जब एकैपटक चार समान चम्ल्याहा छोरी जन्मिए...
काठमाडौं । अस्ट्रेलियामा प्राकृतिक रूपमा भएको अत्यन्त दुर्लभ गर्भधारणबाट एउटै निषेचित अण्डा चार भागमा विभाजित भई समान चम्ल्याहा (चार) छोरी जन्मिएका छन् । चिकित्सकहरूका अनुसार यस्तो गर्भधारण करिब एक करोड ५० लाखमध्ये एकमा मात्र हुने सम्भावना रहने भएकाले यसलाई अत्यन्त असाधारण घटना मानिएको छ । क्विन्सल्यान्डस्थित रोयल ब्रिस्बेन एन्ड वुमेन्स अस्पतालमा ३४ वर्षीया जेनिटर साउ नामोनाले गत १४ जुलाईमा सिजेरियन शल्यक्रियामार्फत चार छोरीलाई जन्म दिएकी हुन् । यसअघि नै चार सन्तानकी आमा रहेकी नामोना र उनका पति जोर्थमले थप सन्तान जन्माउने योजना नबनाएका बेला चौगुना गर्भ रहेको जानकारी पाएपछि परिवार नै आश्चर्यमा परेको अस्पतालले जनाएको छ । नामोनाको उपचारमा संलग्न मातृ–भ्रूण विशेषज्ञ डा. एलेक्सा बेन्डलका अनुसार चारै शिशु एउटै निषेचित अण्डाबाट विकसित भएका हुन् । गर्भाधानपछि अण्डा चार भागमा विभाजित हुँदा समान चम्ल्याहा शिशुको जन्म भएको उनले बताए । उनका अनुसार यस्तो घटना विश्वमै अत्यन्त दुर्लभ मानिन्छ र अस्ट्रेलियामा यसअघि यस्तै प्रकृतिको जन्म भएको जानकारी उनीहरूसँग छैन । चिकित्सकीय तथ्याङ्कअनुसार प्राकृतिक रूपमा चम्ल्याहा गर्भधारण हुने सम्भावना करिब सात लाखमध्ये एक मात्र हुन्छ । तर एउटै निषेचित अण्डाबाट समान चम्ल्याहा (चार) शिशु जन्मिने सम्भावना अझ निकै कम रहने भएकाले यस घटनाले चिकित्सकहरूको समेत ध्यान आकर्षित गरेको छ । अधिकांश चम्ल्याहा गर्भधारण भने सहायक प्रजनन प्रविधिको प्रयोगपछि हुने गरेका छन् । चारै भ्रूणले एउटै प्लेसेन्टा साझा गरेका कारण नामोनाको गर्भावस्था उच्च जोखिमयुक्त थियो । यस्ता अवस्थामा समयपूर्व प्रसूति, गर्भपतन, जन्मजात समस्या तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले गर्भावस्थाको १०औँ सातादेखि नै विशेषज्ञ चिकित्सकहरूको टोलीले उनको नियमित निगरानी गरेको थियो । २५औँ सातामा उनलाई अस्पतालमै भर्ना गरी निरन्तर उपचार तथा निगरानी गरिएको थियो । डा. बेन्डलले २८ हप्ता चार दिनको गर्भावस्थामै चार स्वस्थ शिशुको जन्म हुनु निकै उत्साहजनक उपलब्धि भएको बताए । शल्यक्रियाका क्रममा आमामा सामान्य रक्तस्राव भए पनि अवस्था नियन्त्रणमै रहेको र अहिले उनको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिए । हाल चारै नवजात शिशुको सघन उपचार कक्ष (एनआइसीयू) मा उपचार भइरहेको छ । उनीहरूको नाम एमिली, ह्यारिएट, क्याथरिन र एलेक्सा राखिएको छ । तीमध्ये एक शिशुको नाम आफ्नो सम्मानमा राखिएको जानकारी दिँदै डा. बेन्डलले यसलाई सुन्दर सम्मानका रूपमा लिएको बताए । उनले चिकित्सकीय रूपमा यो घटना अत्यन्त अध्ययनयोग्य भए पनि आफूका लागि सबैभन्दा ठूलो खुसी स्वस्थ आमासहित चार स्वस्थ शिशुलाई सुरक्षित रूपमा संसारमा ल्याउन सफल हुनु रहेको उल्लेख गरे । रासस
हिटलरको जन्मघर अब प्रहरी कार्यालय
