यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण]
काठमाडौं । जारी विश्वकपमा अब ३२ टोली मात्र बाँकी छन् । समूह चरणका ७२ खेल सम्पन्न भएसँगै नकआउट चरणको समीकरण तय भएको छ । १६ टोली प्रतियोगिताबाट बाहिरिएका छन् भने बाँकी ३२ टोली फुटबलको सबैभन्दा ठूलो उपाधिको होडमा छन् । गएरातिबाटै नकआउट चरण सुरु भएको छ । पहिलो नकआउट चरणको खेलमा आयोजक क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले पराजित गरेको छ । अप्टा सुपरकम्प्युटरले प्रतियोगिताको बाँकी यात्राबारे नयाँ भविष्यवाणी सार्वजनिक गरेको छ । ३२ टोलीको चरणदेखि फाइनलसम्मको सम्भावित नतिजा अनुमान गर्न सुपरकम्प्युटरले प्रतियोगितालाई २५ हजार पटक सिमुलेसन गरेको हो । यसका आधारमा प्रत्येक टोलीले हरेक चरण पार गर्ने तथा अन्ततः विश्वकप जित्ने सम्भावना निर्धारण गरिएको छ । यसपटकको विस्तारित ढाँचाअनुसार आठ उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीले पनि नकआउट चरणमा स्थान बनाए । यसले समूह चरणको प्रतिस्पर्धात्मक दबाब केही घटाएको देखिएको छ । समूह चरणबाट बाहिरिने ठूला टोलीमध्ये उरुग्वे मात्र प्रमुख नाम रह्यो । प्रतियोगिता सुरु हुनुअघि उपाधिका दाबेदार मानिएका अधिकांश टोली नकआउट चरणमा पुगेका छन् । यद्यपि उनीहरूको आगामी यात्रा निकै फरक बनेको छ । ३२ टोलीको चरणका खेलहरू निश्चित भइसकेपछि अब अप्टा सुपरकम्प्युटरले जुलाई १९ मा उपाधि जित्ने सबैभन्दा बलिया दाबेदार को हुन् भन्ने प्रक्षेपण सार्वजनिक गरेको छ । फ्रान्स शीर्ष दाबेदार प्रतियोगिता सुरु हुनुअघि फ्रान्सलाई १३ प्रतिशत सम्भावनासहित दोस्रो दाबेदार मानिएको थियो । तर उत्कृष्ट समूह चरणपछि उसले १८.७ प्रतिशत सम्भावनासहित पहिलो स्थानमा उक्लिएको छ । फ्रान्स प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली टोली बनेको छ । अर्जेन्टिना र मेक्सिकोसँगै समूह चरणका तीनवटै खेल जित्ने तीन टोलीमध्ये फ्रान्स पनि एक हो । सन् १९९८ को घरेलु विश्वकपपछि पहिलोपटक फ्रान्सले कुनै ठूलो प्रतियोगिताको समूह चरणका सबै खेल जितेको हो । त्यही विश्वकपमा उसले उपाधि पनि जितेको थियो । सुपरकम्प्युटरका अनुसार फ्रान्सले ३२ टोलीको चरणमा स्विडेनलाई हराउने अपेक्षा गरिएको छ । त्यसपछि क्वार्टरफाइनलमा जर्मनीसँग भिड्ने सम्भावना बलियो देखिएको छ । त्यसपछिको यात्रा केही सहज देखिए पनि सेमिफाइनलमा स्पेनसँग भेट हुन सक्ने अनुमान गरिएको छ । अर्जेन्टिनालाई अनुकूल ड्र ड्रबाट सबैभन्दा धेरै फाइदा उठाएको टोली अर्जेन्टिना बनेको छ । लियोनेल स्कालोनीको टोली अहिले १६.३ प्रतिशत सम्भावनासहित दोस्रो ठूलो दाबेदार बनेको छ । केप भर्डेको ऐतिहासिक यात्रा प्रतियोगिताकै आकर्षक कथामध्ये एक बने पनि अर्जेन्टिनाको दृष्टिकोणबाट हेर्दा ३२ टोलीको चरणको प्रतिस्पर्धा निकै सहज देखिएको छ । अर्जेन्टिनाले यो चरण पार गरेमा अन्तिम १६ मा अस्ट्रेलिया वा इजिप्टमध्ये एकसँग खेल्ने सम्भावना छ । त्यसपछि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड, अल्जेरिया, कोलम्बिया वा घानामध्ये कुनै एक टोलीसँग भेट हुन सक्छ । सुपरकम्प्युटरका अनुसार अर्जेन्टिनाले वास्तविक बलियो प्रतिद्वन्द्वीको सामना सम्भवतः सेमिफाइनलमा मात्र गर्नेछ, जहाँ ब्राजिल वा इङ्ग्ल्यान्ड प्रतिद्वन्द्वी बन्न सक्छन् । स्पेन अझै उपाधिको बलियो प्रतिस्पर्धी प्रतियोगिता सुरु हुनुअघि स्पेनलाई सबैभन्दा ठूलो दाबेदार मानिएको थियो । अहिले उसको सम्भावना घटेर १३.