काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल अनिवार्य अवकाशमा गएका छन् । उनी २८ वर्ष ५ महिनाको निजामती सेवापछि मंगलबार (आज)देखि अनिवार्य अवकाशमा गएका हुन् ।
सिग्देलको सम्मानमा मन्त्रालयको सभाहलमा आयोजित बिदाइ कार्यक्रममा मन्त्री सुनिल लम्सालसहित मन्त्रालयका कर्मचारीहरूले उनको लामो राष्ट्रसेवा र योगदानको स्मरण गर्दै आगामी जीवन सुख, शान्ति, सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गरे ।
सिग्देल २०५५ साल वैशाख १५ गते सिँचाइ विभागमा इन्जिनियरका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । त्यसपछि सिडिई (उपसचिव) र सहसचिव हुँदै उनले २०७८ साल असोज १४ गते सचिवको जिम्मेवारी सम्हालेका थिए ।
निजामती सेवाका क्रममा उनले सिँचाइ, सडक, सहरी विकास तथा पूर्वाधार विकासका विभिन्न क्षेत्रमा जिम्मेवारी निर्वाह गरे ।
राष्ट्रिय गौरवका आयोजनादेखि जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका भौतिक पूर्वाधार तथा सिँचाइसम्बन्धी विकास निर्माणका काममा उनले योगदान पुर्याएका थिए ।
आफ्नो सेवाकालमा विकास निर्माणमार्फत जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकेकोमा आत्मसन्तुष्टि मिलेको सिग्देलले बताएका छन् ।
तनहुँमा जन्मिएका सिग्देलको बाल्यकाल तथा एसएलसीसम्मको अध्ययन बर्दियामा भएको थियो । उनले त्रिचन्द्र कलेजबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा जर्मनीबाट वाटर रिसोर्सेज विषयमा स्नातकोत्तर अध्ययन गरेका हुन् ।
बिदाइ कार्यक्रममा कर्मचारीहरूले सिग्देलको सरल व्यवहार, समर्पण र राष्ट्रसेवाको प्रशंसा गर्दै सेवानिवृत्त जीवन सुखमय रहोस् भन्ने शुभकामना दिएका थिए ।