइजरी जारी गरिएको छ । यातायात पूर्ण रूपमा रोकिन सक्ने, किसानलाई धानबाली जोगाउन आग्रह विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकहरूमा सवारी आवागमन पूर्ण रूपमा निषेध गरिन सक्ने प्राधिकरणले जनाएको छ । कार्यकारी प्रमुख उप्रेतीका अनुसार शुक्रबार र शनिबार यात्रुहरूलाई अति आवश्यक नपरी यात्रा नगर्न र यातायात व्यवसायीलाई पनि सेवा सञ्चालन नगर्न आग्रह गर्ने तयारी गरिएको छ । पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राखी देशका मुख्य राजमार्गहरूमा तत्काल सडक खुलाउन डोजरहरू ‘स्ट्यान्डबाई’ राखिएको छ । यस्तै, वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पु¥याउन सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज संरक्षणमा विशेष सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरिएको छ । यस सम्बन्धमा कृषि मन्त्रालयमार्फत छुट्टै एडभाइजरीसमेत जारी भइसकेको छ । बाढीमा टिकटक बनाउन र दाउरा संकलन गर्न नजान चेतावनी प्राधिकरणले बाढीको समयमा भिडियो खिच्न, टिकटक बनाउन वा सामाजिक सञ्जालमा सामग्री राख्न आफ्नै ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई कडा चेतावनी दिएको छ । बाढीले बगाएर ल्याएका दाउरा वा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने प्रवृत्ति जोखिमपूर्ण हुने भन्दै यस्ता गतिविधि नगर्न उप्रेतीले आग्रह गरे । हाल देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिनुका साथै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू सम्मिलित कमान्ड पोस्टमार्फत मौसमी अवस्थाको प्रत्यक्ष निगरानी र प्रतिकार्यको तयारी तीव्र पारिएको छ ।
प्रधानमन्त्री बालेनले भने : भारी वर्षा हुँदैछ, मौसम सुधार नभएसम्म यात्रा नगर्नुहोला
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै शुक्रबारदेखि आइतबारसम्म मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिएका हुन् । उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने तथा एक–दुई स्थानमा अत्यधिक वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले मौसम प्रणालीको प्रभावका कारण पोखरा आसपास, लुम्बिनीका पहाडी र तराई क्षेत्र, ताप्लेजुङलगायत कोशीका हिमाली भूभाग, बागमतीका पहाडी जिल्ला, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम बढ्न सक्ने भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन् । विशेषगरी पानी परिरहेका बेला र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा नजान उनले अनुरोध गरेका छन् । त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न प्रधानमन्त्री शाहले सुझाव दिएका छन् । उनले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न तथा सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।
हिमालय अर्गनाइजेसनका कमर्सियल र ईभी किन्दा ८० प्रतिशतसम्म फाइनान्स सुविधा
काठमाडौं । हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच कमर्सियल तथा विद्युतीय सवारी साधन खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । नेपालमा वातावरणमैत्री, आधुनिक र दिगो यातायातलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ हिमालय अर्गनाइजेसन अन्तर्गतका आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रालि तथा सम्बद्ध कम्पनीहरू र गोर्खाज फाइनान्सबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै अब देशभरका ग्राहकले हिमालय अर्गनाइजेसनबाट बिक्री–वितरण हुने सबै कमर्सियल तथा