आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै, जित्ने सिधैं फाइनलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता लुम्बिनी र उपविजेता सुदूरपश्चिमबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ बजे सुरु हुनेछ । आजको खेल जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।

अंकतालिकामा शीर्षस्थानमा रहेको लुम्बिनीले सात खेलबाट पाँच जित र एक हारसहित ११ अंक जोडेको छ । त्यस्तै, सुदूरपश्चिम पाँच जित र दुई हारबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

यी दुई टोलीबीच प्रतियोगिताको उद्घाटन खेलमा पनि प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो ।

दुई टोलीबीचको आपसी प्रतिस्पर्धाको इतिहास हेर्दा हालसम्म चार खेल भएका छन् । जसमा दुवै टोलीले समान दुई–दुई खेल जितेका छन् । यसले आजको प्रतिस्पर्धा थप रोमाञ्चक हुने संकेत गरेको छ ।

Share News