रसुवा । पूर्णबहादुर घलेले रसुवा बाढीमा परिवारका सात सदस्य गुमाए । बाढीले उनका बुबा, भाई, छोराबुहारी, दुई नातिनी र भान्जा गरी परिवारका सात सदस्य वेपत्ता पारिदियो ।
होल्डिङ सेन्टरको एउटा कुनामा पूर्णबहादुर घले चुपचाप थिए । वरिपरि मानिसहरू थिए, तर उनको आँखाले कसैलाई खोजिरहेको थिएन । अब खोजेर पनि कसलाई भेट्नु ?
भदौ १० गतेको परिवारका सात सदस्य वेपत्ता पार्यो । घर बग्यो । पसल बग्यो । तीन पुस्ताले जोडेको जायजेथा बग्यो । बाँकी रहे- पूर्णबहादुर, उनकी श्रीमती र एक छोरा ।
बाढी गएको दिनदेखि पूर्णबहादुरले आफ्ना मान्छे फर्किने खबर कुरिरहे । कतै घाइते भेटिए कि ? कतै कसैले उद्धार गरेर राखेको छ कि ? फोन आउला कि ? दिन बिते, रात बिते । नदीको किनार, अस्पताल, उद्धारस्थल र आसपासका बस्तीमा खोजी भयो । तर, सातै जनाको कुनै खबर आएन ।
अब उनको प्रतीक्षा थाकिसकेको छ ।
‘यतिका दिन बित्दासमेत केही थाहा पाइएन । बाँचिरहेका भए आउँदा हुन् । घाइते भेटिएको भए खबर पाइन्थ्यो होला,’ पूर्णबहादुरले लामो सुस्केरा हाल्दै भने, ‘केही नभएपछि अब उनीहरूको आत्माका लागि घेवा (पूजा) लगाउने मन बनाएँ ।’
मृतआत्माको शान्ति तथा उनीहरुको आत्माको स्वर्गमा बास हुने विश्वासका साथ बौद्ध धर्मालम्वीले घेवा गर्ने गर्दछन् । घेवा भनिरहँदा उनको अगाडि आफ्ना सात जना प्रियजनको अनुहार घुमिरहेको थियो । तर, उनीसँग उनीहरूको अन्तिम संस्कार गर्ने सामर्थ्यसमेत थिएन ।
रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेका पूर्णबहादुर अहिले आफ्नै घरमा छैनन् । घर भएको ठाउँमा बाढीले बनाएको बगर छ । व्यापार भएको ठाउँ पनि छैन । परिवारका सदस्य छैनन् ।
उनी अहिले उत्तरगया–५ मा दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स) को भवनमा सञ्चालित भोटेकोशी-त्रिशूली बाढी विपद् प्रभावित समुदायका लागि समावेशी सामुदायिक भान्सा घर तथा आश्रयस्थलमा बसेका छन् ।
शुक्रबारसम्म उनको मनमा एउटै चिन्ता थियो, बौद्ध संस्कारअनुसार आफ्ना परिवारका सदस्यको आत्माशान्तिका लागि घेवा कसरी गर्ने ? घेवा गर्न गुम्बामा लामा बोलाउनुपर्छ । पूजा सामग्री चाहिन्छ । खानपान र अन्य व्यवस्थापन गर्नुपर्छ । तीन दिनसम्म पूजा लगाउनुपर्ने हुन्छ । तर, पूर्णबहादुरको हातमा पैसा थिएन ।
‘हामीसँग त पैसाको नाममा केही छैन । सबै बगर बन्यो,’ उनले दुःखी हुँदै भने ।
उनको यही पीडाबीच सहयोगको हात आइपुग्यो । त्यहाँ सहयोग गर्न आउने व्यक्तिमार्फत एक जना जर्मन नागरिकले पूजा संस्कारका लागि सहयोग गरे । अब पूर्णबहादुर गुम्बा जान सक्ने अवस्थामा छैनन् । त्यसैले आश्रयस्थलमै गुम्बाजस्तै ठाउँ बनाएर पूजा लगाउने तयारी भइरहेको छ ।
