बाढी प्रभावित जिल्लामा ३ दिन एनसेलको डेटा र भ्वाइस कल निःशुल्क

काठमाडौं । रसुवामा बुधबार आएको विनाशकारी बाढीबाट प्रभावित जिल्लाका एनसेल ग्राहकले तीन दिनसम्म निःशुल्क डेटा र भ्वाइस कल सेवा पाउने भएका छन् । एनसेलले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आपत्कालीन समन्वयमा सहजता पु‍र्याउन डेटा, भ्वाइस र एसएमएस सेवामा छुट दिने जनाएको हो । कम्पनीका अनुसार प्रभावित जिल्लाका ग्राहकले तीन दिनसम्म डेटा र भ्वाइस कलका लागि कुनै शुल्क तिर्नुपर्ने छैन । त्यसैगरी, ग्राहकले १०० वटा एसएमएससमेत निःशुल्क पठाउन सक्नेछन् । बाढीका कारण प्रभावित नागरिकलाई आफन्त, सुरक्षाकर्मी तथा उद्धार टोलीसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराइएको एनसेलले जनाएको छ ।

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच एनसेलका ग्राहकलाई सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले साझेदारी भएको छ । साझेदारीअन्तर्गत योग्य एनसेल ग्राहकले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा निःशुल्क चिकित्सक परामर्श लिन सक्नेछन् । सम्झौताअनुसार २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकले बहिरङ्ग सेवामा चिकित्सकसँग निःशुल्क परामर्श लिन पाउनेछन् । त्यस्तै, ९९ रुपैयाँदेखि २९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिने ग्राहकले चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् । यससम्बन्धी सम्झौतामा मंगलबार आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले हस्ताक्षर गरेका छन् । एनसेलका दत्ताले मोबाइल सेवासँगै ग्राहकलाई स्वास्थ्य सेवामा समेत थप लाभ प्रदान गर्ने उद्देश्यले साझेदारी गरिएको बताए । उनका अनुसार ग्राहकले निःशुल्क चिकित्सक परामर्शदेखि परामर्श शुल्कमा छुटसम्मको सुविधा पाउनेछन् ।   यो सुविधा लिन योग्य एनसेल ग्राहकले एनसेल एपमा लगइन गरी ‘पार्टनर्ड सर्भिसेज’ खण्डमा गएर नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्नेछ । एपमा ग्राहकले पाउने सुविधाको विवरण स्वतः देखिनेछ । योग्य नदेखिएका ग्राहकले आवश्यक प्याक वा रेन्टल सेवा लिएपछि यो सुविधाको लाभ लिन सक्नेछन् । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. तोमरले साझेदारीले स्वास्थ्य सेवामा पहुँच मात्रै नभई गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सहयोग पुग्ने बताए । एनसेलले विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकसँगको सहकार्यबाट ग्राहकलाई दैनिक जीवनमा उपयोगी र अर्थपूर्ण सुविधा उपलब्ध गराउने निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ ।

नेपाल टेलिकमको नयाँ सुविधा : हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउन मिल्ने

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई रेकर्ड गरिएको भ्वाइस म्यासेज पठाउन सकिने ‘आउटबाउन्ड आईभिएर’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले केही समयदेखि आन्तरिक परीक्षणका रूपमा सञ्चालन गर्दै आएको यो सेवालाई अब व्यावसायिक रूपमा ग्राहकका लागि उपलब्ध गराएको जनाएको छ । नेपाल टेलिकमका अनुसार यस सेवामार्फत अधिकतम एक मिनेटसम्मको रेकर्ड गरिएको सूचनामूलक वा प्रवर्द्धनात्मक भ्वाइस सन्देश एकैपटक ठूलो संख्यामा पठाउन सकिनेछ ।   टेलिकमका अनुसार आउटबाउन्ड आईभिएर सामूहिक सूचना प्रवाहका लागि उपयोगी सेवा हो । विभिन्न संघ–संस्था, व्यवसाय, शैक्षिक संस्था वा सेवा प्रदायकले सूचना, परीक्षाको नतिजा, कार्यक्रमको जानकारी वा प्रचार–प्रसारसम्बन्धी सन्देश हजारौँ व्यक्तिसम्म एकैपटक पुर्‍याउन सक्नेछन् ।   यो सेवा लिन इच्छुक कार्यालय, संस्था वा व्यवसायीले फोन गर्नुपर्ने नम्बरहरूको सूची र पठाउनुपर्ने भ्वाइस फाइल नेपाल टेलिकममा उपलब्ध गराई तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ । यस सेवामार्फत कल जाँदा प्राप्तकर्ताको मोबाइल वा टेलिफोनमा सन्देश पठाउने संस्था वा सेवा प्रदायकको नाममा दर्ता भएको नम्बर नै कलर आईडी का रूपमा देखिने नेपाल टेलिकमले जनाएको छ । हालका लागि सेवा लिन इच्छुक ग्राहकले दूरसञ्चार कार्यालय, सुन्धारा पुगेर तोकिएको फाराम भरी सेवा लिन सक्नेछन् । नेपाल टेलिकमले स्वचालित रूपमा ठूलो संख्यामा कलमार्फत सूचना पठाउने सेवाको माग आगामी दिनमा बढ्दै जाने अपेक्षा गरेको छ ।