सिन्धुपाल्चोकका लिपिङमा पहिरो खस्दा तातोपानी नाका जोड्ने अरनिको राजमार्ग ठप्प

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा पहिरो खस्दा चीनतर्फको जोड्ने अरनिको राजमार्गसँगको सम्पर्क टुटेको छ । 

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार मंगलबार (आज) बिहान पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । 

‘निकै ठुलो पहिरो खसेको छ । अहिले हटाउन सकिने अवस्था छैन । बिहान करिब ९ बजेतिर खसेको पहिरो अहिले पनि रोकिएको छैन,’ उनले भने ।

यतिबेला त्यहाँ सडक विभागबाट प्राविधिक टोली खटिएर पहिरो निरीक्षण गरिरहेका छन् । तर, भोटेकोशीले सडकको आधार नै कटान गरेका कारण तत्काल सडक खोल्ने अवस्था नहरेको उनले जानकारी दिए । 

पहिरोका कारण सडकखण्डमा सवारीसाधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका ठप्प भएको छ । 

‘सडक भासिएको र माथिबाट खन्न नमिल्ने भएकोले वाल लगाएर नउठाइ सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । 

विभागका प्राविधिकले निरीक्षण गरेपछि मात्रै के गर्ने भन्ने बल्ल निक्र्यौल हुन्छ,’ अधिकारीले भने । 

यस्तै, ९ साउनमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दोहोरिरहने डाक्लाङ र कोदारी इको क्षेत्रका पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । 

डाक्लाङ पहिरोबाट ४६ र कोदारी इको पहिरोका कारण करिब सय घरधुरी पहिरोको उच्च जोखिममा छन् । 

मन्त्रीद्वय लम्साल र गौतमले राजमार्ग खुलाउने र स्थानीय बस्तीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरेको निरीक्षणका क्रममा स्थानीय बासिन्दाले भने आफ्नो थातथलो र घरको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन असहमति जनाएका थिए । 

पहिरोका कारण बस्ती नै जोखिममा परेको भन्दै आक्रोशित स्थानीयलाई मन्त्री लम्सालले सरकारले बस्ती स्थानान्तरणदेखि भौतिक सम्पत्तिको सुरक्षाको पूर्ण जिम्मेवारी लिने आश्वासन दिएर काठमाडौं फिर्ता भएका थिए ।

बर्सेनि दोहोरिने उक्त पहिरोका कारण नेपाल–चीन जोड्ने तातोपानी नाकासमेत ठप्प बन्ने गरेको छ । जसकारण उत्तरतर्फको आयातनिर्यातमा समेत यसको असर पर्ने गरेको छ । 

Share News