काठमाडौं । पूर्वी एसियाली देश सिंगापुरमा प्रधानमन्त्री, मन्त्री तथा अन्य वरिष्ठ अधिकारीहरूको तलब बढाउने निर्णय भएको छ ।
सिंगापुरका प्रधानमन्त्री लरेन्स वोंगले मंगलबार संसदमा यसबारे जानकारी दिएका हुन् । तलब वृद्धिपछि प्रधानमन्त्री वोंगको पारिश्रमिक ६० प्रतिशतले बढ्नेछ । वोंग हाल विश्वमै सबैभन्दा बढी तलब पाउने नेता हुन् ।
लरेन्स वोंगले हाल वार्षिक करिब २२ लाख सिंगापुर डलर अर्थात् करिब २५.६ करोड रुपैयाँ तलब पाउँदै आएका छन् । तलब वृद्धि भएपछि उनको वार्षिक पारिश्रमिक बढेर ३६ लाख सिंगापुर डलर पुग्नेछ । यो नेपाली रुपैयाँमा ४३.२ करोड रुपैयाँ बराबर हुन्छ ।
यसअनुसार वोंगको वार्षिक तलबमा १७.६ करोड रुपैयाँ वृद्धि हुनेछ । सिंगापुर सरकारले योग्य र सक्षम व्यक्तिलाई सरकारी जिम्मेवारीमा आकर्षित गर्न तथा प्रभावकारी शासन कायम राख्न उच्च पारिश्रमिक आवश्यक रहेको तर्क गरेको छ ।
वोंगसँगै देशका उपप्रधानमन्त्रीको तलब पनि बढाइएको छ । उपप्रधानमन्त्रीको वार्षिक तलब १८.७ लाख सिंगापुर डलरबाट बढेर ३०.६ लाख सिंगापुर डलर अर्थात् करिब ३६.७० करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, क्याबिनेट मन्त्रीहरूले आफ्नो वरिष्ठता र जिम्मेवारीअनुसार वार्षिक १८ लाख सिंगापुर डलर (करिब २१.६ करोड रुपैयाँ) देखि २८.८ लाख सिंगापुर डलर (करिब ३४.५४ करोड रुपैयाँ) सम्म तलब पाउनेछन् ।
ट्रम्प र मोदीभन्दा कैयौं गुणा बढी
सिंगापुर विश्वमै आफ्ना राजनीतिज्ञलाई सबैभन्दा बढी तलब दिने देशमध्ये पर्छ । नयाँ तलब संरचनापछि सिंगापुरका प्रधानमन्त्रीको पारिश्रमिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा करिब आठ गुणा बढी हुनेछ ।
त्यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तुलनामा वोंगको तलब करिब १३५ गुणा बढी हुनेछ । ट्रम्पले हाल वार्षिक करिब ६ करोड रुपैयाँ तलब पाउँछन् भने भारतीय प्रधानमन्त्री मोदीको वार्षिक तलब करिब ३२ लाख रुपैयाँ रहेको छ ।
सिंगापुरमा प्रधानमन्त्री र मन्त्रीहरूको तलब लामो समयदेखि विवादको विषय रहँदै आएको छ । प्रधानमन्त्री र मन्त्रीहरूले करोडौं रुपैयाँ पारिश्रमिक पाउँदा देशका नागरिकको औसत वार्षिक आम्दानी भने करिब ६.८८ लाख रुपैयाँ (५ हजार ७७५ सिंगापुर डलर) रहेको बताइएको छ ।
तलब वृद्धि गर्ने निर्णयको आलोचना भइरहेको छ । यद्यपि सरकारको तर्क भने मन्त्रीहरूलाई पर्याप्त पारिश्रमिक दिँदा सक्षम व्यक्तिलाई राजनीतिमा आउन प्रोत्साहन मिल्ने र राम्रो शासन सुनिश्चित गर्न सहयोग पुग्ने भन्ने छ ।
विश्वमा सबैभन्दा बढी तलब पाउने नेता (वार्षिक)
लरेन्स वोंग - सिंगापुरका प्रधानमन्त्री — ४३.२ करोड रुपैयाँ
जोन ली - हङकङका प्रमुख कार्यकारी — १०.८६ करोड रुपैयाँ
गाय परमेलिन - स्विट्जरल्यान्डका राष्ट्रपति — ९.१५ करोड रुपैयाँ
डोनाल्ड ट्रम्प - अमेरिकी राष्ट्रपति — ६ करोड रुपैयाँ
एन्डी बर्नहम - बेलायतका प्रधानमन्त्री — ३.४७ करोड रुपैयाँ
नरेन्द्र मोदी - भारतका प्रधानमन्त्री — ३२ लाख रुपैयाँ