रसुवा । बेत्रावती बजारको प्रवेशद्वारमा जस्तापाताले बनेका स-साना टहरा छन् । तीमध्ये एउटा टहरामा वेदबहादुर थापा मगरको परिवारले झण्डै चार दशक बितायो । दुई कोठाको त्यही टहरो उनका लागि घर मात्रै थिएन, पाँच सदस्यीय परिवारको आश्रय र जीवन धान्ने आधार पनि थियो ।
काठमाडौं-रसुवा चल्ने गाडी चलाएर वेदबहादुरले परिवारको गर्जो टार्दै आएका थिए । कमाइ ठूलो थिएन, तर घरखर्च धान्न पुग्थ्यो । बिहान गाडी लिएर निस्कने र साँझ घर फर्कने उनको दैनिकी थियो । तर, भदौ १० गते त्रिशूलीमा आएको बाढीले बेत्रावती बजारको भूगोलसँगै उनको जीवनको लय पनि बदलिदियो ।
वेदबहादुर थापा मगर र उनकी श्रीमती ।
अहिले वेदबहादुर न ढुक्कसँग आफ्नै घरमा सुत्न सक्छन्, न गाडी चलाएर परिवारको हातमुख जोड्ने बाटो नै खुलेको छ । उनले वर्षौंदेखि चलाउँदै आएको गाडी नुवाकोटको त्रिशूली बजारमा थन्किएको छ । सडक खुलोस् र फेरि गाडी चलाएर परिवार पाल्न सकूँ भन्ने उनको चाहना छ । तर, सडक ठप्प हुँदा उनलाई अर्को विकल्प देखिँदैन ।
दिनभर उनी आफ्नै टहरामा टोलाइरहन्छन् । सम्पत्तिका नाममा बाँकी रहेको त्यही टहराको भित्ताबाट केही पर त्रिशूली सुसाइरहेको छ । नदीको आवाजसँगै भासिएको जमिन र चर्किएको भित्ताले उनलाई बाढीको त्रासबाट बाहिर निस्कन दिँदैन ।
‘यसो आकाशमा बादल देख्नेबित्तिकै डर लागेर आउँछ । पल्लोपट्टि भएको त्रिशूली घर पछाडिबाट जमिन थर्किने गरी बग्छ । पछाडिको भाग भासिएको छ । भित्ता चर्किएको छ,’ वेदबहादुरले भने ।
बाढीले उनको परिवारमा पीडा थप्ने अर्को कारण पनि छ । परिवारका दुई काका र एक दिदी गुमाएका वेदबहादुरको आफ्नै टहरोसमेत त्रिशूलीको कटानका कारण जुनसुकै बेला खस्न सक्ने अवस्थामा छ । तर, असुरक्षित भए पनि उनको परिवारको भान्सा त्यहीँ छ ।
राति भने उनीहरू टहरामा सुत्दैनन् । दुई छोरा, आफू-श्रीमती र दिदीका लागि नजिकै अलि उचाइमा रहेको घरमा दुई कोठा भाडामा लिएका छन् ।
‘बाढी आएको दिनदेखि दिनभर हामी यहीँ छौं । दुई छोरा, हामी बुढाबुढी र दिदीका लागि रात बिताउन माथिपट्टि दुई कोठा डेरा लिएका छौं । जसोतसो त्यही रात कटेको छ,’ उनले भने ।
तर, त्यहाँ पनि सहज छैन । बाढीपछि धेरै परिवार घरबारविहीन भएकाले भाडामा बस्न कोठा पाउनै मुस्किल छ । पाइएको कोठाको भाडा पनि आफ्नो सम्पत्ति गुमाएका प्रभावित परिवारका लागि महँगो छ ।
‘कोठाको लागि ३ हजारदेखि १५ हजारसम्म भनेका छन् । त्यही पनि पाउन मुस्किल छ,’ उनले दुःखेसो पोखे ।
बाढी प्रभावित परिवारलाई भाडाका लागि केन्द्र सरकारले प्रतिपरिवार १५ हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ । आफूहरूले उक्त रकम पाउनेबारे सोध्दा वेदबहादुरको जवाफमा अझै अन्योल छ ।
‘पालिकाले दिने भनेको त छ । अहिलेसम्म निर्णय गरेको छैन, दिन्छ होला नि,’ उनले भने ।
राहतका नाममा उनले अहिलेसम्म एक बोरा चामल, एक पोका नुन र तेल पाएका छन् । थप राहत आउने आशा छँदैछ । तर, तत्कालको राहतभन्दा उनको ठूलो अपेक्षा पुनर्वासमा छ । बाढीले बस्ने ठाउँसमेत असुरक्षित बनाएपछि उनी सरकारसँग सुरक्षित स्थानमा पुनर्वासको आशा गरिरहेका छन् ।

आफ्नै पीडाबीच अरूका लागि फड्के
वेदबहादुरको कथा घरबार गुमाएका एक बाढीपीडितको कथामा मात्रै सीमित छैन । आफ्नै घर असुरक्षित भएर पनि उनले बाढीपछि नुवाकोट र रसुवाको आवतजावत सहज बनाउन स्थानीयस्तरमा गरेको प्रयासले उनको अर्को परिचय बनाएको छ ।
