जोगिएकाहरू पनि छाड्दैछन् गाउँ

रसुवा । भदौ १० गते बिहान समृद्धि न्यौपाने सधैंझैं तरकारी किन्न त्रिशूली किनारको बजार पुगेकी थिइन् । तरकारी किन्दाकिन्दै प्रहरीको सूचना उनको कानमा पर्यो- बाढी आउँदैछ, सुरक्षित स्थानतर्फ जानूहोस् ।  सूचना सुन्नेबित्तिकै उनी घरतर्फ दौडिइन् । घर पुग्न नपाउँदै उनले आफ्नै आँखाअगाडि त्रिशूलीको बाढी घरनजिकैको बिजुलीको पोलसमेत नाघेर उर्लिरहेको देखिन् । दृश्य भयावह थियो । ज्यान जोगाउन माथितिर भाग्नुपर्ने अवस्था थियो । तर, समृद्धिको मनले भाग्न मानेन ।  किनकि उनको ९ महिनाको छोरा घरभित्रै मस्त निदाइरहेको थियो । आमाको मनले छोरालाई छाडेर सुरक्षित ठाउँ खोज्न सकेन । बाढी घरनजिकै आइपुगिसकेको थियो । जोखिम मोलेर उनी घरभित्र पसेर छोरालाई खोज्न थालिन् ।  ‘आमाको मन बच्चालाई नजोगाई आफू सुरक्षित स्थानतर्फ जान मानेन । घरमा छोरा सुतिरहेको थियो । बाढी नजिकै आए पनि कुद्दै गएर झुल च्यातेरै उसलाई निकालें । बिना कपडा च्यापेर उकालोतिर भागें,’ उनले त्यो दिन सम्झिँदै भनिन् । त्यो दिन उनले छोरा त जोगाइन्, तर घर, खेतबारी र वर्षौंको सम्पत्ति जोगाउन सकिनन् ।  समृद्धि न्यौपाने ।  ‘सम्पत्तिको नाममा ज्यानबाहेक केही छैन’ अहिले २० वर्षीया समृद्धिको चार सदस्यीय परिवार बाढीबाट जोगिएको एउटा घरमा भाडा तिरेर बसेको छ । बेत्रावती बजारदेखि करिब पाँच सय मिटरको दूरीमा रहेको त्यो घरले उनीहरूलाई तत्कालका लागि छानो दिएको छ । तर, मनले भने अझै सुरक्षित महसुस गर्न सकेको छैन । आकाशमा बादल मडारिन थाल्यो कि उनको मनमा फेरि भदौ १० गतेको दृश्य घुम्न थाल्छ । खोलाको आवाज केही ठूलो सुनियो वा आकाश गड्याङगुडुङ गर्‍यो भने पनि उनीहरू राति नै घर छाडेर माथितिर भाग्छन् । ‘खोला अलिक बढी सुसाएको सुनियो, आकाश गड्याङगुडुङ भयो भने राति २-३ बजे पनि हामी यहाँबाट माथि-माथि भागिहाल्छौं । डर लागिराख्छ । सबै एकै ठाउँ जम्मा भएर रात बिताउँछौं,’ उनले भनिन् ।  बाढीअघि उनका श्रीमान् अटो चलाउँथे । समृद्धि बच्चा हुर्काउँदै घरखेतको काम गर्थिन् । दुवैको कमाइ र उत्पादनले चार सदस्यीय परिवारको गुजारा चलिरहेको थियो । घरनजिकैको खेतबारीमा अन्न र तरकारी फल्थ्यो । तर, अहिले त्यो सबै एकादेशको कथाजस्तै भएको छ ।  बाढीले घरखेत बगाएर बगर बनाइदिएपछि उनको परिवारसँग अब खेती गर्ने जमिनसमेत बाँकी छैन ।  ‘घरखेत सबै बाढीले लग्यो । अब सम्पत्तिको नाममा ज्यानबाहेक केही बाँकी छैन,’ भारी स्वरमा उनले भनिन्, ‘श्रीमानले अहिले पनि अटो चलाइरहनुभएको छ । बस्ने ठाउँ छैन, पहिले जस्तो कमाइ छैन । घर बनाउने कसरी ?’ राहतमा पाएको कपडाले अहिले शरीर ढाकिएको छ । कसैले खाद्यान्न वा अन्य सामग्री दिए त्यसैबाट चुलो बल्छ । त्यसबाहेक तत्कालका लागि उनीहरूसँग अर्को आधार छैन । ‘राहतमा पाएको सामानले जसोतसो गुजारा गरेका छाैं । यसरी कति दिन बस्ने ? सरकारले सबैभन्दा पहिले बास बस्ने ठाउँ बनाइदिए हुने हो । बनाइदिनुहुन्छ होला नि !,’ उनले आशा व्यक्त गरिन् । तर, त्यो आशाभित्र अन्याैल पनि उत्तिकै छ । मेसेजले जोगिएको ज्यान उत्तरगया गाउँपालिका-५ बोगटीटारकी सुस्मा अधिकारीको कथा पनि समृद्धिको जस्तै बाढीको त्रास, क्षति र भविष्यको चिन्तासँग जोडिएको छ । उनको घर बेत्रावती बजारदेखि करिब पाँच सय मिटरको दूरीमा छ । भदौ १० गते बिहान उनी घरमा खाना बनाउने तयारीमा थिइन् । छोरीलाई बेत्रावती बजारमा रहेको मोर्डन ट्रिनिटी इङ्लिस स्कुलमा पुर्‍याएर उनी बजारमै रहेको एनएमबी लघुवित्तको कार्यालय पुगिन् । अफिस पुगेर कम्प्युटर खोलेकी मात्र थिइन्, छोरीको विद्यालयको ग्रुपमा मेसेज आयो– बाढी आउँदैछ, छोरी लिन आउनूहोस् ।  मेसेज पढेपछि उनको मनमा कार्यालयको कामभन्दा छोरीको चिन्ता ठूलो भयो । उनले कम्प्युटर बन्द गरिन् र छोरी लिन विद्यालयतर्फ लागिन् ।  ‘छोरीको स्कुलबाट बाढी आउँदैछ, छोरी लिन आउनूस् भनेर मेसेज आयो । त्यसपछि कम्प्युटर बन्द गरेर छोरी लिन जाने सोचें,’ उनले भनिन् ।  त्यतिबेला कार्यालयमा उनीसहित तीनजना महिला कर्मचारी थिए । अन्य दुई जना भने गर्दै गरेको काम सकेर मात्रै निस्कने भन्दै कार्यालयमै बसे ।  बीचमा सुस्मा अधिकारी ।  ‘उहाँहरू काम गर्दै हुनुहुन्थ्यो, निस्कन मान्नुभएन । मचाहिँ छोरी लिन गएँ,’ उनले भनिन् । छोरी लिएर घर फर्कंदा सुस्मा र उनकी छोरी बाढीको मुखबाट बालबाल जोगिए । तर, कार्यालयमा रहेका उनका दुई सहकर्मी भने त्यसपछि कहिल्यै फर्किएनन् ।  एक वर्षदेखि सँगै काम गरेका ती दुई सहकर्मीलाई बाढीले बेपत्ता बनायो । ‘छोरीको स्कुलको मेसेजले हामी त बच्यौं, तर साथीहरू बग्नुभयो,’ उनले भनिन् । बाढीले उनका सहकर्मी मात्र होइन, आमालाई समेत खोस्यो । उनकी आमा थ्री ए त्रिशूली जलविद्युत आयोजनामा कार्यरत थिइन् । आफूले समयमै सूचना नपाएको गुनासो पनि उनको छ ।  ‘सरकारले यता म्यासेज पठाएको भन्ने सुनेँ, तर मेरोमा चाहिँ केही आएन,’ उनले भनिन् ।  ‘गाउँलेले सुन्ने साइरन चाहियो’ बाढीले घर, आफन्त र सहकर्मी गुमाएपछि अब सुस्माको माग राहतमा मात्रै सीमित छैन । उनलाई आगामी दिनमा आउने सम्भावित विपत्तिबाट जोगिने भरपर्दो प्रणाली चाहिएको छ । अझै पानी पर्नेबित्तिकै उनीहरू राति घर छाडेर माथितिर भाग्छन् । दिनमा कामका लागि घरबाहिर पुगेका बेला विपत्तिको सूचना कसरी पाउने भन्ने चिन्ता पनि छ । ‘पानी रोकिएको छैन । त्यसैमाथि फेरि बाढी आउँछ, के-के सुन्न परिराखेको छ । मध्यरातमा पानी पर्‍यो कि भागेका छौं । विपत्ति फेरि नआउला भन्न सकिँदैन,’ उनले भनिन् ।  मोबाइलमा पठाइएको सूचना मात्रै पर्याप्त नहुने उनको अनुभव छ । ‘दिउँसो काम गर्न कता–कता पुग्छौं । सरकारले मेसेज पठायौं भनेर हामीले हेर्ने अवस्था हुँदैन,’ उनले भनिन्, ‘यहाँका नागरिकले जुनसुकै कुनामा काम गर्दा पनि सुन्नेगरी माथि डाँडामा साइरन तत्काल सरकारले राखिदिनुपर्छ ।’ सुस्माको घर खोलाबाट अलि उचाइमा रहेकाले तत्काल बसोबासको समस्या छैन । तर, सडक सञ्जाल टुटेका कारण खाद्यान्नको चिन्ता बढ्दै गएको छ । ‘घर खोलादेखि अलिक उचाइमा रहेकाले बासका लागि समस्या छैन । खानेकुरा भने अभाव हुँदै गएको छ,’ उनले बताइन् ।  ‘बास हुनेलाई रासनको चिन्ता, नहुनेको बिजोग’ सोही क्षेत्रकी रश्मी कार्की न्यौपानेको चिन्ता पनि अहिले परिवारको रासनपानी कसरी जुटाउने भन्नेमा केन्द्रित छ । उनले राहतका नाममा एक बोरा चामल र एक पोका नुन पाएकी छन् । तत्कालका लागि त्यसैले गुजारा चले पनि भोलिका दिनमा खाद्यान्नको समस्या बढ्ने उनको चिन्ता छ । ‘राहत राखेको यहीँ नजिकैको नीलकण्ठ मावितिरका मान्छेले राहत अलिक पाउनुभएको छ । हामी अलिक टाढा भएकाले खासै पाएका छैनौं । पहिलोपटक पाएको अलिकति छ, त्यही खाइरहेका छौं,’ उनले भनिन् ।  स्वास्थ्योपचारमा भने तत्काल समस्या नभएको उनले बताइन् । ‘औषधीहरू पनि पाएका छौं । बच्चाहरूलाई पनि लिटो बनाउने पिठो पाइरहेका छौं,’ उनले भनिन् । रश्मी कार्की न्यौपाने ।  तर खाद्यान्न किनेरै खाने परिवार भएकाले सडक नखुलेसम्म दैनिक आवश्यकता कसरी पूरा गर्ने भन्ने चिन्ता भने कायमै छ । रश्मीलाई आफ्नै परिवारको भन्दा घर गुमाएका परिवारको अवस्था झन् पीडादायी लाग्छ । ‘हामी बास हुनेलाई त रासनको मात्रै चिन्ता हो । नहुनेको बिजोग भएको छ । सरकारले तत्काल बासको व्यवस्था गरिदिनुपर्छ,’ उनले भनिन् ।  उत्तरगया गाउँपालिका छाडेर करिब २४ किलोमिटर यात्रा गरेपछि बाढीले प्रत्यक्ष क्षति नपुर्‍याएको रसुवाको सदरमुकाम धुञ्चे पुगिन्छ । तर, त्यहाँ पुग्दा पनि बाढी प्रभावितको गुनासो र चिन्ता उस्तै सुनिन्छ । असोज लागेसँगै धुञ्चे बजारमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्नुपर्ने हो । कैलाश मानसरोवर, गोसाइँकुण्ड, रुबी भ्याली र लाङ्टाङ भ्यालीलगायत गन्तव्यतर्फ जाने पर्यटक बोकेका साना सवारीले सडक भरिनुपर्ने हो । रसुवागढी नाकाबाट आवतजावत गर्ने मालवाहक सवारीको चाप पनि बढ्नुपर्ने समय हो । तर, अहिले धुञ्चेको दृश्य त्यसको ठीक विपरीत छ । होटल सुनसान छन्, सडकमा सवारीको चहलपहल छैन । बाढीका कारण सडक सञ्जाल टुटेपछि पर्यटक र व्यापार दुवै रोकिएका छन् । व्यवसायी आफैं राहतको प्रतीक्षामा छन् । लामा तामाङ ।  ‘पकाउने ग्यास छैन । दाल-चामल पनि पसलमा भएको स्टक बेचेर सकिन लाग्यो । ल्याउन सडक छैन, चिन्ता छ । हामी आफैले राहत माग्नुपर्ने होला जस्तो भएको छ,’ स्थानीय लामा तामाङले भनिन् । उनका अनुसार ग्यासको आपूर्ति पनि नियमित छैन । स्थानीय तहले ढुवानीको व्यवस्था गरेपछि मात्रै केही समयका लागि ग्यास भित्रिएको थियो । बारीमा तरकारी छ, बेच्ने बजार छैन धुञ्चेबाट करिब १४ किलोमिटर तल सानो भार्खुतर्फ पुग्दा त्रिशूली किनारमाथिको भिरालो पाखामा आफ्नो घरबारी देखाउँदै कृषक छिरिङ वाङ्बु तामाङ भेटिए । भदौ १० गते बिहान उनी त्यही बारीमा लगाएको खुर्सानीको गोडमेल गरिरहेका थिए । उनका अनुसार बिहान करिब ९ बजेर ६ मिनेट गएको थियो । एक्कासि ठूलो आवाज सुनियो । हेलिकप्टर उड्ने क्षेत्र भएकाले सुरुमा उनले हेलिकप्टरकै आवाज होला भन्ने ठाने । तर, आवाजसँगै जमिन थर्कियो । तुवाँलोसहित त्रिशूलीको असामान्य बहाव देखेपछि भने उनको मनमा चिसो पस्यो । ‘बुढी स्याफ्रु गएको थियो । म बारीमा काम गरिरहेको बेला बिहान ९ बजेर ६ मिनेट जाँदा होला, ठूलो आवाजसित माथि-माथि कालो-कालो पानी दूध उम्लिएजस्तो आयो । जमिन पनि हल्लियो,’ उनले त्यो क्षण सम्झिए । छिरिङ वाङ्बु तामाङ ।  बाढी आएको महिनादिन बितिसक्दा पनि उनलाई अझै चक्कर लाग्न छाडेको छैन । ‘घुमाउँछ, लड्ला-लड्ला जस्तो हुन्छ,’ उनले भने, ‘अलिअलि सामान दिएका छन् । गाडी त चलेको छैन, त्यही खाएका छौं ।’ उनको परिवारले प्रत्यक्ष जनधनको क्षति बेहोर्नुपरेन । तर, बाढीले उनीहरूको गरिखाने बाटो भने खोसिदिएको छ । सानो भार्खुका अधिकांश परिवार नगदेबाली र पशुपालनमा निर्भर छन् । भिरालो जमिनमा खुर्सानी, इस्कुस, सिमी, बैगुनलगायत तरकारी फलाएर उनीहरू स्याफ्रुबेंसीमा बिक्री गर्थे । अहिले पनि गाउँका बारीमा तरकारी लटरम्म देखिन्छ । समस्या उत्पादनको होइन, बजारको हो । किनकि उनीहरूले उत्पादन बेच्ने स्याफ्रुबेंसी बजार नै बाढीले उजाड बनाइदिएको छ । ‘यहाँ के-के तरकारी, कोदो फलाएर, बाख्रा, कुखुरा, बंगुर हुर्काएपछि स्याफ्रुमा लगेर बेच्ने हो । धुञ्चे यहाँबाट महँगो भाडा पर्छ । त्यही पनि लिन आउँदैनन् । हाम्रो बजार त्यता होइन, हामीलाई चिन्दैनन् । अब कहाँ बेच्ने खोइ ?’ तामाङले गुनासो गरे । गाउँको तल्लो भागबाट त्रिशूलीले जमिन कटान गरिरहेकाले पहिरो जाने हो कि भन्ने डर पनि उनलाई उत्तिकै छ । २५० घरको बजार, १२ घरमा ताला सानो भार्खुबाट करिब एक किलोमिटर तल स्याफ्रुबेँसी बजार पुगिन्छ । कुनै समय बिहानको मिर्मिरेदेखि मध्यरातसम्म चहलपहल हुने यो बजार अहिले भग्नावशेषमा परिणत भएको छ । बाढीले बजारका २५० भन्दा बढी घर बगरमा परिणत गरिदिएको छ । माथिल्लो भागमा जोगिएका १२-१३ घरमा पनि अहिले ताला झुण्डिएका छन् । घर जोगिए पनि स्थानीयले त्यहाँ बस्न सुरक्षित ठानेका छैनन् । त्रासका कारण धेरैजसो काठमाडौं तथा अन्यत्र सरेका छन् । ‘सक्ने जति त यहाँबाट काठमाडौं गइसके । हामी ४०-५० जना मात्रै स्कुलमा बसेका छौं । यहाँबाट कतै जान सकिँदैन । हामी त यहीँ बस्नैपर्ने हो,’ गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेंसीका कर्पुसोनाम तामाङले भने ।  कर्पुसोनाम तामाङ  (बीचमा)।  उनको परिवारको पीडा झन् गहिरो छ । परिवारका दुई सदस्य-दिदी र नातिलाई बाढीले बगायो । उनीहरू स्याफ्रुबेंसी बजारमा रहेको बैंकमा काम गर्ने भएकाले भाग्ने अवसर नपाएको उनको भनाइ छ । कर्पुसोनाम, उनकी श्रीमती, दुई छोरा र दुई छोरी भने बजारमाथिको चौकीडाँडाबाट बाढी आएको देखेपछि भागेर ज्यान जोगाउन सफल भए । त्यसयता उनीहरूको रात विद्यालयमा बनाइएको होल्डिङ सेन्टरमा बितिरहेको छ । ‘मेरो दिदी र नाती गुम्यो । उनीहरू स्याफ्रुबेंसी बजारमा रहेको बैंकमा काम गर्ने हुँदा भाग्न पाएनन् । हामी भने बजारमाथि चौकीडाँडामा बाढी आएको देखेपछि भागेर ज्यान जोगायौं । त्यसपछि स्कुलमै बसेका छौं,’ उनले बताए । दिनभर भने उनी घर पुग्छन् । घरमा पालेका कुखुरा र बंगुरलाई दाना हाल्छन् । तर, दाना पनि सकिन लागेको छ । ‘पालेका जनावरलाई खान दिनैपर्यो । दाना पनि सकिन लागेको छ, ल्याउन समस्या छ । दिनभर यतै बसेर यिनीहरूको रेखदेख गर्छु । रात पर्न लागेपछि स्कुलमै जाने गरेको छु,’ उनले भने । आफ्ना पशुपन्छीको चिन्ता गरिरहेका कर्पु सोनामलाई आफ्नै परिवारको गासको भने ठेगान छैन । पालिकाले एकपटक राहत दिए पनि त्यसपछि कोही फर्केर नआएको उनको गुनासो छ । ‘हाम्रो वडाध्यक्ष गयो । पालिकाले एकपटक राहत त बाँड्यो । त्यसपछि कोही पनि यहाँ फर्किएर आएको छैन । अरू केही पाएको पनि छैन । आफै पकाएर खाऊँ भने पनि ग्यास छैन,’ उनले भने । उनको माग अरू प्रभावितको जस्तै छ- पहिले सडक जोडियोस् ।’ क्षतिग्रस्त स्याफ्रुबेंसी बजार ।   ‘सबै थियो, अब केही बाँकी रहेन’ कर्पुसोनामको घरमाथि लाङ्टाङ तामाङको घर थियो । बाढीले स्याफ्रुबेंसी बजारको रूप नै बदलिदिएपछि लाङ्टाङको स्मृतिमा अहिले पनि पुरानो बजारको चित्र ताजा छ । ‘यो बजार धेरै व्यवस्थित थियो । पारिपट्टि लाङ्टाङ हाइड्रो पनि थियो । बाटो राम्रै थियो । एउटै होटलमा सय-डेढ सय पर्यटक अट्ने थिए । सिजनभरि भरिभराउ हुन्थ्यो । ती सबै बगे । साथी बगे । सबै बैंक, संघ-संस्था थिए,’ उनले लामो सुस्केरा हाल्दै भने । लाङ्टाङ बजारमा तरकारी र मासुको पसल चलाउँथे । राँगा, कुखुरा, खसी र बंगुरको मासु बिक्री गरेर परिवारको गुजारा चलाउँथे । बाढीले पसलसहित उनको व्यवसाय बगायो । ‘मैले राँगा, कुखुरा, खसी, बंगुरको मासु बेच्थें । पसल बग्यो । यहाँका सबैको आफ्नो व्यवसाय थियो,’ उनले भने, ‘जवानहरू गाडी चलाउने, पठाओ चलाउने गरेर गुजारा गर्थे । ती सबै साथी गुमाउँदा बेहोसजस्तै भएको थिएँ । भर्खर होसमा फर्कंदै छु ।’ लाङ्टाङका अनुसार रसुवाका धेरै युवाका लागि चीनतर्फको केरुङ रोजगारीको महत्त्वपूर्ण गन्तव्य थियो । स्थानीयलाई सहजै केरुङसम्म आवतजावत गर्न दिइने भएकाले धेरै युवा त्यही क्षेत्रमा काम गर्थे । तर, अहिले सडक र बजारको संरचना भत्किएपछि त्यो अवसर पनि टुटेको उनको भनाइ छ । तर, उनको सबैभन्दा ठूलो चिन्ता आफूले गुमाएको व्यवसायभन्दा पनि बाढीमा आमाबुबा गुमाएर बाँचेका बालबालिकाप्रति छ । ‘स्कुलमा भएका बच्चा बाचेका छन्, बुवाआमा छैनन् । तिनीहरूलाई कसरी शान्त पार्ने, कसरी पढाउने, कसले पाल्ने ? त्यही कुरा सबैभन्दा बढी दुःख लागेको छ,’ उनले भने । त्यसपछि केहीबेर रोकिएर उनले थपे, ‘सरकारले केही त गर्ला नि !’ परिवारका सदस्य गुमाएका केही प्रभावित दाहसंस्कार र किरियाका लागि काठमाडौं गएको उनले बताए । त्यहाँ पुग्न र दाहसंस्कार गर्नसमेत प्रभावितले आफै खर्च जुटाउनुपरेको उनको गुनासो छ । सरकारले हेलिकप्टरमार्फत उद्धार गरेकोमा धन्यवाद दिँदै उनले अब राहतभन्दा दीर्घकालीन पूर्वाधार आवश्यक रहेको बताए । ‘यहाँ एउटा आमा बिरामी हुनुभयो, हेलिकप्टरबाट काठमाडौं लगिदियो । चामल, नुन, तेल पनि दिएको छ । अब हामीलाई राहतभन्दा पुल चाहिएको छ । सरकारलाई त्यही अनुरोध छ,’ उनले भने । बाढीले बगाएकाे बेत्रावती बजार ।  ‘मान्छे बगे, सूचना आएन’ स्याफ्रुबेंसीमै चार दशकदेखि ‘घले स्टोर’ सञ्चालन गर्दै आएका लक्षिन घले पनि बाढीबाट जसोतसो ज्यान जोगाउनेमध्येका एक हुन् । उनको पसलमा खाद्यान्नदेखि दैनिक उपभोग्य किराना सामानसम्म पाइन्थ्यो । बाढी आएको बेला उनी पसलमै थिए । सुरुमा पहिरो आएको ठानेर उनी तल्लो क्षेत्रमा भागे । तर खोलाको सतह अस्वाभाविक रूपमा बढेको देखेपछि मात्रै बाढी आएको थाहा पाए । त्यसपछि उनी उचाइतर्फ भागे र ज्यान जोगाए । तर, घर र पसल भने जोगाउन सकेनन् । ‘मान्छे त तीन भागमा दुई भाग बगायो । सूचना दिएको भन्छन्, हामीले त केही थाहा पाएनौं,’ उनले भने । अहिले त्रासका कारण स्थानीय होल्डिङ सेन्टरमा बसिरहेका छन् । तर, लामो समयसम्म त्यहाँ बस्न सम्भव नहुने उनको अनुमान छ । लक्षिन घले ।  ‘अहिले त्रासमा मान्छे होल्डिङ सेन्टरमा बसे पनि केही समयपछि उनीहरू फर्किन्छन् होला,’ उनले भने । सरकारले प्रभावितको व्यवस्थापन गरिदिने आशा उनीसँग पनि छ । तर, अहिलेसम्म सरकारले आफूहरूलाई पुनर्वास वा दीर्घकालीन व्यवस्थापनबारे कुनै स्पष्ट आश्वासन नदिएको उनको गुनासो छ । ‘सरकारले व्यवस्थापन मिलाइदिनुहुन्छ कि ? अहिलेसम्म त केही भनेको छैन । राहत त चामल, ओढ्ने-के-के दिएको छ,’ उनले भने । भदौ १० गतेको बाढीले रसुवाको भूगोल मात्रै बदलेन, यहाँका मानिसको जीवन, व्यवसाय र भविष्यको बाटोसमेत फेरिदियो । स्थानीयका लागि सडक खुलेपछि मात्रै बजार फर्कनेछ, व्यवसाय चल्नेछ र बारीमा फलेको तरकारीले फेरि मूल्य पाउनेछ । त्यसैले उनीहरूको अहिलेको सबैभन्दा ठूलो अपेक्षा राहतको पोकोभन्दा टुटेको सडक र पुल जोडिनु हो । अन्य पठनीय सामग्रीहरू : आफ्नो पीडा भुलेर सामाजिक काममा सक्रिय वेदबहादुरको कथा हामी फेरि उठेर अगाडि बढ्छौं  विवश छन् विद्यार्थी, सकसमा शिक्षक सातामै १२ लाख कमाउँथे, ५ हजारमा झरे बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग ६१ जनाको जीवन बचाउन अनुजाले देखाएको अदम्य साहस मृत्यु संस्कारमा चुक्यो सरकार बस्ने गाउँ छैन, भाग्ने ठाउँ छैन तुइनमा अडिएको जिन्दगी बाढीले बचाएको स्याफ्रुबेंसीको एक्लो दोकान  आश्रयस्थलमा गुम्यो गोपनीयता रसुवा बाढीको २५ दिनपछि आमाछोरीको मिलन