५ प्रतिशतमा झरे पनि उपाधिका प्रमुख दाबेदारमध्ये एकको रूपमा कायम छ । अन्तिम १६ मा पोर्चुगलसँग सम्भावित भेट निकै कठिन हुने अपेक्षा गरिएको छ । यद्यपि त्यस खेलमा पनि स्पेनलाई नै अग्रता दिइएको छ । यदि स्पेन अघि बढेमा क्वार्टरफाइनलमा अमेरिका, बोस्निया–हर्जेगोभिना, बेल्जियम वा सेनेगलमध्ये एक टोलीसँग खेल्नुपर्नेछ । इङ्ग्ल्यान्डको कठिन यात्रा नयाँ प्रक्षेपणअनुसार इङ्ग्ल्यान्डको विश्वकप जित्ने सम्भावना ९.७ प्रतिशत रहेको छ । ३२ टोलीको चरणमा उसले डीआर कङ्गोलाई हराउने प्रबल सम्भावना देखाइएको छ । तर त्यसपछि इङ्ग्ल्यान्डको यात्रा निकै कठिन हुने अनुमान गरिएको छ । अन्तिम १६ मा मेक्सिकोसँग एज्टेका रंगशालामा सम्भावित भेट र त्यसपछि क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्ने सम्भावना रहेको छ । प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा इङ्ग्ल्यान्डले ११ प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको छैन (१० जित र १ बराबरी) । तर समूह चरणमा देखिएको अस्थिर प्रदर्शनमा सुधार आवश्यक रहेको सुपरकम्प्युटरको विश्लेषण छ। ब्राजिल स्थिर, नेदरल्यान्ड्सको सम्भावना बढ्यो ब्राजिलको सम्भावनामा खासै परिवर्तन आएको छैन । प्रतियोगिता सुरु हुँदा उसलाई ६.६ प्रतिशत सम्भावना दिइएको थियो भने अहिले ६.५ प्रतिशत रहेको छ । यता नेदरल्यान्ड्सले भने उत्कृष्ट समूह चरणपछि आफ्नो सम्भावना बढाएको छ। प्रतियोगिता सुरु हुनुअघि ३.६ प्रतिशत रहेको सम्भावना अहिले ५.१ प्रतिशत पुगेको छ । समूह चरणमा नेदरल्यान्ड्सले १० गोल गरेको थियो, जुन विश्वकपको समूह चरणमा उसको अहिलेसम्मकै सर्वाधिक गोल संख्या (सन् २०१४ बराबरी) हो । यसले प्रतियोगितामा सबैभन्दा आकर्षक आक्रमणात्मक खेल प्रस्तुत गर्ने टोलीमध्ये आफूलाई स्थापित गरेको छ । आयोजक तीनै टोली अझै प्रतिस्पर्धामा सुपरकम्प्युटरको प्रक्षेपणअनुसार तीनै सह–आयोजक राष्ट्र अझै प्रतियोगितामा टिक्ने सम्भावना राख्छन् । उनीहरू सबै ३२ टोलीको चरण पार गर्ने अपेक्षा गरिएको भए पनि त्यसपछिको यात्रा भने सहज देखिएको छैन । तीन आयोजकमध्ये अमेरिकालाई क्वार्टरफाइनल पुग्ने सबैभन्दा धेरै ४२.५ प्रतिशत सम्भावना दिइएको छ । मेक्सिकोको सम्भावना २८.३ प्रतिशत रहेको छ भने क्यानडालाई अन्तिम आठमा पुग्ने सम्भावना २५.२ प्रतिशत रहेको अनुमान गरिएको छ ।
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा अन्तिम १६ मा
