बाढीले बचाएको स्याप्रुबेसीको एक्लो दोकान

जसका ग्राहक बगे, आधार सकियो

रसुवा । भदौ १० गते बिहानसम्म स्याप्रुबेसी बजारमा मान्छेको चहलपहल थियो । होटलमा पाहुना थिए, किराना पसलमा ग्राहकको भीड थियो र बजारका गल्लीमा व्यापार-व्यवसायको सामान्य रौनक थियो । केही घण्टापछि आएको बाढीले त्यो सबै दृश्यलाई यस्तो गरी मेटाइदियो कि अहिले स्याप्रुबेसी पुग्दा यहाँ कुनै समय बाक्लो बस्ती थियो भन्ने विश्वास गर्नसमेत गाह्रो हुन्छ ।

बाढीअघि स्याप्रुबेसी बजारमा होटल, किराना पसल र अन्य व्यावसायिक तथा आवासीय गरी करिब ३०० घर तथा संरचना थिए । अहिले बजारको माथिल्लो भेगमा रहेका १०-१२ वटा घरबाहेक अधिकांश संरचनाको नामोनिशानसमेत छैन । बाढीले घर मात्रै बगाएन, यहाँको व्यापार, रोजगारी, पारिवारिक जीवन र वर्षौँदेखि निर्माण भएको बजारको पहिचानसमेत एकैपटक बगाइदियो ।

स्याप्रुबेसीमै रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन, लाङटाङ जलविद्युत आयोजनाको स्टेसनलगायतका महत्वपूर्ण संरचना पनि बाढीको चपेटामा परे । कुनै समय स्थानीयको दैनिकी र आर्थिक गतिविधिको केन्द्र बनेको बजार अहिले भग्नावशेष र बाढीले छाडेका अवशेषबीच उभिएको छ ।

तर, यही उजाडिएको बजारको अलिक माथिल्लो भेगमा त्रिशूली नदी किनारबाट करिब १५० मिटर पर रहेको एउटा सानो किराना पसल भने अझै उभिएको छ । लक्षिङ घलेले चार दशकदेखि सञ्चालन गर्दै आएको यही पसल बाढीबाट जोगियो ।

पसल जोगिनुका पछाडि संयोग मात्रै थिएन । नदीबाट केही दूरीमा रहेको स्थानमा व्यवसाय सञ्चालन गरेका कारण बाढीको प्रत्यक्ष प्रभावबाट पसल र पसल सञ्चालक घले दुवै जोगिए । तर, पसल जोगिए पनि उनको व्यापारको आधार बनेको बजार भने रहेन ।

बाढीअघि ग्राहकको घुइँचो लाग्ने घलेको पसल अहिले सुनसान छ । पसलका सामान यथावत् छन्, तर किनमेल गर्ने मानिस छैनन् । बाढीले उनको पसललाई छोएन, तर ग्राहक, छिमेकी, साथीभाइ र बजारको जीवन भने बगाएर लग्यो ।

‘बाढीबाट सँगै काम गर्ने, हिँड्ने, बोल्ने सबै साथी गुमाएँ,’ घलेले निराश हुँदै भने, ‘मेरो पसल बाढीले नबगाए पनि के गर्नु, अब यहाँको चहलपहल त सकियो नि ! अब मैले व्यवसाय कसका लागि गर्नु ? यहाँका अधिकांश मान्छे त बगे । बाँचेका सबै यहाँबाट सरिसके ।’

घलेको आवाजमा पसल जोगिएको खुसीभन्दा बजार गुमाएको पीडा बढी सुनिन्छ । चार दशकदेखि आफूले व्यवसाय गर्दै आएको ठाउँ केही घण्टामै उजाड भएको दृश्य उनका लागि अझै सामान्य बन्न सकेको छैन ।

‘आफू मात्रै बाँचेर के गर्नु ? बजार गयो त सबै गयो,’ उनले भने, ‘अहिले त पसलको सामान त्यही पनि अलिअलि बिक्छ कि भनेर खोलेको हुँ ।’

बाढीले स्याप्रुबेसीको भौतिक संरचना मात्रै ध्वस्त पारेको छैन, स्थानीयको सामाजिक र आर्थिक जीवनलाई पनि गहिरो असर पारेको छ । पसल, होटल र घर गुमाएका परिवारसँगै व्यवसाय चलाउने बजार गुमाएका व्यापारीको भविष्यसमेत अनिश्चित बनेको छ । बाँचेकाहरू पनि सुरक्षित स्थानतर्फ सर्न थालेपछि बजारमा पुनः पुरानै चहलपहल फर्किने अवस्था तत्काल देखिँदैन ।

null

ग्राहक बने उद्धार र पुनर्निर्माणमा खटिएका कर्मचारी

विकासन्युजको टीम स्थलगत रिपोर्टिङका क्रममा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याप्रुबेसी पुग्दा घलेको पसलमा देखिने ग्राहकको दृश्य पनि बदलिएको छ ।

बाढीअघि स्थानीय बासिन्दा, मजदुर, व्यवसायी, यात्रु र आसपासका बस्तीबाट आउने ग्राहकले भरिने पसलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, जलविद्युत आयोजनाका कर्मचारी तथा राहत र पुनःस्थापनाका काममा खटिएका विभिन्न संघसंस्थाका कर्मचारी मात्रै देखिन्छन् ।

बाढीपछि उद्धार, राहत, पुनःस्थापना र क्षतिको व्यवस्थापनका लागि स्याप्रुबेसीमा विभिन्न निकायका मानिसको उपस्थिति बढेको छ । तर, उनीहरूको उपस्थिति स्थानीय बजारको पुरानो आर्थिक जीवनको निरन्तरताका लागि पर्याप्त छैन ।

घलेको पसल यसको एउटा प्रतिनिधि तस्वीर बनेको छ कि पसल बाँचेको छ, सामान बाँचेका छन्, पसले पनि बाँचेका छन् । तर, पसल चलाउने बजार भने बाढीसँगै हराएको छ ।

null

भदौ १० गतेको बाढीले स्याप्रुबेसीमा छाडेको यही दृश्यले प्राकृतिक विपत्तिपछि पुनर्निर्माणको चुनौती घर र सडक बनाउने विषयमा मात्रै सीमित नहुने देखाउँछ । ध्वस्त भएका बजार, विस्थापित परिवार, रोजगारी गुमाएका नागरिक र समाप्त भएको स्थानीय आर्थिक गतिविधिलाई कसरी पुनर्जीवित गर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण बनेको छ ।

चार दशकदेखि पसल चलाउँदै आएका घलेका लागि अहिले सबैभन्दा ठूलो प्रश्न पनि यही हो कि पसल त जोगियो, तर फेरि बजार कहिले फर्किएला ? 

Share News