काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता लुम्बिनी लायन्स फाइनल पुगेको छ ।
लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
मंगलबार (आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
लुम्बिनीका लागि निरोशन डिकवेलाले ५९, कप्तान रोहितकुमार पौडेलले २१ रन बनाए ।
सुदूरपश्चिमका थरिन्दू रत्नायेकेले २ तथा स्कट कुगेलेन र हेमन्त धामीले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५२, इशान पाण्डेले २७ रन बनाए ।
लुम्बिनीका रुवेन ट्रम्पलमेन र शेर मल्लले समान २ तथा अभिषेश गौतम र किशोर महतोले समान एकएक विकेट लिए ।
साविक विजेतासमेत रहेको लुम्बिनी दोस्रोपटक फाइनलमा पुगेको हो । यसअघि लुम्बिनीले सुदूरपश्चिमलाई हराएर च्याम्पियन बनेको थियो ।
सुदूरपश्चिमले अब चितवन राइनोज र काठमाण्डु गोर्खाजबीचको इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।
दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले उपाधिका लागि शनिबार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ ।