मलेसियामा जन्मदर घट्दै, मृत्युदर बढ्दै : एक वर्षमै १८ हजार कम जन्म

काठमाडौं । मलेसियामा सन् २०२५ मा जीवित जन्मदरमा उल्लेख्य गिरावट आएको छ । मलेसियाको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२५ मा जीवित जन्मको सङ्ख्या ४.५ प्रतिशतले घटेर ३ लाख ९६ हजार १७५ मा सीमित भएको छ । अघिल्लो वर्ष यो सङ्ख्या ४ लाख १४ हजार ९१८ थियो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार एक वर्षको अवधिमा १८ हजार ७४३ जना कम बालबालिकाको जन्म भएको छ । जन्मदरमा आएको यो गिरावट मलेसियाको जनसाङ्ख्यिक संरचनाका लागि चुनौतीका रूपमा हेरिएको छ । विभिन्न जातीय समूहमा जन्मदरको अवस्था फरक–फरक देखिएको छ । तथ्याङ्कअनुसार मलाय समुदायमा प्रति १ हजार जनसङ्ख्यामा १४.९ को उच्चतम कच्चा जन्मदर देखिएको छ भने चिनियाँ समुदायमा यो दर सबैभन्दा कम अर्थात् प्रति १ हजार जनसङ्ख्यामा ५.० मात्र छ ।

जन्मदरमा गिरावटसँगै देशमा मृत्युदरमा पनि सामान्य वृद्धि देखिएको छ । सन् २०२५ मा मृत्यु हुनेको सङ्ख्या ०.४ प्रतिशतले बढेर १ लाख ९९ हजार ८०७ पुगेको छ । अघिल्लो वर्ष सन् २०२४ मा १ लाख ९८ हजार ९९२ जनाको मृत्यु भएको थियो । यस हिसाबले सन् २०२५ मा मृत्यु हुनेको सङ्ख्यामा ८१५ ले वृद्धि भएको छ ।

मृत्युदरको जातीय विवरण हेर्दा भारतीय समुदायमा प्रति १ हजार जनसङ्ख्यामा ८.२ को उच्चतम कच्चा मृत्युदर देखिएको छ । अर्कोतर्फ, ‘अदर बुमिपुटेरा’ समुदायमा सबैभन्दा कम अर्थात् प्रति १ हजार जनसङ्ख्यामा ५.७ को मृत्युदर रेकर्ड गरिएको छ ।

विज्ञहरूले जन्मदरमा आएको गिरावट र मृत्युदरमा भएको सामान्य वृद्धिलाई देशको भावी सामाजिक तथा आर्थिक नीति निर्माणका लागि महत्त्वपूर्ण सङ्केतका रूपमा लिएका छन् । 

Share News