काठमाडौं । बेलायतको राजपरिवारबाट अलग भएर आफ्नै बाटो रोजेका राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कलको बेलायत भ्रमणले उनीहरूको लोकप्रियता र राजपरिवारसँगको जटिल सम्बन्धलाई फेरि चर्चामा ल्याएको छ ।
नटिङ्घममा आयोजित विभिन्न कार्यक्रममा उनीहरूको सहभागिता औपचारिक शाही भ्रमणजस्तो नभए पनि त्यसको शैली र जनताको आकर्षणले पुराना दिनको झल्को दिने देखिन्छ ।
सन् २०१७ मा विवाहको घोषणा गरेलगत्तै पहिलोपटक सँगै नटिङ्घम पुगेका ह्यारी र मेघन यसपटक पनि विभिन्न सामाजिक संस्था र परोपकारी अभियानसँग जोडिएका कार्यक्रममा सहभागी भए ।
:max_bytes(150000):strip_icc():focal(749x0:751x2)/prince-harry-meghan-duchess-of-sussex-community-recording-studio-nottingham-101526-5-7b144c357cc34696bab8de40a053c94f.jpg)
उनीहरूले स्वयंसेवकहरूसँग भेटघाट गरे, कपकेक बनाए, पश्चिम अफ्रिकी परिकार तयार पारे तथा बिलियड्र्स र बास्केटबल खेले ।
कार्यक्रममा सहभागी हुन आएका अधिकांश मानिस युवा थिए । उनीहरूको उपस्थितिमा औपचारिकताभन्दा प्रत्यक्ष संवाद र सामाजिक गतिविधिलाई प्राथमिकता दिइएको थियो । परोपकारी कार्यक्रममा ह्यारी र मेघनले सहज सहभागिता जनाउँदै आएका छन् ।
बीबीसीका अनुसार मेघनको बेलायतमा भएको यो सार्वजनिक उपस्थितिलाई उनको पुनरागमनका रूपमा पनि हेर्न सकिन्छ । उनी धेरै वर्षपछि बेलायती भूमिमा यस स्तरका सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन् ।
उनीनिकट स्रोतका अनुसार जनताको प्रतिक्रियालाई लिएर उनी चिन्तित थिइनन् र सार्वजनिक रूपमा उपस्थित हुन चाहन्थिन् ।
यद्यपि, यो कुनै आधिकारिक शाही कार्यक्रम थिएन । बकिङ्घम दरबारले ह्यारी र मेघनलाई निजी नागरिकका रूपमा हेर्ने स्पष्ट पारिसकेको छ ।
कार्यक्रममा शाही तामझाम, विशिष्ट व्यक्तिहरूको औपचारिक स्वागत तथा देखिने गरी सुरक्षाकर्मीको उपस्थिति थिएन । तर कार्यक्रमको योजनाबद्ध व्यवस्थापन, सञ्चारमाध्यमबीचको सहकार्य र सर्वसाधारणसँगको प्रत्यक्ष भेटघाटले शाही भ्रमणको झल्को दिएको हो ।
ह्यारी र मेघनको बेलायत आगमनले राजपरिवारभित्रको सम्बन्धलाई पनि पुनः चर्चामा ल्याएको छ । उनीहरू आफ्ना सन्तान आर्ची र लिलिबेटसहित बेलायत फर्कने योजनाको खबर सार्वजनिक हुनुभन्दा केही दिनअघि मात्र राजा चार्ल्स तृतीयले यसबारे जानकारी पाएको बीबीसीले उल्लेख गरेको छ ।
ह्यारी र मेघन नटिङ्घममा व्यस्त रहँदा राजा चार्ल्स भने कार्डिफमा वेल्सको संसद् सेनडको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी थिए । उनले समुदाय, पहिचान र चरित्रको महत्त्व उल्लेख गर्दै कठिन परिस्थितिमा टिकिरहन सक्ने क्षमताबारे सम्बोधन गरेका थिए ।
राजपरिवारका सदस्यबीचको सम्बन्धमा देखिएको तिक्तता भने अझै समाधान भइसकेको छैन । ह्यारी र मेघनको पारिवारिक विग्रह, आरोप–प्रत्यारोप र सार्वजनिक रूपमा व्यक्त हुने कटुतासँग पनि जोडिएको छ । उनीहरूको सम्बन्धमा देखिएको दरारले पारिवारिक विवादले व्यक्तिगत जीवनमा पार्ने गहिरो असरलाई समेत उजागर गरेको बीबीसीको विश्लेषण छ ।

राजपरिवारका सक्रिय सदस्य नरहे पनि ह्यारी र मेघनप्रति सञ्चारमाध्यम तथा सर्वसाधारणको चासो कायमै छ । उनीहरूलाई समर्थन गर्ने वा आलोचना गर्ने दुवै पक्षका मानिसले उनीहरूको गतिविधिलाई चासोका साथ हेर्ने गरेका छन् । राजपरिवारको पछिल्लो समयको सबैभन्दा उथलपुथलपूर्ण अवधिमध्ये एकसँग उनीहरूको सम्बन्ध जोडिएकाले पनि उनीहरू समाचारको विषय बनिरहेका छन् ।
ह्यारी र मेघनका संयुक्त सार्वजनिक कार्यक्रम नियमित रूपमा नहुने भए पनि आगामी दिनमा कहिलेकाहीँ यस्ता कार्यक्रम आयोजना हुन सक्ने उनीहरूका प्रतिनिधिले बताएका छन् । दुवैका आ–आफ्नै रुचि र काम रहेकाले उनीहरूले छुट्टाछुट्टै गतिविधिमा ध्यान दिनेछन् ।
मेघनले आफ्नो जीवनशैलीसम्बन्धी ब्रान्डलाई बेलायतमा विस्तार गर्ने तयारी गरिरहेकी छन् । यो योजना क्रिसमसभन्दा अघि नै अघि बढ्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।
यस वर्षको क्रिसमसमा भने ह्यारी र मेघन स्यान्ड्रिङ्घममा राजपरिवारका अन्य सदस्यसँग सहभागी हुने अपेक्षा गरिएको छैन । उनीहरूले मेघनकी आमा डोरिया र्यागल्यान्डसँग समय बिताउन सक्ने सम्भावना छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)