दशैं–तिहारमा नेपाल टेलिकमको अफर, ५०० रुपैयाँको एफटीटीएच जडान शुल्क नलाग्ने

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’ ल्याउने भएको छ । अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडान शुल्क मिनाहा गर्नुका साथै मोबाइलमा सहुलियत दरका डाटा, भ्वाइस र एसएमएस प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क तिर्नुपर्ने छैन । त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउनेछन् । यससँगै बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ ।

भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि यसअघि नै एक हजार रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

४९९ रुपैयाँमा ५ जीबी डाटा, ६९९ रुपैयाँमा १० जीबी

मोबाइल सेवातर्फ नेपाल टेलिकमले ४९९ रुपैयाँमा पाँच जीबी डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जीबी डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज उपलब्ध गराउने भएको छ ।

यी प्याकेजमा दैनिक तोकिएको डाटा सकिएपछि पनि इन्टरनेट चलाउन सकिनेछ । पाँच जीबीको प्याकेजमा दैनिक डाटा सकिएपछि बाँकी समय दुई एमबीपीएस र १० जीबीको प्याकेजमा तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, २५० रुपैयाँमा एक हजार मिनेट अन्य नेटवर्कमा समेत कल गर्न मिल्ने ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ । ९९ रुपैयाँमा एक हजार अन–नेट एसएमएस सुविधा भएको ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि ल्याइएको छ ।

यी सबै मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ। 

असोज ३० देखि मोबाइल प्याकेज खरिद गर्न सकिने

नेपाल टेलिकमका अनुसार मोबाइलमार्फत यी प्याकेज खरिद गरी सुविधा लिन सकिने अवधि २०८३ असोज ३० देखि कात्तिक ३० गतेसम्म रहनेछ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५*११* डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरेर प्याकेज खरिद गर्न सक्नेछन् ।

चाडपर्वका अवसरमा ल्याइने यस्ता योजनाले ग्राहकलाई आफन्त तथा परिवारसँग सम्पर्कमा रहन, खुसी साटासाट गर्न र डिजिटल सेवाको प्रयोग बढाउन प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ ।

Share News