अर्थतन्त्रमा ‘फिजियोथेरापी’ होइन, अब सर्जरी चाहिन्छ : युवराज खतिवडा
काठमाडौं । पूर्व गभर्नर डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र अहिले स्वस्थ रूपमा मोटाएको नभई सुन्निएको अवस्थामा रहेको भन्दै सामान्य सुधारभन्दा पनि संरचनात्मक ‘सर्जरी’ आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको ७१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले गरेका साना–साना ‘फिजियोथेरापी’ले मात्र समस्या समाधान नहुने उल्लेख गर्दै गम्भीर नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए । उनले ऐतिहासिक रूपमा ब्याजदर न्यून बिन्दुमा झरे पनि कर्जाको माग नबढेको उल्लेख गर्दै अहिलेको समस्या केवल राष्ट्र बैंकभित्र सीमित नभई बाह्य आर्थिक संरचनासँग पनि जोडिएको बताए । '१८ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा लगानी भएकै थियो, त्यसैले अहिलेको समस्या राष्ट्र बैंकमा मात्रै छैन, बाहिर पनि छ,' उनले भने । खतिवडाले कर्जाको गुणस्तरीयता कायम गर्न हालका व्यवस्थाको पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । कृषिमा प्रवाह भएको कर्जाबारे राष्ट्र बैंक आफैंले राम्रो नभएको प्रतिवेदन बनाउनु गम्भीर विषय भएको उनको भनाइ थियो । वित्तीय समावेशीकरणका लागि लघुवित्तको लाइसेन्स खुला गरिए पनि विपन्न वर्गबाहेक अन्यले समेत ऋण लिँदा लघुवित्त क्षेत्रमा समस्या देखिएको उनले बताए । राष्ट्र बैंकलाई ‘थिंक ट्यांक इन्स्टिच्युट’ का रूपमा उल्लेख गर्दै खतिवडाले यस संस्थाबाट राष्ट्रिय योजना आयोगलगायत विभिन्न निकायमा नेतृत्व पुगेको स्मरण गरे । देशमा कुनै समस्या आउँदा राष्ट्र बैंकका कर्मचारीको खोजी हुने गरेको भन्दै उनले संस्थाको स्वायत्तता कायम राख्नुपर्ने बताए । उनले राष्ट्र बैंक ऐनमा अर्थसचिवलाई हटाउने बहसभन्दा पनि समन्वय र जवाफदेहितामा जोड दिनुपर्ने धारणा राखे । 'जवाफदेहीसहितको स्वायत्तता हुनुपर्छ, नीतिगत बहस हुन सक्छ तर व्यक्तिगत टकराव हुनु हुँदैन,' उनले भने । आफू गभर्नर हुँदा फरक–फरक दलका पाँच अर्थमन्त्रीसँग काम गरेको स्मरण गर्दै उनले कहिल्यै टसलको अवस्था नआएको बताए। अहिलेका गभर्नरले पनि राजनीतिक नेतृत्वलाई बुझाउन सक्नुपर्ने उनको सुझाव थियो । उनले भने, 'ब्याजदर धेरै हुँदा सेयर बजार घट्यो भन्ने साथीहरू आज कता हुनुहुन्छ ? आज ६ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा बढ्न सकेको छैन ।'
कांग्रेसले संसदीय दलको नेता चुनेसँगै संवैधानिक परिषद्ले पायो पूर्णता, छिट्टै बैठक बस्ने तयारी
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषदले पूर्णता पाएको छ । आज (सोमबार) बसेको कांग्रेस संसदीय दलको बैठकले भीष्मराज आङदेम्बेलाई निर्विरोध रूपमा दलको नेता चयन गरेको हो । परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा मुख्य विपक्षी दलको नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहन्छन् । परिषदको अध्यक्षता प्रधानमन्त्रीले गर्ने संवैधानिक व्यवस्था रहेको छ । कांग्रेस हाल प्रतिनिधिसभामा ३८ सिटसहित प्रमुख विपक्षी दलको रूपमा रहेको छ । दलको नेता चयनसँगै अब संवैधानिक परिषदमा विपक्षी दलको प्रतिनिधित्व सुनिश्चित भएको छ । संवैधानिक परिषद स्रोतका अनुसार मुख्य विपक्षी दलको नेता चयन भएको आधिकारीक जानकारी आए लगत्तै प्रधानमन्त्री बालेन्द्र साह परिषद बैठक बोलाउने तयारीमा रहेका छन् । बैठकले सबैभन्दा पहिले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको परिषद स्रोतले जानकारी दियो । हाल निर्वाचन आयोगसहितका संवैधानिक संस्थाहरू प्रमुखविहीन रहेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, निर्वाचन आयोग, वित्त आयोग लगायतका संवैधानिक संस्थाहरू प्रमुखविहीन रहेका छन् । संवैधानिक परिषद् देशका विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने महत्त्वपूर्ण निकाय हो । परिषद्ले पूर्णता नपाउँदा कतिपय नियुक्ति प्रक्रिया प्रभावित हुने गरेको थियो । अब भने परिषद्ले पूर्ण क्षमतामा काम गर्न सक्ने अपेक्षा गरिएको परिषद स्रोतले बतायो ।
