कांग्रेसले विपद उद्धारमा देशभर हजार दक्ष युवा खटाउने

काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापन तथा उद्धारका लागि रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीनदिने पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापन समारोहमा एसआरटी टोली गठनको घोषणा गरिएको हो ।

प्रशिक्षणमा देशभरबाट सहभागी ४० जना युवालाई विपद्का बेला उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको हो । 

समापन कार्यक्रममा बोल्दै प्रतिष्ठान प्रमुख तथा उपसभापति विश्वप्रकाश शर्माले विपदमा परेका नागरिकको जीवन बचाउने अभियानमा सेवाभावका साथ लाग्न युवाहरूलाई सुझाए । 

‘बाढी–पहिरो लगायतका प्राकृतिक विपद्का समाचार सुन्ने र हेर्ने अवस्थाबाट अघि बढेर पीडितको उद्धार र पुनःस्थापनामा प्रत्यक्ष योगदान दिनेगरी कांग्रेसले देशभर यस्ता एक हजार दक्ष विपद् स्वयंसेवक उत्पादन गर्ने लक्ष्य राखेको छ,’ उपसभापति शर्माले भने ।

प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रससँग आबद्ध ११ जना विपद् विज्ञले सहजीकरण गरेका थिए । 

जहाँ विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार र प्रतिकार्यसम्बन्धी व्यावहारिक अभ्याससमेत गराइएको कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाले जानकारी दिए । 

Share News