काठमाडौं । एमबीबीएस इन्टर्न चिकित्सकका माग पुरा नभएको भन्दै डिल्ली हरिजनले माइतीघर मण्डलामा अनसन थालेका छन् ।
माग पुरा गर्न विभिन्न निकायमा धाउँदासमेत सम्बन्धित निकायले सुनुवाइ नगरेपछि डिल्ली हरिजनले अनसन सुरु गरेका हुन् ।
इन्टर्न चिकित्सकले विगत चार महिनादेखि शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, लगायत अन्य सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै माग पुरा गर्न भनेको थियो ।
शिक्षा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा गठित कार्यदलले प्रतिवेदन तयार गरिसकेको भए पनि त्यसअनुसार आवश्यक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाइएको छैन ।
‘आफूहरूले अतिरिक्त सुविधा नभई समान कामको समान पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग मात्र राखेको चिकित्सकले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।’
सरकारले समयमै निर्णय नगर्दा हजारौं मेडिकल विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्य अन्योलमा परेको इन्टर्न चिकित्सकको भनाइ छ ।
‘हामीले आन्दोलनभन्दा अघि संवाद रोज्यौं, टकराबभन्दा अघि समाधान खोज्यौं र विरोधभन्दा अघि विश्वास गर्यौं, वक्तव्यमा भनिएको छ, ‘राज्य संयन्त्रको ढिलासुस्ती र गैरजिम्मेवारीका कारण आफू आमरण अनसनमा बस्न बाध्य भएका हौं ।