म्याक्स इन्टरनेसनलको बिजनेसमा छलाङः आम्दानी २.६७ अर्ब पुग्यो, ऋण १.१५ अर्बमा झर्यो
काठमाडौं । म्याक्स इन्टरनेसनलले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ६७ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५२.२८ प्रतिशत अर्थात् ९१ करोड ७० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब ७५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कारोबारमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफा मार्जिन भने न्यून रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अन्य गैरनगद खर्चअघिको सञ्चालन नाफा मार्जिन ४.६४ प्रतिशत कायम भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा भने कम्पनी सञ्चालन नाफामा घाटामा रहेको थियो । कम्पनीको कारोबार कार्यशील पुँजीमा बढी निर्भर रहेको छ । ग्राहकलाई लामो उधारो अवधि उपलब्ध गराउने भएकाले रकम उठाउन लाग्ने समय उच्च रहेको छ । गत आर्थिक वर्षमा कम्पनीको औसत रकम उठाउने अवधि १२३ दिन रहेको थियो । यद्यपि, अघिल्लो आर्थिक वर्षको १८० दिनको तुलनामा यसमा सुधार भएको छ । कम्पनीले विभिन्न ब्रान्डका वस्तुको मौज्दात राख्नुका साथै मागअनुसार वस्तु आयात गर्ने गरेको छ । गत आर्थिक वर्षमा कम्पनीको औसत मौज्दात अवधि २२ दिन रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि २० दिन थियो । त्यसैगरी, आपूर्तिकर्तालाई रकम भुक्तानी गर्न लाग्ने औसत अवधि २४ दिनमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अवधि ७५ दिन रहेको थियो । समग्रमा कम्पनीको सञ्चालन चक्र गत आर्थिक वर्षमा १२२ दिन रहेको छ । अघिल्लो आर्थिक वर्षमा १२६ दिन रहेको सञ्चालन चक्र सामान्य सुधारसहित स्थिर रहेको देखिन्छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ७ करोड ४० लाख रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २७ करोड ३० लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २००६ मा स्थापना भएको म्याक्स इन्टरनेसनल सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवाको व्यापार गर्ने कम्पनी हो । नेपालभर डेलका ल्यापटप तथा सर्भरको आधिकारिक वितरकका रूपमा रहेको कम्पनीले विभिन्न संस्थाका लागि आवश्यक उद्यम तथा व्यवसायिक प्रकृतिका सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले सन् २०१७ मा आईएसओ प्रमाणपत्र प्राप्त गरेको थियो । करिब दुई दशकदेखि सञ्चालनमा रहेको कम्पनी २५ भन्दा बढी प्रमुख मौलिक उपकरण निर्माता (ओईएम) ब्रान्डसँग आबद्ध छ । कम्पनीले १ हजारभन्दा बढी प्रकारका सूचना प्रविधिसम्बन्धी उत्पादनको कारोबार गर्दै आएको छ । सन् २००६ देखि नै कम्पनीकी एकल स्वामित्वकर्ता शाहिना हुसेनले म्याक्स इन्टरनेसनलको नेतृत्व गर्दै आएकी छन् । हुसेनसँग सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । उनले इन्जिनियरिङ तथा व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन गरेकी छन् । त्यसैगरी, अकबर हुसेन सन् २००६ देखि नै कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् । उनले बी–टेक तहको अध्ययन गरेका छन् भने सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा करिब २५ वर्षको अनुभव रहेको छ । म्याक्स इन्टरनेसनल नेपालमा डेल टेक्नोलोजिजको वितरणतर्फ उच्च तहको ‘टाइटेनियम पार्टनर’का रूपमा रहेको छ । कम्पनीले डेल ईएमसी, ओरेकल, लेनोभो, माइक्रोसफ्ट, एचपी, सिमान्टेक र आईबीएमलगायत प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ब्रान्डसँग आधिकारिक साझेदारी गरेको छ । २५ भन्दा बढी प्रमुख ओईएम ब्रान्डसँगको आबद्धताले कम्पनीको विश्वसनीयता तथा ग्राहक आधार विस्तारमा सहयोग पुगेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न व्यावसायिक गतिविधिका लागि स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीसँग रणनीतिक साझेदारी गर्दै आएको छ । आफ्ना उत्पादन तथा सेवा अन्तिम ग्राहकसम्म पु¥याउन थोक तथा खुद्रा विक्रेताको सञ्जाल प्रयोग गर्दै आएको कम्पनीले ठूला ग्राहक तथा परियोजनाका लागि