भोटेकोशी बाढीपछि नेपाल टेलिकमको पहिलो चरणको फाइबर सेवा पुनःसञ्चालन

काठमाडौं । भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रको नेपाल टेलिकमको फाइबर नेटवर्क पहिलो चरणमा पुनःसञ्चालन भएको छ । बाढीका कारण रसुवागढी र बेत्रावतीमा रहेका एक–एक गरी दुई वटा ओएलटी, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीन गरी पाँच वटा एफडीसी तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो। यसबाट ती क्षेत्रमा रहेका १,५४४ एफटीटीएच लाइन पूर्ण रूपमा अवरुद्ध भएका थिए। नेपाल टेलिकमले विपद् लगत्तै प्राविधिक जनशक्ति र आवश्यक स्रोत–साधन परिचालन गरी मर्मत कार्यलाई तीव्र बनाएको जनाएको छ । हालसम्म प्रभावितमध्ये १,०९३ वटा फाइबर लाइन पुनःसञ्चालन भइसकेका छन् । कम्पनीका अनुसार पहिलो चरणको सेवा पुनःस्थापना कार्य सम्पन्न भएको छ । बाँकी रहेका लाइन भने सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, बस्तीको स्थिति, प्राविधिक सम्भाव्यता र सेवाग्राहीको मागका आधारमा क्रमशः सञ्चालनमा ल्याइनेछ । नेपाल टेलिकमले प्राकृतिक विपद्को कठिन परिस्थितिमा पनि सेवाग्राहीलाई छिटो र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै सेवा अवरुद्ध भएका बेला धैर्यता र विश्वासका साथ साथ दिएकोमा सेवाग्राहीप्रति आभार व्यक्त गरेको छ । 

बाढी प्रभावित रसुवामा डिशहोमको निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा सञ्चार सेवा प्रभावित बनेपछि डिशहोमले युटेलस्याट वानवेबको सहकार्यमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गरेको छ ।  नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) को स्वीकृति र समन्वयमा सुरु गरिएको यो सेवा बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा उपलब्ध गराइएको डिशहोमले जनाएको छ । प्राथमिकताका आधारमा भदौ २० गतेदेखि सेवा सञ्चालनमा ल्याइएको हो ।  कम्पनीका अनुसार बाढीका कारण क्षति पुगेको सञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराइएको हो । यसबाट सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार टोली, राहत शिविर र समन्वय केन्द्रमा सञ्चार सेवा सहज हुने अपेक्षा गरिएको छ ।  डिशहोमले यो सेवाले उद्धार, राहत र पुनःस्थापनाका काममा सूचना आदान–प्रदान, समन्वय र आवश्यक डाटा प्रवाहलाई निरन्तरता दिन सहयोग पुग्ने जनाएको छ ।  कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरण, सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्याटेलाइट इन्टरनेट सेवा थप विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

नेपाल टेलिकमका कर्मचारीले बाढीपीडितका लागि दिए २ करोड २ लाख रुपैयाँ

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीहरूले २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन् । नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । सोमबार आयोजित कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् । विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी उक्त सहयोग जुटाइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य तथा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, सञ्चालक समिति सदस्य (कर्मचारी प्रतिनिधि) लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराईको उपस्थिति थियो । नेपाल टेलिकमका कर्मचारीहरूले यसअघि पनि बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपद्का समयमा व्यक्तिगत तथा सामूहिक रूपमा आर्थिक सहयोग गर्दै आएका छन् । नेपाल टेलिकमले कर्मचारीहरूको सहयोगबाहेक कम्पनीको संस्थागत तर्फबाट समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छुट्टै रकम उपलब्ध गराउने जनाएको छ । उक्त रकम केही दिनभित्रै कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । विपद्का बेला सञ्चार सेवा निरन्तर सञ्चालनमा राख्दै राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको पनि नेपाल टेलिकमले जनाएको छ।