विकासन्युज

क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओको जिम्मेवारी अभिजित केसीलाई

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) काे जिम्मेवारी अभिजित केसीलाई दिइएकाे छ । साउन १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत केसीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।   नियामक निकाय नेपाल बीमा प्राधिकरणको २०८३ असार १ गतेको पत्रानुसार कम्पनीका सीईओ निलम्बनमा परेपछि नयाँ व्यवस्था नगरुञ्जेलका लागि केसीलाई निमित्त सीइओ तोकिएको हो ।   

परराष्ट्रका सहसचिव भट्टराईलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई मंगलबार (आज) जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइने भएको छ।   सोमबार (हिजो) नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको थियो । सीआईबीले उनलाई मनोहराबाट पक्राउ गरेको थियो ।  ब्यूरोका प्रवक्ता अनुपशमशेर जबराले राहदानी ऐन अन्तर्गत भट्टराईलाई पक्राउ गरिएको जानकारी दिएका थिए । काठमाडौंस्थित जर्मन राजदूतावासमा जर्मनी जाने भिसा प्रयोजनको लागि यात्रा अनुमति पत्रसाथ उपस्थित भएका व्यक्तिहरुको राष्ट्रियतामाथि शंका लागि सोधपुछ गर्न दूतावासले पत्र पठाएको थियो । २०६८  जेठ २० गतेको पत्रसाथ यात्रा अनुमति पत्र सक्कल पाँच थान अनुसन्धान एवं कारबाहीको लागि ब्यूरोलाई अनुरोध गरिएको थियो । राहदानी ऐन अन्तर्गतको कसूरमा अनुसन्धान गर्दा यात्रा अनुमति पत्र जारी गर्नेमा खोटाङ, रावाबेसी गाउँपालिका ३ का काठमाडौं, कागेश्वरी मनोहरा ९ बस्ने तत्कालीन समयमा परराष्ट्र मन्त्रालय, कन्सुलर शाखामा शाखा अधिकृत हाल परराष्ट्र मन्त्रालय, श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखामा कार्यरत ५६ वर्षीय भट्टराईको संलग्नता देखिएको थियो ।

बैंकका सीईओहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार (आज) वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन्। आज अपरान्ह ३ बजे अर्थ मन्त्रालयमा छलफल हुन लागेको हो । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्रीले सीईओहरूसँग छलफल गर्न थालेका हुन् । छलफलमा २० वटा वाणिज्य बैंकका सीईओहरू सहभागी हुने मन्त्रालयको सचिवालयले जनाएको छ ।

