रसुवा । भदौ १० गते त्रिशुलीमा आएको बाढीले एउटा पुल मात्रै बगाएन, रसुवाको स्याफ्रुबेंसी बजार र आसपासका बस्तीको बाहिरी संसारसँगको सहज सम्पर्क नै टुटाइदियो ।
नेपाल-चीनको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने बाटो अवरुद्ध भएपछि स्वास्थ्य उपचारदेखि खाद्यान्न आपूर्तिसम्मका लागि स्थानीयले जोखिमपूर्ण वारपार र अनिश्चितताको जीवन बिताइरहेका छन् ।
बाढीले गोसाइँकुण्ड गाउँपालिका-५ स्थित स्याफ्रुबेंसी जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बगाएपछि त्यस दिनदेखि यहाँको जनजीवन असहज बनेको हो । पुलसँगै बजारका करिब २ सय ५० घर, स्वास्थ्य संस्था, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीका पसल र अन्य संरचनामा ठूलो क्षति पुगेको छ । बजारको माथिल्लो भागमा रहेका करिब १०/१२ घर र एउटा पसल मात्र जोगिएका छन् ।
स्याफ्रुबेंसी बजार हुँदै बग्ने त्रिशुलीको बाढीले गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय, सडक संरचना र लाङटाङ हाइड्रोपावरको हेडस्टेशनसमेत बगाएर लगेपछि क्षतिको तस्वीर अझ भयावह बनेको छ। बजारबाट करिब सय मिटरको दूरीमा रहेको चिलिमे हाइड्रोपावरको सुरुङमा समेत आंशिक क्षति पुगेको छ ।
तर, भौतिक संरचना भत्किनु मात्र यहाँको संकट होइन । बाढीपछि सम्पर्कविहीन भएका स्थानीय, व्यवसायी, रोजगारीका लागि पुगेका मानिस र घुमघामका लागि आएका पर्यटकमध्ये कतिपयको अझै अत्तोपत्तो छैन । बाढीले बस्ती र बजारको स्वरूप नै बदलिदिएपछि जोगिएकाहरू पनि आधारभूत सेवाका लागि कठिन यात्रा गर्न बाध्य छन् ।
अस्पताल जान पनि जोखिम, खाद्यान्न ल्याउन पनि समस्या
पुल बगेसँगै स्याफ्रुबेंसी र आसपासका बस्तीका नागरिकका लागि अस्पताल पुग्नु पनि चुनौती बनेको छ । दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत वारपारको जोखिम मोल्नुपर्ने अवस्था छ ।
स्थानीयका अनुसार सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न तथा अन्य आधारभूत सामग्री पुर्याइरहेको छ । तर, त्यसले नियमित जीवन धान्न पर्याप्त भएको छैन ।
‘सरकारले हेलिकोप्टरबाट राहत दिएको छ, त्यहीँ खाएर बसेका छौं । अब हामी बाँच्नका लागि केही चाहियो भने यहाँबाट धुन्चे जानुपर्छ,’ एक स्थानीयले विकासन्युजसँग गुनासो गरे ।

सडक सम्पर्क टुटेपछि उनीहरूको अवस्था लामो समयसम्म बाहिरी संसारबाट सीमित बनेको छ । कोभिड महामारीका बेला घरभित्रै सीमित हुनुपरेको अवस्थाजस्तै अहिले पनि उनीहरू सहज आवतजावतको विकल्पविहीन बनेका छन् ।
पुलको विकल्प बन्यो तुइन, तान्ने मान्छे छैन
सम्पर्कविहीनताको समस्या तत्काल सम्बोधन गर्न नेपाली सेनाको अग्रसरतामा अहिले तुइन निर्माण गरिएको छ । तर, तुईन बनेपछि समस्या सकिएको छैन । त्यसलाई सञ्चालन गर्न पनि जनशक्ति चाहिन्छ ।
आमाछोदिङ गाउँपालिकाकी छेङा तामाङ उपचारका लागि धुन्चे पुगेर फर्किएकी थिइन् । बिहान गाउँकै मानिसहरूले तुईनमार्फत उनलाई वारपार गराएका थिए । तर, फर्किँदा तुइन तारिदिने कोही नभएपछि उनी लामो समयसम्म पर्खिन बाध्य भइन् ।
‘बिहान ९ः३० बजेदेखि यहाँ बसेको, ११ बज्न लागिसक्यो । तारिदिने मान्छे छैन,’ उनले भनिन् ।
बिहान जाँदा स्थानीयले तुइन सञ्चालन गरिदिएको बताउँदै उनले भनिन्, ‘बिहान त यहाँ मान्छे थिए, उनीहरूले तारिदिए । अहिले त कोही छैन, के गर्ने होला ?’