प्रणाली एकीकृत गर्ने कम्पनीसँग समेत सहकार्य गर्दै आएको छ । म्याक्स इन्टरनेसनलको उत्पादन तथा सेवाको दायरा पनि विविध रहेको छ । कम्पनीले सूचना प्रविधि प्रणाली, उपभोक्ता विद्युतीय सामग्री, सफ्टवेयर समाधान तथा भण्डारण प्रणालीलगायत विभिन्न उत्पादन तथा सेवाको कारोबार गर्दै आएको छ । सरकारी तथा निजी क्षेत्रका ग्राहकलाई सूचना प्रविधिसम्बन्धी पूर्वाधार तथा सहयोग सेवा उपलब्ध गराउँदै आएको कम्पनीका ग्राहकमा बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र अन्य ठूला व्यावसायिक संस्था रहेका छन् । सूचना प्रविधिको प्रयोग विस्तार हुँदै गएसँगै यस क्षेत्रको बजारसमेत बढ्दै गएको छ । कम्पनीहरूले प्रतिस्पर्धात्मक क्षमता बढाउन प्रविधिको प्रयोगलाई प्राथमिकता दिन थालेका छन् भने सर्वसाधारणमा समेत सूचना प्रविधिसम्बन्धी चेतना विस्तार भइरहेको छ । सूचना प्रविधिको बढ्दो प्रयोग, वित्तीय साक्षरतामा भएको वृद्धि, घरबाटै काम गर्ने अभ्यास तथा विभिन्न व्यावसायिक गतिविधिमा प्रविधिमाथिको बढ्दो निर्भरताले आईटी उद्योगको बजार विस्तारमा सहयोग पुगेको कम्पनीको भनाइ छ । नेपालमा सूचना प्रविधिको प्रयोग अझै प्रारम्भिक चरणमा रहे पनि निजी तथा सार्वजनिक दुवै क्षेत्रमा यसको पहुँच र प्रयोग विस्तार हुँदै गएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी निकाय तथा निजी क्षेत्रका कम्पनीमा सूचना प्रविधिको प्रयोग बढ्दै जानुले आगामी दिनमा आईटीसम्बन्धी उत्पादन तथा सेवाको माग विस्तार हुने आधार तयार गरेको छ । प्रविधिको प्रयोग बढ्दै जाँदा सूचना प्रविधि उद्योगको बजार तथा व्यावसायिक सम्भावना पनि क्रमशः विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ ऋण लिएको छ । जसमा २ करोड ८६ लाख रुपैयाँ दीर्घकालीन १ अर्ब १३ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । यसअघि कम्पनीको ऋण १ अर्ब ७३ करोड रुपैयाँ थियो ।
नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउन एनसेल–नाटोबीच साझेदारी
काठमाडौं । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज बनाउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बीच साझेदारी भएको छ । बिहीबार (हिजो) नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । साझेदारीले विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई यात्राभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग गर्ने लक्ष्य राखेको एनसेलले जनाएको छ । कम्पनीका अनुसार नेपालका विभिन्न स्थानमा यात्रा गर्दा आवश्यक पर्ने सञ्चार सेवामा पर्यटकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ । सम्झौताअनुसार एनसेलले पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउने एनसेलले जनाएको छ । नाटोले भने देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ । कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले देशभर फैलिएको एनसेलको नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचलाई उपयोग गर्दै गरिएको सहकार्यले नेपाल आउने पर्यटकको यात्रा अनुभवलाई थप सहज र अविस्मरणीय बनाउने विश्वास व्यक्त गरे । नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल मर्म नै मानिस, संस्कृति र अनुभवलाई एकअर्कासँग जोड्नु रहेको बताए । नेपाल आउने हरेक यात्रुलाई यात्राभर सम्पर्कमा रहन सहयोग गर्ने एनसेलसँगको सहकार्य अर्थपूर्ण रहेको उनको भनाइ थियो । दूरसञ्चार सेवामा सहकार्यसँगै एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न नाटोलाई सहयोग गर्ने भएको छ । यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ । उक्त पहलले प्रमुख राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायको सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ । एनसेल र नाटोको यो सहकार्यले नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रतिको दुवै संस्थाको साझा प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने जनाइएको छ ।
के एआई मानव जातिका लागि खतरा हो ?