आफ्नो पीडा भुलेर सामाजिक काममा सक्रिय वेदबहादुरको कथा

रसुवा । बेत्रावती बजारको प्रवेशद्वारमा जस्तापाताले बनेका स-साना टहरा छन् । तीमध्ये एउटा टहरामा वेदबहादुर थापा मगरको परिवारले झण्डै चार दशक बितायो । दुई कोठाको त्यही टहरो उनका लागि घर मात्रै थिएन, पाँच सदस्यीय परिवारको आश्रय र जीवन धान्ने आधार पनि थियो । काठमाडौं-रसुवा चल्ने गाडी चलाएर वेदबहादुरले परिवारको गर्जो टार्दै आएका थिए । कमाइ ठूलो थिएन, तर घरखर्च धान्न पुग्थ्यो । बिहान गाडी लिएर निस्कने र साँझ घर फर्कने उनको दैनिकी थियो । तर, भदौ १० गते त्रिशूलीमा आएको बाढीले बेत्रावती बजारको भूगोलसँगै उनको जीवनको लय पनि बदलिदियो ।  वेदबहादुर थापा मगर र उनकी श्रीमती ।  अहिले वेदबहादुर न ढुक्कसँग आफ्नै घरमा सुत्न सक्छन्, न गाडी चलाएर परिवारको हातमुख जोड्ने बाटो नै खुलेको छ । उनले वर्षौंदेखि चलाउँदै आएको गाडी नुवाकोटको त्रिशूली बजारमा थन्किएको छ । सडक खुलोस् र फेरि गाडी चलाएर परिवार पाल्न सकूँ भन्ने उनको चाहना छ । तर, सडक ठप्प हुँदा उनलाई अर्को विकल्प देखिँदैन । दिनभर उनी आफ्नै टहरामा टोलाइरहन्छन् । सम्पत्तिका नाममा बाँकी रहेको त्यही टहराको भित्ताबाट केही पर त्रिशूली सुसाइरहेको छ । नदीको आवाजसँगै भासिएको जमिन र चर्किएको भित्ताले उनलाई बाढीको त्रासबाट बाहिर निस्कन दिँदैन । ‘यसो आकाशमा बादल देख्नेबित्तिकै डर लागेर आउँछ । पल्लोपट्टि भएको त्रिशूली घर पछाडिबाट जमिन थर्किने गरी बग्छ । पछाडिको भाग भासिएको छ । भित्ता चर्किएको छ,’ वेदबहादुरले भने ।  बाढीले उनको परिवारमा पीडा थप्ने अर्को कारण पनि छ । परिवारका दुई काका र एक दिदी गुमाएका वेदबहादुरको आफ्नै टहरोसमेत त्रिशूलीको कटानका कारण जुनसुकै बेला खस्न सक्ने अवस्थामा छ । तर, असुरक्षित भए पनि उनको परिवारको भान्सा त्यहीँ छ । राति भने उनीहरू टहरामा सुत्दैनन् । दुई छोरा, आफू-श्रीमती र दिदीका लागि नजिकै अलि उचाइमा रहेको घरमा दुई कोठा भाडामा लिएका छन् ।  ‘बाढी आएको दिनदेखि दिनभर हामी यहीँ छौं । दुई छोरा, हामी बुढाबुढी र दिदीका लागि रात बिताउन माथिपट्टि दुई कोठा डेरा लिएका छौं । जसोतसो त्यही रात कटेको छ,’ उनले भने ।  तर, त्यहाँ पनि सहज छैन । बाढीपछि धेरै परिवार घरबारविहीन भएकाले भाडामा बस्न कोठा पाउनै मुस्किल छ । पाइएको कोठाको भाडा पनि आफ्नो सम्पत्ति गुमाएका प्रभावित परिवारका लागि महँगो छ । ‘कोठाको लागि ३ हजारदेखि १५ हजारसम्म भनेका छन् । त्यही पनि पाउन मुस्किल छ,’ उनले दुःखेसो पोखे ।  बाढी प्रभावित परिवारलाई भाडाका लागि केन्द्र सरकारले प्रतिपरिवार १५ हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ । आफूहरूले उक्त रकम पाउनेबारे सोध्दा वेदबहादुरको जवाफमा अझै अन्योल छ । ‘पालिकाले दिने भनेको त छ । अहिलेसम्म निर्णय गरेको छैन, दिन्छ होला नि,’ उनले भने ।  राहतका नाममा उनले अहिलेसम्म एक बोरा चामल, एक पोका नुन र तेल पाएका छन् । थप राहत आउने आशा छँदैछ । तर, तत्कालको राहतभन्दा उनको ठूलो अपेक्षा पुनर्वासमा छ । बाढीले बस्ने ठाउँसमेत असुरक्षित बनाएपछि उनी सरकारसँग सुरक्षित स्थानमा पुनर्वासको आशा गरिरहेका छन् । आफ्नै पीडाबीच अरूका लागि फड्के वेदबहादुरको कथा घरबार गुमाएका एक बाढीपीडितको कथामा मात्रै सीमित छैन । आफ्नै घर असुरक्षित भएर पनि उनले बाढीपछि नुवाकोट र रसुवाको आवतजावत सहज बनाउन स्थानीयस्तरमा गरेको प्रयासले उनको अर्को परिचय बनाएको छ । बाढीअघि बेत्रावती बजारलाई फलेखु खोलाले दुई भागमा छुट्याएको थियो । बजारको एक भाग रसुवाको उत्तरगया गाउँपालिका-५ मा पर्छ भने अर्को भाग नुवाकोटको विदुर नगरपालिका–१० मा । यही खोलामाथि रहेका नयाँ र पुरानो दुवै पुल भदौ १० गतेको बाढीले बगाएपछि दुई जिल्लाका बासिन्दाको आवतजावतसमेत टुट्यो ।  बाढीबाट ज्यान जोगाएर वारिपारि पुगेका कतिपय मानिस उतै रोकिए । आफैं घरमा बस्न नसक्ने अवस्थामा रहेका वेदबहादुरलाई भने मानिसहरू परिवारसँग भेट्न नसकी वारिपारि अलपत्र परेको दृश्यले झन् बेचैन बनायो ।  त्यसपछि उनले सुरक्षाकर्मीलाई गुहारे । स्थानीयको सहयोग जुटाए र फलेखु खोलामा पैदल आवतजावतका लागि फड्के बनाउन सक्रिय भए । ‘मान्छेहरू यहाँसम्म आउने-जाने गरिरहे, त्यो देख्नै गाह्रो भयो । त्यसपछि मैले फड्के बनाउने सोचेर प्रहरी र आर्मीलाई भनेँ । त्यसपछि स्थानीयको सहयोगमा फड्के हालियो,’ उनले भने ।  फड्के ।  फड्के बनेपछि केही समयका लागि भए पनि दुई जिल्लामा छुट्टिएका मानिस परिवारसँग जोडिए । तर, त्यो खुसी लामो समय टिकेन । रातभर वर्षा भएपछि खोलामा आएको बाढीले फड्केको आधा भाग बगायो । फेरि आवतजावत रोकियो । वारिपारिका मानिस एकअर्कालाई आँखाले हेरेर चित्त बुझाउनुपर्ने अवस्थामा पुगे ।  त्यसपछि वेदबहादुर फेरि रोकिएनन् । पुरानै टोलीसँग मिलेर अर्को ठाउँ पहिचान गरे र नयाँ फड्के बनाउन जुटे ।  ‘रसुवातर्फ बेत्रावती बजारमा बाढीबाट क्षतिग्रस्त बनेको घरलाई टेको बनाएर हामीले पारीसम्म तर्न फड्के बनायौं,’ उनले भने । अहिले त्यो फड्के स्थानीयको वारपार गर्ने बाटो मात्रै बनेको छैन, राजमार्गसम्म पुग्ने अस्थायी सारथिसमेत बनेको छ । ‘धुञ्चेदेखि यहाँसम्म सडक राम्रै भएकाले माइक्रोमा मान्छे यहाँ आउँछन् । यहाँबाट ४०-४५ मिनेट हिँडेपछि नुवाकोटतर्फको विदुर नगरपालिका-१० भैंसेसम्म पुग्छन् । त्यहाँबाट सडक छ र गाडीमा वारपार गर्छन्,’ उनले भने ।  लामो बाटो पैदल हिँडेर आउने यात्रुको समस्या पनि उनले देखे । घाममा हिँडेर आएका मानिस तिर्खाएको देखेपछि फड्के नजिकै खानेपानीको व्यवस्था मिलाएँ । ‘मान्छेहरू घाममा तिर्खाएर आएको देखेँ । त्यहाँ पाइपमा पानी आएको देखेपछि मैले नै जडान गरौं भनेँ । त्यसपछि बनेको हो,’ उनले भने । आफ्नो घर र पेशा दुवै संकटमा परेका बेला पनि अरूलाई बाटो देखाउने उनको प्रयास अहिले बेत्रावतीका लागि एउटा सानो तर महत्त्वपूर्ण सहारा बनेको छ । बेलीब्रिजको प्रतीक्षा फलेखु खोलामा अहिले बेलीब्रिज निर्माणको कामसमेत अघि बढेको छ । बाढीले सडक र पुलको संरचना भत्काएपछि अस्थायी आवतजावतका लागि बनाइएको फड्केको भर पर्नुपरेका स्थानीयलाई बेलीब्रिज बनेपछि केही राहत हुने अपेक्षा छ । ‘बल्लतल्ल गाडीबाट सामान आइपुगेपछि हामी काममा लागेका छौं । पारी पनि पुरानो पुलको बेस भेटिएको छ । सम्भवतः दशैंअघि सक्ने गरी काम गर्ने कुरा आएको छ,’ बेलीब्रिज निर्माणमा खटिएका वीरबहादुरले बताए । नुवाकोटतर्फ सडकसमेत बगेकाले अहिले ट्र्याक खोल्ने काम भइरहेको छ । सरकारले करिब दर्जनभन्दा बढी डोजर परिचालन गरेर सडक निर्माण गरिरहेको देखाउँदै वेदबहादुरले अब छिट्टै आफ्नो पुरानो पेशामा फर्कन पाइने आशा व्यक्त गरे ।  सडक खुलेपछि गाडी चलाएर फेरि परिवारको खर्च धान्ने उनको योजना छ । तर, त्यसका लागि सडक मात्रै खुल्नु पर्याप्त छैन । सुरक्षित बसोबास पनि आवश्यक छ । यही कारण उनको आशा अहिले सडक र पुनर्वास दुवैतर्फ केन्द्रित छ । पुनर्वासका लागि तीन ठाउँ पहिचान वेदबहादुरजस्ता बाढी प्रभावितको पुनर्वासबारे उत्तरगया गाउँपालिकाले तीन सुरक्षित स्थानमा जग्गा पहिचान गरिसकेको जनाएको छ । गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार पालिकाभित्रका तीन सुरक्षित स्थान पहिचान गरी निर्णयका लागि सम्बन्धित निकायमा पठाइएको छ । ‘हामीले पालिकाभित्रैका तीन सुरक्षित ठाउँमा जग्गा पहिचान गरेर निर्णयका लागि सम्बन्धित निकायमा पठाइसकेका छौं । उहाँहरूले मूल्याङ्कन गरेर अनुमति दिएमा बाढी प्रभावितलाई त्यहाँ पुनर्वास गराउने हाम्रो योजना छ,’ गुरुङले भनिन् ।  राहत वितरण भने तीन चरणमा अघि बढाइएको उनको भनाइ छ । पहिलो चरणमा सहारा नभएका प्रभावितलाई प्राथमिकता दिइएको र दोस्रो चरणमा परिवार भएका तर घर तथा सम्पत्ति गुमाएका प्रभावितलाई समेटिने उनले बताइन् ।  चमेली गुरुङ ।  ‘पहिलो चरणको राहत वितरण हामीले सकेका छौं । जसमा पहिलो प्राथमिकतामा कोही नभएका प्रभावितलाई राखेका छौं । दोस्रोमा परिवार भएका तर घर–सम्पत्ति केही नभएका र तेस्रो चरणमा समुदायमा राहत पुगेको छ,’ उनले भनिन् । उनका अनुसार अहिले पालिका दोस्रो चरणको राहत वितरणको तयारीमा छ । भाडामा बसिरहेका प्रभावितका लागि केन्द्रबाट बजेट रकमान्तरसमेत भइसकेको र केही दिनमै निर्णय गरिने उनले बताइन् । पालिकाले प्रभावितको यकिन तथ्यांक तयार गर्न भने अझै समय लागिरहेको जनाएको छ । ‘हामीले अझै पनि प्रभावितको तथ्यांक यकिन गरिसकेका छैनौं । प्रारम्भिक डाटा मात्रै छन् । त्यसैले केही समय लाग्यो,’ गुरुङले भनिन् ।  उनले राहतको अभाव नभएको दाबी गर्दै राहत वितरणमा दोहोरोपन र वास्तविक प्रभावित छुट्ने अवस्था नआओस् भनेर पालिकाले समन्वयमा जोड दिएको बताइन् । ‘राहतको अभाव भएको छैन । सामान आइराखेको छ । खासगरी कोही नछुटून् र कोही नदोहोरिऊन् भनेर हामीले विशेष ध्यान पुर्‍याएका छौं,’ उनले भनिन् । पालिकाले उत्तरगया-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयलाई राहत संकलन केन्द्र बनाएको छ । त्यहाँ राहत सामग्री दर्ता गरेर अभिलेख राख्ने र आवश्यकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाइएको गुरुङले बताइन् ।  व्यक्तिगत रूपमा राहत वितरण गर्न आउने दातालाई समेत पालिकासँग समन्वय गर्न उनले आग्रह गरिन् । ‘केही दाता सम्पर्क नगरी पनि आउनुहुन्छ । ल्याएका सामान आफै वितरण गर्नुहुन्छ । त्यसो गर्दा वास्तविक प्रभावितले सामान पाउँदैनन् । पालिकाको समन्वयमा मात्रै राहत लिएर आउनुहोला,’ उनले सुझाइन् । वेदबहादुरलाई भने राहतभन्दा बढी आफ्नै पुरानो जीवन फर्किने प्रतीक्षा छ । सडक खुलोस्, गाडी फेरि चलाउन पाइयोस् र परिवारलाई सुरक्षित ठाउँमा राख्न सकियोस्, अहिले उनका सपना यिनै तीन कुरामा अडिएका छन् । पालिकाकी उपाध्यक्ष गुरुङले दशैंसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएकी छन् ।  अन्य ग्राउन्ड जिरो रिपोर्टिङहरू : हामी फेरि उठेर अगाडि बढ्छौं विवश छन् विद्यार्थी, सकसमा शिक्षक सातामै १२ लाख कमाउँथे, ५ हजारमा झरे बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग ६१ जनाको जीवन बचाउन अनुजाले देखाएको अदम्य साहस मृत्यु संस्कारमा चुक्यो सरकार बस्ने गाउँ छैन, भाग्ने ठाउँ छैन तुइनमा अडिएको जिन्दगी बाढीले बचाएको स्याफ्रुबेंसीको एक्लो दोकान  आश्रयस्थलमा गुम्यो गोपनीयता रसुवा बाढीको २५ दिनपछि आमाछोरीको मिलन