बाढीअघि बेत्रावती बजारलाई फलेखु खोलाले दुई भागमा छुट्याएको थियो । बजारको एक भाग रसुवाको उत्तरगया गाउँपालिका-५ मा पर्छ भने अर्को भाग नुवाकोटको विदुर नगरपालिका–१० मा । यही खोलामाथि रहेका नयाँ र पुरानो दुवै पुल भदौ १० गतेको बाढीले बगाएपछि दुई जिल्लाका बासिन्दाको आवतजावतसमेत टुट्यो ।
बाढीबाट ज्यान जोगाएर वारिपारि पुगेका कतिपय मानिस उतै रोकिए । आफैं घरमा बस्न नसक्ने अवस्थामा रहेका वेदबहादुरलाई भने मानिसहरू परिवारसँग भेट्न नसकी वारिपारि अलपत्र परेको दृश्यले झन् बेचैन बनायो ।
त्यसपछि उनले सुरक्षाकर्मीलाई गुहारे । स्थानीयको सहयोग जुटाए र फलेखु खोलामा पैदल आवतजावतका लागि फड्के बनाउन सक्रिय भए ।
‘मान्छेहरू यहाँसम्म आउने-जाने गरिरहे, त्यो देख्नै गाह्रो भयो । त्यसपछि मैले फड्के बनाउने सोचेर प्रहरी र आर्मीलाई भनेँ । त्यसपछि स्थानीयको सहयोगमा फड्के हालियो,’ उनले भने ।
फड्के ।
फड्के बनेपछि केही समयका लागि भए पनि दुई जिल्लामा छुट्टिएका मानिस परिवारसँग जोडिए । तर, त्यो खुसी लामो समय टिकेन । रातभर वर्षा भएपछि खोलामा आएको बाढीले फड्केको आधा भाग बगायो । फेरि आवतजावत रोकियो । वारिपारिका मानिस एकअर्कालाई आँखाले हेरेर चित्त बुझाउनुपर्ने अवस्थामा पुगे ।
त्यसपछि वेदबहादुर फेरि रोकिएनन् । पुरानै टोलीसँग मिलेर अर्को ठाउँ पहिचान गरे र नयाँ फड्के बनाउन जुटे । ‘रसुवातर्फ बेत्रावती बजारमा बाढीबाट क्षतिग्रस्त बनेको घरलाई टेको बनाएर हामीले पारीसम्म तर्न फड्के बनायौं,’ उनले भने ।
अहिले त्यो फड्के स्थानीयको वारपार गर्ने बाटो मात्रै बनेको छैन, राजमार्गसम्म पुग्ने अस्थायी सारथिसमेत बनेको छ ।
‘धुञ्चेदेखि यहाँसम्म सडक राम्रै भएकाले माइक्रोमा मान्छे यहाँ आउँछन् । यहाँबाट ४०-४५ मिनेट हिँडेपछि नुवाकोटतर्फको विदुर नगरपालिका-१० भैंसेसम्म पुग्छन् । त्यहाँबाट सडक छ र गाडीमा वारपार गर्छन्,’ उनले भने ।
लामो बाटो पैदल हिँडेर आउने यात्रुको समस्या पनि उनले देखे । घाममा हिँडेर आएका मानिस तिर्खाएको देखेपछि फड्के नजिकै खानेपानीको व्यवस्था मिलाएँ ।
‘मान्छेहरू घाममा तिर्खाएर आएको देखेँ । त्यहाँ पाइपमा पानी आएको देखेपछि मैले नै जडान गरौं भनेँ । त्यसपछि बनेको हो,’ उनले भने ।
आफ्नो घर र पेशा दुवै संकटमा परेका बेला पनि अरूलाई बाटो देखाउने उनको प्रयास अहिले बेत्रावतीका लागि एउटा सानो तर महत्त्वपूर्ण सहारा बनेको छ ।

बेलीब्रिजको प्रतीक्षा
फलेखु खोलामा अहिले बेलीब्रिज निर्माणको कामसमेत अघि बढेको छ । बाढीले सडक र पुलको संरचना भत्काएपछि अस्थायी आवतजावतका लागि बनाइएको फड्केको भर पर्नुपरेका स्थानीयलाई बेलीब्रिज बनेपछि केही राहत हुने अपेक्षा छ ।
‘बल्लतल्ल गाडीबाट सामान आइपुगेपछि हामी काममा लागेका छौं । पारी पनि पुरानो पुलको बेस भेटिएको छ । सम्भवतः दशैंअघि सक्ने गरी काम गर्ने कुरा आएको छ,’ बेलीब्रिज निर्माणमा खटिएका वीरबहादुरले बताए ।
नुवाकोटतर्फ सडकसमेत बगेकाले अहिले ट्र्याक खोल्ने काम भइरहेको छ । सरकारले करिब दर्जनभन्दा बढी डोजर परिचालन गरेर सडक निर्माण गरिरहेको देखाउँदै वेदबहादुरले अब छिट्टै आफ्नो पुरानो पेशामा फर्कन पाइने आशा व्यक्त गरे ।
सडक खुलेपछि गाडी चलाएर फेरि परिवारको खर्च धान्ने उनको योजना छ । तर, त्यसका लागि सडक मात्रै खुल्नु पर्याप्त छैन । सुरक्षित बसोबास पनि आवश्यक छ । यही कारण उनको आशा अहिले सडक र पुनर्वास दुवैतर्फ केन्द्रित छ ।