काठमाडौं । विश्वकप फुटबलअन्तर्गत नकआउट चरणको पहिलो खेलमा क्यानडाले अन्तिम १६ मा स्थान बनाएको छ । क्यानडाले दक्षिण अफ्रिकालाई १-० ले हराउँदै ऐतिहासिक रूपमा प्रि-क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । ५ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोले गोल गर्दै क्यानडाकाे जित सुनिश्चित गरे । दुबै टोली पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका थिए । खेलमा जित हासिल गरेसँगै क्यानडाले अब क्वाटरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्को बीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालमा पहिलो पटक स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता हुने, लगानी ५५ लाख
काठमाडौं । नेपालमा लुकेर रहेका फुटबल प्रतिभाहरूलाई पहिचान गरी अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यका साथ एक्स्ट्रिम फुटबल फिभर आइएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप छनोट नेपाल २०२६ आयोजना हुने भएको छ । एलपीएस म्यानेजमेन्ट, एस एण्ड एस हेल्थ एन्ड रिसर्च सेन्टर र ट्रिपल टु प्रोडक्सनको संयुक्त आयोजना तथा एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजनमा यो छनोट प्रतियोगिता हुन लागेको हो । स्ट्रिट फुटबलको जगलाई पुनर्जीवित गर्दै युवा वर्गलाई खेलकुदको माध्यमबाट सकारात्मक कार्यमा सरिक गराउनु यस प्रतियोगिताको मुख्य लक्ष्य रहेको छ । यस प्रतियोगितामा देशभरबाट खुला दर्ता मार्फत कुल ९२ टोलीहरूले पूर्ण रूपमा निःशुल्क सहभागिता जनाउने छन् । प्रतियोगिता समूह चरण र नकआउट ढाँचामा इन्टरनेसनल स्ट्रिट फुटबल एशोसिएसनको ३भी३ नियम अनुसार खेलाइनेछ । सहभागि टोलीहरूलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक समूहका शीर्ष २ टोली र तेस्रो स्थानमा रहेका उत्कृष्ट १८ टोली गरी कुल ६४ टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रत्येक खेल कुनै ब्रेक बिना लगातार १० मिनेटको हुनेछ र खेलमा साइज ४ को फुटसल बल प्रयोग गरिनेछ । आगामी जुलाई १ देखि जुलाई १९ सम्म नेपाली समय अनुसार अपरान्ह ३ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म फ्लडलाइट र विविध मनोरञ्जनात्मक प्रस्तुतिहरूका साथ यो खेल उत्सव सञ्चालन हुने तालिका रहेको छ । काठमाडौंको मौलिक संस्कृतिलाई जोड्न समूह चरणका खेलहरू काठमाडौं महानगरपालिका भित्रका ५ वटा ऐतिहासिक स्थानहरू कुमा ननी (टेकु), तबाहाल, लगन, ओमबहाल र तेबहाल (संकटा) मा आयोजना गरिनेछ । यस छनोट प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बर २०२६ मा उट्रेक्ट, नेदरल्याण्ड्समा आयोजना हुने आइएफए ३भी३ स्ट्रिट फुटबल विश्वकप २०२६ मा नेपालको प्रतिनिधित्व गर्ने सुनौलो अवसर प्राप्त गर्नेछ । विजेता टोलीका खेलाडीहरूले एलपीएस म्यानेजमेन्टसँग ३ महिनाको व्यावसायिक खेलाडी सम्झौता प्राप्त गर्नुका साथै विश्वकपको विशेष तयारीका लागि बन्द प्रशिक्षणमा सामेल हुन पाउनेछन् । यसका साथै, प्रतियोगिताकै आधारमा नेपालकै पहिलो आधिकारिक नेपालको ३ भी ३ स्ट्रिट फुटबल वरीयता समेत तयार गरिनेछ । लगानी ५५ लाख रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । खेल प्रेमीहरूका लागि प्रतियोगिताका सम्पूर्ण खेलहरू खेल खेलौं युट्युब च्यानल र नेपाल एफसी फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ भने खेलका नतिजा र तथ्याङ्कहरू वास्तविक समयमा आधिकारिक वेबसाइट Challenge.Place मार्फत हेर्न सकिनेछ ।