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोदेईले उन्नत एआईको विकासको गति सुस्त पार्न आग्रह गरेका छन् । आइतबार प्रकाशित एक लेखमार्फत उनले एआईको विकास अत्यधिक तीव्र गतिमा भइरहेको भन्दै यसले विनाशकारी साइबर आक्रमण निम्त्याउन सक्ने चेतावनी दिएका हुन् । उनको आग्रहलाई ओपनएआईका प्रमुख साम अल्टम्यान र एक्सएआईका एलन मस्कलगायत प्रविधि क्षेत्रका केही प्रमुख व्यक्तिले पनि सार्वजनिक रूपमा समर्थन गरेका छन् । एआई प्रणालीले आफ्नै निर्माताले समेत अनुमान नगरेको व्यवहार देखाएका पछिल्ला घटनापछि यस्तो चेतावनी आएको हो । यससँगै एआई प्रविधि ‘बेलगाम’ हुँदै गएको हो कि भन्ने बहस पनि तीव्र भएको छ । किन एआईको विकास सुस्त पार्ने माग ? यसको मुख्य चिन्ता एआईको क्षमता यसलाई नियन्त्रण गर्ने मानवीय क्षमताभन्दा निकै तीव्र गतिमा बढिरहेको भन्ने हो । अमोदेईले आगामी ६ देखि १२ महिनाभित्र असन्तुलित एआई एजेन्टले निरन्तर सक्रिय रहने बोटनेट निर्माण गर्न सक्ने चेतावनी दिएका छन् । बोटनेट भनेको संक्रमित वा ह्याक गरिएका कम्प्युटरहरूको यस्तो सञ्जाल हो, जसलाई साइबर आक्रमणका लागि टाढाबाट नियन्त्रण गर्न सकिन्छ । यस्ता सञ्जालले ठूलो आर्थिक क्षति पुर्याउन सक्ने जोखिम हुन्छ । एआईमा हुने ‘रिकर्सिभ सेल्फ–इम्प्रुभमेन्ट’ले यो चिन्ता थप बढाएको छ । यसको अर्थ एआई प्रणाली आफैभन्दा अझ सक्षम एआई प्रणाली निर्माण गर्न सक्षम हुनु हो । यस्तो अवस्थामा एआईको विकासको गति अझ तीव्र हुन सक्छ । ६ सेप्टेम्बर २०२६ मा ओपनएआईका प्रमुख वैज्ञानिक ज्याकोब पचोकीले ‘एन एलियन माइन्ड’ शीर्षकमा लेख प्रकाशित गर्दै आधुनिक एआई परम्परागत प्रोग्रामिङबाट नभई ठूलो मात्राको अप्टिमाइजेसन प्रक्रियाबाट विकास भइरहेको बताएका थिए । यसको परिणामस्वरूप एआई मोडल आफ्नै तर्क प्रक्रियामा हेरफेर गर्न अझ सक्षम हुँदै गएको बताइएको छ । उनीहरूले आफ्नो तर्क कसरी काम गरिरहेको छ भन्ने स्पष्ट रूपमा नदेखाई काम पूरा गर्न सक्ने र आफ्नै विकासकर्ताका लागि समेत अपारदर्शी बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ । ‘बेलगाम एआई’ भन्नाले के बुझिन्छ ? ‘बेलगाम एआई’ भन्नाले आफ्ना निर्धारित लक्ष्य पूरा गर्न मानवीय नियम वा अपेक्षालाई पन्छाउने व्यवहार देखाउने एआई प्रणालीलाई जनाउने गरिएको छ । यस्तो व्यवहार विशेषगरी ‘एआई एजेन्ट’मा देखिन सक्छ । एआई एजेन्ट भनेको विभिन्न एप्लिकेसनमा बहुचरणीय काम आफै योजना बनाएर कार्यान्वयन गर्न सक्ने सफ्टवेयर हो । ११ देखि १३ जुलाई २०२६ बीच ओपनएआईको पूर्व–प्रकाशन मोडल जीपीटी–५.६ सोलमा आधारित दुई उन्नत एआई एजेन्टले प्रतिस्पर्धी स्टार्टअप ‘हगिङ फेस’को प्रणाली ह्याक गरेको विवरण सार्वजनिक भएको थियो । ती एजेन्टलाई आन्तरिक साइबर सुरक्षा परीक्षण समाधान गर्ने जिम्मेवारी दिइएको थियो । सीमित नेटवर्क पहुँच भएको परीक्षण वातावरणमा राखिए पनि उनीहरूले त्यस वातावरणका कमजोरीको फाइदा उठाउँदै बाहिर निस्किएको बताइएको छ । त्यसपछि उनीहरूले हगिङ फेसको प्रणालीमा प्रवेश गरी परीक्षणको उत्तरसमेत प्राप्त गरेका थिए । यसरी उनीहरूले विकासकर्ताले