विद्युतीय सवारी साधन खरिद गर्दा ८० प्रतिशतसम्म सहज फाइनान्सिङ सुविधा लिन सक्नेछन् । सम्झौताअनुसार ग्राहक तथा यातायात व्यवसायीले प्रतिस्पर्धी ब्याजदरमा ७ वर्षसम्मको लचिलो भुक्तानी अवधि सहित सवारी कर्जा प्राप्त गर्नेछन् । आवश्यक सबै कागजात बुझाएपछि ३ देखि ५ कार्यदिनभित्र कर्जा स्वीकृत गर्ने व्यवस्था गरिएको दुवै संस्थाले जनाएका छन् । यो कर्जा सुविधा गोर्खाज फाइनान्सका देशभर रहेका शाखा सञ्जालमार्फत तत्काल लागू हुने जनाइएको छ । संस्थाका अनुसार यस सहकार्यले व्यवसायिक तथा विद्युतीय सवारी खरिद प्रक्रिया अझ सहज बनाउनुका साथै दिगो यातायातको विस्तारमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सरकारले असोज १४ देखि कोशी प्रदेशमा सीप तथा रोजगार मेलाको आयोजना गर्ने
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ । मन्त्रालयमा बुधवार पत्रकार सम्मेलन गरी असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको ईटहरीमा मेला आयोजना गर्न लागेको जानकारी दिइएको हो । सीप विकास तथा रोजगारी प्रवर्द्धनका लागि सीप तथा रोजगार मेला राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्न लागिएको मन्त्रालयका सहसचिव एवं सीप तथा रोजगार मेलाका संयोजक हेमराज तामाङले बताए । मन्त्रालयले सातै प्रदेशलाई समेट्ने गरी सात चरणमा मेला आयोजना गर्ने तयारी उनको भनाइ छ । सोहीअनुसार पहिलो चरणमा कोशी प्रदेशको इटहरीमा मेला आयोजना गर्न लागेको उनले बताए । उनका अनुसार सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्ने उद्देश्यले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नीति लिएको छ । सोही नीतिअनुसार मन्त्रालयले मेलामार्फत सीप सिक्न इच्छुक व्यक्तिलाई आवश्यक सीप विकासको अवसर उपलब्ध गराउने तथा सीप हासिल गरिसकेका जनशक्तिलाई रोजगारदाताको मागअनुसार रोजगारीसँग जोड्ने गरी मेलाको आयोजना गर्न लागेको हो । मेलामा जब प्लेसमेन्ट तथा रोजगारदाता र श्रमिकबीच सीपअनुसारको मिलान गर्ने व्यवस्था गर्ने उनले बताए । मेलामा उद्योग, सेवा, कृषि, निर्माण लगायतका विभिन्न १० विधामा जम्मा ६५ वटा स्टलहरु रहने छन् । मेलाले उद्योगको आवश्यकता, श्रम बजारको माग र सीपयुक्त जनशक्तिबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ । तीनै तहका सरकार, निजी क्षेत्र एवं विकास साझेदारको सहभागिता र सहकार्यमा कोशी प्रदेशमा सीप तथा रोजगार मेला सञ्चालन गर्न लागिएको हो । –न्युज एजेन्सी नेपाल
४० अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४०.६१ अंकले घटेर २६१३ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १४ कम्पनीको सेयर मूल्य बढ्दा २६० कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३५२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको २० करोड, लक्ष्मी सनराइजको १८ करोड र घलेम्दी हाइड्रोको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । १३ वटा उपसूचक राताम्य भएका छन् । सबैभन्दा धेरै गिरावट जीवन बीमा समूहमा देखिएको छ । जीवन बीमा उपसूचक २.०४ प्रतिशतले घटेर ११,८००.७९ बिन्दुमा झरेको छ । जलविद्युत् उपसूचक १.६६ प्रतिशत, अन्य उपसूचक १.६५ प्रतिशत र लगानी उपसूचक १.४९ प्रतिशत ले घटेका छन् । त्यस्तै, विकास बैंक उपसूचक १.३६ प्रतिशत, निर्जीवन बीमा १.३२ प्रतिशत, लघुवित्त १.३१ प्रतिशत, व्यापार १.२६ प्रतिशत, बैंकिङ १.२२ प्रतिशत र वित्त समूह १.०९ प्रतिशतले घटेका छन् । होटल तथा पर्यटन उपसूचक ०.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.१५ प्रतिशत ले पनि गिरावट जनाएका छन् ।