करिब ११ बजेतिर धुन्चेबाट तुइन सञ्चालनका लागि खटाइएको सशस्त्र प्रहरीको पाँच जनाको टोली घटनास्थलमा पुगेपछि मात्रै उनलाई वारपार गराइएको थियो ।
गोसाइँकुण्ड गाउँपालिका-५ का राजन तामाङका लागि तुइनले केही राहत दिएको छ । तर, म्यानुअल रूपमा सञ्चालन हुने भएकाले यो आफैँमा अर्को चुनौती बनेको उनी बताउँछन् ।
‘यो तुइन तान्न ८/१० जना मान्छे चाहिन्छ । मान्छे नभए माथिबाट पहिरो खसेर च्याप्ला जस्तो यो भीरमा कुरेर बस्नुपर्ने हुन्छ,’ उनले भने, ‘मोटर जोडेको तुइन भए त सहज हुने थियो नि !’
उनका अनुसार बाढी आएको एक महिना पुगिसक्दा पनि स्थायी आवतजावतका लागि बेलिब्रिज निर्माणमा अपेक्षित गति देखिएको छैन ।
‘मान्छेहरू बिरामी पर्दा जे हुँदा पनि यता आउनुपर्छ, जानुपर्छ । महिनादिन बित्दा पनि सरकारले यस्तो ठाउँमा बेलिब्रिज बनाउन सकेन । दुःख लाग्छ,’ उनले भने, ‘अझै हामीले के-के अभाव झेल्नुपर्ने हो ?’

बजेट आयो, कार्ययोजना आएन
स्थानीयको समस्या तत्काल समाधान गर्नुपर्ने भए पनि सरकारबाट प्राप्त बजेट कार्यान्वयनमा प्रक्रियागत अन्याैल रहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ बताउँछन् ।
उनका अनुसार सरकारले रसुवालाई संकटग्रस्त जिल्ला घोषणा गरी बजेट पठाएको छ । तर, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने स्पष्ट निर्देशिका र कार्ययोजना नआउँदा स्थानीय तहलाई काम अघि बढाउन समस्या भएको छ ।
‘सरकारले हामीलाई संकटग्रस्त जिल्ला घोषणा गरेर बजेट पठाएको छ । त्यसलाई कार्यान्वयन गर्ने निर्देशिका र कार्ययोजना नदिँदा अन्याैल भयो,’ अध्यक्ष तामाङले भने ।
यद्यपि तत्कालका लागि वडा नम्बर ५ र ६ लाई चिलिमे हाइड्रोपावरको सुरुङसम्म जोड्ने गरी हालिएको तुईनलाई मोटरेवल बनाउने तयारी भइरहेको उनले बताए ।
‘केही दिनमै यसलाई मोटरेवल बनाइनेछ । त्यसपछि स्विच थिचेर स्थानीयले आवतजावत गर्न सक्छन्,’ उनले भने।

सडक र बेलिब्रिजमा अझै अन्याैल
स्थानीयका लागि तत्कालीन राहतभन्दा दीर्घकालीन समाधान भने सडक र पुल नै हो । तर, सडक पुन:निर्माण तथा बेलिब्रिज निर्माणमा सम्बन्धित निकायबीच समन्वय र कार्यान्वयनको गति अपेक्षाकृत सुस्त रहेको अध्यक्ष तामाङको भनाइ छ ।
‘हामी पनि दुःखमा भएकाले उठ्न अलिक समय लाग्यो । तर पनि प्रयास गरिरहेको छु । त्यसमाथि यहाँसम्म पुग्न सडक त्यति सहज छैन,’ उनले भने, ‘केन्द्र सरकारको पुल महाशाखा र सडकका निकायले पनि अलिक ढिला गरिरहेको मैले महसुस गरेको छु ।’
भदौ १० को बाढीले स्याफ्रुबेंसीमा पुल र सडक मात्र बगाएको छैन, स्थानीयको नियमित जीवन, व्यापार–व्यवसाय र राज्यका आधारभूत सेवासम्मको पहुँचमा पनि गहिरो धक्का दिएको छ । एक महिनाभन्दा बढी समय बितिसक्दा पनि स्थायी आवतजावतको भरपर्दो विकल्प तयार नहुँदा यहाँका नागरिकका लागि राहतभन्दा पुनःस्थापना र पूर्वाधार निर्माणको गति मुख्य प्रश्न बनेको छ ।
बाढीले बगाएको पुलको ठाउँमा कहिले स्थायी संरचना बन्छ, सडक कहिले खुल्छ र स्वास्थ्य, खाद्यान्न तथा अन्य अत्यावश्यक सेवामा स्थानीयको सहज पहुँच कहिले फर्किन्छ भन्ने प्रश्नको उत्तर अहिले पनि स्याफ्रुबेंसीका नागरिक पर्खिरहेका छन् ।