नारायणीमा हाजिरै नभएकी डा. मिश्रलाई वीरमा सरुवा

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११औं तहकी विशेषज्ञ जनरल सर्जन डा. उदिता मिश्रलाई दरबन्दी भएको अस्पतालमा हाजिर नै नगरी वीर अस्पतालमा सरुवा गरेपछि उक्त निर्णयको कानुनी वैधतामाथि प्रश्न उठेको छ ।  ११औं तहमा बढुवा भएपछि डा. मिश्रको दरबन्दी नारायणी अस्पताल, वीरगञ्जमा कायम गरिएको थियो । तर, उनी त्यहाँ हाजिर हुन नगई स्वास्थ्य तथा स्वच्छता मन्त्रालयमै काजमा कार्यरत थिइन् । मन्त्रालयले साउन ६ गतेको निर्णयबाट काजकै अवस्थामा उनको वीर अस्पतालमा सरुवा गरेको छ ।  ‘डा. मिश्रलाई खटिएकै संस्थाबाट तलबभत्ता लिनेगरी वीर अस्पताल चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान न्याम्समा सरुवा गरिएको छ,’ पत्रमा लेखिएको छ । सरकारी सेवामा सरुवा आदेश कार्यान्वयन नगरी तथा सरुवा भएको कार्यालयमा हाजिर नभई काजमा रहेको कार्यालयबाटै पुनः अर्को स्थानमा सरुवा गर्ने अभ्यास प्रचलित कानुनी व्यवस्था र प्रशासनिक प्रक्रियासँग मेल नखाने प्रशासनिक कानुनका जानकारहरू बताउँछन् । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार काज अस्थायी प्रकृतिको जिम्मेवारी हो । काजमा रहे पनि कर्मचारीको दरबन्दी र पदाधिकार भने मूल कार्यालयमै कायम रहने व्यवस्था छ । त्यसैले सरुवा आदेश कार्यान्वयन नगरी काजबाटै अर्को कार्यालयमा सरुवा गर्नु कानुनी रूपमा प्रश्नको विषय भएको उनीहरूको भनाइ छ । यस्तै, निजामती सेवा नियमावली, २०५० को नियम ३९ ले सरुवा भएका कर्मचारीले रमानापत्रमा तोकिएको अवधिभित्र सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने व्यवस्था गरेको छ ।  उक्त नियमअनुसार सरुवा भएको कार्यालयमा हाजिर नभई अर्को पद वा कार्यालयमा सरुवा गर्न नमिल्ने स्पष्ट उल्लेख छ । निर्धारित अवधिभित्र हाजिर नभए सम्बन्धित कर्मचारी विभागीय कारबाहीको भागीदारसमेत बन्न सक्ने व्यवस्था नियमावलीमा रहेको छ । नियमावलीको नियम ४० मा सरुवा भएका कर्मचारीलाई बरबुझारथ तथा तयारीका लागि निश्चित समय दिइने व्यवस्था भए पनि त्यसपछि सम्बन्धित कार्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने प्रावधान छ । नारायणी अस्पतालका सूचना अधिकारी सुशील यादवले डा. मिश्रको सरुवासम्बन्धी पत्र अस्पतालमा प्राप्त भएको पुष्टि गरे ।  स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले पनि उनको वीर अस्पतालमा सरुवा भएको जानकारी दिए । तर मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । डा. मिश्रले पनि आफू वीर अस्पतालमा कार्यरत रहेको स्वीकार गरिन् । विकासन्यूजसँग कुरा गर्दै उनले वीर अस्पतालमा ट्रान्सप्लान्टका डाक्टरहरू नभएकाले आफूलाई सरकारले यहाँ खटाएको बताइन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍. चितरञ्जन साहले काजमा रहेका चिकित्सकहरू मूल दरबन्दीमा नफर्किँदा अस्पतालको सेवा सञ्चालन प्रभावित भइरहेको बताए ।  उनका अनुसार हालसम्म काजमा रहेका चिकित्सकमध्ये पाँच जना मात्रै अस्पतालमा फर्किएका छन् । उक्त अस्पतालका २२ चिकित्सकसहित ४५ जना कर्मचारी हाल काजमा रहेका छन् । डा. साहले केही दिनभित्र काठमाडौं आएर दरबन्दी भएर पनि अन्यत्र कार्यरत चिकित्सकहरूको विषयमा मन्त्रालयसँग छलफल गर्ने र हालै अस्पतालमा भएको आक्रमणबारे पनि मन्त्रालयलाई जानकारी गराउने तयारी रहेको बताए । स्वास्थ्य मन्त्रालयले पछिल्लो समय काजमा रहेका चिकित्सकलाई दरबन्दी भएका अस्पतालमै फर्काउने नीति कार्यान्वयन गरिरहेको दाबी गरिरहेको छ ।  तर, यही समयमै दरबन्दी भएको अस्पतालमा हाजिर नै नगरेकी चिकित्सकलाई काजकै अवस्थाबाट अर्को अस्पतालमा सरुवा गरिएको घटनाले मन्त्रालयको सरुवा प्रणालीमा दोहोरो मापदण्ड अपनाइएको हो कि भन्ने प्रश्न समेत उठाएको छ ।

