विकासन्युज

सपोर्ट लघुवित्तका सञ्चालक सुमित अधिकारीले दिए राजीनामा

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक सुमित अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।   कम्पनीको साउन १८ गते बसेको सञ्चालक समितिको २६६ औँ बैठकले अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।   सञ्चालक अधिकारीले व्यक्तिगत कारण देखाउँदै सञ्चालक समिति समक्ष राजीनामा पेस गरेका थिए । उनको राजीनामा साउन १८ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ ।  

कांग्रेसले विपद उद्धारमा देशभर हजार दक्ष युवा खटाउने

काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धारका लागि रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीनदिने पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापन समारोहमा एसआरटी टोली गठनको घोषणा गरिएको हो । प्रशिक्षणमा देशभरबाट सहभागी ४० जना युवालाई विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको हो ।  समापन कार्यक्रममा बोल्दै प्रतिष्ठान प्रमुख तथा उपसभापति विश्वप्रकाश शर्माले विपदमा परेका नागरिकको जीवन बचाउने अभियानमा सेवाभावका साथ लाग्न युवाहरूलाई सुझाए ।  ‘बाढी–पहिरो लगायतका प्राकृतिक विपद्का समाचार सुन्ने र हेर्ने अवस्थाबाट अघि बढेर पीडितको उद्धार र पुनःस्थापनामा प्रत्यक्ष योगदान दिनेगरी कांग्रेसले देशभर यस्ता एक हजार दक्ष विपद् स्वयंसेवक उत्पादन गर्ने लक्ष्य राखेको छ,’ उपसभापति शर्माले भने । प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध ११ जना विपद् विज्ञले सहजीकरण गरेका थिए ।  जहाँ विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार र प्रतिकार्यसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाले जानकारी दिए । 

समान पारिश्रमिकको माग गर्दै इन्टर्न चिकित्सकको आमरण अनसन सुरु

काठमाडौं । एमबीबीएस इन्टर्न चिकित्सकका माग पुरा नभएको भन्दै  डिल्ली हरिजनले माइतीघर मण्डलामा अनसन थालेका छन् ।  माग पुरा गर्न विभिन्न निकायमा धाउँदासमेत सम्बन्धित निकायले सुनुवाइ नगरेपछि डिल्ली हरिजनले अनसन सुरु गरेका हुन् ।   इन्टर्न चिकित्सकले विगत चार महिनादेखि शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, लगायत अन्य सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै माग पुरा गर्न भनेको थियो ।   शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित कार्यदलले प्रतिवेदन तयार गरिसकेको भए पनि त्यसअनुसार आवश्यक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाइएको छैन ।  ‘आफूहरूले अतिरिक्त सुविधा नभई समान कामको समान पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग मात्र राखेको चिकित्सकले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।’ सरकारले समयमै निर्णय नगर्दा हजारौं मेडिकल विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्य अन्योलमा परेको इन्टर्न चिकित्सकको भनाइ छ ।  ‘हामीले आन्दोलनभन्दा अघि संवाद रोज्यौं, टकराबभन्दा अघि समाधान खोज्यौं र विरोधभन्दा अघि विश्वास गर्‍यौ‌ं, वक्तव्यमा भनिएको छ, ‘राज्य संयन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण आफू आमरण अनसनमा बस्न बाध्य भएका हौं ।

सुदूरपश्चिम रास्वपाका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँगको छलफल जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार (आज) बिहान ११ बजेबाट छलफल सुरु भएको हो । सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनालले प्रधानमन्त्रीसँग छलफल गरिरहेका हुन्। समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको सचिवालयले जनाएको छ ।

अप्पर स्याङ्गे हाइड्रोले हकप्रद सेयर निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले १:१ (१ बराबर १) को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा चयन गर्ने निर्णय गरेको हो ।  कम्पनीका प्रबन्ध सञ्चालक वीर बहादुर घलेका अनुसार २०८२ असोज ९ गते सम्पन्न नवौँ वार्षिक साधारण सभाले हाल कायम रहेको चुक्ता पुँजी २२ करोड रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव स्वीकृत गरिसकेको थियाे ।   

सिन्धुपाल्चोकका लिपिङमा पहिरो खस्दा तातोपानी नाका जोड्ने अरनिको राजमार्ग ठप्प

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा चीनतर्फको जोड्ने अरनिको राजमार्गसँगको सम्पर्क टुटेको छ ।  जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार मंगलबार (आज) बिहान पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो ।  ‘निकै ठुलो पहिरो खसेको छ । अहिले हटाउन सकिने अवस्था छैन । बिहान करिब ९ बजेतिर खसेको पहिरो अहिले पनि रोकिएको छैन,’ उनले भने । यतिबेला त्यहाँ सडक विभागबाट प्राविधिक टोली खटिएर पहिरो निरीक्षण गरिरहेका छन् । तर, भोटेकोशीले सडकको आधार नै कटान गरेका कारण तत्काल सडक खोल्ने अवस्था नहरेको उनले जानकारी दिए ।  पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ ।  ‘सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन ।  विभागका प्राविधिकले निरीक्षण गरेपछि मात्रै के गर्ने भन्ने बल्ल निक्र्यौल हुन्छ,’ अधिकारीले भने ।  यस्तै, ९ साउनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दोहोरिरहने डाक्लाङ र कोदारी इको क्षेत्रका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।  डाक्लाङ पहिरोबाट ४६ र कोदारी इको पहिरोका कारण करिब सय घरधुरी पहिरोको उच्च जोखिममा छन् ।  मन्त्रीद्वय लम्साल र गौतमले राजमार्ग खुलाउने र स्थानीय बस्तीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरेको निरीक्षणका क्रममा स्थानीय बासिन्दाले भने आफ्नो थातथलो र घरको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन असहमति जनाएका थिए ।  पहिरोका कारण बस्ती नै जोखिममा परेको भन्दै आक्रोशित स्थानीयलाई मन्त्री लम्सालले सरकारले बस्ती स्थानान्तरणदेखि भौतिक सम्पत्तिको सुरक्षाको पूर्ण जिम्मेवारी लिने आश्वासन दिएर काठमाडौं फिर्ता भएका थिए । बर्सेनि दोहोरिने उक्त पहिरोका कारण नेपाल–चीन जोड्ने तातोपानी नाकासमेत ठप्प बन्ने गरेको छ । जसकारण उत्तरतर्फको आयातनिर्यातमा समेत यसको असर पर्ने गरेको छ । 

क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओको जिम्मेवारी अभिजित केसीलाई

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी अभिजित केसीलाई दिइएकाे छ । साउन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।   नियामक निकाय नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रानुसार कम्पनीका सीईओ निलम्बनमा परेपछि नयाँ व्यवस्था नगरुञ्जेलका लागि केसीलाई निमित्त सीइओ तोकिएको हो ।