इन्टरनेटको शुल्क बढाउने प्रस्ताव आएको छैन, स्वीकृतिबिना शुल्क बढाए कारबाही हुने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क बढाउने गरी कुनै प्रस्ताव नआएको र शुल्क वृद्धि गर्न स्वीकृति पनि नदिएको स्पष्ट पारेको छ ।

इन्टरनेटको सेवा शुल्क बढेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि प्राधिकरणले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

प्राधिकरणका अनुसार इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट हालसम्म शुल्क वृद्धि गर्ने प्रस्ताव पेस भएको छैन । त्यस्तै, प्राधिकरणले पनि शुल्क बढाउन कुनै स्वीकृति दिएको छैन ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले लिने शुल्क उचित र मनासिब हुनुपर्ने जनाएको छ । सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणले तोकेको निर्देशिकाअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ । नयाँ शुल्क लागू हुने मितिसमेत उल्लेख गरी कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्राधिकरणबाट स्वीकृत शुल्क दर सार्वजनिक रूपमा प्रकाशन गर्नु पनि सेवा प्रदायकको दायित्व हुने जनाएको छ ।

प्राधिकरणको स्वीकृतिबिना शुल्क बढाउने, स्वीकृत दरभन्दा बढी रकम लिने वा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

त्यस्तै, इन्टरनेट सेवा प्रदायकले स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा गुनासो गर्न सकिने जनाएको छ ।

उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धा कायम तथा इन्टरनेट सेवालाई नियमित र व्यवस्थित बनाउन प्राधिकरण प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । 

Share News