सुरक्षा अपनाएर उडान गर्न र ‘स्ट्यान्डबाइ’ बस्न वायुसेवा कम्पनीहरूलाई संघको निर्देशन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न भागमा भारी वर्षा, हावाहुरी र बाढी-पहिरोको जोखिम रहेको पूर्वानुमान गरेको छ । विभागले यस्तो पूर्वअनुमान गरेसँगै वायुसेवा सञ्चालक संघ, नेपाल (एओएन) ले आफ्ना सदस्य वायुसेवा कम्पनीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । संघले बुधबार एक सर्कुलर जारी गर्दै यस्तो आग्रह गरेको हो । संघले वर्षाका कारण साना तथा ठूला नदीहरूमा जलस्तर बढ्न सक्ने, सहरी तथा तराई क्षेत्र डुबानमा पर्न सक्ने र बाढी, पहिरो तथा भूक्षयका कारण हवाई र सडक यातायात प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ । साथै हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन सूचित गरेको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै संघका अध्यक्ष अध्यक्ष प्रताप जंग पाण्डेद्वारा हस्ताक्षरित सर्कुलरमा सदस्य वायुसेवा कम्पनीहरूलाई उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्र उडान गर्न अनुरोध गरिएको छ । यसैगरी, वर्षाका कारण हुन सक्ने सम्भावित बाढी, पहिरो तथा विपद्को समयमा तत्काल उद्धार कार्य सञ्चालन गर्नुपर्ने हुन सक्न संघले जनाएको छ । यस परिस्थितिमा सदस्य वायुसेवा कम्पनीहरूलाई जुनसुकै समयमा उडानका लागि तयारी अवस्थामा बस्न संघले निर्देशन दिएको छ ।
नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको परिचालनमा पारदर्शिता, व्यावसायिक अनुशासन र जोखिम व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारेका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि उठेका जिज्ञासाहरूको जवाफ दिँदै उनले सांसदहरूले व्यक्त गरेको साझा चिन्ता र सान्दर्भिक सुझावहरूको कदर गर्दै विधेयकले कोषलाई थप सशक्त बनाउने दाबी गरेका हुन् । अर्थमन्त्री वाग्लेले नागरिक लगानी कोष नेपाली नागरिकहरूको भविष्यसँग जोडिएको संवेदनशील संस्था भएको उल्लेख गर्दै यसलाई समयानुकूल अद्यावधिक गर्नु आवश्यक रहेको बताए । उनले सांसदहरूले उठाएका विषयहरूलाई पाँचवटा मुख्य बुँदामा संश्लेषण गर्दै लगानीको दायरा फराकिलो बनाउन र संस्थागत सुधार गर्न सरकार सकारात्मक रहेको स्पष्ट पारे । आन्तरिक वचत परिचालनको महत्वमा जोड दिँदै उनले भने, ‘हाम्रो राष्ट्रिय वचतले मात्र लगानीको ठूलो खाडल पुर्न सक्दैन, त्यसैले आन्तरिक र वाह्य दुवै स्रोतको परिचालन अपरिहार्य छ । हामी निजी बैंकमा जस्तो हस्तक्षेप गर्दैनौं, तर सरकारको वित्तीय र मौद्रिक नीति कार्यान्वयनका लागि यी संस्थाहरू औजार हुन् ।’ केही सांसदहरूले आन्तरिक वचत पर्याप्त भएको दाबी गरे पनि देशको राजश्व र खर्चको अवस्था हेर्दा ठूलो लगानीको खाँचो रहेको उनले औंल्याए । जोखिम व्यवस्थापनका विषयमा सांसदहरूले राखेको चासोलाई उनले गम्भीरतापूर्वक लिएको बताए । ‘नाफा निजीकरण र घाटा सामाजिकीकरण’ हुने जोखिमप्रति सचेत रहँदै उनले सार्वजनिक संस्थामा जोखिमपूर्ण लगानीको सीमा तोकिने र स्वार्थ बाझिने अवस्था आउन नदिइने प्रतिवद्धता व्यक्त गरे । सरकारको नीति कार्यान्वयनका लागि सार्वजनिक संस्थानहरूमा सरकारको नियन्त्रण र नियमन आवश्यक रहेको भन्दै उनले नियुक्त गरिएका पदाधिकारीहरूलाई उत्तरदायी बनाउन सरकारले विशेष ध्यान दिने पनि बताए । उनले डिजिटल प्रविधिको उपयोग र संस्थागत सुधारका प्रस्तावहरूलाई समेटेर विधेयकलाई थप जिम्मेवारपूर्ण ढङ्गले अगाडि बढाइने प्रतिवद्धतासमेत जनाए ।