‘गुम्बा जान नसके पनि यहीँ गुम्बाजस्तो बनाएर पूजा लगाउन लागेका छौँ,’ उनले भने । रसुवामा पूजा लगाउने लामा पनि पर्याप्त छैनन् । बाढीले कतिपय लामा पनि बगाएको र बाँचेका थोरैले सबै ठाउँमा पुग्न नसक्ने अवस्था रहेको उनले बताए ।
‘यहाँका लामा कति बग्नुभयो । बाँचेका एक-दुई जनाले सबैतिर भ्याउनुहुन्न । काठमाडौंबाट लामा बोलाएका छौँ,’ उनले भने, ‘अब तीन दिन पूजा लगाउनेछौँ ।’
पूजा सकिएपछि उनका परिवारका सात सदस्यको मृत्यु संस्कार पूरा हुनेछ । तर, पूर्णबहादुरका लागि त्यो केवल संस्कार होइन । त्यो सात जना आफन्तलाई अन्तिम पटक सम्झेर बिदाइ गर्ने बाध्यता हो ।
अन्तिम संस्कार गर्न काठमाडौं
रसुवाको यही बाढीले थुप्रै परिवारलाई मृत्युको खबर कुर्ने, शव खोज्ने र अन्तिम संस्कारका लागि संघर्ष गर्ने अवस्थामा पुर्याएको छ ।
स्याफ्रुबेँसी बजारभन्दा करिब सय मिटर तल त्रिशूली नदीमाथि बनाइएको तुइनमा एउटा महिला सात महिनाको बच्चा काखमा च्यापेर नदी पार गरिरहेकी छिन् ।
काखमा बच्चा रोइरहेको छ । त्रिशूलीको किनार लेदोले भरिएको छ । बाटो भत्किएको छ । पुल बगेको छ । तर, उनीसँग रोकिने समय छैन । उनी आफ्ना श्रीमानको अन्तिम संस्कारका लागि काठमाडौं जाँदै छैन । उनी अर्थात् गोसाइँकुण्ड गाउँपालिका निवासी २३ वर्षीया पाल्मो तामाङ ।
पाल्मो तामाङ ।
‘श्रीमानको लागि अन्तिम सेवा गर्न काठमाडौंं हिँडेको । धुन्चेबाट गाडी चलेको छ भन्ने सुनेका छौं,’ रोइरहेको बच्चालाई थम्थम्याउँदै उनले निराश भएर भनिन् ।
उनका श्रीमान् रसुवागढीमा काम गर्थे । बाढी आएका बेला त्यहीँ काम गरिरहेका थिए । बाढीले उनलाई पनि बगायो । आजसम्म शव भेटिएको छैन ।
‘अहिलेसम्म लास पनि भेटिएन । गाउँलेले पैसा दिए । अब काठमाडौंं गएर पूजा लगाउने,’ पाल्मोले भनिन् ।
उनको स्वरमा पीडा थियो । तर, त्यो पीडाभन्दा ठूलो जिम्मेवारी उनको काखमा थियो–सात महिनाकी छोरी । अर्कोतर्फ ६ वर्षको छोरा पनि छ । चार जनाको पाल्मोको परिवार अब तीन जनामा सीमित भएको छ ।
‘हामी क्रिस्चियन हौं, उहाँलाई त्यस्तो भएपछि अहिलेसम्म अन्तिम सेवा गर्न पाएको छैन,’ उनले भनिन्, ‘बच्चालाई कसरी पाल्ने, के गर्ने ? उहाँ त जानु भयो ।’
उनको बोली रोकिएन । श्रीमान गुमाएकी २३ वर्षीया पाल्मोका लागि अब जीवनको सबैभन्दा कठिन प्रश्न अगाडि उभिएको छ । दुई साना बच्चालाई कसरी हुर्काउने ?
१६ वर्षकै उमेरमा विवाह गरेकी पाल्मोले सामान्य खेतीकिसानी गर्दै आएकी थिइन् । परिवारको मुख्य आम्दानी श्रीमानको कमाइबाट चल्थ्यो । अहिले कमाउने मान्छे छैनन् ।
अहिले उनलाई तत्काल चाहिएको कुरा भनेको श्रीमानको अन्तिम संस्कार पूरा गर्नु र दुई बच्चाका लागि बाँच्ने आधार खोज्नु हो ।
‘संस्कार गर्न पनि पालिकाले पैसा दिएन । गाउँले सबै मिलेर जाँदा म पनि हिँडेँ,’ उनले भनिन्, ‘अहिलेसम्म सरकारले यस्तो गर्दिन्छु भनेको छैन । खोइ, गर्दिन्छ होला नि !’