८३ प्रतिशत मध्यम वर्गलाई समेट्न नसक्ने राजनीति अब सफल हुँदैन : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेपालको बदलिँदो सामाजिक संरचना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझेर मात्रै अबको राजनीति सफल हुने बताएका छन् । मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘मदन भण्डारी, सामाजिक एकता र राष्ट्र निर्माण’ विषयक विचार गोष्ठीमा बोल्दै पाण्डेले पुरानो शैलीको राजनीतिले आजको आवश्यकता पूरा गर्न नसक्ने तर्क गरेका हुन् । नेपालका राजनीतिक दलहरूले आफ्नो वर्ग आधार पुनरावलोकन गर्नुपर्नेमा जोड दिए । उनले केवल १७ प्रतिशतको मात्र कुरा गरेर र ८३ प्रतिशत डोमिनेन्ट मध्यम वर्गलाई उपेक्षा गरेर अब कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने ठोकुवा गरे । जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता चर्चा गर्दै पाण्डेले मदन भण्डारीले जहिले पनि शास्त्रभन्दा जीवन्त यथार्थलाई महत्व दिएको स्मरण गरे । पार्टीहरूले हिजोको भूमिगतकालीन मानसिकता र नियन्त्रणमुखी शैली नत्यागे नयाँ पुस्ता राजनीतिमा नआउने उनको चेतावनी छ । पाण्डेले भने, ‘२००६ सालमा पार्टी स्थापना हुँदा ९० प्रतिशतभन्दा बढी मानिस गरिब थिए, तर आज परिस्थिति फेरिएको छ । अहिले १७.४ प्रतिशत मात्र गरिबीको रेखामुनि छन् भने ८३ प्रतिशत जनसंख्या मध्यम वर्गमा उक्लिएको छ ।’ नेता पाण्डेले अबको राष्ट्रियता ‘आर्थिक राष्ट्रियता’ हुनुपर्ने बताए ।
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरु हटाउने अभियान पुनः सुरु गरिएको छ । यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएकाले आजदेखि पुनः सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः भत्काउन थालिएको महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले जानकारी दिए । उनले भने, 'हामीले शनिबार र हिजो आइतबार राति अबेरसम्म केही ठूला घरहरू भत्कायौँ, तर अझै धेरै संरचना बाँकी थिए । अहिले फेरि निरन्तर रूपमा काम अगाडि बढाएका छौँ ।' गैरीगाउँ क्षेत्रमा दर्जनौ ठूला स्थायी घर निर्माण गरिएकाले भत्काउने कार्य चुनौतीपूर्ण बनेको महानगर प्रहरीले जनाएको छ । अहिले यहाँ दुई वटा ठूला डोजर तथा हेभी मेसिनको प्रयोग गरेर संरचना भत्काउने काम भइरहेको छ ।
बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई ई-बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीहरुलाई ई- बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको हो । प्राधिकरणका उपनिर्देशक हृदेश्वर पण्डितद्वारा जारी गरेको पत्रमा भनिएको छ, ‘ बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले सबै प्रकारका बीमा शुल्क तथा अन्य भुक्तानीका लागि अनिवार्य ई-बिल/इनभ्वाइस जारी गर्ने व्यवस्था गर्नहुन निर्णयअनुसार लेखिएको छ ।’
कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे निर्विरोध निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेताको जिम्मेवारी भीष्मराज आङ्देम्बेले पाएका छन्। सिंहदरबारमा सोमबार आज बसेको संसदीय दलको बैठकले उनलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो । पूर्वसहमहामन्त्रीसमेत रहेका आङ्देम्बे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुन् ।
सुधारिँदै काठमाडौंको वायु गुणस्तर
काठमाडौं । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौं उपत्यकाको वायु गुणस्तर पुनः सुधारोन्मुख देखिएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण पछिल्ला दिनमा वर्षा सुरु भएसँगै क्रमशः घट्न थालेको हो । एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार गत मङ्गलबार करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचकाङ्क बिहीबार बढेर २४७ पुगेको थियो । उक्त स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए । हाल भने प्रदूषण घट्दै आज एक्युआई १४१ मा झरेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्दछ । एक्युआईको मापदण्डअनुसार ०–५० सम्म ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वर्षाले वायु प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 'लामो समयसम्म वर्षा नहुँदा धुलो र धुवाँ वायुमण्डलमा थुप्रिने, वन डढेलो बढ्ने र त्यसबाट निस्किएको धुवाँ उपत्यकामा जम्ने अवस्थाले प्रदूषण उच्च हुन्छ,' उनले भने, 'साथै छिमेकी मुलुक भारतबाट आउने प्रदूषित हावाले पनि काठमाडौंको वायु गुणस्तरमा असर पार्ने गरेको छ ।' उनले प्रदूषण नियन्त्रणका लागि सम्बन्धित निकायहरूले दिगो तथा वातावरणमैत्री विकासका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनका अनुसार बुधबारदेखि वर्षाको राम्रो सम्भावना रहेको छ । यसले वायुमा रहेका धुलो र कणहरूलाई नियन्त्रण गर्दै प्रदूषण थप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्रिवि क्रिकेट मैदानबारे भ्रम नछरौं, लिज सम्झौता फेरि सुरु हुन्छ : प्रवक्ता पोखरेल
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहट्ने बताएका छन् । मन्त्रिपरिषद्को बैठकपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली गर्ने सरकारको कुनै उद्देश्य नभएको उनको भनाइ छ । उनले भने, ‘त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान खाली गराउने कुनै उद्देश्य छैन ।’ उनले लिज सम्झौता सकिएको हुनाले त्यसलाई फेरि नयाँ ढंगले सुरु गर्न सकारात्मक कुराकानी भएको पनि जानकारी दिए । सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त