हामी फेरि उठेर अगाडि बढ्छौं

भदौ १० गते चीनतर्फबाट भोटेकोशी र त्रिशूलीमा आएको बाढीले सबैभन्दा बढी क्षति पु¥याएको उत्तरगया गाउँपालिका मानवीय तथा भौतिक क्षतिको विवरण संकलन, राहत संकलन र वितरणकै चरणमा छ । परिवारका सदस्य, घर तथा आयआर्जनका स्रोत गुमाएका परिवारलाई अस्थायी आवासको व्यवस्था गर्न गाउँपालिकाले यतिबेला जग्गा पहिचान गरी संघको निर्णय पर्खिरहेको छ । विपद्पछिको अवस्था र प्रभावित परिवारको पुनर्वास तथा जीविकोपार्जनसँगै  गाउँपालिकाको पुनरुत्थानको योजनाबारे उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङसँग विकासन्युजकर्मी अस्मिता पराजुली र नरेश बोहोराले कुराकानी गरेका छन् ।  बाढीपछि उत्तरगया गाउँपालिकाको अवस्था के छ ? बाढीपीडितलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?  भदौ १० गतेको विनाशकारी बाढीबाट उत्तरगया गाउपालिकाका पाचै वटा वडा प्रभावित बने । वडा नम्बर १ र ५ मा ठुलो धनजनको क्षति भयो । कति परिवारका सबै सदस्य गमेका कारण पनि आधिकारिक डाटा आउन बाकी नै छ । हामीले निकालेको प्रारम्भिक डाटाअनुसार ६१८ घरधुरी पूर्ण रुपमा क्षति भएको छ । ७४८ बेपत्ता रहेकामा ११ जनाको शव भेटेर आफन्तले आफ्नो संस्कार अनुसार दाहसंस्कार गर्नु भएको छ ।  जीवित उद्धार गरिएकालाई भने पालिकाका विभिन्न ठाउँमा खडा गरिएका ५ वटा होल्डिङ सेन्टरमा अवस्थित हुनुहुन्छ । तल्लो बेल्टका केही भने ५ नम्बर वडाको माथिल्लो क्षेत्रहरु बोगटीटार माझगाउँ लहरे लगायतका ठाउँहरूमा आफन्त र कोठा भाडामा लिएर बस्नुभएको छ । लगभग ३०० घरधुरी भने बिदुर नगरपालिकाको विभिन्न क्षेत्रहरूको होल्डिङ सेन्टरमा पनि हुनुहुन्छ । त्रिशूली वारीका चार र पाँचको वडाहरूमा सडक जोडिएको छ । तर सडकको अवस्था भने निकै नाजुक छ । त्रिशूली पारीको तीन वडा चाहिँ सडक सञ्जालबाट बाहिर छन् । त्यहाँ उद्धार र राहतका लागि सुरुमा हेली भन्दा दोस्रो विकल्प नै हामीसँग भएन । अहिले पनि उत्तरगया एक नम्बरको गोगने  र करमर्याङ क्षेत्र चाहिँ हेलीबाहेक कतैबाट जान सक्ने सम्भावना नै छैन । हेलीमार्फत नै खाद्यान्नहरु व्यवस्थापन गरेर उहाँहरुलाई खाना खुवाउने काम भइराखेको छ ।   अहिले वडा नम्बर १, २ र ३ मा जाने एउटा सडक छ, जुन गल्छी हुँदै जान्छ । उक्त सडक निकै कच्ची र लामो भएकाले दुई-तीन दिन लगाएर गाडीले बोक्न सक्ने क्षमताअनुसार थोरै–थोरै गरेर खाद्यान्न पु¥याइरहेका छौं । त्यहाँ दुईवटा होल्डिङ सेन्टर पनि सञ्चालनमा छन् । तल्लो तटीय क्षेत्रमा बाढीका कारण धेरै मानिसहरूको घरमा क्षति पुगेको छ र उहाँहरू बस्न सक्ने अवस्था छैन । अहिले उहाँहरू त्यहाँ रहेका दुईटा विद्यालयमा बनाइएका होल्डिङ सेन्टरमा बसिरहनुभएको छ ।  ती वडाका जनप्रतिनिधिसँग फोन सम्पर्कमा उहाँले दीर्घ रोगीहरूको लागि औषधिको समस्या भयो भन्नुभएको थियो, कसरी सहजीकरण गरिराख्नु भएको छ ?  सुरुवाती अवस्थामा नयाँ आर्थिक वर्ष सुरु हुँदै गरेकाले हामी सार्वजनिक खरिद ऐनअनुसार टेन्डर प्रक्रियाबाट औषधि खरिद गर्ने चरणमा थियौँ । १० गतेको बाढीले टेन्डर प्रक्रिया प्रभावित भयो र सडक सञ्जालसमेत अवरुद्ध हुँदा पारिका तीनवटा वडामा पुग्न कठिन भयो । स्वास्थ्य चौकीहरूमा पनि औषधिको अभाव देखियो । त्यसपछि जनस्वास्थ्य कार्यालय धुन्चे तथा संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी दीर्घ रोगीका नियमित औषधि र अत्यावश्यक औषधिहरू हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा पु¥याइयो । विभिन्न सहयोगी संघसंस्थाले पनि स्थानीयको आवश्यकताअनुसार औषधि उपलब्ध गराउन सहयोग गरे । अहिले संघ, प्रदेश र सहयोगी संस्थाहरूबाट औषधि प्राप्त भइरहेकाले तत्काल औषधिको अभाव छैन । सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्न भनेको छ । राहत आइरहेको छ छैन, कसरी व्यवस्थापन गरिरहनुभएको छ ? राहत सामग्री पनि विभिन्न संघसंस्था तथा सहयोगी व्यक्तिहरूमार्फत निरन्तर आइरहेको छ र आवश्यकताअनुसार वितरण तथा व्यवस्थापन भइरहेको छ । सरकारले भनेअनुसार हामीले नीलकण्ठ माध्यमिक विद्यालयलाई राहत संकलन केन्द्र बनाएका छौँ । जिल्ला प्रशासन कार्यालय र सीडीओको समन्वयमा विभिन्न संघसंस्था तथा सहयोगीहरूले ल्याएको राहत पालिकाको स्टोरमा दाखिला गरी व्यवस्थित रूपमा वितरण गरिरहेका छौं । विशेषगरी राहतलाई तीनवटा प्याकेजमा विभाजन गरेका छौं । पहिलो, घर र परिवार दुवै गुमाएका पीडितलाई ग्यास चुलो, खाना पकाउने सामग्री, ब्ल्याङ्केट, खाद्यान्न लगायतको पूर्ण प्याकेज उपलब्ध गराइन्छ । दोस्रो, घर भए पनि परिवारका सदस्य गुमाएका परिवारलाई आवश्यक राहत सामग्री दिइन्छ । तेस्रो, सडक अवरुद्ध हुँदा बजार तथा मिल सञ्चालन हुन नसकेर खाद्यान्न संकट भएका समुदायलाई चामल, नुन, तेललगायत सामग्री वितरण गरिएको छ । यसअन्तर्गत पारिका करिब १२ सय  र वारीका करिब ११ सय घरधुरीलाई राहत दिइसकेका छौं । अहिले दोस्रो चरणको राहत वितरणको तयारी छ ।  खानेपानी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको आपूर्ति कस्तो छ ? पानीको माग बढेको छ । यस विषयमा हामीले खानेपानी विभागमा पत्राचार गरिसकेका छौं । संघ र प्रदेश सरकारसँगको सहकार्यमा मुहान संरक्षण गर्ने तथा विस्थापित परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउने पहल भइरहेको छ । अहिले तत्कालै खानेपानीको पूर्ण अभाव भने छैन । उपलब्ध स्रोतलाई व्यवस्थापन गरेर आवश्यकताअनुसार पानी पु¥याउने काम भइरहेको छ । सडक नहुँदा सबै कुराको समस्या भएको छ ।  होल्डिङ सेन्टरमा महिला, पुरुष, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाको बसोबास र सुरक्षाको व्यवस्थापन कसरी गर्नुभएको छ ? बाढीपछिको सुरुका एक–दुई दिन ठूलो संख्यामा प्रभावितलाई एउटै स्थानमा राख्नुपर्ने अवस्था थियो । पछि महिला, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरीको संवेदनशीलतालाई ध्यानमा राखेर छुट्टै व्यवस्थापन गरेका छौं । बालबालिकालाई नीलकण्ठ माध्यमिक विद्यालयको होस्टेलमा छुट्टै राखिएको छ । एक जना सुत्केरी महिलालाई संस्थासँगको समन्वयमा सुरक्षित स्थानमा घर भाडामा लिएर राखिएको छ । अन्य प्रभावित परिवारहरूलाई पनि पारिवारिक रूपमा छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको छ । तपार्इंले यसो भन्दै गर्दा समाचार संकलनका क्रममा हामीले होल्डिङ सेन्टरमा धेरै परिवार एकै कोठामा बस्नुपरेको गुनासो सुन्यौं, यसले त अर्को जोखिम निम्त्याउँछ हैन र ?  महिला र पुरुषलाई पूर्ण रूपमा अलग नराखिए पनि परिवारको संरचना र सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको छ । सम्भावित हिंसा वा अन्य जोखिम नहोस् भन्ने कुरालाई विशेष ध्यान दिँदै हरेक सेन्टरमा २ जना प्रहरी खटाएर सुरक्षित वातावरण कायम गर्ने प्रयास भइरहेको छ ।  बाढीपीडितहरूलाई पुनर्वाससँगै जीविकोपार्जनसँग जोड्न प्रदेश र संघ सरकारसँग पालिकाले केही योजना अघि सारेको छ ? हामी स्थानीय सरकार भए पनि स्वतन्त्र रूपमा सबै निर्णय गर्न सक्ने अवस्था छैन । हामीसँग स्रोत–साधन पनि निकै सीमित छन् । त्यसैले संघ र प्रदेश सरकारसँग समन्वय गरेर नै अगाडि बढ्नुपर्छ । बाढी गएको सुरुका दिनमा खोज तथा उद्धारका लागि पर्याप्त हेलिकप्टर उपलब्ध नहुँदा नदी तटीय क्षेत्रमा रहेका घाइते तथा प्रभावितको उद्धारमा केही कठिनाइ भयो । तर त्यसको दुई-तीन दिनपछि संघ र प्रदेश सरकारसँगको समन्वय प्रभावकारी हुँदै गएको छ । अहिले राहत सामग्री ल्याउने र वितरण गर्ने, खोज तथा उद्धार गर्ने, बिरामीलाई आवश्यक परे अस्पतालसम्म पुर्याउने लगायतका काममा संघ र प्रदेश सरकारसँग राम्रो सहकार्य भइरहेको छ । आवश्यकताअनुसार स्वास्थ्य सामग्री तथा औषधि पनि प्राप्त भइरहेको छ । अब छिट्टै नै एनडीआरआरएमबाट अस्थायी बसोबास सम्बन्धी डिजाइन स्वीकृत भएर हामीलाई प्राप्त हुन्छ । हामीले त्यसका लागि केही जग्गा पनि पहिचान गरिसकेका छौं । अहिले केही प्रभावितहरु भाडामा पनि बस्नुभएको छ । ती जग्गा पालिकाको स्वामित्वमा लिएर स्वीकृत मापदण्डअनुसारका अस्थायी बासस्थान निर्माण गर्ने प्रक्रियालाई अगाडि बढाउँछौँ । त्यसका लागि आवश्यक समन्वय भइरहेको छ र हामी छिट्टै उक्त प्रक्रियामा जाने तयारीमा छौं । केही बाढी पीडितहरू अहिले भाडामा पनि बसिरहेका छन् भन्नुभयो । अहिले उनीहरूसँग आय-आर्जनको स्रोत पनि छैन । उनीहरूलाई पालिकाले आर्थिक रूपमा सहजीकरण गरेको छ ?  संघ सरकारले काठमाडौंका नदी किनारमा बसोबास गर्ने सुकुमबासी परिवारका लागि मासिक १५ हजार रुपैयाँ दिएर भाडामा बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ भन्ने जानकारी हामीलाई पनि प्राप्त भएको छ । त्यससम्बन्धी कार्यविधिसहितको निर्णय पनि हामीलाई प्राप्त भइसकेको छ । हामीले पनि पालिकाको आर्थिक क्षमताभित्र रहेर परिवारको संख्या, उहाँहरू कुन अवस्थामा बसिरहनुभएको छ, उपलब्ध कोठाको अवस्था र यहाँको चलन-चल्ती अनुसारको घरभाडा दरलाई ध्यानमा राखेर व्यवस्थापन गर्ने निर्णय गरिसकेका छौं ।  राहत संकलनको क्रममा हाम्रै अगाडि पनि समस्या देखिए, राहत लिएर आउने संघ–संस्थाहरूलाई तपाईंको सुझाव के छ ? राहत वितरणमा समस्या भन्दा पनि राहत कसरी आउने भन्ने प्रक्रियामा केही समस्या देखिएको छ । कतिपय सहयोगी संस्थाहरू यो विपद्को समयमा सहयोग गर्न आउनुहुन्छ । तर उहाँहरूले आफ्नै सोच र इच्छाअनुसार लाभग्राही पहिचान गरेर बाटोमै राहत सामग्री वितरण गर्दै आउनुभएको देखिन्छ । बाँकी सामग्री मात्रै यहाँ ल्याएर इन्ट्री गर्ने अवस्था पनि देखिएको छ । तर, हामीले अपनाएको प्रक्रिया के हो भने राहत सामग्री यहाँ इन्ट्री भइसकेपछि, विशेषगरी महिला, बालबालिका र सुत्केरीका लागि आवश्यक सामग्रीलगायतका सामानलाई हामी लामो समय होल्ड गरेर राख्दैनौं । इन्ट्री गरेपछि एक्जिटमा विवरण हेरेर प्रत्यक्ष रूपमा सम्बन्धित लाभग्राहीसम्म पुर्याउँछौं ।  अहिले तपाइँहरू आफैं पनि पीडामा हुनुहुन्छ । उत्तरगया गाउँपालिका मात्रै होइन, देश नै पीडामा छ । अन्तर्राष्ट्रियस्तरबाट पनि यो घटनालाई विशेष रूपमा हेरिएको छ । अब यहाँका मानिसहरूको आर्थिक अवस्था र जीविकोपार्जनलाई पुनः उठाउन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरबाट सहयोग आवश्यक छ । त्यसका लागि तपाईंको आग्रह के छ ? हाम्रो उत्तरगया गाउँपालिकामा आर्थिक रूपमा अगाडि बढ्न सक्ने विभिन्न क्षेत्रहरू छन् । हाम्रो गाउँपालिकाको नामकरण पनि यहाँको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उत्तरगया धामबाट भएको हो । यो क्षेत्र सात धार्मिक तथा सांस्कृतिक पुरातात्विक स्थलका कारण अत्यन्तै महत्वपूर्ण धामका रूपमा विकसित भइरहेको थियो । त्यसका पूर्वाधारहरू पनि विकास हुने क्रममा थिए । बगाएका ती संरचनालाई पुनः खडा गर्नुपर्ने छ ।  उत्तरगया, हाइड्रोपावरको क्षेत्रमा पनि सम्भावना भएको गाउँपालिका हो । यहाँ २१६ मेगावाटका ठूला आयोजनादेखि साना-ठूला थुप्रै जलविद्युत् आयोजना छन् । ती आयोजनाबाट हाम्रा धेरै नागरिक, विशेषगरी युवा पुस्ताले रोजगारी प्राप्त गरिरहेका थिए । त्यसपछि हामीले पर्यटकीय क्षेत्रहरूको पनि पहिचान गरेका थियौं । होमस्टेदेखि वडा नम्बर २ मा रहेको भाँगे झरना र वडा नम्बर ४ मा रहेको घलेगढीजस्ता क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेका थियौँ । त्यहाँ पर्यटक आउने क्रम बढेको थियो र स्थानीयका लागि आम्दानीको राम्रो स्रोत बन्दै थियो ।  त्यसैगरी, उत्तरगया गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई आय–आर्जनसँग जोडेर व्यवस्थित रूपमा अगाडि बढाइरहेको थियो । डेरीहरू सञ्चालनमा थिए र कृषकहरूले नियमित रूपमा आम्दानी गर्न थालेका थिए । तर अहिले यी सबै क्षेत्र ठूलो क्षतिमा परेका छन् । अब हामीले उत्तरगयालाई फेरि उठाउनुपर्छ । बगरमा परिणत भएका बस्ती र यहाँका बासिन्दाको जीवनलाई पुनः व्यवस्थित गर्न यी सबै क्षेत्रलाई फेरि जागृत गर्नुपर्छ ।  यसका लागि गाउँपालिकाले आफ्नै योजना बनाएर अगाडि बढ्छ नै, तर संघ र प्रदेश सरकारले पनि गाउँपालिकाले पहिचान गरेका सम्भावनाका क्षेत्रलाई पुनः विकास गर्न सहकार्य, समन्वय र जिम्मेवारीका साथ साथ दिन आवश्यक छ । गाउँपालिकाले बनाएका योजनामा संघ र प्रदेश सरकारले पनि सहकार्य गरेमा हामी यहाँका जनताको आर्थिक र सामाजिक हैसियतलाई फेरि माथि उठाउन सक्छौं । हामी फेरि उठ्नैपर्छ । सधैं यही पीडामा बसिरहन सक्ने अवस्था छैन । हाम्रो बाध्यता पनि छ र हाम्रो संकल्प पनि छ, हामी फेरि उठ्छौं, अगाडि बढ्छौं ।   