युनाइटेड अजोडका सीईओ भट्टराईले दिए राजीनामा, निमित्त सीईओमा रेना रिजाल

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् ।  कम्पनीको साउन १८ बसेको सञ्चालक समितिको बैठकले सीईओ भट्टराईको राजीनामा स्वीकृत गरेको हो ।  भट्टराईको राजीनामा आइतबारदेखि नै लागू हुने गरी स्वीकृत गरिएको कम्पनीले जनाएको छ । भट्टराईको राजीनामा स्वीकृत भएसँगै सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीकी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रेना रिजाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।    

दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडकखण्ड

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मंगलबार (आज)बिहान मुग्लिन बजारनजिकै खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै यातायात सञ्चालन भएको छ ।  सडक आज बिहान १०ः३५ बजेबाट मुग्लिन सडकमा दुवैतर्फ गाडी चल्न थालेका हुन् । सडक डिभिजन, भरतपुरका सडक सुपरभाइजर सुकबहादुर गुरूङले पहिरो पन्छाएसँगै दुईतर्फी नै सवारीसाधन गुड्न थालेको जानकारी दिए ।

नबिल र शाइन रेसुङ्गालाई आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । भारतको प्रतिष्ठित इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले नयाँदिल्लीमा आयोजना गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स–२०२६ मा नबिल बैंकले वाणिज्य बैंकतर्फ ‘बेस्ट बैंक अवार्ड’ जितेको हो । विकास बैंकतर्फ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ‘बेस्ट डेभलपमेन्ट बैंक’ घोषित भएको छ । शाइन रेसुङ्गाले ‘बेस्ट डेभलपमेन्ट बैंक’सँगै ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट पर्फर्मेन्स अन ग्रोथ’ गरी तीन विधामा अवार्ड जित्दै उल्लेखनीय सफलता हासिल गरेको छ । आईसीसीले बिम्स्टेक सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका बैंक तथा वित्तीय संस्थाबाट आवेदन माग गरेको थियो । सहभागी संस्थाहरूको वित्तीय अवस्था, संस्थागत सुशासन, व्यवसाय विस्तार, नाफा, नवप्रवर्तन, ग्राहक सेवा र समग्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन गरिएको जनाइएको छ । अवार्ड छनोटका लागि प्राइस वाटरहाउस कूपर्स (पीडब्लुसी) का विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डल गठन गरिएको थियो।  आयोजकका अनुसार यसले पुरस्कार छनोट प्रक्रियाको विश्वसनीयता र पारदर्शिता थप सुदृढ बनाएको छ । यो सम्मानलाई नेपालको बैंकिङ क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । विशेषगरी शाइन रेसुङ्गाले एकैपटक तीन विधामा अवार्ड जित्नु नेपाली विकास बैंकहरूको सुशासन, वित्तीय अनुशासन र दिगो वृद्धिको संकेत भएको विश्लेषण गरिएको छ । इण्डियन चेम्बर अफ कमर्सले हरेक वर्ष दक्षिण एसियाली मुलुकका उत्कृष्ट बैंक तथा वित्तीय संस्थालाई सम्मान गर्दै आएको छ । नेपालका बैंकहरूले प्राप्त गरेको यसपटकको अन्तर्राष्ट्रिय सम्मानले नेपालको बैंकिङ प्रणालीप्रतिको विश्वास र विश्वसनीयता थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।

दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना र पशुपति सहकारीका ७ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन् । बचतकर्तालाई वितरण गरिएको रकम समस्याग्रस्त सहकारीबाट ऋण असुली गरी संकलन भएको रकमबाट भुक्तानी गरिएको समितिले जनाएको छ । समितिले साउन १ गतेदेखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट ऋण असुली गरिएको जानकारी दिएको छ । ऋण असुलीलाई थप प्रभावकारी बनाउँदै बचत फिर्ता प्रक्रिया पनि निरन्तर अघि बढाइएको समितिको भनाइ छ । समितिका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका आधारमा रकम फिर्ता गरिएको हो । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि चरणबद्ध रूपमा रकम फिर्ता गरिनेछ । समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ ।