साउदीमाथि हुथीको भीषण हमला, ७३ जना घाइते

काठमाडौं । यमनमा साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले इरान समर्थित हुथी लडाकुहरूले साउदी अरबमाथि गरेको आक्रमणमा कम्तीमा ७३ जना घाइते भएको दाबी गरेको छ । बीबीसीको फारसी सेवाका अनुसार गठबन्धनले यी आक्रमणको निर्णायक जवाफ दिने जनाएको छ । यमनको सबैभन्दा बढी जनसंख्या रहेको क्षेत्र तथा देशको उत्तरी भागको अधिकांश भूभाग नियन्त्रणमा लिएका हुथी विद्रोहीहरूले जुलाईमा साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरेका थिए । त्यसपछि उनीहरूले साउदी अरबमाथि आक्रमण सुरु गरेका थिए। उनीहरूले लाल सागरमा रहेका साउदीका पानीजहाजलाई समेत निशाना बनाएका थिए । यमनमा साउदी नेतृत्वको सैन्य गठबन्धनका एक प्रवक्ताले पछिल्लो समय तीव्र बनेको संघर्षलाई ‘खतरनाक’ भएको बताएका छन् । उनका अनुसार हुथीहरूले साउदी अरबका नागरिक तथा आर्थिक प्रतिष्ठानहरूलाई निशाना बनाएका छन् । पछिल्ला आक्रमणमा साउदी तेल कम्पनी  साउदी अरामकोका जिजानस्थित संयन्त्रहरूलाई समेत निशाना बनाइएको छ । यद्यपि, अरामकोले यस विषयमा कुनै टिप्पणी गरेको छैन ।

चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण ४ जनाको मृत्यु, उद्धार र राहत कार्य तीव्र

काठमाडौं । पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।  स्थानीय अधिकारीहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्य नौजना बेपत्ता रहेका छन् । त्यसैगरी, सोही काउन्टीको जोआन टाउनस्थित याङफेन गाउँमा शनिबार दुईजना बेपत्ता भएका थिए, जसमध्ये एक जनाको शव आइतबार दिउँसो फेला परेको स्थानीय सरकारले जनाएको छ ।  हाल प्रभावित क्षेत्रहरूमा उद्धार कार्य र विस्थापितहरूको व्यवस्थापन जारी छ ।  उद्धार टोलीका सदस्य वान कियाङकाअनुसार भारी उपकरण, उद्धार टोली र राहत सामग्री मुख्य प्रभावित क्षेत्रसम्म पुर्‍याउनका लागि अवरुद्ध सडक र नदीका मार्गहरू खोल्ने काम तीव्र गतिमा भइरहेको छ ।  गाओपिङ टाउनका उपप्रमुख लियाङ कुआनले मिङकेङ गाउँका सबै प्रभावित बासिन्दाहरूलाई वुझिफेङ टाउनसिपको एक होमस्टेमा स्थानान्तरण गरिएको जानकारी दिए ।  हाल त्यहाँ करिब २०० जना आश्रय लिइरहेका छन् ।  विस्थापितहरूका लागि भोजन, बसोबास र औषधी उपचारको व्यवस्था गरिएको छ भने एक व्यावसायिक मेडिकल टोली समेत परिचालन गरिएको छ ।  सम्भावित थप विपद्लाई मध्यनजर गर्दै छिमेकी क्षेत्रहरूबाट ५ हजार ३०० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।  ‘साउदेल’ नामक चक्रवातका कारण परेको मुसलधारे वर्षाले जियान्ग्सी प्रान्तका कुल १ लाख ६१ हजार ५०० बासिन्दा प्रभावित भएको तथ्यांक छ । विपद्को गम्भीरतालाई हेर्दै चीनको प्राकृतिक स्रोत मन्त्रालयले जियान्ग्सीका लागि भौगर्भिक विपद् प्रतिकार्य स्तरलाई चौथोबाट बढाएर तेस्रो तहमा पुर्‍याएको छ । उद्धार कार्यमा मार्गदर्शन गर्न मन्त्रालयले एक कार्यदल समेत घटनास्थलमा पठाएको छ ।  यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले आपत्‌कालीन उद्धार र राहत कार्यका लागि केन्द्रीय प्राकृतिक विपद् राहत कोषबाट २ करोड युआन (करिब २९.५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ ।  चीनमा विपद् व्यवस्थापनका लागि चार–तहको आपत्कालीन प्रणाली रहेको छ, जसमा प्रथम तह सबैभन्दा गम्भीर मानिन्छ । (सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री) 

नियम तोड्दै ट्रम्पले राखे सिक्कामा आफ्नो तस्बिर, केही घण्टामै सकियो स्टक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर अमेरिकी सिक्कामा अंकित गरिएको छ । यो अमेरिकी संस्थाहरूमा आफ्नो व्यक्तिगत छाप छोड्ने राष्ट्रपतिको पछिल्लो कदमका रूपमा देखिएको छ । बुधबार अमेरिकी टकसाल (यूएस मिन्ट) ले अमेरिकाको २५०औं वार्षिकोत्सवको अवसरमा ट्रम्पको तस्बिर अंकित १ डलरको सिक्का सार्वजनिक गरेको हो । सिक्कामा ट्रम्पको तस्बिरसँगै ‘लिबर्टी’ र ‘इन गड ह्वी ट्रस्ट’ शब्द लेखिएका छन् । टकसालका अनुसार यी सिक्का दैनिक कारोबारमा प्रयोग गर्न बजारमा चलनचल्तीका रूपमा ल्याइने छैनन् । बरु सङ्कलनयोग्य सिक्काका रूपमा बिक्री गरिँदैछ । अमेरिकी कानुनले जीवित राष्ट्रपतिहरूको तस्बिर अमेरिकी मुद्रामा राख्न प्रतिबन्ध लगाएको छ । तर अमेरिकाको २५०औं वार्षिकोत्सवका लागि बनाइएको विशेष कानुनी व्यवस्थामा रहेको डिजाइनसम्बन्धी प्रावधान प्रयोग गर्दै उक्त प्रतिबन्धलाई पार गरिएको हो । २५ वटा सिक्काको एउटा रोलको मूल्य ६१ डलर र १०० वटा सिक्काको झोलाको मूल्य १५४.५० डलर तोकिएको छ । बिक्री सुरु भएको केही घण्टामै अमेरिकी टकसालको वेबसाइटमा यी सिक्का ‘हाल स्टकमा नरहेको’ देखिएको थियो । यद्यपि, थप सिक्का उत्पादन भइरहेको टकसालले जनाएको छ । यी सिक्का वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा राखिएका भेन्डिङ मेसिनबाट समेत बिक्री भइरहेका छन् । अमेरिकी टकसालका अनुसार यो सिक्का ‘अमेरिकाको ऐतिहासिक राष्ट्रिय उपलब्धि’ मनाउन तयार गरिएको हो। टकसालले यसलाई ‘एक पुस्तामा एकपटक आउने वार्षिकोत्सवको विशेष डिजाइन’ भन्दै आधुनिक सिक्का सङ्कलनमा विशेष स्थान बनाउने अपेक्षा गरेको छ । सिक्का सुनौलो रङको भए पनि यसमा वास्तविक सुन भने प्रयोग गरिएको छैन । अमेरिकी टकसालका अनुसार सिक्कामा ८८.५ प्रतिशत तामा रहेको छ भने बाँकी भाग जिंक, निकेल र म्याङ्गानिजयुक्त ब्रासको बाहिरी तहबाट बनेको छ । वासिङ्टन डीसीस्थित अमेरिकी टकसालको स्टोरमा ट्रम्पको तस्बिर अंकित १ डलरका सिक्का बिक्री गर्ने भेन्डिङ मेसिन । यी सिक्का चलनचल्तीमा नआए पनि कानुनी रूपमा मान्य मुद्रा हुन्। त्यसैले ऋण वा कर तिर्न प्रयोग गर्न सकिन्छ । तर संघीय कानुनअनुसार व्यवसायहरूले यी सिक्का स्वीकार गर्ने वा नगर्ने निर्णय आफै गर्न सक्छन् । यसअघि मे महिनामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पको तस्बिर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने योजना रहेको बताएका थिए । त्यतिबेला बेसेन्टले जीवित अमेरिकी राष्ट्रपति यसअघि पनि देशको मुद्रामा देखिएको उदाहरण रहेको उल्लेख गरेका थिए । सन् १९२६ मा अमेरिकाको १५०औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको आधा डलरको सिक्कामा तत्कालीन राष्ट्रपति क्याल्भिन कूलिजको तस्बिर राखिएको थियो । ट्रम्प प्रशासनले सन् २०२० मा ट्रम्पको पहिलो कार्यकालमा पारित ‘सर्कुलेटिङ कलेक्टिबल कोइन रिडिजाइन एक्ट’ लाई पनि आधार बनाएको छ । उक्त कानुनले सिक्काको पछाडिको भागमा जीवित व्यक्तिको तस्बिर राख्न प्रतिबन्ध लगाए पनि अगाडिको भा का लागि यस्तो प्रतिबन्ध स्पष्ट रूपमा उल्लेख गरेको छैन । नयाँ १ डलरको सिक्कामा ट्रम्पको तस्बिर अगाडिको भागमा राखिएको छ । यसै वर्ष मार्चमा अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी कागजी नोटमा अब ट्रम्पको हस्ताक्षर राखिने घोषणा गरेको थियो । यो पनि पदमा बहाल रहेका अमेरिकी राष्ट्रपतिका लागि पहिलोपटक हुन लागेको हो ।