काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले केही नेता तथा कार्यकर्ताले महाधिवेशन प्रक्रियामा सहभागी नहुँदैमा पार्टी विभाजन भएको भन्न नमिल्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राणाले असन्तुष्ट पक्षले राखेका माग सम्बोधन गर्न पार्टीले अधिकतम लचकता अपनाएको दाबी गरे ।
उनले नेता डा. शेखर कोइरालाले राखेका सातबुँदे र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले राखेका पाँचबुँदे माग सम्बोधन भइसकेको बताए ।
उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने, १४औं महाधिवेशनको सूचीमा रहेका सदस्यलाई कायम राख्ने तथा पुराना केन्द्रीय सदस्यलाई समायोजन गर्नेलगायत मागमा पार्टी सहमत भइसकेको छ ।
राणाले पार्टीबाट केही नेता तथा कार्यकर्ता टाढिएर महाधिवेशनमा सहभागी नभएको विषयलाई पार्टी विभाजनका रूपमा बुझ्न नहुने बताए ।
‘पार्टी फुट्ने त कुरै आएन । हामी महाधिवेशन गरिरहेका छौं । कतिपय नेता तथा क्रियाशील सदस्य साथीहरू अधिवेशनमा भाग मात्र नलिएको हो । अहिले पार्टी हामी एउटै छौं,’ उनले भने ।
राणाले पूर्वसभापति शेरबहादुर देउवा १५औं महाधिवेशनमा सहभागी हुन आए उद्घाटन सत्रको अध्यक्षता गराउन पार्टी तयार रहेको बताए ।
‘शेरबहादुर दाइ आइदिनुभयो भने त्यो अधिवेशनको उद्घाटन उहाँले नै गर्नुहुन्छ । त्योभन्दा बढी हामीले के गर्ने ? घाँटी नै काटेर दिन चाहिँ अलि गाह्रो होला, तर अरू सबै हामीले दिइसक्यौँ भन्ने मलाई लाग्छ,’ उनले भने ।
तर विशेष महाधिवेशनबाट निर्वाचित वर्तमान नेतृत्वले आफ्नो पद छाडेर पुनः पुरानै नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट पारे ।
‘अब विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबै कुर्सी छोडेर उहाँहरूलाई फेरि स्वागत गरेर तपाईंहरू नै कुर्सीमा बस्नुस् भन्न हामी सक्दैनौं,’ राणाले भने ।
उनले महाधिवेशनको तयारीमा ‘गिभ एन्ड टेक’ हुने भए पनि यसपटक असन्तुष्ट पक्षका माग सम्बोधन गर्न पार्टीले आफ्नो तर्फबाट अधिकतम लचकता अपनाएको दाबी गरे ।
यसैबीच, राणाले सरकार सेवा प्रवाहमा भन्दा सामाजिक सञ्जालमा बढी सक्रिय रहेको आरोप लगाए । सरकारका गतिविधि र कार्यशैलीमा परिपक्वताको अभाव देखिएको उनको टिप्पणी थियो ।