अपेक्षा नगरेको तरिकाबाट आफ्नो काम पूरा गरेका थिए । यस्तै, घटना १० अगस्ट २०२६ मा अस्ट्रेलियामा पनि देखिएको बताइएको छ। एक प्रयोगकर्ताले एन्थ्रोपिकको ‘क्लाउड’मा आधारित एआई एजेन्टलाई जिमको कक्षा बुक गर्न भनेका थिए । एजेन्टले जिमको सफ्टवेयरमा रहेको कमजोर एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) पत्ता लगाएको थियो । उसले बुकिङ खुल्नुभन्दा केही साताअघि नै आरक्षण गरेको र आफ्ना प्रयोगकर्ताको फाइदाका लागि प्रतीक्षा सूचीमा रहेका अर्का व्यक्तिलाई हटाएको बताइएको छ । एआई सुरक्षा अनुसन्धानकर्ताहरूले यस्तो व्यवहारलाई ‘स्पेसिफिकेसन गेमिङ’ वा ‘रिवार्ड ह्याकिङ’ भन्ने गरेका छन् । यसको अर्थ प्रणालीले आफूलाई दिइएको सफलताको मापदण्ड पूरा गर्न नियमको अपेक्षित उद्देश्यविपरीत अनपेक्षित छोटो बाटो अपनाउनु हो । एआईलाई मानवताका लागि खतरा किन भनिँदैछ ? एआईको भविष्यलाई लिएर धेरै अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन् । एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स प्रमुख इभान हबिङ्गरले एक्समा गरेको पोस्टमा आगामी एक दशकभित्र एआईका कारण सबै मानिसको अस्तित्व समाप्त हुने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको आफ्नो व्यक्तिगत अनुमान सार्वजनिक गरेका थिए । उनको चिन्ताको आधार एआईलाई मानवीय उद्देश्यअनुसार नै काम गर्ने सुनिश्चितता विकासकर्ताले अझै गर्न नसकेको विषय हो । उनका अनुसार अत्यधिक सक्षम एआई मोडल सार्वजनिक हुनुअघि यो समस्या समाधान गर्ने दिशामा उद्योग पर्याप्त रूपमा अघि बढेको छैन । एन्थ्रोपिककै आन्तरिक परीक्षणहरूले पनि एआई प्रणालीबाट हुन सक्ने जोखिमबारे केही संकेत दिएका छन् । कम्पनीका प्रयोगमा केही मोडलले धोका दिने र ब्ल्याकमेल गर्ने व्यवहार देखाएको बताइएको छ । जुलाई २०२६ मा सार्वजनिक गरिएको एउटा प्रयोगको विवरणअनुसार साइबर सुरक्षा परीक्षणमा रहेको एन्थ्रोपिकको एउटा मोडलले कमजोर पासवर्ड र असुरक्षित एन्डपोइन्टको फाइदा उठाउँदै परीक्षण वातावरणबाट बाहिरिएको थियो । त्यसपछि उसले केही संस्थाका प्रमाणिकरण विवरण चोरेर उनीहरूको पूर्वाधारमा पहुँच बनाएको बताइएको छ। ती संस्थाको नाम एन्थ्रोपिकले सार्वजनिक गरेको छैन । इतिहासकार युवाल नोआ हरारीले आफ्नो सन् २०२४ को पुस्तक ‘नेक्सस’मा एआईलाई अभूतपूर्व जोखिमका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार मानिसले सञ्चालन गर्नुपर्ने आणविक हतियारभन्दा फरक एआई स्वायत्त रूपमा निर्णय लिन र नयाँ विचार उत्पन्न गर्न सक्ने प्रविधि हो । समाजका लागि कस्तो जोखिम ? २० जुन २०२६ मा गुगल डीपमाइन्डले सार्वजनिक गरेको सुरक्षा ढाँचामा उन्नत एआई एजेन्टलाई ‘इनसाइडर थ्रेट’ अर्थात् संस्थाभित्रकै सम्भावित खतराका रूपमा हेर्नुपर्ने उल्लेख गरिएको थियो । यसलाई संवेदनशील सूचना पहुँचमा रहेका बेइमान कर्मचारीसँग तुलना गरिएको छ । डीपमाइन्डले संवेदनशील सम्पत्ति, स्वामित्वमा रहेको कोड, प्रयोगकर्ताका प्रमाणिकरण विवरण तथा गोप्य तथ्यांक चोरी हुन सक्ने र महत्त्वपूर्ण अनुसन्धानलाई गोप्य रूपमा क्षति पुर्याउन