विवश छन् विद्यार्थी, सकसमा शिक्षक

रसुवा । ‘विद्यालय हिँडेको म कता अगाडि पुग्दो रहेछु अनि बल्ल आफू अझै सामान्य अवस्थामा रहेनछु भन्ने सोचेर झसङ्ग हुँदै विद्यालय फर्कन्छु ।’  उत्तरगया गाउँपालिका-५ मा रहेको शिवालय आधारभूत विद्यालयका शिक्षक दीपक ढकालको अहिलेको अवस्था हो यो । तरपनि उनी विद्यालय आउन छाडेका छैनन् । काठमाडौंबाट समाचार संकलनका लागि रसुवाको यात्रा तय गरेको विकासन्युजको टोली असोज ५ गते मंगलबार उत्तरगया गाउँपालिका-५ मा रहेको शिवालय आधारभूत विद्यालयको प्राङ्गणमा पुग्यो । प्राङ्गणमा त्यतिबेला दुई दृश्य देखिए ।  प्राङ्गणको प्रवेशद्वारतर्फ गैरसरकारी संस्थाका दाताबाट विद्यार्थीले पठनपाठनमा आवश्यक पर्ने झोला, कपी, कलम लगायत सामाग्री लिँदै थिए । अर्को भागमा भने उनीहरुको आँखा जाँच भइरहेको थियो । त्यसकै लागि कक्षा ५ सम्म मात्रै अध्ययन अध्यापन हुँदै आएको उक्त विद्यालयका विद्यार्थी लामबद्ध बनेर आफ्नो पालो कुर्दै थिए ।  दीपक ढकाल ।  बाढीपछि शिवालय विद्यालयले पुरानै लय समात्ने जमर्को गरेको छ । विद्यालय भने भदौ २५ गतेबाट सुचारु भएको हो । विद्यालय मात्रै होइन, बाढीपछि विक्षिप्त बनेकी विद्यार्थी रजनी ढकालको दैनिकी पनि विद्यालय सुचारु भएयता बदलिँदै गएको छ । गत सातादेखि उनी झोलामा किताब भरेर पठनपाठनका लागि बिहान १० बजे शिव आ.वि पुग्ने गरेकी छन् । ‘स्कूलमा के-के खेल्न पाइन्छ । साथी पाइन्छ रमाइलो लाग्छ,’ उनले हामीसँग भनिन् । सामान्य गफगाफमा उक्त कुरा बताएकी आचार्यकाे बाल मानसपटलमा दबाब नपरोस् भन्दै उनीसँगको कुराकानीलाई बिट मार्दै शिक्षकसँग कुरा गर्दा भने त्यहाँको अवस्था फरक पाइयो ।  ‘हामी आफै विक्षिप्त छौं । बच्चाहरूको हालत पनि उस्तै छ । पहिले जस्तो ध्यान लगाउन सकेका छैनन्,’ विद्यालयको एक कुनामा विद्यार्थीलाई परामर्श दिँदै गरेका शिक्षक दीपक ढकालले समस्या खुलाए ।  त्यतिबेला उनले होल्डिङ सेन्टरबाट विद्यालयमा अध्ययन गर्न आएका एक विद्यार्थीलाई परामर्श दिँदै थिए ।  ‘विद्यार्थीमा एकाग्रता छैन । हल्ला गर्ने रुने चिडचिडाहट छ, सम्झाइबुझाइ गरेका छौं,’ उनले भने ।   विद्यार्थीलाई सम्हाल्न बाढीको २५ औं दिनामा बल्ल विद्यालय पुगेका उनकै वेदना पनि असह्य छ । उत्तरगया–५ कैदलेटारमा बस्दै आएका उनको घर सम्पत्तिसहित बाढीले सर्वस्व बगर बनायो । १ छोरा २ छोरी र श्रीमतीको जिम्मेवारीमा बाँधिएका उनी अहिले बेघर छन् । बास बस्ने ठेगान छैन । ‘भदौ १० गतेको बाढीमा डुबिसकेको ६ वर्षको छोरो बल्लतल्ल गर्दा बचाएँ तर उसको अवस्था अझै सामान्य छैन,’ उनले पीडा पोखे । छोरालाई सामान्य अवस्थामा फर्काउन रसुवाबाट काठमाडौंसम्म पुर्याउँदा पनि समस्याका समाधान नभएको उनको भनाइ छ । ‘जहाँ लगेपनि बाढी आउँछ यहाँ नबसौं भनेर रोएको रोएकै छ,’ लामो सुस्केरा हाल्दै गुनासो पोखे, ‘छोराको असामान्य अवस्थाले उसको स्वास्थ्य र शिक्षा दुवैमा असर परिरहेको छ ।’ बाढीले छोराको मस्तिष्कमा उब्जाएको त्रास मात्रै होइन, छोराको शारीरिक स्वास्थ्य पनि नाजुक छ । शिक्षक ढकालकाअनुसार उनका ६ वर्षीय छोरालाई जन्मैदेखी गंगालाल हृदय केन्द्रमा हरेक महिना पुर्याउनै पर्ने हुन्छ । बाढीपछि  सडकसमेत अवरुद्ध बनेकाले उनले परिवारलाई काठमाडौं सार्नुको विकल्प भेटेनन् । ‘छोराको अहिलेको अवस्था त्यसैमाथि पहिलेदेखि उसलाई मुटुको समस्या छ । यताको कुरा बिर्साउन श्रीमती, २ छोरी र छोरालाई साथीभाइको आर्थिक सहयोगमा काठमाडौं पुर्याएको छु,’ उनले भने ।  परिवारबाटै ४ सदस्य गुमाएका शिक्षक ढकालले मृत आत्माको अन्तिम संस्कार गर्ने ठाउँ नपाएर काठमाडौंमा गरेको बताउँछन् ।  ‘परिवारको व्यवस्थापन गर्न जादाँ काठमाडौं ग्राण्डी अस्पताल पछाडि निःशुल्क किरिया बस्न पायौं, परिवारबाट बाढीले बगाएका ४ सदस्यको काम उतै सकेर मात्रै विद्यालय फर्किएँ,’ उनले भने ।  काठमाडौंबाट फर्किएर उनी खोला किनारमा ढलेको घर पुगे । जहाँ उनले समाजको अर्को निकृष्ट रूप देख्नु पर्यो ।  ‘काजकरिया गर्न र परिवारको बास ठेगान लगाएर घर आउँदा लेदोले भरिएको घरबाट पनि  चोरी भएछ । त्यहाँ रहेको दराज निकालेर सबै गहना सामान लुटिएछ,’ दुःख भावमा उनले समाजको चरित्रमाथि औंला उठाए ।  यसरी परिवारको व्यवस्थापन पश्चात उनी पुनः पेशागत जिम्मेवारीमा फर्किएका हुन् । उनका अनुसार ९ जना शिक्षक रहेको उक्त विद्यालयका ३ जना शिक्षक बाढीमा परे । ‘३ जना शिक्षक बेपत्ता हुनुहुन्छ, एक जना अझै फर्किन सक्नुभएको छैन  । अहिले ५ जनाले पढाइरहेका छौं,’ उनी थप्छन्, ‘हामी बाँचेकाको पनि आफ्नै दुरावस्था छ । तरपनि, विद्यार्थीलाई साहस दिनु पर्यो,’ साथीभाइ र आफन्तको शरण लिएर अध्यापन गराइरहेका शिक्षक ढकालले दुखेसो पोखे । केही दिनदेखि विद्यार्थीलाई परामर्श दिइरहेका उनीमा यतिबेला बाढीबाट प्रभावित बालबालिकाका लागि विज्ञ मनोपरामर्शविद्को आवश्यकता खड्किरहेको छ । ‘हामीले त सकेको गरिरहेका छौं । अझ पोख्त मान्छेले विभिन्न तौरतरिकासँग परामर्श गरे छिटो सुधार हुने थियो कि ?,’ आशासहित उनले प्रश्न गरे ।  बालमनोपरामर्शका लागि केही स्थानीय प्रदेश तथा संघीय सरकारबाट पहल भए नभएकोबारे जिज्ञासा राख्दा उनले भने, ‘शिक्षामन्त्रीको सल्लाहकार भन्नुहुने रमन रायमाझीज्यूसँग मेरो कुरा भएको थियो । उहाँले हामी भरे फोन गर्छौ भन्नुभयो । भरे फेरि मैले नै फोन गरें, केही दिन पर्खन भन्नुभयो अहिलेसम्म पर्खिएकै छौं ।’ मन्त्रालयसम्म पठाउन तयार गरेर दराजमा थन्क्याएको विद्यार्थीको सूची निकालेर देखाउँदै उनले गुनासो पोखे, ‘हामी हेर्छौं गर्छौं भन्ने त धेरै संघसंस्था छन् । राहत पनि आएको छ । बास बनाउन अलिक समय लाग्छ । जसोतसो बासको जोहो भएकै छ,’ उनले थपे, ‘अभिभावक, शिक्षक र बालबालिका सबैलाई राखेर ग्रुपमा परामर्श गरिदिए अहिले चाहिएको त्यहीँ हो ।’ त्यहीँ पनि बालबालिकालाई खुसी बनाउन प्रयास गरिरहेको बताए । उनी मात्रै होइनन्, शिवालय आ.विकी शिक्षिका प्रविना आचार्यको व्यथा पनि उस्तै छ । उत्तरगया गाउँपालिका-५ बोगटीटार बस्दै आएकी उनले बाढीबाट बुबा गुमाइन् । ‘पहिले-पहिले बाढी सामान्य आउथ्यो, त्यस्तै सोच्नुभयो होला बुबा बेपत्ता हुनुभयो । परिवारमा आमा, भाइबुहारी र म छौं । बाढीले बुवासंँगै खेतबारी सबै लग्यो,’ उनले दुःखी हुँदै भनिन् ।   शिक्षिका प्रविना आचार्यसँग कुराकानी गर्दै विकासन्युजकर्मी अस्मिता पराजुली ।  घरको बलियो खम्बा बुबा गुमाउँदाको पीडा दबाएर यतिबेला उनी उसैगरी उठ्न खोजेका विद्यार्थीको सहारा बन्ने प्रयासमा छिन् । जीवन रक्षाका लागि बसाइँ जाने कि भन्नेसम्मको सोच आएको उनको भनाइ छ ।  विद्यार्थीको अवस्थाबारे विकासन्युजकर्मीको जिज्ञासामा थप्दै उनले भनिन्, ‘हामी आफै पनि अब बाँच्ने अवस्था नै हुँदैन भने बसाइँ जाने कि भन्ने अवस्थामा छौं । यहाँ आउने अधिकांश बच्चा बाढीबाट लखेटिँदै बाँचेर होल्डिङ्ग सेन्टरमा बसेका छन् । उनीहरू त कसरी सामान्य हुन सक्नु र !’  विद्यार्थीमा यतिबेला बाढी पुनः आउँछ भन्ने त्रास मात्रै रहेको उनले सुनाइन् । परामर्श र पुनर्वासमा विशेष ध्यान पुर्याउन उनले सरकारसँग माग राखिन् ।  सोही वडाको लहरेपौवा बसोबास गर्दै आएकी शिक्षिका विन्दु पौडेल भन्छिन्, ‘बच्चाहरू बाउआमा छोडेर स्कूल आउन डराइरहेका छन् । अभिभावकले पनि फेरी केही हुने हो कि भनेर बच्चालाई ढुक्कसँग पठाउन सकेका छैनन् ।’  उनीहरूका अनुसार पुनः ठूलो बाढी आउन सक्ने भनिएकाले त्रास अझ बढ्दै गएको छ । बाढीअघि ४५ जनाले अध्ययन गर्दै आएको उक्त विद्यालयमा होल्डिङ्ग सेन्टरबाट ४० बालबालिका थपिएका छन् । ३९ छात्र र ४७ जना छात्रा विद्यार्थीलाई ६ जना शिक्षकले अध्ययन अध्यापन गराइरहेका छन् । ९ जना शिक्षक शिक्षिका रहेको उक्त विद्यालयका ३ शिक्षक बाढीमा परी बेपत्ता बनेका छन् ।  विन्दु पौडेल ।  यस्तै, सोही वडाको अर्को विद्यालय नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछाने भने आफै अभिभावक बनेर विद्यार्थीलाई संघर्ष सिकाउन चाहन्छन् ।  ‘२५ गतेबाट विद्यार्थीको पढाइ सुरु हुन थालेको छ । उनीहरुलाई बाढीको पीडा बिर्साउन कथा पढ्ने, वाद्यवादन, नृत्य लगायत सिर्जनात्मक अभ्यासमा केन्द्रित गरेका छौं,’ उनले थप्दै भने, ‘त्यसबाट उनीहरुलाई पढाइतर्फ निरन्तरता दिँदै जाँदा र बालबालिकाहरू दैनिक जीवनमा फर्किँदै जाँदा उनीहरूका क्रियाकलापहरू पनि क्रमशः मिल्दै जान्छन् भन्ने लाग्छ ।’ अभिभावकबिहिन बालबालिकालाई उनी आफ्नै स्वामित्वमा हुर्काउन चाहन्छन् । तर, यतिबेला विभिन्न संघ-संस्थाहरू बच्चा लैजान्छु भन्दै आउँदा भने उनको मन  कुँडिएको छ ।  ‘विभिन्न संघ संस्थाहरू अहिले हामी बालबालिका लैजान्छौ संरक्षण गर्छौ भनेर आउनुभएको छ,’ पीडा भरिएको आक्रोशसहित उनले थपे, ‘म उहाँहरूलाई हाम्रा बच्चालाई हामी अभिभावक बनेर यहीँ माटो अनुकूल संघर्ष गर्न सिकाउँछौं । बढाउँछौं, हुर्काउछौं भनेर भन्छु ।’ उक्त प्रस्ताव ल्याउने संस्थालाई उनले सोही ठाउँलाई उठाउन सहकार्यका लागि आह्वान गरे । ‘बाल संरक्षण, खानपान, सरसफाइ, शिक्षा र मनोरञ्जनलगायतका क्षेत्रमा सबै संघ-संस्थाले आफ्नो विशेषज्ञताअनुसार समन्वय र सहकार्य गरौं । हामी काम गर्न तयार छौं,’ उनले भने, ‘तपाईंहरू सहयोग गर्नुस् र सबै मिलेर पीडामा परेको यो ठाउँ, विद्यालय र बालबालिकालाई माथि उठाउने प्रयत्न गरौं ।’  बाढीबाट विद्यालयका ६ जना विद्यार्थी बेपत्ता छन् । ५ सय ८ जना विद्यार्थीले अध्ययन गर्दै आएको उक्त विद्यालय खुलेको २ साता पुग्दा २ सय ८५ जना विद्यार्थी पठनपाठनमा फर्किएका छन् ।  