काठमाडौं । नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ । लामो विवाद र कानूनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो । अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ । साथै, यसले वर्षौंदेखि चलिरहेको ‘यस भवनको भविष्य के हुने ?’ भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ । ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औँ शताब्दीको उक्त भवनको करिब दुई करोड युरो लागतमा पुनःनिर्माण गरिएको हो । निर्धारित समयभन्दा तीन वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ । जर्मन सीमानजिक रहेको उक्त घरमा एडोल्फ हिटलरको सन् १८८९ अप्रिल २० मा जन्म भएको थियो । पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रङ्ग्याइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिह्न राखिएको छ । भवनबाहिर रहेको स्मारक शिलालेखमा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि, फेरि कहिल्यै फासीवाद होइन’ भन्ने सन्देश अझै कायम राखिएको छ । सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने थप एक लाख ३० हजारभन्दा बढीलाई देशनिकाला गरिएको थियो । यद्यपि, होलोकास्टप्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय–समयमा आलोचित हुँदै आएको छ । यो भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा थियो । सन् १९७२ देखि भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो । अन्तिम निजी मालिक गेर्लिन्डे पोमरले भवनको पुनःउपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएका थिए । अस्ट्रियाली संसद्ले सन् २०१६ मा विशेष कानूनमार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब आठ लाख १० हजार युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो । भवन भत्काउने, सङ्ग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भए पनि इतिहासविद्हरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए । अन्ततः विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो । सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ । तर यातना शिविरबाट बाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव–नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताए । उनले इतिहासकै कुख्यात नरसंहारकर्तामध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव नरहेको धारणा व्यक्त गरे । रासस
युद्धको भारले थिचियो अमेरिका, इरानमा करिब ५८ खर्ब खर्च
काठमाडौं । इरानसँगको युद्धमा संयुक्त राज्य अमेरिकाले हालसम्म ३७.५ अर्ब अमेरिकी डलर (५७ खर्ब, ८९ अर्ब रुपैयाँ) खर्च गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युद्धमा ३७.५ अर्ब अमेरिकी डलर खर्च भइसकेको अमेरिकी रक्षा सचिव पिट हेगसेथले जानकारी दिए । मंगलबार वाशिङ्टनमा आयोजित संसदीय सुनुवाइमा उनले युद्धसँग सम्बन्धित हालसम्मको खर्च तथा सेप्टेम्बर ३० सम्म हुने अनुमानित खर्च समेत जोडेर यो रकम पुगेको जानकारी दिएका हुन् । तर पेन्टागनले उक्त हिसाब कसरी निकालेको हो भन्नेबारे स्पष्ट जानकारी दिएको छैन । यसअघि मार्चमा रोयटर्सलाई एक स्रोतले युद्धको पहिलो छ दिनमै कम्तीमा ११.