पुनर्वासका लागि तीन ठाउँ पहिचान
वेदबहादुरजस्ता बाढी प्रभावितको पुनर्वासबारे उत्तरगया गाउँपालिकाले तीन सुरक्षित स्थानमा जग्गा पहिचान गरिसकेको जनाएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार पालिकाभित्रका तीन सुरक्षित स्थान पहिचान गरी निर्णयका लागि सम्बन्धित निकायमा पठाइएको छ ।
‘हामीले पालिकाभित्रैका तीन सुरक्षित ठाउँमा जग्गा पहिचान गरेर निर्णयका लागि सम्बन्धित निकायमा पठाइसकेका छौं । उहाँहरूले मूल्याङ्कन गरेर अनुमति दिएमा बाढी प्रभावितलाई त्यहाँ पुनर्वास गराउने हाम्रो योजना छ,’ गुरुङले भनिन् ।
राहत वितरण भने तीन चरणमा अघि बढाइएको उनको भनाइ छ । पहिलो चरणमा सहारा नभएका प्रभावितलाई प्राथमिकता दिइएको र दोस्रो चरणमा परिवार भएका तर घर तथा सम्पत्ति गुमाएका प्रभावितलाई समेटिने उनले बताइन् ।
चमेली गुरुङ ।
‘पहिलो चरणको राहत वितरण हामीले सकेका छौं । जसमा पहिलो प्राथमिकतामा कोही नभएका प्रभावितलाई राखेका छौं । दोस्रोमा परिवार भएका तर घर–सम्पत्ति केही नभएका र तेस्रो चरणमा समुदायमा राहत पुगेको छ,’ उनले भनिन् ।
उनका अनुसार अहिले पालिका दोस्रो चरणको राहत वितरणको तयारीमा छ । भाडामा बसिरहेका प्रभावितका लागि केन्द्रबाट बजेट रकमान्तरसमेत भइसकेको र केही दिनमै निर्णय गरिने उनले बताइन् ।
पालिकाले प्रभावितको यकिन तथ्यांक तयार गर्न भने अझै समय लागिरहेको जनाएको छ । ‘हामीले अझै पनि प्रभावितको तथ्यांक यकिन गरिसकेका छैनौं । प्रारम्भिक डाटा मात्रै छन् । त्यसैले केही समय लाग्यो,’ गुरुङले भनिन् ।
उनले राहतको अभाव नभएको दाबी गर्दै राहत वितरणमा दोहोरोपन र वास्तविक प्रभावित छुट्ने अवस्था नआओस् भनेर पालिकाले समन्वयमा जोड दिएको बताइन् ।
‘राहतको अभाव भएको छैन । सामान आइराखेको छ । खासगरी कोही नछुटून् र कोही नदोहोरिऊन् भनेर हामीले विशेष ध्यान पुर्याएका छौं,’ उनले भनिन् ।
पालिकाले उत्तरगया-५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयलाई राहत संकलन केन्द्र बनाएको छ । त्यहाँ राहत सामग्री दर्ता गरेर अभिलेख राख्ने र आवश्यकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाइएको गुरुङले बताइन् ।
व्यक्तिगत रूपमा राहत वितरण गर्न आउने दातालाई समेत पालिकासँग समन्वय गर्न उनले आग्रह गरिन् । ‘केही दाता सम्पर्क नगरी पनि आउनुहुन्छ । ल्याएका सामान आफै वितरण गर्नुहुन्छ । त्यसो गर्दा वास्तविक प्रभावितले सामान पाउँदैनन् । पालिकाको समन्वयमा मात्रै राहत लिएर आउनुहोला,’ उनले सुझाइन् ।
वेदबहादुरलाई भने राहतभन्दा बढी आफ्नै पुरानो जीवन फर्किने प्रतीक्षा छ । सडक खुलोस्, गाडी फेरि चलाउन पाइयोस् र परिवारलाई सुरक्षित ठाउँमा राख्न सकियोस्, अहिले उनका सपना यिनै तीन कुरामा अडिएका छन् । पालिकाकी उपाध्यक्ष गुरुङले दशैंसम्म सडक सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताएकी छन् ।
अन्य ग्राउन्ड जिरो रिपोर्टिङहरू :
हामी फेरि उठेर अगाडि बढ्छौं
विवश छन् विद्यार्थी, सकसमा शिक्षक
सातामै १२ लाख कमाउँथे, ५ हजारमा झरे
बाढीपछि विद्यार्थीको छात्रावासमै आश्रय, महिनादिन बित्दा समेत सरकाले सुनेन विद्यालयको माग
६१ जनाको जीवन बचाउन अनुजाले देखाएको अदम्य साहस
बस्ने गाउँ छैन, भाग्ने ठाउँ छैन