बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा जारी

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो ।  अब भने राहत तथा उद्धार कार्यलाई सहज बनाउन उक्त सुविधा थप समयसम्म निरन्तरता दिइने भएको हो । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निःशुल्क सेवा उपयोग गर्न आग्रह गरेको छ ।  विपद्का कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा क्षतिग्रस्त संरचनाको मर्मत–सम्भार गर्न प्राविधिक टोली निरन्तर परिचालन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अधिकांश क्षतिग्रस्त संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सुचारु गर्ने काम भइरहेको छ । विपद्को कठिन अवस्थामा निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवाले प्रभावित क्षेत्रका नागरिकलाई आफन्त तथा उद्धार र राहतमा खटिएका निकायसँग सञ्चार सम्पर्क कायम गर्न महत्वपूर्ण सहयोग पुग्ने नेपाल टेलिकमको विश्वास छ ।

एनसेलले बढायो निःशुल्क सञ्चार सेवा, १८ मोबाइल टावर पुनः सञ्चालनमा

काठमाडौं । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ। शनिबारदेखि लागू हुने गरी सेवा अवधि थपिएसँगै प्रभावित क्षेत्रका ग्राहकले थप एक सातासम्म यी सेवा निःशुल्क प्रयोग गर्न पाउने भएका छन्। यसअघि कम्पनीले बाढी प्रभावित क्षेत्रमा तीन दिनका लागि निःशुल्क डेटा, सबै नेटवर्कमा भ्वाइस कल र १०० वटा एसएमएस उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त अवधि शुक्रबार सकिने भएपछि सेवा निरन्तरता दिँदै थप सात दिन विस्तार गरिएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार विपद्को समयमा सञ्चार सेवा सूचना आदानप्रदान, उद्धार तथा राहत वितरण र आपसी समन्वयका लागि अत्यन्त महत्वपूर्ण हुने भएकाले प्रभावित समुदायलाई परिवार, आफन्त र उद्धार टोलीसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले सेवा अवधि बढाइएको हो। एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले कठिन परिस्थितिमा सञ्चार पहुँच कायम राखेर प्रभावित समुदायलाई सहयोग पुर्‍याउने प्रयास जारी रहने बताए। उनले यसले परिवारसँग सम्पर्क कायम राख्न र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुने विश्वास व्यक्त गरे।  १८ मोबाइल टावर पुनः सञ्चालनमा बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका १८ वटा मोबाइल टावर एनसेलले पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीका अनुसार अझै प्रभावित रहेका अन्य ९ वटा टावर सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिएको छ। यसअघि एनसेल फाउन्डेसनमार्फत कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग पनि उपलब्ध गराएको थियो। साथै बाढी प्रभावित क्षेत्रमा सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशन पालना गर्न एसएमएस र सामाजिक सञ्जालमार्फत आवश्यक सूचना प्रवाह गरिरहेको जनाएको छ।

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सुचारु

काठमाडौं । नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ । यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क थप सहज हुने भएको छ ।  टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर तथा इन्धन कम्पनीकै सवारी साधनको प्रयोग गरी तथा झन्डै एक घण्टा दुरीसम्म मानव ढुवानीमार्फत टावर सम्म पुर्याइएको थियो । कम्पनीका प्राविधिकहरुले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन् ।  यसैगरी रसुवा जिल्लाकै तुप्चे बीटीएस पनि आजैदेखि सञ्चालनमा आएको छ । उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन लिई प्राविधिकहरु त्रिशुलीबाट साइट सम्म हेलिकप्टरमार्फत पुगेका र साइट सञ्चालन गरेका हुन् । उक्त साइटबाट त्रिशूली थ्रीबी आयोजना स्थल आसपास, बेत्रावती तथा कालिकास्थानको केही भागमा सेवा पुनः सुचारु भएको छ ।