इरानले कब्जा ग‍र्यो अमेरिकी पनडुब्बी, अमेरिकालाई किन चिन्ता ?

काठमाडौं । इरानले अमेरिकाको एक सैन्य मानवरहित पनडुब्बी कब्जा गरेको दाबी गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त पनडुब्बीको रिभर्स इन्जिनियरिङमार्फत इरानले अमेरिकी प्रविधिबारे महत्त्वपूर्ण जानकारी हासिल गर्न सक्ने जोखिम रहेको छ ।

रिपोर्टमा विशेषज्ञहरूलाई उद्धृत गर्दै इरानले उक्त पनडुब्बीलाई आफ्नो सैन्य कार्यक्रमका लागि प्रयोग गर्न सक्ने सम्भावना औंल्याइएको छ । इरानले सन् २०११ मा कब्जा गरेको अमेरिकी आरक्यू- १७० ड्रोनमा पनि यस्तै गरेको दाबी गरेको थियो ।

उक्त पनडुब्बीको नाम ‘डाइभ-एलडी’ हो । यो मानिसरहित मानवरहित पानीमुनि सवारीसाधन (अन्डरवाटर भेहिकल) हो । 

यसलाई लामो दूरीसम्म निगरानी गर्न, समुद्रको तल्लो सतहको नक्साङ्कन गर्न, समुद्री माइन्स पत्ता लगाउन तथा निष्क्रिय पार्नेलगायतका कामका लागि प्रयोग गर्न सकिन्छ । 

यो मानवीय सहयोगबिना पनि लगातार धेरै दिनसम्म सञ्चालन हुन सक्छ ।

यसअघि सन् २०११ मा इरानले अमेरिकाको आरक्यू-१७० स्टिल्थ ड्रोन कब्जा गरेको थियो । त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामाले तेहरानसँग उक्त ड्रोन फिर्ता गर्न माग गरेका थिए । 

पछि इरानले आफूले उक्त ड्रोनको रिभर्स इन्जिनियरिङ गरेको र त्यसको डिजाइनमा आधारित भएर आफ्नै ड्रोन निर्माण गरेको दाबी गरेको थियो।

रोयटर्सको रिपोर्टमा अमेरिकाले यसपटकको पनडुब्बी कब्जाको घटनालाई ठूलो विषयका रूपमा प्रस्तुत गर्न नचाहेको पनि उल्लेख गरिएको छ । 

अमेरिकी पक्षले उक्त ड्रोन पुरानो मोडलको रहेको तथा त्यसमा संवेदनशील वा गोप्य उपकरण तथा सूचना नरहेको बताएको छ ।

Share News