सातामै १२ लाख कमाउँथे, ५ हजारमा झरे

रसुवा । कुनै समय सातामै १२ लाख रुपैयाँसम्मको कारोबार हुन्थ्यो । होटलका कोठा खाली भेटिँदैनथे । पाहुना खोज्नुपर्ने अवस्था थिएन, बरु आएका पाहुनालाई कहाँ राख्ने भन्ने चिन्ता हुन्थ्यो । तर, अहिले त्यही होटलमा दिनभर कुर्दा पनि पाहुना मुस्किलले भेटिन्छन् । आम्दानी खुम्चिएर ४-५ हजारमा झरेको छ । २७ वर्षीय डेभिड लोप्चनले धुन्चेमा होटल व्यवसाय थालेको चार वर्ष भयो । ‘स्टे एण्ड रुम्स एण्ड क्याफे’ उनको आम्दानीको मुख्य आधार हो । बाल्यकालदेखि हुर्किएको धुन्चे उनका लागि बजार मात्रै होइन, परिवारको भविष्य जोडिएको ठाउँ हो । यही व्यवसायको आम्दानीबाट बुबाआमा, दुई भाई, श्रीमती र सानो बच्चासहितको परिवार चल्दै आएको थियो ।  केही समयअघिसम्म उनको व्यवसाय उकालो लागिरहेको थियो । सामान्य दिनमा पनि १५ देखि २० जना पाहुना होटलमा बास बस्न आउँथे । वर्षमा एकपटक लाग्ने गोसाइँकुण्डको जनैपूर्णिमा मेलाका बेला भने धुन्चेमा मानिसको चाप थामिनसक्नु हुन्थ्यो । त्यही समयमा डेभिडको होटलमा पनि पाहुनाको ओइरो लाग्थ्यो । दिनमै लाखौंको कारोकार भएको अनुभव पनि उनीसँग छ ।  तर, भदौ १० गते आएको बाढीले डेभिडको त्यो लय एकाएक भत्काइदियो । बाढीले रसुवाको जनजीवनमा क्षति मात्रै पु¥याएन, धुन्चेका साना–ठूला व्यवसायको आधारसमेत हल्लाइदियो । डेभिडले होटलका लागि आवश्यक चामल, तेल, तरकारीलगायत दैनिक उपभोग्य सामग्री सस्तोमा ल्याउने त्रिशूली बजार नै बाढीले तहसनहस बनायो ।  त्यसपछि धुन्चेको बजारमा सामानको अभाव सुरु भयो । आसपासका गाउँबाट आउने तरकारी रोकियो । पसलमा चामल, नुन, तेलदेखि ग्यास सिलिन्डरसम्मको अभाव हुन थाल्यो । सामान ल्याउन टाढाको काठमाडौंमा निर्भर हुनुपरेपछि ढुवानी खर्चले व्यवसायीलाई थप थिचेको छ । पहिले करिब १०–१५ हजार रुपैयाँमा धुन्चे पुग्ने सामानको ढुवानी खर्च अहिले ७०–८० हजार रुपैयाँसम्म पुगेको डेभिड बताउँछन् । स्थानीय पालिकाले ढुवानीमा केही सहयोग गर्ने प्रयास गरे पनि भत्किएको र जोखिमपूर्ण सडकका कारण सामान ल्याउन सहज छैन । वर्षा भयो कि आवतजावत नै प्रभावित हुन्छ । पहिले केही घण्टामै पार हुने बाटो अहिले एक दिनसम्म लाग्ने अवस्था छ । ढुवानी महँगिएसँगै सामानको मूल्य पनि बढेको छ । पेट्रोलियम पदार्थको लागत बढेको छ । अर्कोतर्फ बजारमा ग्राहक छैनन् ।  पर्यटन क्षेत्रको अवस्था झनै कमजोर बनेको छ । चीनतर्फको नाका तथा बस्ती क्षेत्रमा हुने आवतजावत प्रभावित छ । गोसाइँकुण्ड जाने मार्गबाहेक अन्य क्षेत्रमा पर्यटकको चहलपहल लगभग शून्यजस्तै छ । डेभिडको होटलमा अहिले केही संस्थागत समूहका मानिस बसेकाले मात्र व्यवसाय धानिएको छ । तर, उनीहरू फर्किएपछि के हुन्छ भन्ने चिन्ताले डेभिडलाई पिरोलिरहेको छ । ‘हामी बाढीबाट त बाँच्यौं, । तर, यो महँगी र सम्भावित भोकमरीले पो मर्ने हो कि भन्ने ठूलो चिन्ता छ,’ उनी भन्छन् ।  डेभिडका लागि अहिले सरकारसँग ठूलो माग छैन । उनको अपेक्षा यति मात्रै हो,  भत्किएका बाटो र पुल सकेसम्म छिटो बनून् । सडक खुले बजार फेरि चलायमान हुने उनको विश्वास छ । बाढीले घरबारविहीन बनाएका परिवारका लागि सुरक्षित घरबास र जग्गाको व्यवस्था हुनुपर्ने उनको माग छ । ‘बाटो खुले बजार चल्छ । बजार चलेपछि हामी आफैँ आफ्नो खुट्टामा उभिन सक्छौं’ भन्ने आशा उनीसँग छ । लामा तामाङ ।  डेभिडको पीडा धुन्चेको अर्को कुनामा व्यापार गरिरहेकी लामा तामाङको कथासँग पनि मिल्छ । गोसाइँकुण्ड गाउँपालिका-६ की स्थायी बासिन्दा लामा तीन-चार दशकदेखि धुन्चेमा किराना पसल चलाउँदै आएकी छन् । उनका श्रीमानले सानो मेडिकल सञ्चालन गर्छन् । कुनै समय सामानले भरिभराउ देखिने उनको पसल अहिले रित्तो हुँदै गएको छ । पहिले उनको दैनिक कारोबार १५ देखि २० हजार रुपैयाँसम्म हुन्थ्यो । गोसाइँकुण्ड र लाङटाङ जाने पर्यटकको आवतजावतले व्यापारलाई साथ दिएको थियो । दशैं– तिहारको समय त झन् मुख्य व्यापारिक सिजन हुन्थ्यो । यही समयमा लाखौँ रुपैयाँको कारोबार हुने गरेको उनी सम्झिन्छिन् ।  तर, अहिले अवस्था उल्टिएको छ । बाढी र पहिरोले सडक अवरुद्ध भएपछि सामानको आपूर्ति रोकिएको छ । दैनिक १५-२० हजारको कारोबार गर्ने पसलमा अहिले २–३ हजार रुपैयाँको व्यापार गर्न पनि कठिन छ । ‘अहिले बाढीले गर्दा एकदमै समस्या छ, सामानहरू भनेजस्तो पाइएको छैन,’ लामा भन्छिन्, ‘पहिला ल्याएको अलिअलि सामान जति थियो, त्यति बेचियो; अब त ठप्पै भएको छ ।’ अहिले उनको पसलमा सबैभन्दा ठूलो अभाव ग्यासको छ । पालिकाले ग्यास उपलब्ध गराउने भने पनि कहिले र कसरी उपलब्ध हुन्छ भन्ने अझै स्पष्ट छैन । ग्याससँगै तेल, चामल, चिनी, मसला लगायतका अत्यावश्यक वस्तुको अभाव पनि उत्तिकै छ । व्यापारको मुख्य सिजन दशैं-तिहार नजिकिँदै गर्दा सडक नखुले अवस्था झनै कठिन हुने उनको चिन्ता छ । दशैंभन्दा अगाडि नै बाटो खोल्न पाए हामी व्यापारीलाई अलिअलि भए पनि व्यापार हुन्थ्यो,’ उनी भन्छिन्, ‘बाटो छिटोभन्दा छिटो खुल्यो भने हामी रसुवावासीलाई निकै राहत र सजिलो हुने थियो ।’ डेभिड र लामाको कथा धुन्चेमा बाढीपछि बदलिएको अर्थतन्त्रको एउटा सानो तस्वीर हो । बाढीले घर र बाटो मात्रै भत्काएको छैन, बजारको कारोबार, पर्यटनको चहलपहल र स्थानीयको आम्दानीको आधारसमेत कमजोर बनाएको छ । हिजोसम्म पर्यटकको पर्खाइमा व्यस्त होटल र ग्राहकले भरिने पसल अहिले सडक खुल्ने दिनको प्रतीक्षामा छन् ।    

बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग

बाढी प्रभावित जिल्ला रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजार नजिकै अवस्थित  नीलकण्ठ माध्यामिक विद्यालय भदौ २५ गतेबाट पुनः सञ्चालनमा आएको छ । भदौ १० गतेको बाढीले बन्द भएको विद्यालय २५ गतेबाट पुनः सञ्चालनमा आएको हो । विद्यालयले विद्यार्थीको मनोबल बढाउँदै र भदौ १० गतेको बाढीको घाउ बिर्साउँर्दै पुरानै दैनिकीमा फर्काउन शिक्षक लागिपरेका छन् । बाढीबाट विद्यालयका ६ जना विद्यार्थी बेपत्ता छन् । ५ सय ८ जना विद्यार्थीले अध्ययन गर्दै आएको उक्त विद्यालय खुलेको २ साता पुग्दा २ सय ८५ जना विद्यार्थी पठनपाठनमा फर्किएका छन् ।  उनीहरुलाई पढाइभन्दा बढी सिर्जनात्मक अभ्यासमार्फत पुरानै लयमा फर्काउने प्रयासमा विद्यालय छ । विकासन्युजले विद्यालयको भौतिक पूर्वाधारसँगै शिक्षक र विद्यार्थीको मानसिक तथा सामाजिक अवस्था र स्थानीय, प्रदेश र केन्द्र सरकारले गर्दै आएको सहयोग तथा समन्वयका विषयमा विद्यालयका प्रधानाध्यापक माधव लामिछानेसँग कुराकानी गरेको छ ।

६१ जनाको जीवन बचाउन अनुजाले देखाएको अदम्य साहस

काठमाडौं । ‘बसमा कुनै विद्यार्थी बाँकी छन् कि भनेर फर्केर हेर्न जाँदा बाढीले स्कुल बस बगायो । हुत्तिएर म बसको अन्तिम सिटमा पुगें,’ ज्यान जोगाउन गरेको अन्तिम प्रयास सुनाउँदै अनुजा अधिकारीले भनिन्, ‘झ्यालको सिसा लात्तीले फोरेरै भीरमा हाम फालें । त्यसपछि अब म बाँचें भन्ने महसुस भयो ।’ भदौ १० को यो कहालीलाग्दो क्षण सम्झिँदा उत्तरगया गाउँपालिका-५ बनुवाकी अनुजा अधिकारीलाई अझै पनि मनमा त्रास सिर्जना हुन्छ । मन आत्तिन्छ । मुटु ढुकढुक हुन्छ । के बिर्सें, के बिराएँ र के छोडें भन्ने लाग्छ ।  अनुजा अधिकारी आचार्य ७ वर्षदेखि शिक्षण पेसामा आवद्ध छिन् । भदौ १० गते बिहान ८ बजेर ५५ मिनेट जाँदासम्म पनि उनको दैनिकी विगतका दिनहरूजस्तै थियो । बिहानै उठ्ने, खाना खाएर विद्यालय जाने तयारी सकेर आफूले ७ वर्षदेखि पढाउँदै आएको बेत्रावती मोर्डन त्रिनिटी विद्यालयको बस पर्खिने । त्यो दिन पनि उनी उसैगरी विद्यालय जान बस चढिन् ।  उनीमाथि आफ्नो क्षेत्रका विद्यार्थीलाई सुरक्षित विद्यालयसम्म पुर्याउने जिम्मेवारी थियो । ७ वर्षदेखि उनले यहीँ काम सम्हाल्दै आएकी थिइन् । भदौ १० गते बिहान भने उनीको अनुभव कहालीलाग्दो बन्न पुग्यो । ‘म मेरो गाउँ र माथि गाउँका ३१ जना बच्चालाई लिएर बेत्रावती बजारमा रहेको स्कूल पुगेकी थिएँ । ९ बजेर १० मिनेट जाँदा मलाई फोन आयो,’ त्यसपछि मात्रै बाढी आएको बारे आफूले जानकारी पाएको शिक्षिका  आचार्यले बताइन् ।  फोनमा बसमा रहेका बच्चा लिएर भाग्न सुझाइएको थियो । त्यत्तिकैमा उनको कानमा बेत्रावती बजार छाडेर सुरक्षित स्थानमा जानूस् भन्ने आवाज पर्यो । ‘फोन आउने र प्रहरी कार्यालय, पिलिकाका कर्मचारी बजार क्षेत्रका व्यापारीले बजार छाडेर सुरक्षित ठाउँमा जान माइकिङ्ग गर्दै आउनुभएको एकैसाथ सुने । उहाँहरूले मलाई भेटेपछि बच्चालाई तुरुन्त लिएर भाग्न सुझाउनुभयो,’ उनले स्मरण गरिन् ।  त्यसपछि उनले छात्रावासमा रहेका २६ विद्यार्थीलाई समेत बसमा चढाएर उचो क्षेत्रतर्फ लागिन् । ‘हामी भर्खर बच्चा लिएर स्कुल ग्राउण्डमा पुगेका थियौं । बाढी आउँदैछ भनेपछि होस्टलका २६ बच्चासमेत लिएर ड्राइभर दाइलाई अग्लो ठाउँमा जा‍औं भने,’ उनले सुनाइन् ।  तर, त्यतिबेला विद्यालय र कार्यालय समय भएकाले सधैंजस्तो जाम हुनसक्ने कुरा उनको मानसपटलमा आयो ।  ‘बजार कट्नै लागेका थियौं, विद्यालय जाने बेला सधैं गाडीको जाम भोगेको याद गरें । त्यहाँबाट भाग्न सकिँदैन भन्ने पक्का भयो । त्यसपछि साना-साना बच्चाहरू कहाँबाट भगाउने भन्ने सोच्न नभ्याउँदै बाढीले छाेपिसक्यो,’ उनले तीतो अनुभव सुनाइन् । त्यतिबेलासम्म त्रिशुलीमा आएको बाढीले बजार रहेको फाँट सबै छोपिसकेको थियो । बजारमा रहेका नुवाकोट–रसुवा जोड्ने २ पुल उनले देख्दादेख्दै बगायो ।  ‘हामी बाढीबाट लखेटिदै अलिक डिलमा पुगेका थियौं । हेर्दाहेर्दै बाढीले फाँट बगाइसक्यो । त्यहाँबाट त बाँचियो अब जाने ठाउँ छैन भन्ने भएपछि के गरौं कसो गरौं भन्ने भयो,’ उनले त्यो कहाली लाग्दो दृश्य स्मरण गर्दै भनिन्, ‘त्यसपछि मेरो दिमागमा बच्चाहरूलाई भीरबाटै भएपनि माथि चढाउने सोच आयो, ड्राइभर दाई र म भएर कसैलाई तान्ने कसैलाई माथि फाल्ने गरिहाल्यौं ।’   सबै बच्चालाई सारियो भन्ने भएपनि अन्तिममा बसमा नहेरी उनको मन ढुक्क बनेन । जिम्मेवारीमा खरो बन्दै उनी जोखिमको प्रवाह नगरी पुनः बसतर्फ लागिन् ।   ‘अन्तिममा मेरो मनमा कोही बच्चा रोएजस्तो सुनें । बसमा अझै बच्चा छ जस्तो भइरह्यो फेरि हेर्न गएँ,’ ‘शिक्षिका आचार्यले अँध्यारो मुद्रामा भनिन्, ‘त्यो बेला म बसमा छिर्नु र बच्चा जोगाउन गएकी मलाईसहित बाढीले बस पल्टाउनु एकैपटक भयो ।’ उनका अनुसार बसमा बच्चा थिएनन् तर बाढीले उनी स्वय‌ंको जीवन जोखिममा पर्यो । बाढीले उनलाई अन्तिम सिटमा हुत्यायो । त्यहीबेला बसको झ्यालको सिसा फोरर उनी बाहिर आउन सफल भइन् ।  सोही क्रममा पैदल विद्यालय आइरहेको ४ बच्चाको जीवन समेत उनकै उद्धारबाट जोगियो । यसरी उनले त्रादी माहोलमा देखाएको साहस र चेतपूर्ण कदमले शिक्षिका आचार्य, सवारीचालकसहित ६१ जना बालबालिकाले पुनर्जन्म पाए ।  बाढीले विद्यालयको भवनसहित सबै संरचना ध्वस्त बनाएकाले विद्यार्थीको पठनपाठन यतिबेला भने ठप्प छ ।  ‘केही बच्चाहरू यतै खुलेका पायक पर्ने स्कूलमा जान थालेका छन् ।  अब यो क्षेत्र सामान्य बन्न त वर्षाैं लाग्छ होला,’ उनले भनिन् ।   सरकारसँग उनले तत्काल बाढीपीडितका लागि पुनर्बासको व्यवस्था गरिदिन समेत  माग राखिन् । बाढीले ५ वडा रहेको उत्तरगया गाउँपालिकामा रहेका १० वटा विद्यालयमा क्षति पुगेको छ । जसमा एक विद्यालय नर्ससहित मोर्डन ट्रिनिटी इङ्लिस विद्यालयमा प्रधानाध्यापकसहित ९ शिक्षक बाढीबाट बेपत्ता छन् । ‘दश वर्षदेखि यहीँ ठाउँमा वारपार गरिराखेको छु यस्तो प्रलय कहिले आएन । हाम्रो स्कूल र प्रिन्सिपल बाढीबाट बेपत्ता हुनुहुन्छ,’ उनले दुःखी हुँदै सुनाइन् ।

