काठमाडौं । अमेरिकासँग बढ्दो तनावबीच इरानका एक सांसदले तेस्रो विश्वयुद्धको चेतावनी दिएका छन् । तेहरानका सांसद कामरान गजानफरीले अमेरिकासँग तनाव चर्किंदै जाँदा यो क्षेत्र वास्तवमै तेस्रो विश्वयुद्धको संघारमा पुगेको बताएका हुन् ।
इरान इन्टरनेशनलको रिपोर्टअनुसार गजानफरीले इरानियन लेबर न्युज एजेन्सीलाई दिएको एक अन्तर्वार्तामा यस्तो बताएका हुन् ।
उनले रूस-युक्रेन युद्ध विस्तार हुँदै जानु र विश्वका ठूला शक्तिबीच तनाव बढ्नु ठूलो संघर्षको सुरुआत हुन सक्ने बताएका छन् ।
इरानी सांसदको यो चेतावनी त्यस्तो समयमा आएको छ, जब अमेरिकी सेनाले ओमानको खाडी र खार्ग टापुनजिक आक्रमण गरी इरानका पाँच तेल ट्यांकर ध्वस्त पारेको दाबी गरिएको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले उक्त सैन्य कारबाहीलाई अमेरिकी नौसेनाका युद्धपोतहरूमाथि इरानबाट पटकपटक भएका मिसाइल आक्रमणको जवाफका रूपमा जनाएको छ ।
बढ्दो तनावका बीच गजानफरीको यो चेतावनीलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । यसले इरानका कट्टरपन्थी राजनीतिज्ञ तथा इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) का उच्च अधिकारीहरूले यस युद्धलाई केवल क्षेत्रीय संघर्षका रूपमा नभई विश्वव्यापी संघर्षका रूपमा हेरिरहेको देखिने विज्ञहरू बताउँछन् ।
गजानफरीले रूस-युक्रेन युद्धका विषयमा पनि चेतावनी दिएका छन् । उनले रूसविरुद्धको युद्धमा युक्रेनलाई नेटोको समर्थन तथा बेलायत र जर्मनीसँग मस्कोको बढ्दो तनावले यो संघर्ष अन्य युरोपेली देशसम्म फैलिने सम्भावना बढाएको बताएका छन् ।
गजानफरी अमेरिका र इजरायलविरुद्धको आक्रामक अडानका लागि परिचित छन् । उनले यसअघि पनि अमेरिकासँग कुनै पनि प्रकारको सम्झौता गर्ने विषयको आलोचना गरेका छन् ।
उनले यही वर्ष जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्रको पनि आलोचना गरेका थिए । अमेरिकासँग हुने कुनै पनि सम्झौतामा वैधताको अभाव हुने उनको भनाइ थियो । उनले वार्तामा संलग्न इरानी टोलीलाई सर्वोच्च नेताले तय गरेका ‘रेड लाइन’ ननाघ्न चेतावनीसमेत दिएका थिए ।
गजानफरीले अमेरिकाले इरान र वार्ता टोलीलाई पटकपटक धम्की दिएको आरोप लगाउँदै यस्तो परिस्थितिमा हुने कुनै पनि सम्झौता अन्तर्राष्ट्रिय कानुनअनुसार वैध नहुने बताएका थिए ।
उनले यसअघि पनि अमेरिका र इजरायलका ठूला सैन्य अभियानसम्बन्धी योजनाबारे चेतावनी दिँदै आएका छन् । उनले अमेरिका इरानका टापुहरू कब्जा गर्न सक्ने दाबीसमेत गरेका छन् ।