‘प्रधानमन्त्री अम्बानी’ भन्दै मस्कले गरे कटाक्ष, रिलायन्सले दियो यस्तो जवाफ

काठमाडौं । अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकलाई भारतमा प्रवेश गर्नबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएपछि रिलायन्स इन्डस्ट्रिजले त्यसको जवाफ दिएको छ । मस्कले भारतीय अर्बपति मुकेश अम्बानीप्रति व्यंग्य गर्दै उनलाई ‘प्रधानमन्त्री अम्बानी’ समेत भनेका थिए । उनले अम्बानीलाई स्टारलिंकले भारतमा निष्पक्ष रूपमा प्रतिस्पर्धा गर्न पाउँछ कि पाउँदैन भनेर प्रश्न गरेका थिए । मस्कको उक्त टिप्पणीपछि रिलायन्स इन्डस्ट्रिजले शुक्रबार आधिकारिक विज्ञप्ति जारी गर्दै आफू प्रतिस्पर्धासँग कहिल्यै नडराएको स्पष्ट पारेको हो । रिलायन्सले भनेको छ, ‘अन्य भारतीय कम्पनीहरूजस्तै रिलायन्स पनि स्वदेशी तथा विदेशी लगानी र नयाँ विचारलाई स्वागत गर्ने देशमा विकसित भएको हो । विशेषगरी मानिसहरूको जीवनस्तर सुधार गर्ने प्रयासलाई भारतले सधैं प्रोत्साहन गर्दै आएको छ ।’ कम्पनीले यस्तो स्वतन्त्रता कानुनी शासनमा आधारित रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले स्वदेशी वा विदेशी जुनसुकै कम्पनीले आवेदन दिए पनि सबैका लागि समान प्रक्रिया अपनाइने स्पष्ट पारेको छ । जियोको आफ्नै स्याटेलाइट सेवाले समेत अहिलेसम्म स्वीकृति पाउन सकेको छैन ।’ रिलायन्सले आफूले प्रतिस्पर्धालाई ग्राहकलाई उत्कृष्ट सेवा कसले दिन सक्छ भन्ने कुराको सबैभन्दा ठूलो परीक्षाका रूपमा लिने गरेको जनाएको छ । ‘रिलायन्स प्रतिस्पर्धासँग कहिल्यै डराएको छैन । ग्राहकलाई सबैभन्दा राम्रो सेवा कसले दिन सक्छ भन्ने कुराको वास्तविक परीक्षा नै प्रतिस्पर्धा हो,’ कम्पनीले भनेको छ । रिलायन्सका अनुसार सन् २०१६ मा जियोले भारतीय दूरसञ्चार बजारमा प्रवेश गर्दा त्यहाँ पहिल्यै धेरै कम्पनीहरू सञ्चालनमा थिए । त्यतिबेला जियोसँग एक जना पनि ग्राहक थिएनन् । तर, पछिल्लो १० वर्षमा जियोले ५३ करोडभन्दा बढी ग्राहकको विश्वास जितेको कम्पनीको दाबी छ ।  यस अवधिमा जियोले भारतीय नागरिकलाई विश्वकै उत्कृष्ट डिजिटल पूर्वाधारमध्ये एक उपलब्ध गराउनुका साथै सबैभन्दा सस्तो डेटा सेवा प्रदान गरेको रिलायन्सले जनाएको छ । रिलायन्सले स्टारलिंकसहित स्याटेलाइट सञ्चार क्षेत्रमा प्रवेश गर्न चाहने सबै कम्पनीसँग प्रतिस्पर्धा गर्न आफू तयार रहेको स्पष्ट पारेको छ । कम्पनीले भनेको छ, ‘हामी स्टारलिंकसहित स्याटेलाइट सञ्चार क्षेत्रमा हुने प्रतिस्पर्धालाई स्वागत गर्छौं ।’ विज्ञप्तिमा जियोसहित सबै कम्पनीले भारतका नागरिकलाई सेवा उपलब्ध गराउँदा देशको कानुन र नीतिको पालना गर्नुपर्नेमा समेत जोड दिइएको छ ।

अमेरिकाको एक प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोलीबारी, ३ बालबालिकासहित ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीबारीमा ४ जनाको मृत्यु भएको छ । जसमध्ये तीन बालबालिका र एक शिक्षक रहेका छन् ।  घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । बिहीबार ओरेगनको बेन्ड सहरस्थित सिल्भर रेल प्राथमिक विद्यालयमा १६ वर्षीय किशोरले अन्धाधुन्ध गोली चलाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार मृत्यु हुने बालबालिका पाँच, आठ र ११ वर्षका छन् । गोलीबारीमा घाइते सात वर्षीय बालक र ५४ वर्षीय शिक्षकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ।  प्रहरीका अनुसार आक्रमणकारीले विद्यालयको बन्द ढोकामा गोली चलाएर भित्र प्रवेश गरेका थिए । घटनापछि आक्रमणकारीलाई पछ्याउँदै विद्यालयभित्र पुगेका एक स्थानीय व्यक्तिले गोली हानी उनको हत्या गरेका थिए । गोलीबारीको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । घटनापछि विद्यालयका विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ । ओरेगनकी गभर्नर टिना कोटेकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । आक्रमणको उद्देश्य र विद्यालयसँग आक्रमणकारीको सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