मृत्यु संस्कारमा चुक्यो सरकार

रसुवा । पूर्णबहादुर घलेले रसुवा बाढीमा परिवारका सात सदस्य गुमाए । बाढीले उनका  बुबा, भाई, छोराबुहारी, दुई नातिनी र भान्जा गरी परिवारका सात सदस्य वेपत्ता पारिदियो । होल्डिङ सेन्टरको एउटा कुनामा पूर्णबहादुर घले चुपचाप थिए । वरिपरि मानिसहरू थिए, तर उनको आँखाले कसैलाई खोजिरहेको थिएन । अब खोजेर पनि कसलाई भेट्नु ? भदौ १० गतेको परिवारका सात सदस्य वेपत्ता पार्यो । घर बग्यो । पसल बग्यो । तीन पुस्ताले जोडेको जायजेथा बग्यो । बाँकी रहे- पूर्णबहादुर, उनकी श्रीमती र एक छोरा । बाढी गएको दिनदेखि पूर्णबहादुरले आफ्ना मान्छे फर्किने खबर कुरिरहे । कतै घाइते भेटिए कि ? कतै कसैले उद्धार गरेर राखेको छ कि ? फोन आउला कि ? दिन बिते, रात बिते । नदीको किनार, अस्पताल, उद्धारस्थल र आसपासका बस्तीमा खोजी भयो । तर, सातै जनाको कुनै खबर आएन । अब उनको प्रतीक्षा थाकिसकेको छ । ‘यतिका दिन बित्दासमेत केही थाहा पाइएन । बाँचिरहेका भए आउँदा हुन् । घाइते भेटिएको भए खबर पाइन्थ्यो होला,’ पूर्णबहादुरले लामो सुस्केरा हाल्दै भने, ‘केही नभएपछि अब उनीहरूको आत्माका लागि घेवा (पूजा) लगाउने मन बनाएँ ।’ मृतआत्माको शान्ति तथा उनीहरुको आत्माको स्वर्गमा बास हुने विश्वासका साथ बौद्ध धर्मालम्वीले घेवा गर्ने गर्दछन् । घेवा भनिरहँदा उनको अगाडि आफ्ना सात जना प्रियजनको अनुहार घुमिरहेको थियो । तर, उनीसँग उनीहरूको अन्तिम संस्कार गर्ने सामर्थ्यसमेत थिएन । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेका पूर्णबहादुर अहिले आफ्नै घरमा छैनन् । घर भएको ठाउँमा बाढीले बनाएको बगर छ । व्यापार भएको ठाउँ पनि छैन । परिवारका सदस्य छैनन् ।  उनी अहिले उत्तरगया–५ मा दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स) को भवनमा सञ्चालित भोटेकोशी-त्रिशूली बाढी विपद् प्रभावित समुदायका लागि समावेशी सामुदायिक भान्सा घर तथा आश्रयस्थलमा बसेका छन् ।  शुक्रबारसम्म उनको मनमा एउटै चिन्ता थियो, बौद्ध संस्कारअनुसार आफ्ना परिवारका सदस्यको आत्माशान्तिका लागि घेवा कसरी गर्ने ? घेवा गर्न गुम्बामा लामा बोलाउनुपर्छ । पूजा सामग्री चाहिन्छ । खानपान र अन्य व्यवस्थापन गर्नुपर्छ । तीन दिनसम्म पूजा लगाउनुपर्ने हुन्छ । तर, पूर्णबहादुरको हातमा पैसा थिएन । ‘हामीसँग त पैसाको नाममा केही छैन । सबै बगर बन्यो,’ उनले दुःखी हुँदै भने ।  उनको यही पीडाबीच सहयोगको हात आइपुग्यो । त्यहाँ सहयोग गर्न आउने व्यक्तिमार्फत एक जना जर्मन नागरिकले पूजा संस्कारका लागि सहयोग गरे । अब पूर्णबहादुर गुम्बा जान सक्ने अवस्थामा छैनन् । त्यसैले आश्रयस्थलमै गुम्बाजस्तै ठाउँ बनाएर पूजा लगाउने तयारी भइरहेको छ । ‘गुम्बा जान नसके पनि यहीँ गुम्बाजस्तो बनाएर पूजा लगाउन लागेका छौँ,’ उनले भने । रसुवामा पूजा लगाउने लामा पनि पर्याप्त छैनन् । बाढीले कतिपय लामा पनि बगाएको र बाँचेका थोरैले सबै ठाउँमा पुग्न नसक्ने अवस्था रहेको उनले बताए ।  ‘यहाँका लामा कति बग्नुभयो । बाँचेका एक-दुई जनाले सबैतिर भ्याउनुहुन्न । काठमाडौंबाट लामा बोलाएका छौँ,’ उनले भने, ‘अब तीन दिन पूजा लगाउनेछौँ ।’ पूजा सकिएपछि उनका परिवारका सात सदस्यको मृत्यु संस्कार पूरा हुनेछ । तर, पूर्णबहादुरका लागि त्यो केवल संस्कार होइन । त्यो सात जना आफन्तलाई अन्तिम पटक सम्झेर बिदाइ गर्ने बाध्यता हो । अन्तिम संस्कार गर्न काठमाडौं  रसुवाको यही बाढीले थुप्रै परिवारलाई मृत्युको खबर कुर्ने, शव खोज्ने र अन्तिम संस्कारका लागि संघर्ष गर्ने अवस्थामा पुर्याएको छ । स्याफ्रुबेँसी बजारभन्दा करिब सय मिटर तल त्रिशूली नदीमाथि बनाइएको तुइनमा एउटा महिला सात महिनाको बच्चा काखमा च्यापेर नदी पार गरिरहेकी छिन् ।  काखमा बच्चा रोइरहेको छ । त्रिशूलीको किनार लेदोले भरिएको छ । बाटो भत्किएको छ । पुल बगेको छ । तर, उनीसँग रोकिने समय छैन । उनी आफ्ना श्रीमानको अन्तिम संस्कारका लागि काठमाडौं जाँदै छैन । उनी अर्थात् गोसाइँकुण्ड गाउँपालिका निवासी २३ वर्षीया पाल्मो तामाङ ।  पाल्मो तामाङ । ‘श्रीमानको लागि अन्तिम सेवा गर्न काठमाडौंं हिँडेको । धुन्चेबाट गाडी चलेको छ भन्ने सुनेका छौं,’ रोइरहेको बच्चालाई थम्थम्याउँदै उनले निराश भएर भनिन् ।  उनका श्रीमान् रसुवागढीमा काम गर्थे । बाढी आएका बेला त्यहीँ काम गरिरहेका थिए । बाढीले उनलाई पनि बगायो । आजसम्म शव भेटिएको छैन । ‘अहिलेसम्म लास पनि भेटिएन । गाउँलेले पैसा दिए । अब काठमाडौंं गएर पूजा लगाउने,’ पाल्मोले भनिन् ।  उनको स्वरमा पीडा थियो । तर, त्यो पीडाभन्दा ठूलो जिम्मेवारी उनको काखमा थियो–सात महिनाकी छोरी । अर्कोतर्फ ६ वर्षको छोरा पनि छ । चार जनाको पाल्मोको परिवार अब तीन जनामा सीमित भएको छ ।  ‘हामी क्रिस्चियन हौं, उहाँलाई त्यस्तो भएपछि अहिलेसम्म अन्तिम सेवा गर्न पाएको छैन,’ उनले भनिन्, ‘बच्चालाई कसरी पाल्ने, के गर्ने ? उहाँ त जानु भयो ।’ उनको बोली रोकिएन । श्रीमान गुमाएकी २३ वर्षीया पाल्मोका लागि अब जीवनको सबैभन्दा कठिन प्रश्न अगाडि उभिएको छ । दुई साना बच्चालाई कसरी हुर्काउने ? १६ वर्षकै उमेरमा विवाह गरेकी पाल्मोले सामान्य खेतीकिसानी गर्दै आएकी थिइन् । परिवारको मुख्य आम्दानी श्रीमानको कमाइबाट चल्थ्यो । अहिले कमाउने मान्छे छैनन् ।  अहिले उनलाई तत्काल चाहिएको कुरा भनेको श्रीमानको अन्तिम संस्कार पूरा गर्नु र दुई बच्चाका लागि बाँच्ने आधार खोज्नु हो ।    ‘संस्कार गर्न पनि पालिकाले पैसा दिएन । गाउँले सबै मिलेर जाँदा म पनि हिँडेँ,’ उनले भनिन्, ‘अहिलेसम्म सरकारले यस्तो गर्दिन्छु भनेको छैन । खोइ, गर्दिन्छ होला नि !’ आमाछोदिङ्मो गाउँपालिकाका निमा दोर्जे तामाङ पनि पाल्मोसँगै काठमाडौं जाँदै छन् । उनको दिदी र भिनाजुलाई पनि बाढीले वेपत्ता पार्यो । उनको घर डाँडामाथि भएकाले बाढीबाट जोगियो । तर, रसुवागढी नाकामा होटल व्यवसाय गर्दै आएका दिदी–भिनाजुको घर, व्यवसाय र जीवन सबै बाढीले लग्यो । ‘मेरो घर माथि डाँडामा पर्ने भएकाले हामीलाई त केही भएन।  नाकामा काम गर्ने मेरो दिदी-भिनाजु र घर सबै बगायो,’ निमा भन्छन्, ‘उहाँहरूको अन्तिम काम गर्न तुइन बनेपछि बल्ल काठमाडौं  जान लागेको हुँ ।’ निमा दोर्जे तामाङ ।  बाढीले बाटो मात्रै काटेको छैन । आफन्तको अन्तिम संस्कार गर्न जाने बाटोसमेत काटिदिएको छ । त्रिशूलीमाथि बनाइएको अस्थायी तुइन अहिले उनीहरूका लागि पुल मात्र होइन, शोक बोकेर पार गर्नुपर्ने एउटा कठिन बाटो बनेको छ । शोकसँगै भोकको चिन्ता बाढीले मानिसको ज्यान र घर मात्रै लगेको छैन । बाँचेकाहरूको भोलिको जीवन पनि कठिन बनाएको छ । रसुवाको सदरमुकाम धुन्चे र जिल्लाका अन्य बजारसँगको सडक सम्पर्क अवरुद्ध भएपछि खाद्यान्नको समस्या सुरु हुन थालेको निमा बताउँछन् । ‘पानी परेकाले दाउरा चिसो छ । चामल, दाल, तेल त यहाँ खासै फल्दैन । सडक नहुँदा समस्या हुन थालेको छ,’ उनी भन्छन्, ‘सरकारले तत्काल सडक र पुल निर्माण गरिदिनुपर्छ ।’ घर छैन । रोजगारी छैन । बजार छैन । सडक छैन । कतिपय ठाउँमा स्वास्थ्य सेवा छैन । परिवारका सदस्य छैनन् । अनि अन्तिम संस्कार गर्नसमेत पैसा छैन । बौद्ध धर्मअनुसार कुनै पनि व्यक्तिको मृत्यु भएको ४९ दिनमा आत्माशान्तिका लागि पूजा लगाउनु अनिवार्य हो ।  कैसाङ नुर्पु तामाङ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी प्रभावित परिवारलाई अन्तिम संस्कारका लागि सरकारले बजेट दिने निर्णय गरे पनि रकम निकासा हुन सकेको छैन । उनले प्रधानमन्त्रीसँगको संवादमा समेत रकम तत्काल निकासा गर्न आग्रह गरेको बताए । ‘प्रधानमन्त्रीसँगको संवादमा पनि मैले यो पैसा छिटो निकासा गरिदिन भनेको हुँ । उहाँले हुन्छ पनि भन्नुभयो । तर, अहिलेसम्म आएको छैन,’ उनले भने ।  ‘यहाँ विभिन्न धर्म मान्ने समुदाय हुनुहुन्छ। सबैलाई परिवारको सदस्य गुमाएको पीडा छ। पैसा छैन, संस्कार गर्ने चाहना छ,’ अध्यक्ष तामाङ भन्छन्, ‘सरकारले किन ढिलाइ गरिरहेको छ ? समय कटेपछि खर्चबापत रकम दिनुको कुनै अर्थ छैन ।’ उनले बाढी प्रभावितका लागि निकासा गरिएको बजेट खर्च गर्ने निर्देशिका तत्काल पठाउनसमेत सरकारसँग आग्रह गरेका छन् । 

बस्ने गाउँ छैन, भाग्ने ठाउँ छैन

रसुवा । रात पर्नासाथ सानो भार्खुकी चेङ्गा तामाङलाई निद्रा लाग्दैन । घरमाथि पहिरो खस्ने हो कि गाउँको तलबाट भइरहेको कटानले बस्ती नै बगाउने हो कि भन्ने डरले उनी रातभर जाग्राम बस्छिन् । बाढीको त्रासबाट जोगिन दिनमा गाउँ आउने र राति आफन्तको घरमा गएर सुत्ने उनको दैनिकी बनेको छ । ‘अहिले त बजार पनि छैन । बाढी आउने हो कि भनेर चिन्तामा बस्नुपरेको छ । बाढी आयो भने हामी कहाँ भाग्ने ? भाग्ने ठाउँ नै छैन,’ चेङ्गा दुःखी हुँदै भन्छिन्, ‘तलको भिर र पहिरो खस्यो भने त यहाँबाट सिधै लैजान्छ । राति सुत्न पनि सकेका छैनौं ।’ भदौ १० गतेको बाढीपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका- ठूलो भार्खु र सानो भार्खुका बासिन्दाको जीवन यस्तै त्रास, अभाव र अनिश्चितताबीच बितिरहेको छ । बाढीले गाउँको तलबाट कटान गरिरहेको छ भने माथिल्लो भागमा पहिरोको जोखिम बढेको छ । सुरक्षित स्थानमा जाने विकल्प नहुँदा स्थानीय जोखिमकै बीच गाउँमा बस्न बाध्य छन् ।  बाढीले स्याफ्रुबेंसी बजार र त्यहाँ पुग्ने मुख्य सडक संरचना बगाएपछि भार्खुवासीको समस्या झन् गहिरिएको छ । गाउँमा उत्पादन हुने आलु, सिमी, बन्दा, काउलीलगायत तरकारी तथा अन्य स्थानीय उत्पादन बिक्री गर्ने बजार छैन । बजारसम्म सामान लैजान यातायातको सुविधा छैन । पहिले स्याफ्रुबेंसी बजारमै बिक्री गरेर घरखर्च चलाउने परिवार अहिले राहतको भरमा बस्नुपर्ने अवस्थामा पुगेका छन् । चेङ्गाका अनुसार पहिले गाउँमा उत्पादन भएको तरकारी, आलु तथा अन्य स्थानीय उत्पादन स्याफ्रुबेंसी बजारमा लगेर बिक्री गर्दा परिवारको गुजारा चल्थ्यो । अहिले बजार नै बाढीले बगाएपछि आम्दानीको बाटो बन्द भएको छ । ‘पहिला महिनामा २०-२५ हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो । अहिले राहतको सहारामा बाँच्नुपरेको छ,’ उनी भन्छिन्, ‘अन्त जाऊँ भने जाने ठाउँ पनि छैन । एक महिना हुन लाग्यो, खाने-लाउने र घर चलाउनै धौधौ परेको छ ।’ बाढी आएको दिनदेखि आवश्यक सामान आफन्तको घरमा राखिएको र आफूहरू दिनमा मात्र गाउँमा आउने गरेको उनले बताइन् । ‘हामी दिउँसो काम गर्न गाउँमा आउँछौं, राति सुत्न आफन्तको घरमा जान्छौं,’ उनले भनिन् ।  बजार बग्यो, ढुवानी महँगियो ठूलो भार्खुका स्थानीय किप्पा छिरिङ तामाङको समस्या पनि उस्तै छ । गाउँको तलबाट नदीले निरन्तर कटान गरिरहेको छ । कतिबेला बस्ती नै भासिने हो भन्ने चिन्ता गाउँका सबै परिवारमा छ । ‘तलबाट बाढीले कटान गरिरहेको छ । कतिबेला बस्ती नै भासिने हो भन्ने पीर सबै गाउँका मानिसलाई परेको छ,’ उनी भन्छन् ।  बाढीपछि गाउँलेले करिब १० दिनसम्म विद्युत् सेवासमेत पाउन सकेनन् । स्याफ्रुबेसी बजारका डिपो तथा मुख्य सडक बगाएपछि खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तु गाउँसम्म पुर्‍याउन कठिन भएको छ । ‘एकातिर बत्तीको भर छैन, अर्कोतिर बाटो नभएर बाहिरबाट ग्यास तथा खाद्यान्न ल्याउन सकिएको छैन,’ किप्पा भन्छन्, ‘न गाउँमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन सकिएको छ । भएको एउटा स्याफ्रुबेंसी बजार पनि बगाइसक्यो । यो विपद्ले हामीलाई चारैतिरबाट घेरेको छ ।’ किप्पा २०६७ सालदेखि ठुलो भार्खुमा पसल सञ्चालन गर्दै आएका छन् । उनका अनुसार सडक अवरुद्ध भएपछि सामान ढुवानीको लागत आकासिएको छ । किप्पा छिरिङ तामाङ ।  ‘पहिला त्रिशूलीबाट ७ टन सामान ल्याउँदा १५ देखि २० हजार रुपैयाँ भाडा लाग्थ्यो । अहिले बाटो बिग्रिएर ३ टन सामान ल्याउँदा नै ८०/९० हजार रुपैयाँसम्म भाडा तिर्नुपर्छ,’ उनी भन्छन्, ‘बाटो नभएपछि न बाहिरबाट सामान ल्याउन सकिएको छ, न आफूले उत्पादन गरेका आलु, सिमी, बन्दा, काउलीलगायत तरकारी पुर्याउने बजार छ ।’ बजार र सडकको पहुँच टुट्दा गाउँको कृषि उत्पादन खेतमै थन्किने अवस्था आएको छ । उत्पादन बिक्री गर्न नसक्दा आम्दानी गुमेको छ भने बाहिरबाट सामान ल्याउँदा ढुवानी खर्च अत्यधिक बढेको छ । यसले स्थानीयको दैनिकी मात्र होइन, गाउँको समग्र जीविकोपार्जन प्रणाली नै प्रभावित बनाएको छ । बिरामी पर्दा कहाँ जाने ? बाढीले बजारसँगै स्वास्थ्य सेवाको पहुँचसमेत खोसेपछि भार्खुवासी थप चिन्तित छन् । स्याफ्रुबेंसीमै रहेको स्वास्थ्य चौकी तथा एम्बुलेन्स सेवामा निर्भर रहेका स्थानीय अहिले सामान्य उपचारका लागि समेत जोखिम मोल्नुपर्ने अवस्थामा छन् । ठूलो भार्खुकी मेन्दो झल्प्यो गाउँमा दिनको समयमा मात्र आउने र राति आफन्तको घरमा बस्ने गरेको बताउँछिन् ।  सानाे भार्खु गाउँ ।  ‘हामी स्थानीय काम गर्नका लागि मात्र गाउँमा आउँछौं, अरू बेला माथि घर भएका आफन्तको घरमा बसिरहेका छौं,’ उनी भन्छिन्, ‘हाम्रो मेडिकल, एम्बुलेन्स र हेल्थपोस्ट सबै यही स्यार्फुबेंसीमै थियो । अहिले केही पनि छैन । बिरामी पर्दा उपचार गर्ने ठाउँ छैन ।’ सरकारले विपद्पछि जनताको जीवन सहज बनाउन तत्काल के योजना अघि सारेको छ भन्ने आफूहरूलाई जानकारी नभएको भन्दै उनले पीडा सुनाइन् । ‘सरकारले जनताको सेवाका लागि के सोच्दैछ, हामीलाई थाहा छैन । तर, हामी अहिले निकै पीडामा छौं,’ उनले भनिन् ।  सानो भार्खुकी छिरिङ भुटीको चिन्ता पनि उस्तै छ । खोलाको नजिक रहेको बस्ती भएकाले आफूहरू थप जोखिममा रहेको उनको भनाइ छ । ‘हाम्रो गाउँ खोलाको नजिक छ । धेरै जोखिममा छौं । कहाँ जाने भन्ने पनि कसैले केही भन्दैन,’ उनी भन्छिन्, ‘डरका कारण गाउँमा बस्न सकेका छैनौं ।’ मेन्दो झल्प्यो ।  लाप्का चुमुलाई पनि रात काट्न सहज छैन । आफन्तको घरमा पुगे पनि आफ्नै घर र सम्पत्ति पहिरो वा बाढीले लैजाने हो कि भन्ने चिन्ता उनलाई सताइरहन्छ । ‘राम्रोसँग सुत्न पनि सकेका छैनौं । सुत्न भनेर आफन्तको घरमा गए पनि घर बाढीले लैजाने हो कि भनेर चिन्ता भइरहन्छ,’ उनी भन्छिन्, ‘यत्रो सम्पत्ति पहिरोले लगेपछि हामी कहाँ जाने, के गर्ने ? केही छैन । काठमाडौं घर हुनेहरू त गइसके, हाम्रो त केही छैन । कहाँ जाने ?’ स्थानीय सरकार भन्छ- असुरक्षित बस्ती सार्छौं  गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीपीडितका लागि तीन चरणमा काम गर्ने योजना बनाएको बताए । उनका अनुसार पहिलो चरणमा घरका अधिकांश सदस्य गुमाएका र एक-दुई जना मात्र जीवित रहेका परिवारलाई प्राथमिकतामा राखेर व्यवस्थापन गरिनेछ । दोस्रो चरणमा सम्पत्ति गुमाएका तर ज्यान जोगाएका परिवारको व्यवस्थापन गरिनेछ । तेस्रो चरणमा जोखिममा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना छ । तर, स्थानीयका लागि स्थानान्तरणको योजना कहिले र कसरी कार्यान्वयन हुन्छ भन्ने विषय अहिले पनि अनिश्चित छ । तत्कालका लागि उनीहरूलाई सुरक्षित बास, सडक, विद्युत्, स्वास्थ्य सेवा र बजारसम्मको पहुँच आवश्यक छ । बाढीले सडक र बजारको संरचना मात्र बगाएको छैन, भार्खुवासीको आम्दानी, आवतजावत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको आधारसमेत बिथोलेको छ । एकातिर तलबाट नदीको कटान र माथिबाट पहिरोको जोखिम छ, अर्कोतिर बजार र सडक सम्पर्क टुटेको छ । यस्तो अवस्थामा स्थानीयको प्रश्न एउटै छ, ‘बाढी फेरि आयो भने भाग्ने ठाउँ कहाँ छ ?’ अब उनीहरूका लागि राहत मात्र पर्याप्त छैन । जोखिममा रहेका बस्तीको सुरक्षित व्यवस्थापन, सडक तथा विद्युत् पुनःस्थापना, स्वास्थ्य सेवा सञ्चालन र स्थानीय उत्पादनका लागि बजारको व्यवस्था तत्काल आवश्यक देखिएको छ ।