३ अर्ब डलर खर्च भएको ट्रम्प प्रशासनको अनुमान रहेको जनाएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना इरान युद्धसँग सम्बन्धित खर्चका लागि मुख्य रूपमा प्रयोग हुने गरी करिब ९० अर्ब डलर अतिरिक्त बजेट स्वीकृत गर्न कंग्रेससँग माग गरेका थिए । यसले युद्धप्रति असन्तुष्ट सांसदहरूसँग फेरि बजेट विवाद चर्किने संकेत गरेको छ । आगामी मध्यावधि निर्वाचन हुन अब करिब छ महिना मात्रै बाँकी रहेकाले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभा र सिनेटमा आफ्नो बहुमत जोगाउन कठिन हुने अनुमान गरिएको छ । डेमोक्र्याटहरूले भने महँगीसँगै अलोकप्रिय इरान युद्धलाई प्रमुख चुनावी मुद्दा बनाउने प्रयास गरिरहेका छन् । अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेयता ट्रम्प प्रशासनले युद्धको अवस्था र आफ्नो रणनीतिबारे पर्याप्त जानकारी नदिएको भन्दै रिपब्लिकन र डेमोक्र्याट दुवै दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । संसदीय विनियोजन समिताकी वरिष्ठ डेमोक्र्याट सिनेटर प्याटी मरेले ट्रम्पले युद्ध थप चर्काउने तथा युद्ध अपराध हुन सक्ने गतिविधिको संकेत दिएको आरोप लगाइन् । उनका अनुसार ट्रम्पले इरानका नागरिक पूर्वाधारलाई समेत निशाना बनाउन सक्ने चेतावनी दिएका छन्, जसलाई आलोचकहरूले सम्भावित युद्ध अपराधको रूपमा हेरेका छन् । डेमोक्र्याट सिनेटर किस्र्टन गिलिब्रान्डले पनि ट्रम्प प्रशासनको भनाइमा स्पष्टता नभएको आरोप लगाउँदै भनिन्, ‘युद्ध सकिएको हो कि होइन भन्ने कुरा तपाईंहरूको अभिव्यक्तिबाट बुझ्नै सकिँदैन ।’ युद्धले रक्षा बजेटमा दबाब हेगसेथले तत्काल थप बजेट नपाए अमेरिकी सेनाको प्रशिक्षण कार्यक्रमसमेत कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । उनका अनुसार युद्धले करिब १ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेटमा ठूलो दबाब सिर्जना गरेको छ । संयुक्त चिफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पनि सैनिकहरूको तलब व्यवस्थापन गर्न सकिए पनि उपकरण मर्मत र भविष्यका सैन्य क्षमता विकासमा समस्या आउन सक्ने स्वीकार गरे । हेगसेथले सांसदहरूसँग अतिरिक्त बजेट मात्र नभई सन् २०२७ का लागि १.५ ट्रिलियन डलरको रक्षा बजेट पनि स्वीकृत गर्न आग्रह गरे । उनले भने, ‘मेरो विश्वासमा रक्षा विभागलाई १।५ ट्रिलियन डलरको बजेट नदिनु नै हाम्रो राष्ट्रले सामना गर्ने सबैभन्दा ठूलो सुरक्षा जोखिम हुनेछ ।’ युद्ध फेरि चर्कियो यस महिनाको सुरुआतमा अमेरिका र इरानबीचको कमजोर युद्धविराम भंग भएपछि दुवै पक्षले दैनिक रूपमा एकअर्कामाथि आक्रमण गरिरहेका छन् । सप्ताहन्तसम्म इरान युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १८ पुगेको छ भने करिब ४३० सैनिक घाइते भएका छन् । पेन्टागनका अनुसार जुलाई ७ यता मात्रै १०० सैनिक घाइते भए पनि तीमध्ये ९६ प्रतिशत पुनः सेवामा फर्किसकेका छन् । गत सातादेखि ट्रम्पले इरानका ऊर्जा पूर्वाधार, पुल, खार्ग टापुको तेल केन्द्र तथा ‘पिकएक्स माउन्टेन’ नामक गहिरो भूमिगत आणविकसँग सम्बन्धित स्थलमा समेत आक्रमण विस्तार गर्न सकिने चेतावनी दिँदै आएका छन् । मंगलबार ट्रम्पले उक्त पर्वतीय आणविक केन्द्रलाई ‘निकट भविष्यमै ध्वस्त पारिने’ बताएका छन् । अन्य सामग्रीहरू : इरान युद्ध अपडेट : विश्वलाई असर पार्ने पाँच महत्त्वपूर्ण घटनाक्रम गोप्य रूपमा सुन थुपार्दै चीन, सरकारी तथ्यांकभन्दा धेरै सुन भएको दावी ५ सयभन्दा बढी रोहिङ्ग्या समुद्रमा बेपत्ता