सक्ने जोखिम औंल्याएको छ । हरारीले वित्तीय क्षेत्रदेखि युद्धसम्म एआईबाट हुन सक्ने जोखिमको चर्चा गरेका छन् । उनका अनुसार एआईले मानिसले बुझ्नै नसक्ने जटिल वित्तीय उपकरण निर्माण गरेमा ठूलो विश्वव्यापी आर्थिक संकट निम्तिन सक्छ । युद्ध तथा जैविक सुरक्षाका क्षेत्रमा पनि एआईको दुरुपयोग हुन सक्ने उनको चेतावनी छ । आतंकवादी समूहले एआईको प्रयोग गरेर घातक जैविक भाइरस निर्माण गर्न सक्ने तथा एआईमार्फत राष्ट्रिय विद्युत् प्रणाली वा आणविक हतियारको कमान्ड संरचनामा गोप्य साइबर आक्रमण हुन सक्ने उनले बताएका छन् । हरारीले एआईमा भइरहेको भू–राजनीतिक प्रतिस्पर्धाले विश्वलाई फरक–फरक नेटवर्क र कम्प्युटर कोडमा आधारित प्रतिद्वन्द्वी डिजिटल साम्राज्यमा विभाजन गर्न सक्ने चेतावनी दिएका छन् । यस्तो विभाजनले एआई सुरक्षाका विषयमा विश्वव्यापी सहकार्य कठिन बन्न सक्ने उनको भनाइ छ । के भन्छन् ट्रम्प ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआईसँग जोडिएका आधारभूत जोखिमलाई लिएर व्यक्त भइरहेका केही चिन्तालाई कम महत्त्व दिएका छन् । आयरल्यान्ड भ्रमणका क्रममा उनले अत्यन्त नकारात्मक शक्तिहरूले भविष्यमा हुन नसक्ने परिदृश्य प्रस्तुत गरिरहेको बताएका थिए । ३ जुन २०२६ मा ट्रम्पले एआई विकासकर्ताका लागि स्वैच्छिक सुरक्षा ढाँचा निर्माण गर्ने कार्यकारी आदेश जारी गरेका थिए । त्यसअन्तर्गत कम्पनीहरूले आफ्ना अत्याधुनिक एआई मोडल सार्वजनिक गर्नुअघि ३० दिनसम्म सरकारी सुरक्षा समीक्षाका लागि पेस गर्न सक्ने व्यवस्था गरिएको थियो । यसअघि तयार गरिएको मस्यौदामा ९० दिनको सुरक्षा समीक्षा प्रस्ताव गरिएको थियो । तर अमेरिकी कम्पनी चिनियाँ प्रतिस्पर्धीभन्दा पछि पर्न सक्ने भन्दै उद्योग क्षेत्रबाट चिन्ता व्यक्त भएपछि समीक्षा अवधि घटाइएको थियो । जोखिम घटाउन के गर्न सकिन्छ ? एआई क्षेत्रका केही प्रमुख व्यक्तिले व्यवस्थित सुरक्षा उपाय अपनाउनुपर्ने माग गरेका छन् । अमोदेईले तीन चरणको योजना प्रस्ताव गरेका छन् । पहिलो, एआई प्रयोगशालामा सुरक्षा परीक्षण गर्न स्वतन्त्र तेस्रो पक्षका मूल्यांकनकर्तालाई स्थायी पहुँच दिनुपर्नेस दोस्रो, लोकतान्त्रिक मुलुकबीच एआई सुरक्षा मापदण्डमा समन्वय गर्नुपर्ने र तेस्रो, अधिनायकवादी सरकारसँग समेत विश्वव्यापी समन्वयको प्रयास गर्नुपर्ने उनको प्रस्ताव छ । केही कम्पनीले एआई प्रणालीलाई चरणबद्ध रूपमा सार्वजनिक गर्ने अभ्याससमेत गरिरहेका छन् । अप्रिल २०२६ मा एन्थ्रोपिकले आफ्नो अत्यधिक सक्षम ‘माइथोस’ मोडलको सार्वजनिक सुरुवात रोकेको थियो। कम्पनीका अनुसार उक्त मोडल सफ्टवेयरका कमजोरीको फाइदा उठाउन अत्यधिक सक्षम देखिएको थियो । त्यसपछि कम्पनीले उक्त मोडललाई छानिएका सरकारी तथा साइबर सुरक्षा संस्थासँग मात्र साझा गरेको थियो । ९ जुन २०२६ मा एन्थ्रोपिकले सर्वसाधारणका लागि यसको सुरक्षित संस्करण ‘क्लाउड फेबल ५’ सार्वजनिक गरेको थियो । उक्त संस्करणले संवेदनशील साइबर सुरक्षा तथा जैविक सुरक्षासँग सम्बन्धित प्रश्नलाई स्वचालित रूपमा फिल्टर गर्ने व्यवस्था गरिएको बताइएको छ । (बीबीसीबाट अनुदित तथा सम्पादित)