तुइनमा अडिएको जिन्दगी

रसुवा । भदौ १० गते त्रिशुलीमा आएको बाढीले एउटा पुल मात्रै बगाएन, रसुवाको स्याफ्रुबेंसी बजार र आसपासका बस्तीको बाहिरी संसारसँगको सहज सम्पर्क नै टुटाइदियो । नेपाल-चीनको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने बाटो अवरुद्ध भएपछि स्वास्थ्य उपचारदेखि खाद्यान्न आपूर्तिसम्मका लागि स्थानीयले जोखिमपूर्ण वारपार र अनिश्चितताको जीवन बिताइरहेका छन् ।  बाढीले गोसाइँकुण्ड गाउँपालिका-५ स्थित स्याफ्रुबेंसी जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बगाएपछि त्यस दिनदेखि यहाँको जनजीवन असहज बनेको हो । पुलसँगै बजारका करिब २ सय ५० घर, स्वास्थ्य संस्था, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसल र अन्य संरचनामा ठूलो क्षति पुगेको छ । बजारको माथिल्लो भागमा रहेका करिब १०/१२ घर र एउटा पसल मात्र जोगिएका छन् ।  स्याफ्रुबेंसी बजार हुँदै बग्ने त्रिशुलीको बाढीले गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय, सडक संरचना र लाङटाङ हाइड्रोपावरको हेडस्टेशनसमेत बगाएर लगेपछि क्षतिको तस्वीर अझ भयावह बनेको  छ। बजारबाट करिब सय मिटरको दूरीमा रहेको चिलिमे हाइड्रोपावरको सुरुङमा समेत आंशिक क्षति पुगेको छ । तर, भौतिक संरचना भत्किनु मात्र यहाँको संकट होइन । बाढीपछि सम्पर्कविहीन भएका स्थानीय, व्यवसायी, रोजगारीका लागि पुगेका मानिस र घुमघामका लागि आएका पर्यटकमध्ये कतिपयको अझै अत्तोपत्तो छैन । बाढीले बस्ती र बजारको स्वरूप नै बदलिदिएपछि जोगिएकाहरू पनि आधारभूत सेवाका लागि कठिन यात्रा गर्न बाध्य छन् ।  अस्पताल जान पनि जोखिम, खाद्यान्न ल्याउन पनि समस्या पुल बगेसँगै स्याफ्रुबेंसी र आसपासका बस्तीका नागरिकका लागि अस्पताल पुग्नु पनि चुनौती बनेको छ । दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत वारपारको जोखिम मोल्नुपर्ने अवस्था छ । स्थानीयका अनुसार सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न तथा अन्य आधारभूत सामग्री पुर्‍याइरहेको छ । तर, त्यसले नियमित जीवन धान्न पर्याप्त भएको छैन । ‘सरकारले हेलिकोप्टरबाट राहत दिएको छ, त्यहीँ खाएर बसेका छौं । अब हामी बाँच्नका लागि केही चाहियो भने यहाँबाट धुन्चे जानुपर्छ,’ एक स्थानीयले विकासन्युजसँग गुनासो गरे ।  सडक सम्पर्क टुटेपछि उनीहरूको अवस्था लामो समयसम्म बाहिरी संसारबाट सीमित बनेको छ । कोभिड महामारीका बेला घरभित्रै सीमित हुनुपरेको अवस्थाजस्तै अहिले पनि उनीहरू सहज आवतजावतको विकल्पविहीन बनेका छन् ।  पुलको विकल्प बन्यो तुइन, तान्ने मान्छे छैन सम्पर्कविहीनताको समस्या तत्काल सम्बोधन गर्न नेपाली सेनाको अग्रसरतामा अहिले तुइन निर्माण गरिएको छ । तर, तुईन बनेपछि समस्या सकिएको छैन । त्यसलाई सञ्चालन गर्न पनि जनशक्ति चाहिन्छ । आमाछोदिङ गाउँपालिकाकी छेङा तामाङ उपचारका लागि धुन्चे पुगेर फर्किएकी थिइन् । बिहान गाउँकै मानिसहरूले तुईनमार्फत उनलाई वारपार गराएका थिए । तर, फर्किँदा तुइन तारिदिने कोही नभएपछि उनी लामो समयसम्म पर्खिन बाध्य भइन् ।  ‘बिहान ९ः३० बजेदेखि यहाँ बसेको, ११ बज्न लागिसक्यो । तारिदिने मान्छे छैन,’ उनले भनिन् ।  बिहान जाँदा स्थानीयले तुइन सञ्चालन गरिदिएको बताउँदै उनले भनिन्, ‘बिहान त यहाँ मान्छे थिए, उनीहरूले तारिदिए । अहिले त कोही छैन, के गर्ने होला ?’ करिब ११ बजेतिर धुन्चेबाट तुइन सञ्चालनका लागि खटाइएको सशस्त्र प्रहरीको पाँच जनाको टोली घटनास्थलमा पुगेपछि मात्रै उनलाई वारपार गराइएको थियो ।  गोसाइँकुण्ड गाउँपालिका-५ का राजन तामाङका लागि तुइनले केही राहत दिएको छ । तर, म्यानुअल रूपमा सञ्चालन हुने भएकाले यो आफैँमा अर्को चुनौती बनेको उनी बताउँछन् ।  ‘यो तुइन तान्न ८/१० जना मान्छे चाहिन्छ । मान्छे नभए माथिबाट पहिरो खसेर च्याप्ला जस्तो यो भीरमा कुरेर बस्नुपर्ने हुन्छ,’ उनले भने, ‘मोटर जोडेको तुइन भए त सहज हुने थियो नि !’ उनका अनुसार बाढी आएको एक महिना पुगिसक्दा पनि स्थायी आवतजावतका लागि बेलिब्रिज निर्माणमा अपेक्षित गति देखिएको छैन । ‘मान्छेहरू बिरामी पर्दा जे हुँदा पनि यता आउनुपर्छ, जानुपर्छ । महिनादिन बित्दा पनि सरकारले यस्तो ठाउँमा बेलिब्रिज बनाउन सकेन । दुःख लाग्छ,’ उनले भने, ‘अझै हामीले के-के अभाव झेल्नुपर्ने हो ?’ बजेट आयो, कार्ययोजना आएन स्थानीयको समस्या तत्काल समाधान गर्नुपर्ने भए पनि सरकारबाट प्राप्त बजेट कार्यान्वयनमा प्रक्रियागत अन्याैल रहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ बताउँछन् । उनका अनुसार सरकारले रसुवालाई संकटग्रस्त जिल्ला घोषणा गरी बजेट पठाएको छ । तर, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट निर्देशिका र कार्ययोजना नआउँदा स्थानीय तहलाई काम अघि बढाउन समस्या भएको छ । ‘सरकारले हामीलाई संकटग्रस्त जिल्ला घोषणा गरेर बजेट पठाएको छ । त्यसलाई कार्यान्वयन गर्ने निर्देशिका र कार्ययोजना नदिँदा अन्याैल भयो,’ अध्यक्ष तामाङले भने । यद्यपि तत्कालका लागि वडा नम्बर ५ र ६ लाई चिलिमे हाइड्रोपावरको सुरुङसम्म जोड्ने गरी हालिएको तुईनलाई मोटरेवल बनाउने तयारी भइरहेको उनले बताए । ‘केही दिनमै यसलाई मोटरेवल बनाइनेछ । त्यसपछि स्विच थिचेर स्थानीयले आवतजावत गर्न सक्छन्,’ उनले भने। सडक र बेलिब्रिजमा अझै अन्याैल स्थानीयका लागि तत्कालीन राहतभन्दा दीर्घकालीन समाधान भने सडक र पुल नै हो ।  तर, सडक पुन:निर्माण तथा बेलिब्रिज निर्माणमा सम्बन्धित निकायबीच समन्वय र कार्यान्वयनको गति अपेक्षाकृत सुस्त रहेको अध्यक्ष तामाङको भनाइ छ । ‘हामी पनि दुःखमा भएकाले उठ्न अलिक समय लाग्यो । तर पनि प्रयास गरिरहेको छु । त्यसमाथि यहाँसम्म पुग्न सडक त्यति सहज छैन,’ उनले भने, ‘केन्द्र सरकारको पुल महाशाखा र सडकका निकायले पनि अलिक ढिला गरिरहेको मैले महसुस गरेको छु ।’ भदौ १० को बाढीले स्याफ्रुबेंसीमा पुल र सडक मात्र बगाएको छैन, स्थानीयको नियमित जीवन, व्यापार–व्यवसाय र राज्यका आधारभूत सेवासम्मको पहुँचमा पनि गहिरो धक्का दिएको छ । एक महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थायी आवतजावतको भरपर्दो विकल्प तयार नहुँदा यहाँका नागरिकका लागि राहतभन्दा पुनःस्थापना र पूर्वाधार निर्माणको गति मुख्य प्रश्न बनेको छ । बाढीले बगाएको पुलको ठाउँमा कहिले स्थायी संरचना बन्छ, सडक कहिले खुल्छ र स्वास्थ्य, खाद्यान्न तथा अन्य अत्यावश्यक सेवामा स्थानीयको सहज पहुँच कहिले फर्किन्छ भन्ने प्रश्नको उत्तर अहिले पनि स्याफ्रुबेंसीका नागरिक पर्खिरहेका छन् । 

तुइनको सहारामा स्याफ्रुबेंसी (फोटोफिचर)

रसुवा । प्रकृतिले बेलाबखत सिर्जना गर्ने विपत्तिहरू मानिसको जीवनका लागि कति कष्टकर बन्छन् भन्ने कुराको ज्वलंत उदाहरण बनेको छ रसुवाको स्याफ्रुबेंसी । गत भदौ १० गते आएको विनाशकारी बाढीले स्याफ्रुबेंसी बजार र सदरमुकाम धुन्चे बजार जोड्ने एक मात्र पक्की पुल बगाएपछि यस क्षेत्रको जनजीवन ठप्प भएको छ । पुल बगाएको २० दिनसम्म दुवैतर्फको आवतजावात पूर्ण रूपमा बन्द हुँदा स्थानीय बासिन्दाहरू आफ्नै थातथलोमा थुनिन बाध्य थिए । आमाछोदिङ्मो गाउँपालिका र गोसाइकुण्ड गाउँपालिकालाई जोड्ने यो व्यापारिक तथा आवतजावातको प्रमुख पुल नै बाढीले बगाउँदा आवातजावत बन्द भएको छ ।    सम्पर्क टुटिसकेको २० दिनको लामो अन्तरालपछि, अहिले सोही स्थानमा नेपाल आर्मीको सक्रियता र सशस्त्र प्रहरी बलको सहयोगमा तुइन निर्माण गरिएको छ । तुइन सञ्चालनमा आएसँगै ठप्प बनेको जनजीवन केही हदसम्म चलायमान बन्न थालेको छ । अहिले यसै तुइनको जोखिमपूर्ण सहारामा वारिपारि गर्नेहरूको लर्को लाग्न थालेको छ । बाढीका कारण लामो समयसम्म आफन्तसँग भेटघाट गर्न नपाएकाहरूका लागि यो तुइन पुनर्मिलनको माध्यम बनेको छ ।  त्यति मात्र होइन, आपतकालीन अवस्थाका बिरामीहरूलाई अस्पतालसम्म पुर्याउन र एकले अर्को गाउँका खबर आदानप्रदान गर्न यो तुइनको सहारामा लिइरहेका छन् ।  भदौको बाढीले रोजगारी र दैनिक गुजारा समेत खोसिएपछि आमाछोदिङ्मो गाउँपालिकाका युवाहरू महिनौं दिनदेखि अलपत्र परेका थिए । खानसमेत नपाएपछि उनीहरूले अन्ततः ज्यान जोखिममा राखेर यही तुइनको साहारा लिएर काठमाडौँतर्फ फर्किन बाध्य भएका छन् । तुइन बनेपछि मानिसहरूको पैदल आवातजावातमा केही सहजता आए पनि यो दीर्घकालीन समाधान भने होइन । सशस्त्र प्रहरी बल नेपालले तुइनको माध्यमबाट मानिसहरूलाई सुरक्षित रूपमा वारिपारि तार्ने गरिरहेको भए पनि यसले मात्रै सम्पूर्ण समस्याको हल गर्न सकेको छैन ।  वैकल्पिक व्यवस्थाको रूपमा तुइन त बन्यो, तर यसबाट दैनिक उपभोग्य वस्तु, खाद्यान्न र निर्माण सामग्रीहरू ढुवानी गर्न असम्भवप्राय छ । तुइनबाट सामान बोकाएर ल्याउने सम्भावना निकै कम हुने हुँदा यस क्षेत्रमा अझै पनि उचित राहत र खाद्यान्न पुग्न सकेको छैन ।  स्याफ्रुबेंसीमा मानिसको जीवन सहज बनाउन अब तुइनले मात्र पुग्दैन, यहाँ तत्काल बेलिब्रिज निर्माण गर्नुको अर्को विकल्प छैन । तर, विडम्बना, स्थानीय बासिन्दाले यति ठूलो सास्ती भोगिरहँदा पनि स्थायी समाधानका रूपमा बेलीब्रिज निर्माणका लागि सम्बन्धित निकायबाट कुनै पनि ठोस पहल हुन सकेको छैन ।  तस्बिर : नरेश बोहरा ।   

बाढीले बचाएको स्याफ्रुबेंसीको एक्लो दोकान

रसुवा । भदौ १० गते बिहानसम्म स्याफ्रुबेंसी बजारमा मान्छेको चहलपहल थियो । होटलमा पाहुना थिए, किराना पसलमा ग्राहकको भीड थियो र बजारका गल्लीमा व्यापार-व्यवसायको सामान्य रौनक थियो । केही घण्टापछि आएको बाढीले त्यो सबै दृश्यलाई यस्तो गरी मेटाइदियो कि अहिले स्याफ्रुबेंसी पुग्दा यहाँ कुनै समय बाक्लो बस्ती थियो भन्ने विश्वास गर्नसमेत गाह्रो हुन्छ । बाढीअघि स्याफ्रुबेंसी बजारमा होटल, किराना पसल र अन्य व्यावसायिक तथा आवासीय गरी करिब ३०० घर तथा संरचना थिए । अहिले बजारको माथिल्लो भेगमा रहेका १०-१२ वटा घरबाहेक अधिकांश संरचनाको नामोनिशानसमेत छैन । बाढीले घर मात्रै बगाएन, यहाँको व्यापार, रोजगारी, पारिवारिक जीवन र वर्षौंदेखि निर्माण भएको बजारको पहिचानसमेत एकैपटक बगाइदियो । स्याफ्रुबेंसीमै रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन, लाङटाङ जलविद्युत आयोजनाको स्टेसनलगायतका महत्वपूर्ण संरचना पनि बाढीको चपेटामा परे । कुनै समय स्थानीयको दैनिकी र आर्थिक गतिविधिको केन्द्र बनेको बजार अहिले भग्नावशेष र बाढीले छाडेका अवशेषबीच उभिएको छ । तर, यही उजाडिएको बजारको अलिक माथिल्लो भेगमा त्रिशूली नदी किनारबाट करिब १५० मिटर पर रहेको एउटा सानो किराना पसल भने अझै उभिएको छ । लक्षिङ घलेले चार दशकदेखि सञ्चालन गर्दै आएको यही पसल बाढीबाट जोगियो । पसल जोगिनुका पछाडि संयोग मात्रै थिएन । नदीबाट केही दूरीमा रहेको स्थानमा व्यवसाय सञ्चालन गरेका कारण बाढीको प्रत्यक्ष प्रभावबाट पसल र पसल सञ्चालक घले दुवै जोगिए । तर, पसल जोगिए पनि उनको व्यापारको आधार बनेको बजार भने रहेन । बाढीअघि ग्राहकको घुइँचो लाग्ने घलेको पसल अहिले सुनसान छ । पसलका सामान यथावत् छन्, तर किनमेल गर्ने मानिस छैनन् । बाढीले उनको पसललाई छोएन, तर ग्राहक, छिमेकी, साथीभाइ र बजारको जीवन भने बगाएर लग्यो । ‘बाढीबाट सँगै काम गर्ने, हिँड्ने, बोल्ने सबै साथी गुमाएँ,’ घलेले निराश हुँदै भने, ‘मेरो पसल बाढीले नबगाए पनि के गर्नु, अब यहाँको चहलपहल त सकियो नि ! अब मैले व्यवसाय कसका लागि गर्नु ? यहाँका अधिकांश मान्छे त बगे । बाँचेका सबै यहाँबाट सरिसके ।’ घलेको आवाजमा पसल जोगिएको खुसीभन्दा बजार गुमाएको पीडा बढी सुनिन्छ । चार दशकदेखि आफूले व्यवसाय गर्दै आएको ठाउँ केही घण्टामै उजाड भएको दृश्य उनका लागि अझै सामान्य बन्न सकेको छैन । ‘आफू मात्रै बाँचेर के गर्नु ? बजार गयो त सबै गयो,’ उनले भने, ‘अहिले त पसलको सामान त्यही पनि अलिअलि बिक्छ कि भनेर खोलेको हुँ ।’ बाढीले स्याफ्रुबेंसीको भौतिक संरचना मात्रै ध्वस्त पारेको छैन, स्थानीयको सामाजिक र आर्थिक जीवनलाई पनि गहिरो असर पारेको छ । पसल, होटल र घर गुमाएका परिवारसँगै व्यवसाय चलाउने बजार गुमाएका व्यापारीको भविष्यसमेत अनिश्चित बनेको छ । बाँचेकाहरू पनि सुरक्षित स्थानतर्फ सर्न थालेपछि बजारमा पुनः पुरानै चहलपहल फर्किने अवस्था तत्काल देखिँदैन । ग्राहक बने उद्धार र पुनर्निर्माणमा खटिएका कर्मचारी विकासन्युजको टीम स्थलगत रिपोर्टिङका क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेंसी पुग्दा घलेको पसलमा देखिने ग्राहकको दृश्य पनि बदलिएको छ । बाढीअघि स्थानीय बासिन्दा, मजदुर, व्यवसायी, यात्रु र आसपासका बस्तीबाट आउने ग्राहकले भरिने पसलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, जलविद्युत आयोजनाका कर्मचारी तथा राहत र पुनःस्थापनाका काममा खटिएका विभिन्न संघसंस्थाका कर्मचारी मात्रै देखिन्छन् । बाढीपछि उद्धार, राहत, पुनःस्थापना र क्षतिको व्यवस्थापनका लागि स्याफ्रुबेंसीमा विभिन्न निकायका मानिसको उपस्थिति बढेको छ । तर, उनीहरूको उपस्थिति स्थानीय बजारको पुरानो आर्थिक जीवनको निरन्तरताका लागि पर्याप्त छैन । घलेको पसल यसको एउटा प्रतिनिधि तस्वीर बनेको छ कि पसल बाँचेको छ, सामान बाँचेका छन्, पसले पनि बाँचेका छन् । तर, पसल चलाउने बजार भने बाढीसँगै हराएको छ । भदौ १० गतेको बाढीले स्याफ्रुबेंसी​​​​​​​मा छाडेको यही दृश्यले प्राकृतिक विपत्तिपछि पुनर्निर्माणको चुनौती घर र सडक बनाउने विषयमा मात्रै सीमित नहुने देखाउँछ । ध्वस्त भएका बजार, विस्थापित परिवार, रोजगारी गुमाएका नागरिक र समाप्त भएको स्थानीय आर्थिक गतिविधिलाई कसरी पुनर्जीवित गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ । चार दशकदेखि पसल चलाउँदै आएका घलेका लागि अहिले सबैभन्दा ठूलो प्रश्न पनि यही हो कि पसल त जोगियो, तर फेरि बजार कहिले फर्किएला ? 

