विकासन्युज

४ कम्पनीमा लागे सकारात्मक सर्किट, ४ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७३ अंकले घटेर २७९६ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पििनिङ मिल्सको भएको छ । रिलाइन्सको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सोलु हाइड्रोको २३ करोड, आँखु खोलाको २६ करोड, नेसनल हाइड्रोको १४ करोड र करपोरेट डेभलपमेन्टको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करपोरेट डेभलपमेन्ट, पाल्पा सिमेन्ट र शिखर पावरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिटी होटलको सेयर मूल्य १४ प्रतिशतले बढेका छन् ।   

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।  सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई १३ औं आईजीपीमा नियुक्त गरेको हो । पौडेलले वैशाख १९ गतेदेखि कार्यभार सम्हाल्नेछन् । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन् ।   

राष्ट्र बैंकले १७ जना कर्मचारीलाई दियो दीर्घ सेवा पदक, क-कसले पाए ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ । राष्ट्र बैंकले सोमबार ७१औं वार्षिकोत्सब कार्यक्रमको आयोजना गर्दै २० वर्ष सेवा अवधि पूरा गरेका १७ जना कर्मचारीलाई सो पदक प्रदान गरेको हो ।  राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पन्डितसँगै कार्यककरी निर्देशकहरु सत्येन्द्र तिमिल्सिना, दीर्घ रावल  र अनुज दहाललाई दीर्घ सेवा पदक प्रदान गरेको हो ।  निर्देशकहरुमा सुदिप फुयाल, निभा, ईश्वरी प्रसाद भट्टराई, रमेश आचार्य, डा. राजन कृष्ण पन्त, इन्द्रा चम्लागाईं, माधव दंगाल, सत्येन्द्रराज सुवेदी, आर्या जोशी, बासुदेब भट्टराई, अशोक घिमिरे, शरण कुमार अधिकारी र गिरिजाप्रसाद कोइरालाले दीर्घ सेवा पदक प्राप्त गरेका छन् ।

राष्ट्र बैंकद्वारा युवराज खतिवडा सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा सम्मानित भएका छन् । सोमबार राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् । अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी सम्मानित भएका हुन् । खतिवडा नेपाल राष्ट्र बैंकको १५औं गभर्नर हुन् । उनको कार्यकाल सन् २०१० देखि  २०१५ सम्म रह्यो । उनी पूर्वअर्थमन्त्री समेत हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् ।  राष्ट्र बैंकको प्रत्येक वार्षिकोत्सव कार्यक्रममा पूर्व गभर्नरलाई सम्मानित गर्ने अभ्यास छ ।   

राष्ट्र बैंकको वार्षिकोत्सवमा कर्मचारीको विरोध र धर्ना

काठमाडौं । नेपाल राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवका अवसरमा बैंकभित्र औपचारिक उत्सव चलिरहँदा बाहिर भने कर्मचारीहरूले चर्को विरोध प्रदर्शन र धर्ना दिएका छन्।  नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको नेतृत्वमा उत्रिएका कर्मचारीहरूले बैंकको उच्च व्यवस्थापनले गैरजिम्मेवार व्यवहार देखाएको भन्दै वार्षिकोत्सव कार्यक्रमलाई पूर्ण रूपमा बहिष्कार गरेका हुन् ।  विशेष गरी आर्थिक वर्ष २०८२/८३ को कार्य सम्पादनमा आधारित बढुवा प्रक्रियामा व्यवस्थापनले अनावश्यक ढिलासुस्ती गरेको र पारदर्शी ढंगले काम नगरेको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् । धर्नामा सहभागी कर्मचारीहरूले ‘बढुवा होस् जालझेल नहोस्’ ‘हाम्रो श्रमको सम्मान गर, बढुवामा अपमान नगर’ ‘भित्री सेटिङ बन्द गर र पारदर्शी बढुवा लागू गर’ जस्ता चर्का नाराहरू लेखिएका पम्प्लेटहरू प्रदर्शन गर्दै बैंकको मूल ढोकामा धर्ना दिएका थिए ।  आफ्नो वृत्तिविकास र श्रमको उचित मूल्याङ्कन हुनुपर्ने माग राख्दै आन्दोलित भएका कर्मचारीहरूले व्यवस्थापनले जालझेलपूर्ण तरिकाले बढुवा प्रक्रिया रोकेको आरोप लगाएका छन् ।

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । यसअघि सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सांसद भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने प्रस्ताव गरेको थियो ।  सोही प्रस्ताव आज बस्ने संसदीय दलको बैठकमा पेश गरी अनुमोदन गर्ने सोलुखुम्वुका सांसद प्रकाशसिंह बस्नेतले जानकारी दिए । बैठकमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरूको उपस्थिति रहेको छ ।   हाल प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ जना सांसद रहेका छन् ।

संघीय निजामती सेवा विधेयक सुधार्न राय र सुझाव संकलन गर्दै मन्त्रालय

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि राय, सुझाव तथा पृष्ठपोषण दिन सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी र आम नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विधेयकलाई थप प्रभावकारी, व्यावहारिक र सर्वस्वीकार्य बनाउन सुझाव संकलन सुरु गरेको जनाएको छ । मन्त्रालयका अनुसार संघीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदा २०८३ वैशाख ११ गते मन्त्रालयको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको थियो । उक्त मस्यौदाप्रति हालसम्म तीन हजारभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राप्त सुझावहरूसँगै विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रिया समेत संकलन गरी विश्लेषण गरिरहेको जनाएको छ । विधेयकलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावलाई व्यवस्थित रूपमा अध्ययन तथा विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको छ । उक्त कार्यसमूहले प्रारम्भिक मस्यौदामा उठेका विषयहरूको अध्ययन गरी उपयुक्तता र औचित्यका आधारमा आवश्यक सुधारसहित अन्तिम रूप दिन सहयोग गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले यसअघि उपलब्ध गराइएको सुझाव लिंकबाहेक थप सुझाव, राय तथा पृष्ठपोषण [email protected] इमेलमार्फत तथा ह्वाट्सएप नम्बरहरूमा समेत पठाउन सकिने जनाएको छ । यस विषयमा सम्बन्धित सबैलाई सक्रिय सहभागिताका लागि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको हो । बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।