तेलको मूल्य घट्यो

काठमाडौं । रुसका प्रतिबन्धित तेलवाहक जहाजमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकाको सम्भावित कदमपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । मध्यपूर्वमा पानीजहाजमाथि आक्रमण बढिरहेको र युक्रेनले रुसी ऊर्जा पूर्वाधारमा पुनः आक्रमण थालेको अवस्थामा बिहीबार तेलको मूल्य करिब २ प्रतिशतले घटेको हो । बिहीबार प्रतिब्यारेल २.२८ डलर अर्थात् २.२ प्रतिशतले घटेर १०३.७८ डलरमा झरेको रोयटर्सले जनाएको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य प्रतिब्यारेल १.३४ डलर अर्थात् १.४ प्रतिशतले घटेर ९३.७५ डलर कायम भएको छ । यससँगै अघिल्लो कारोबार सत्रमा भएको मूल्यवृद्धि उल्टिएको छ । अमेरिकी प्रशासनले रुसका केही अनियमित रूपमा सञ्चालन भइरहेका तेलवाहक जहाजमाथिको प्रतिबन्ध खुकुलो पार्ने विषयमा विचार गरिरहेको अमेरिकी अधिकारीले बुधबार बताएका थिए । यसले तेल ढुवानीको भाडा घटाउन र डिजेल ढुवानीमा लचकता बढाउन सक्ने विश्लेषकहरूको भनाइ छ । पीभीएम आयलका विश्लेषक जोन इभान्सका अनुसार प्रतिबन्धित जहाजमार्फत कानुनी रूपमा तेल ढुवानी गर्न अनुमति दिने सम्भावित कदमले बजारमा आपूर्तिसम्बन्धी चिन्ता कम गर्न सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजारमा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यले केही दिनअघि रुसी डिजेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएका थिए । त्यसपछि वासिङ्टनले पहिले प्रतिबन्ध लगाइएका जहाजमार्फत कानुनी रूपमा तेल ढुवानी गर्न दिने सम्भावनाबारे थप छलफल अघि बढाएको हो । मध्यपूर्वको तनावले मूल्य घट्न दिएन अमेरिकाको सम्भावित निर्णयले तेलको मूल्यमा गिरावट आए पनि मध्यपूर्वमा बढ्दो द्वन्द्व र समुद्री मार्गमा भएका आक्रमणले मूल्यमा थप गिरावट हुनबाट रोकेको छ । साउदी अरेबिया र यमनका हुथी विद्रोहीबीचको द्वन्द्व चर्किँदै गएको छ । यसैबीच, होर्मुज जलडमरूमध्य नजिकै पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै घटनामा आक्रमणमा परेका एक कन्टेनर जहाज र एक ड्राई बल्क जहाज डुबेको समुद्री अधिकारीहरूले बताएका छन् । पछिल्लो १० दिनमा उक्त जलमार्ग आसपास पानीजहाजमाथि हुने आक्रमण बढेको छ । अमेरिकी पक्षले इरानी बन्दरगाहमा नाकाबन्दी कडा बनाएको र गत महिना थप प्रतिबन्ध लगाएपछि इरानले जवाफी आक्रमण तीव्र बनाएको जनाएको छ । विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा उत्पन्न असुरक्षाले तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता बढाएको छ । यसले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यलाई उच्च स्तरमा टिकाइराख्न सहयोग गरिरहेको छ । एमयूएफजीका विश्लेषकहरूले साउदी अरेबिया र हुथी विद्रोहीबीच जारी द्वन्द्वले तेल बजारमा भूराजनीतिक जोखिमको अतिरिक्त मूल्य कायम राखेको बताएका छन् । यद्यपि, पछिल्ला केही दिनमा ऊर्जा पूर्वाधारमाथि आक्रमण नभएकाले तत्काल आपूर्ति अवरोधको जोखिम केही सीमित देखिएको उनीहरूको विश्लेषण छ । युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण ग¥यो यसैबीच, युक्रेनले रुसको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी गुप्तचर सहयोग फिर्ता लिने कदमलाई ‘खतरनाक’ भन्दै असन्तुष्टि व्यक्त गरेपछि रुसी ऊर्जा पूर्वाधारमाथि आक्रमण पुनः सुरु भएको हो । रुसका तेल प्रशोधन केन्द्रमा हुने आक्रमणले इन्धन उत्पादन र आपूर्तिमा अवरोध ल्याउन सक्ने भएकाले विश्व बजारमा मूल्य घट्ने क्रमलाई सीमित पार्न सक्छ । यसरी एकातिर रुसका तेलवाहक जहाजमाथिको प्रतिबन्ध खुकुलो पार्ने अमेरिकी सम्भावित कदमले बजारमा आपूर्ति बढ्ने अपेक्षा जगाएको छ भने अर्कोतिर मध्यपूर्वको द्वन्द्व, समुद्री मार्गमा बढ्दो असुरक्षा र रुसी ऊर्जा पूर्वाधारमाथिका आक्रमणले मूल्यमा दबाब कायम राखेका छन् ।