आश्रयस्थलमा गुम्यो गोपनीयता

रसुवा । भदौ १० गतेको बाढीले घर, खेतबारी र सम्पत्ति मात्रै बगाएन, रसुवाको उत्तरगया गाउँपालिकाका सयौँ परिवारको सुरक्षित भविष्यसमेत अनिश्चित बनाइदियो । बाढी गएको झण्डै एक महिना पुग्न लाग्दा पनि पीडितका लागि ‘घर’ अझै टाढाको सपना बनेको छ । अहिले उनीहरू पालिकाले सञ्चालन गरेका होल्डिङ सेन्टरमा दिन कटाइरहेका छन् । जहाँ राहत त पुगेको छ, तर निजीपन, स्थायित्व र भोलिको सुनिश्चितता अझै पुगेको छैन । उत्तरगया गाउँपालिकाका पाँचवटै वडा बाढीबाट प्रभावित बने । विपदमा परी ११ जनाको शव भेटिएको छ भने ७३७ जना अझै सम्पर्कविहीन रहेको पालिकाको तथ्यांक छ । ज्यान जोगाएर विस्थापित भएका ७११ जनालाई पालिकाले पाँचवटा होल्डिङ सेन्टरमा राखेको छ । तीमध्ये उत्तरगया गाउँपालिका-५ मा रहेको समावेशी सामुदायिक भान्सा घर अहिले विस्थापित परिवारका लागि अस्थायी आश्रय बनेको छ । पालिका, यूएन वुमन, रोयम नेपाल र वडा-५ को लालीगुराँस महिला बहुउद्देश्यीय सहकारीको सहकार्यमा सञ्चालन भइरहेको यो केन्द्रमा अहिले ४७ जना आश्रित छन् । आश्रितमध्ये २३ जना महिला छन्, जसमा १४ जना बालिका छन् । २४ जना पुरुषमध्ये १० जना बालक छन् ।  राहत र खानाको व्यवस्थापन भइरहेको छ । स्वास्थ्य उपचारको पहुँच पनि छ । महिलाका लागि महिनावारीका बेला आवश्यक पर्ने प्याडसमेत उपलब्ध गराइएको छ । तर, विपद्को तत्कालीन आवश्यकता पूरा हुँदै गर्दा विस्थापितहरूको अर्को गम्भीर आवश्यकता भने दिनप्रतिदिन स्पष्ट हुँदै गएको छ । सुरक्षित, सम्मानजनक र छुट्टाछुट्टै बसोबासको व्यवस्था । ‘खानाको समस्या छैन, रात काट्न गाह्रो हुन्छ’ उत्तरगया गाउँपालिका–५ खाल्टोकी ४० वर्षीया बिमला घलेका लागि भदौ १० गतेको दिन कहिल्यै नबिर्सिने दिन बनेको छ । बाढी आउँदा भागेर ज्यान जोगाउन सफल भएकी उनी अहिले श्रीमान् र छोराछोरीसहित परिवारका सात जनासँगै यही आश्रयस्थलमा बसिरहेकी छन् । तर, बाढीबाट ज्यान जोगिए पनि उनको परिवारका सबै सदस्य सुरक्षित छैनन् । उनका भाइ, बुहारी, १६ वर्षीय माइली छोरा, जेठी बुहारी, भान्जासहित सात जना अझै सम्पर्कविहीन छन् । बाढीले एकैपटक आफन्त र सम्पत्ति गुमाएपछि बिलाको परिवार अहिले राहत र आश्रयको भरमा छ । केन्द्रमा खानादेखि स्वास्थ्य उपचारसम्मको व्यवस्था ठीकै रहेको उनको अनुभव छ । तर, महिला र पुरुष सबैलाई एउटै कोठामा राखिँदा रात बिताउन भने असहज हुने उनी बताउँछिन् । ‘एकै ठाउँमा सबै जना सुतेका छौं, त्यही समस्या छ । खानासँगै महिनावारी हुँदा प्याडदेखि स्वास्थ्य उपचार भने पाएका छौं,’ उनले भनिन् । बिमलाका लागि यो असहजता मात्रै होइन, विपद्पछिको जीवन कति कठिन हुन्छ भन्ने एउटा उदाहरण पनि हो । घरबार गुमेपछि कहाँ जाने, कसरी बस्ने र कहिले आफ्नै घरमा फर्किने भन्ने अन्योलबीच एउटै कोठामा परिवार र अपरिचित पुरुषहरूसँगै बस्नुपर्ने अवस्था छ । उनका अनुसार सँगै बस्दा गोपनीयता भंग भइरहेको छ ।  बिमला घले ।  ‘हामी सुरुमा शिव माविमा बसेका थियौं । त्यहाँ स्कुल चलाउने भनेपछि यहाँ सरेका हौं,’ सुस्केरा हाल्दै उनले विकासन्युजसँग भनिन्, ‘त्यो बेला हामी कसले के भन्यो, के ग¥यो, के बोल्ने, नबोल्ने सोच्नै सक्ने अवस्थामा थिएनौं । अहिले अलिक होस् खुल्दै गएको छ ।’ विपद्पछि बाँचेकाहरूको अर्को संघर्ष विमलाको कथा एउटै परिवारको मात्रै होइन । विपद्पछि उद्धार र राहतको चरण पार गर्दै जाँदा विस्थापित परिवारले अर्को चरणको संघर्ष सुरु गरेका छन् पुनर्वासको संघर्ष । समावेशी सामुदायिक भान्सा घरमै आश्रय लिइरहेकी जानुका आचार्यको अनुभव पनि उस्तै छ । उनीहरूका लागि सबैभन्दा ठूलो समस्या अहिले सुरक्षित र मर्यादित बसोबासको अभाव हो । ‘एकै ठाउँमा सुत्नु पर्दा हामी महिलाहरूलाई लुगा फेर्नेदेखि परिवारबाहिरका पुरुषको बीचमा निदाउनसम्म कसो–कसो लाग्दो रहेछ,’ उनले भनिन् । आपत्तालीन अवस्थामा सामूहिक आश्रय आवश्यक भए पनि लामो समयसम्म त्यही संरचनामा बसिरहनुपर्दा महिला, बालबालिका र ज्येष्ठ नागरिकका लागि छुट्टै आवश्यकता सम्बोधन गर्नुपर्ने उनीहरूको भनाइ छ । जानुका आचार्य ।  बाढीपछि घर गुमाएका परिवारका लागि अस्थायी टेन्ट वा सामूहिक आश्रय तत्कालीन समाधान हुन सक्छ । तर, लामो समयसम्म त्यहीँ राख्दा शिक्षा, स्वास्थ्य, गोपनीयता, सुरक्षा, मानसिक स्वास्थ्य र रोजगारीजस्ता विषय पनि जोडिँदै जान्छन् । त्यसैले उनीहरूको माग अब राहतभन्दा अगाडि बढेको छ पुनर्वास । ‘सरकारले जतिसक्दो चाँडो बस्ने ठाउँ मिलाइदिनुपर्छ’ विस्थापित परिवारको साझा माग सरकारले जतिसक्दो चाँडो स्थायी बसोबासको व्यवस्था गरिदिनुपर्ने छ । ‘सरकारले भाडाबापत पैसा दिने, के-के भनेको सुनेका छौं । यसरी एकै ठाउँमा सबै खाँदिएर कति बस्ने ? हामीलाई जतिसक्दो चाँडै बस्नलाई मिलाइदिनुप¥यो । सरकारलाई यही भन्छौं,’ पीडितहरूले भने । विपद् आएपछि तत्काल खाना, पानी, कपडा र स्वास्थ्य सेवा उपलब्ध गराउनु आवश्यक हुन्छ । तर, घरबार गुमाएका नागरिकलाई लामो समयसम्म अस्थायी आश्रयमै राखेर विपद् व्यवस्थापन पूरा भएको मान्न सकिँदैन । उनीहरूलाई सुरक्षित स्थानमा पुनस्र्थापित गर्नु, जीविकोपार्जनको आधार तयार गर्नु र बालबालिकाको शिक्षालाई निरन्तरता दिनु पनि पुनर्निर्माणकै हिस्सा हो । तीन ठाउँमा जग्गा पहिचान उत्तरगया गाउँपालिकाले भने विस्थापित परिवारलाई लामो समयसम्म होल्डिङ सेन्टरमै राख्ने योजना नरहेको जनाएको छ । पालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार विस्थापितहरूको पुनर्वासका लागि पालिकाले तीन ठाउँमा जग्गा पहिचान गरिसकेको छ । ‘अहिले हामीले पालिकाका तीन ठाउँमा उहाँहरूको पुनर्वासका लागि जग्गा पहिचान गरिसकेका छौं । त्यहीँ आवास बनाएर उहाँहरूलाई स्थानान्तरण गरिनेछ,’ उनले भनिन् । तर, पुनर्वासको काम तत्कालै पूरा हुने अवस्था भने छैन । पीडितको वास्तविक संख्या, क्षतिको अवस्था, आवश्यक आवासको संख्या र अन्य आधारभूत विवरण संकलनको काम प्रारम्भिक चरणमै रहेकाले व्यवस्थापनमा केही समय लाग्ने उनको भनाइ छ । चमेली गुरुङ ।  ‘अहिले तथ्यांक संकलनको प्रारम्भिक चरणमै छौं । त्यसैले व्यवस्थापनका लागि केही समय लाग्छ,’ उनले भनिन् । २०७८ को जनगणनाअनुसार उत्तरगया गाउँपालिकामा ८ हजार ५५५ जना बसोबास गर्दै आएका थिए । बाढीले घर गुमाएका परिवारलाई नयाँ घर चाहिन्छ । तर, घरसँगै उनीहरूको जीविकोपार्जनको बाटो पनि फर्काउनुपर्नेछ । बालबालिकालाई विद्यालयमा फर्काउनुपर्नेछ । महिलाका लागि सुरक्षित र मर्यादित बसोबास सुनिश्चित गर्नुपर्नेछ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अन्य जोखिममा रहेका समूहका लागि थप सहयोग आवश्यक पर्न सक्छ । त्यसैगरी, भविष्यमा यस्तै विपद् दोहोरिँदा फेरि उही अवस्था नआओस् भन्नका लागि जोखिमयुक्त बस्तीको पुनर्मूल्यांकन, सुरक्षित स्थानको पहिचान, पूर्वसूचना प्रणाली र स्थानीय विपद् तयारीलाई पनि पुनर्निर्माणसँग जोड्नुपर्ने देखिन्छ । तस्बिर : नरेश बाेहरा । 

रसुवा बाढीको २५ दिनपछि आमाछोरीको मिलन

रसुवा । भदौ १० गते चीनतर्फबाट अचानक आएको बाढीले रसुवाको नौबिसेमा बस्ने जानुका आचार्यको परिवारलाई क्षणभरमै अस्तव्यस्त बनायो । बाढीको सूचना पाएलगत्तै श्रीमान्, छोरा र उनी ज्यान जोगाउन भागे । तर, विद्यालय पठाइसकेकी १४ वर्षीया छोरी कहाँ छिन् भन्ने उनीहरूलाई केही थाहा थिएन ।  त्यो दिन उनीहरूले सम्पत्ति जोगाउने प्रयास गरेनन्, ज्यान जोगाउन मात्रै दौडिए । सम्पत्ति सबै बाढीले बगायो, तर परिवारका सदस्य भने बाँचे । अझ ठूलो राहत त त्यतिबेला मिल्यो, जब विद्यालय गएकी छोरी पनि बाढीबाट उम्किएर नुवाकोट पुगेको खबर आयो ।  उत्तरगया गाउँपालिका-५, नौबिसेकी ३७ वर्षीया जानुका आचार्य भदौ १० गते बिहान उठेर सधैँझैँ घरायसी काममा व्यस्त थिइन् । उनका दुई छोरी, एक छोरा र श्रीमानसहित पाँच जनाको परिवार नौबिसेमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको थियो । जेठी छोरी भने कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनका लागि यसै वर्षदेखि काठमाडौंमा बस्दै आएकी थिइन् । बिहान उनले कक्षा ८ मा अध्ययनरत कान्छी छोरीलाई खाना खुवाएर विद्यालय पठाइन् । त्यसको केहीबेरमै चीनतर्फबाट ठूलो बाढी आएको खबर गाउँमा फैलियो ।  बाढीको सूचना पाएपछि आचार्य श्रीमान् र छोरासहित ज्यान जोगाउन माथिल्लो भेगतर्फ दौडिइन् । शरीरमा भएको एकसरो लुगाबाहेक केही लैजान सकिनन् ।  ‘त्यो दिन सम्पत्तिको आस मारेर भागेकै कारण हामी तीन जनाको ज्यान जोगियो,’ उत्तरगया गाउँपालिका–५ मा रहेको सामुदायिक भान्छा घरमा आश्रय लिइरहेकी आचार्यले विकासन्युजसँग भनिन् ।  जानुका आचार्य ।  तर, आफूहरू भागेपछि विद्यालय पठाएकी छोरीको अवस्था के भयो भन्ने उनलाई थाहा थिएन । बाढीले छोरीलाई पनि बगायो कि भन्ने चिन्ताले उनलाई सताइरहेको थियो ।  ‘हामीले त ज्यान जोगायौं । स्कुल पठाएकी छोरीलाई बाढीले लग्यो भन्ने खुब पिर लाग्यो,’ उनले भनिन् ।  तर, भाग्यले उनको परिवारलाई अर्को ठूलो पीडाबाट जोगायो । बाढी आएको खबर सुनेपछि १४ वर्षीया छोरी पनि ज्यान जोगाउन विद्यालयबाट भागेकी रहिछन् । उनी भाग्दै नुवाकोट पुगेकी थिइन् । त्यहाँ रहेका मामाघरका आफन्तले उनको उद्धार गरेका थिए । ‘छोरीले पनि धन्न बुद्धि पु¥याएर भागिछे । हामी सबै परिवारको ज्यान त जोगियो, सम्पत्ति भने केही बाँकी रहेन,’ आचार्यले भनिन्, ‘छोरी ज्यान जोगाउन भाग्दा नुवाकोट पुगेकी रहिछ । नुवाकोटमा मेरो माइतीले उनको उद्धार गर्नुभयो ।’ तर, आमाछोरीको भेट भने तत्काल हुन सकेन । बाढीले सडक र पुल बगाएपछि दुई जिल्लाबीचको आवागमन टुटेको थियो । करिब २५ दिनपछि फलाखु खोलामा अस्थायी फड्के बनेपछि मात्रै आचार्यले आफ्नी छोरीलाई भेट्न पाइन् ।  २५ दिनपछि आमाछोरीको भेट हुँदा आचार्यले खुसी साट्दै भनिन्, ‘फड्के बनेपछि बल्ल छोरीलाई भेट्न पाएँ ।’ अहिले आचार्यको परिवार उत्तरगया गाउँपालिका-५ मा रहेको होल्डिङ सेन्टरमा जसोतसो गुजारा गरिरहेको छ । बाढीले घर, व्यवसाय र सम्पत्तिसहित जीवनको आधार नै खोसेपछि उनले सरकारसँग तत्काल पुनर्वासको व्यवस्था गरिदिन माग गरेकी छन् ।  ‘अहिले त जसोतसो गुजारा चलाइरहेका छौं । सरकारले जतिसक्दो छिटो पुनर्वासको व्यवस्था गरिदिए हुन्थ्यो,’ उनले भनिन् ।  बाढीले पुल बगायो, फड्केले जोड्यो दुई जिल्ला भदौ १० गते अकस्मात आएको भोटेकोशी बाढीले रसुवा र नुवाकोट जोड्ने सडक, पुल तथा आसपासका बस्तीमा ठूलो क्षति पु¥यायो । बाढीले झोलुङ्गे तथा पक्की पुलहरू बगाएपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्कसमेत टुट्यो ।  बेत्रावती, त्रिशूली बजार, टिमुरेलगायतका पुराना बजार तथा बस्तीसमेत बाढीबाट प्रभावित बने । सडक तथा पुलको सम्पर्क टुटेपछि रसुवा र नुवाकोटका नागरिकको आवागमन, दैनिक जीवन र अत्यावश्यक सेवासमेत प्रभावित भएको थियो ।  दुई जिल्लाबीचको सम्पर्क पुनःस्थापित गर्न सरकारले बेलिब्रिज, तुईन तथा तत्काल निर्माण गर्न सकिने अन्य अस्थायी संरचना निर्माणको काम अघि बढाएको छ । यसै क्रममा रसुवा र नुवाकोटको संगमस्थल उत्तरगया गाउँपालिका-५, बेत्रावतीस्थित फलाखु खोलामा रहेका दुई पक्की पुल भोटेकोशी बाढीले बगाएपछि पूर्ण रूपमा रोकिएको आवागमन अहिले काठ र बाँसबाट बनाइएको अस्थायी फड्केबाट सञ्चालन हुन थालेको छ । फड्के बनेपछि रसुवा र नुवाकोटका स्थानीय पैदलमार्फत वारपार गर्न थालेका छन् । यसले बाढीका कारण छुट्टिएका परिवारलाई भेटघाट गर्न तथा अत्यावश्यक कामका लागि आवतजावत गर्न सहज भएको स्थानीय बताउँछन् ।  ‘हामी स्थानीय, पालिकाका जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर फड्के बनायौं । यसले कमसेकम माइती–मावली यता–उता छुटेकालाई वारपार गर्न सजिलो भएको छ,’ स्थानीय दिल्लिनाथ खतिवडाले बताए । उनका अनुसार बाढीको सूचना पाएपछि ज्यान जोगाउन नुवाकोट र रसुवातर्फ पुगेका कतिपय जिल्लावासी सडक तथा पुल सम्पर्क विच्छेद भएपछि उतै अड्किएका थिए । फड्के बनेपछि उनीहरू आफ्नो जिल्ला फर्किएर परिवारसँग भेट्न पाएका छन् ।  ‘बाढीले यहाँको पुल बगाएपछि तीन सातासम्म खोला वारपार गर्न सक्ने स्थिति थिएन । अस्ति यहीँमाथि बनाएको फड्के त्यही दिन राति आएको बाढीले बगायो । फेरि यहाँ बनायौँ,’ खतिवडाले भने ।  उनका अनुसार फलाखु खोला तरेपछि करिब दुई–ढाई घण्टाको पैदल यात्रामा पृथ्वीराजमार्ग पुग्न सकिन्छ । त्यसैले यो अस्थायी फड्के रसुवावासीका लागि राजधानी काठमाडौंलगायत अन्य स्थानतर्फ जान महत्वपूर्ण बनेको छ । ‘वारिपारि आउजाउ गर्ने केही नभएको बेला यसले साह्रै सजिलो बनाएको छ,’ उनले भने । तर, अस्थायी फड्के आफैंमा जोखिममुक्त भने छैन । बाँस र काठ जोडेर बनाइएको साँघुरो संरचनामा एकैपटक धेरै मानिस वारपार गर्दा जोखिम बढ्ने भएकाले स्थानीयले सावधानी अपनाउन आग्रह गरिरहेका छन् ।  कुराकानीकै क्रममा एकैपटक पाँच–सात जना फड्के तर्न थालेपछि खतिवडाले उनीहरूलाई रोकेर एक–एक जना मात्रै वारपार गर्न सुझाए । एक साताभित्र बेलिब्रिज जोडिने अपेक्षा अस्थायी फड्केले तत्कालका लागि पैदल आवागमन सहज बनाए पनि दीर्घकालीन रूपमा भने पक्की संरचना आवश्यक छ । उत्तरगया गाउँपालिकाकी उपप्रमुख चमेली गुरुङका अनुसार फलाखु खोलामा बेलिब्रिज जडानको काम अघि बढिरहेको छ । ‘खोलाको दुवैतर्फ पहिलेको एक पुलको बेस भेटिएको छ । त्यसैबाट बेलिब्रिज हाल्ने हो । सामान सबै आर्मी क्याम्पमा आइसकेको छ । अब हप्तादिनमा बेलिब्रिज जोडिन्छ होला,’ उनले भनिन् ।  बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवा र नुवाकोटबीचको सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ । त्यसले बाढीपछि टुटेको आवागमनसँगै दैनिक जीवन, व्यापार, उपचार, शिक्षा र अत्यावश्यक सेवाका लागि हुने यात्रालाई समेत सहज बनाउनेछ । चमेली गुरुङ ।  तर, जानुका आचार्यजस्ता बाढीपीडितका लागि पुल र सडक जोडिनु मात्रै पर्याप्त छैन । बाढीले घर र व्यवसायसँगै जीविकोपार्जनको आधार नै बगाएपछि उनीहरू अहिले पुनःस्थापना र पुनर्वासको प्रतीक्षामा छन् । आमाछोरी २५ दिनपछि भेटिए पनि उनीहरूको परिवारले गुमाएको जीवन फेरि उभ्याउन अझै लामो बाटो तय गर्नुपर्नेछ । तस्बिर ः नरेश बाेहरा ।