आमाछोदिङ्मो गाउँपालिकाका निमा दोर्जे तामाङ पनि पाल्मोसँगै काठमाडौं जाँदै छन् । उनको दिदी र भिनाजुलाई पनि बाढीले वेपत्ता पार्यो ।
उनको घर डाँडामाथि भएकाले बाढीबाट जोगियो । तर, रसुवागढी नाकामा होटल व्यवसाय गर्दै आएका दिदी–भिनाजुको घर, व्यवसाय र जीवन सबै बाढीले लग्यो ।
‘मेरो घर माथि डाँडामा पर्ने भएकाले हामीलाई त केही भएन। नाकामा काम गर्ने मेरो दिदी-भिनाजु र घर सबै बगायो,’ निमा भन्छन्, ‘उहाँहरूको अन्तिम काम गर्न तुइन बनेपछि बल्ल काठमाडौं जान लागेको हुँ ।’
निमा दोर्जे तामाङ ।
बाढीले बाटो मात्रै काटेको छैन । आफन्तको अन्तिम संस्कार गर्न जाने बाटोसमेत काटिदिएको छ । त्रिशूलीमाथि बनाइएको अस्थायी तुइन अहिले उनीहरूका लागि पुल मात्र होइन, शोक बोकेर पार गर्नुपर्ने एउटा कठिन बाटो बनेको छ ।
शोकसँगै भोकको चिन्ता
बाढीले मानिसको ज्यान र घर मात्रै लगेको छैन । बाँचेकाहरूको भोलिको जीवन पनि कठिन बनाएको छ । रसुवाको सदरमुकाम धुन्चे र जिल्लाका अन्य बजारसँगको सडक सम्पर्क अवरुद्ध भएपछि खाद्यान्नको समस्या सुरु हुन थालेको निमा बताउँछन् ।
‘पानी परेकाले दाउरा चिसो छ । चामल, दाल, तेल त यहाँ खासै फल्दैन । सडक नहुँदा समस्या हुन थालेको छ,’ उनी भन्छन्, ‘सरकारले तत्काल सडक र पुल निर्माण गरिदिनुपर्छ ।’
घर छैन । रोजगारी छैन । बजार छैन । सडक छैन । कतिपय ठाउँमा स्वास्थ्य सेवा छैन । परिवारका सदस्य छैनन् । अनि अन्तिम संस्कार गर्नसमेत पैसा छैन ।
बौद्ध धर्मअनुसार कुनै पनि व्यक्तिको मृत्यु भएको ४९ दिनमा आत्माशान्तिका लागि पूजा लगाउनु अनिवार्य हो ।
कैसाङ नुर्पु तामाङ ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी प्रभावित परिवारलाई अन्तिम संस्कारका लागि सरकारले बजेट दिने निर्णय गरे पनि रकम निकासा हुन सकेको छैन ।
उनले प्रधानमन्त्रीसँगको संवादमा समेत रकम तत्काल निकासा गर्न आग्रह गरेको बताए ।
‘प्रधानमन्त्रीसँगको संवादमा पनि मैले यो पैसा छिटो निकासा गरिदिन भनेको हुँ । उहाँले हुन्छ पनि भन्नुभयो । तर, अहिलेसम्म आएको छैन,’ उनले भने ।
‘यहाँ विभिन्न धर्म मान्ने समुदाय हुनुहुन्छ। सबैलाई परिवारको सदस्य गुमाएको पीडा छ। पैसा छैन, संस्कार गर्ने चाहना छ,’ अध्यक्ष तामाङ भन्छन्, ‘सरकारले किन ढिलाइ गरिरहेको छ ? समय कटेपछि खर्चबापत रकम दिनुको कुनै अर्थ छैन ।’
उनले बाढी प्रभावितका लागि निकासा गरिएको बजेट खर्च गर्ने निर्देशिका तत्काल पठाउनसमेत सरकारसँग आग्रह गरेका छन् ।